प्रसिद्ध विद्वान् यु.पोत्तरका क्रान्तिकारी गीतहरू ‘उठ, जाग ए ! भोका नाङ्गा, जाग, संसारका दुःखी सुन्दर संसार रचना गर्न न्यायका लागि गर्जी, बाँध्ने छैन परम्पराको साङ्लोले जाग ए! श्रमिक हो नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ। यो अन्तिम युद्ध हो, आआफ्नो ठाउँमा डटौं, मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ।
यी महान् क्रान्तिकारी दार्शनिक विचारले चालु संसारको जाति, धर्म रङका आधारमा हुने, उत्पीडनको संरचनालाई खत्तम गर्न मानिस अन्तर्र्रािष्ट्रय जाति हुनेछ भन्दै वर्गीय, जातीय शोषणको उच्च जातीय अह्कारवादको समुल नष्ट गर्ने दर्शन हो यो।
यो क्रान्तिकारी दर्शन कम्युनिस्टले १८७२ मा फ्रान्समा पेरिस कम्युनको नयाँ साम्यवादी राज्यसत्ता स्थापित गर्न सबै गरिब दुःखी जनतालाई क्रान्तिप्रति जुझारु बनाउन लेखक यु पोत्तर भन्छन्– यो अन्तिम युद्ध हो, डटौं मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भन्ने विचार दिए। जसबाट कम्युनिस्ट सर्वहारा वर्गले फ्रान्सको पेरिसमा पुँजीवादी शासन व्यवस्था ध्वस्त गरी समाजवादी शासन पेरिस कम्युन स्थापना गरेका थिए।
यिनै शक्तिशाली विचार दर्शनको विचारभावले नेपाली समाजमा स्थिर जातीय छुवाछुतको जातिवादी चेतनालाई परास्त गर्छ। यसका लागि क्रान्तिकारी वर्गले सांस्कृतिक क्रान्तिका आँधीमय ग्रामीण वर्ग संघर्षलाई शहरिया विद्रोहसँग जोड्ने विशाल संघर्षको सांस्कृतिक आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्छ।
राज्य सत्ताले हजारौँ वर्षदेखि दलित शूद्रलाई ऐतिहासिकरूपमा कानुन बनाएर जातीय उत्पीडनलाई निरन्तर राख्न दलितलाई कानुनतः दमन गर्न दास बनाएर राख्यो। त्यसकारण राज्य जातीय उत्पीडनका लागि जिम्मेवार छ।
युगौँदेखि दलितप्रति राज्यद्वारा शोषण गर्ने बनेको जातीय दमनको सामाजिक संरचनाले दलितलाई समकालीन शासक वर्गसँग ज्ञान, चेतनाले प्रतिस्पर्धा गर्ने सक्षम बनाउन चाहँदैन। हिजोदेखि शासक जाति शासक वर्गले ज्ञान, शिक्षा, चेतना सत्ता र सम्पत्तिमाथि दलितलाई निषेध गरेको छ।
अब नयाँ राज्यसत्ताले त्यो ऐतिहासिक विभेदको परिपुरण गर्ने साहस देखाउनुपर्छ। यो प्रगतिशील सरकारले ठोस कार्यनीति बनाएर क्षतिपूर्ति र विशेष अधिकारद्वारा दलित अधिकार सुनिश्चित गर्नुपर्छ।
समाज विकासको इतिहास हेर्दा आदिम साम्यवादी युगमा दास, मालिक, सम्पत्तिको स्वामित्व, वर्ग र शोषण गर्ने राज्यको संयन्त्र नै बनेको थिएन। त्यो आदिम साम्यवादको विघटनपछि व्यक्तिगत सम्पत्तिको स्वामित्व देखापर्यो। जहाँ वर्गहरू, दास र मालिक उत्पन्न भयो। दास युग हुँदै शूद्र, दास, अछुत बनाइएका दलितहरू अझैै सामन्ती समाजको अवशेषका रूपमा रहेको जातीय विभेदको राज्य व्यवस्था समाजमा स्थिर छ। अब त्यसलाई भत्काउन समाजवादी क्रान्तिको धारबाट अघि बढ्नुपर्छ।
आदिम समाज विघटनपछि व्यक्तिगत सम्पत्ति र त्यसको स्वामित्वको रक्षा गर्न राज्यको संरचना स्थापना भयो। राज्यको विकास र शासक वर्गको वर्ग स्वार्थ रक्षाका लागि विभिन्न वर्गबीच भीषण संघर्ष चालु भइरह्यो। यो साँचो हो, वर्गहरूको अस्तित्व रहँदासम्म राज्यले वर्गीय अन्तरविरोध हल गर्न सक्दैन, त्यसकारण समाजवादी वर्गबिहीन समाज निर्माणको अभ्यास सिर्जना हुन्छ।
चालु वर्ग अन्तरविरोधको स्वरूप वर्गीय संरचनाको अस्तित्व खत्तम नहुँदासम्म वर्ग संघर्ष चलिरहन्छ। राज्य वर्गहरूको उत्पत्ति हो। वर्गहरूको शोषण अन्त्य गर्न राज्यको विलोपीकरण अनिवार्य हुन्छ। त्यसकारण वस्तुको गतिदायी प्रक्रियाबाट वर्गीय, जातीय, लैंगिक तथा सबैखाले अन्यायपूर्ण सत्ता नष्ट भएको राज्यबिहीन आदर्श साम्यवादी समाज निर्माण हुने माक्र्सको परिकल्पना छ।
यिनै माथिका कोसेढुंगामा क्रान्तिकारी वर्गले नयाँ राज्यसत्ता प्राप्त गरेपछि अधिरचना (उपरी संरचना) मा परिवर्तन ल्याउनुपर्छ। यदि परिवर्तन ल्याउन सकेन भने क्रान्तिको लक्ष्य बोकेको यो नयाँ राज्यसत्ता लामो समयसम्म टिकिरहन सक्दैन। त्यहाँ पुरानो राज्यसत्ताको अधिरचनाको बलले नयाँ राज्यसत्तालाई भत्काउन बल प्रयोग गर्छ जो प्रतिक्रान्तिको स्वरूपबाट नयाँ राज्यसत्ता स्खलित भएर जान्छ।
संसारका धेरै क्रान्तिमा समाजको उथलपुथलको अवस्थाबाट आएको नयाँ राज्यसत्तामा हिजोका क्रान्ति योद्धाहरू क्रान्तिकारी बनिरहने धारबाट नयाँ सत्तालाई बचाउन सफल भएको अवस्था कम छ। क्रान्तिकारीमा पछि देखिने अवसरवादी धारले क्रान्तिको ओजस्वी तागत जीवित राख्न सक्दैन।
देशप्रति समर्पित त्यागको मात्राले प्रशिक्षित गर्दै नैतिकता, स्वाभिमान र सुशासनको विचारले बाँध्ने कार्यनीतिबाट नयाँ वर्गसत्ता चलेको देखिँदैन। क्रान्तिका महान् त्याग बलिदानका असिम मोडहरूलाई अनन्तसम्म जीवित राख्ने नैतिकताको बलबाट भत्किएको देख्छौँ। हिजोका क्रान्तिकारी बनेका साथीहरू नाम, पद, पैसा, प्रतिष्ठाको लोभमा ती महान् जिन्दगी भ्रष्ट, नैतिकहीन र समाजविरोधी तप्काका रूपमा जीवनलाई ध्वस्त बनाएका हुन्छन्।
खासगरी, आत्मसमर्पणवादी, विसर्जनवादी, संशोधनवादी सुखभोगवादी र प्रतिक्रियावादी धारबाट भ्रष्ट र पतन भएका हुन्छन्। यसका विरुद्ध दुई लाइन संघर्षलाई उच्च विकसित गर्दै प्रतिगमनकारी क्रान्तिविरोधी लाइनविरुद्ध समयमै आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्ग संघर्षको भीषण प्रक्रियाबाट क्रान्तिकारी धारलाई बचाउनुपर्छ।
प्रकाशित: ४ वैशाख २०८१ ०५:४९ मंगलबार