आज पनि समाजमा छोरीलाई वस्तु मान्ने प्रवृत्ति जीवितै छ भने पुष्टि गएको लक्ष्मीपूजाको घटनाले गर्छ। घटना थियो–आँगनमा परिवारका साथै रमाइलो मनाउँदै गरेका बेला अन्य कसैले पड्काएको पटकाबाट १७ वर्षीया बालिका सीमा दासले एउटा आँखा गुमाउनु पर्यो। भारतको सहरसा जिल्लाबाट सीमालाई लिएर उनका आमाबुबा विराटनगरस्थित तापडिया आँखा अस्पताल आएका थिए। संयोगवश पंक्तिकार पनि आँखा देखाउन सोही अस्पताल पुगेको हुँदा ती महिला अस्पतालको कुनामा बसेर रोइरहेको देखेर जिज्ञासा राख्दा यो घटना थाहा भयो।
‘अब मेरी छोरीले कसरी जीवन बिताउँछे, उसले बाँच्नु बेकार छ, अब कसैले विवाह नै गर्दैन, हामीसँग पर्याप्त सम्पत्ति नै छैन’ भन्दै उनी रोएको देखेर पंक्तिकारका आँखा पनि रसाए। समाजमा विद्यमान सामाजिक विकृतिहरूका कारण कतिपय आमाबुबालाई पीडा सहेर बाँच्न बाध्य पारेको छ। विडम्बना ? आफूले नगरेको कार्यका लागि पनि उनको जीवन अन्धकार मात्र पारेन, परिवारकै खुसी चुँडाएर लग्यो।
छोरीको विवाह कसरी गर्ने भन्ने चिन्ता एकातिर अनि अर्कोतिर दाइजो दिन परे के गर्नु भन्ने चिन्ता पनि उत्तिकै। उनलाई सान्त्वना भनेँ–युगले धेरै फड्को मारिसकेको छ। समाजमा नयाँ नयाँ प्रवृत्ति विकास भएका छन्। छोरी एउटा आँखा नदेख्ने हुँदा आमा बुबालाई पीर पर्नु स्वाभाविकै हो। त्यसैले आमा बुबाले आफ्ना सन्तानलाई सक्षम बनाउनु आवश्यक छ। विवाह गरेर पन्छाउनुको सट्टा त्यही दहेज दिने पैसाले उनलाई शिक्षा दिई सक्षम तुल्याउनु आमाबुबाकै कर्तव्य हो। प्रत्येक छोरीलाई शिक्षित बनाउनु आजको आवश्यकता हो।
छोरीलाई बोझ ठानी पन्छाउनु भन्दा उनीहरूलाई राम्रो शिक्षा दिएर आफ्नो खुट्टामा उभिन सिकाउनुका साथै आत्मनिर्भर बनाउनु जरुरी हुन्छ। महिलाको आर्थिक स्वतन्त्रताले घर र समाजप्रति महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जसले आत्मबल साथै आत्मनिर्भर बनाउन मद्दत पुर्याउँछ। आर्थिक स्वतन्त्रताको अभावमा समाजमा महिलाको खासै प्रभाव नपर्ने हुँदा उनीहरूको मनोबल खस्किएको हुन्छ। सीमाकी आमाको अवस्था त्यही थियो। विवाह गरेर पन्छाउने चाहना उनको थियो तर विवाहपछि तिनको अवस्था झन के होला भन्नेप्रति उनको सोच कमजोर देखिन्थ्यो।
आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्। त्यसमा पनि यस्ता घटना भएको खण्डमा त उनीहरू कसरी हुन्छ छोरीलाई पन्छाएर पठाउँ भन्ने सीमाको आमा बुबाको सोच देखियो। यसै क्रममा पंक्तिकारले एकजना दृष्टि गुमाएकी महिलाासँग जिज्ञासा राख्दा भनिन्– पीडितले कहिले पनि नकारात्मक सोच हीनताबोध राख्नु हुँदैन। आत्माविश्वासका साथ अगाडि बढ्नुपर्छ। प्रकृतिको यो सुन्दर संसारमा अनेकौँ प्रकारका मानिस पीडा सहेर हाँसीखुसी जीवन निर्वाह गरिरहेका छन् । हाम्रो मात्र यो पीडा होइन।
यस्ता कुरामा आमाबुबाको सहयोग र हौसला आवश्यक छ। विवाहपछि श्रीमान्को सहयोग भएको खण्डमा केही गाह्रो छैन। सन्तान हुर्काउन अवश्य कठिन हुन्छ। आफू अक्षम हुँदा हामीलाई समाजले के भन्छ, के गर्छ भन्नेतर्फ चासो राख्नुहुँदैन। यशोदा दास हुन् जसले टाइफाइडका कारण एउटा आँखा गुमाउनुपरेको थियो। उनी श्रीमान्को सहयोगकै कारण आज दुई सन्तानकी आमा हुन पुगेकी छन्। उनले हिम्मत हारिनन्। आँखा गुमाउनुको पीडा उनमा नभएको होइन। आत्मबलकै कारण उनी आज एक सक्षम गृहिणी, आमा, श्रीमती हुन पुगिन्। शिक्षा र आर्थिक सम्पन्नताले महिलालाई शोषणविरुद्ध आवाज उठाउन सक्षम बनाउँछ।
अधिकांश महिला पुरुष शारीरिकरूपमा अक्षम त छन् तर पनि उनीहरू स्वाभिमानका साथ केही गरिरहेका छन्। उदाहरण दिनुपर्दा साहित्यिक क्षेत्रमा मदन पुरस्कार पाउन सफल साहित्यकार झमक घिमिरे, संगीततर्फ मेनुका पौडेल नै छन्।
प्रत्येक आमा बुबाले आफ्ना सन्तानलाई राम्रो शिक्षा, मनोबल स्वावलम्बी बनाउनुपर्ने हुन्छ न कि विवाह गरेपछि समस्याको समाधान हुन्छ भन्ने सोच राख्नु गलत कुरा हो। जसको परिणाम सीमाले भविष्यमा झेल्नुपर्ने पीडा कष्ट कति हुन्छ ? उनलाई आमा बुबाको सहयोग खाँचो छ। समाजमा कतिपय सीमा छन् जसले आफ्नो पीडा लुकाएर मुस्काइरहेका छन्। यसैले आवश्यक छ माया, हौसला र सहयोगका साथै शिक्षा र आर्थिक सक्षमताको।
प्रकाशित: २९ चैत्र २०८० ०७:०० बिहीबार