coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

राम्रा विद्यालय छान्ने विधि

नयाँ वर्षको आगमनसँगै अभिभावकहरूमा नयाँ कौतुहल र जिज्ञासा थपिँदै आउँछ। अनि अभिभावकहरू कुन विद्यालय राम्रो छ भनी सोध्न थाल्छन्। उनीहरूलाई आफ्ना सन्तान राम्रो विद्यालयमा भर्ना गर्ने चाहना बढ्दै आउँछ। यसरी हरेक अभिभावकलाई शिक्षाप्रतिको चिन्ता र चासो बढ्दै आउनु सकरात्मक कुरा हो। आमा, बाबुको चाहना आफ्ना सन्तान आफूभन्दा राम्रा हुन, परीक्षामा बढी अंक ल्याएर सफल बन्न सकून्, सके डाक्टर, इन्जिनियर बनून्, यसका लागि शिक्षामा अब्बल होउन् भन्ने चाहना राख्छन्। त्यसैले अभिभावकहरू आफ्नो आर्थिक अवस्थाले भ्याइ÷नभ्याइ आफ्ना सन्तानका लागि शिक्षामा मन लगाएर खर्च गर्छन्।

राम्रो विद्यालयको खोजीमा महँगो शुल्क ठूलो भवन अंग्रेजी माध्यमको पढाइ आदिको चाहना हुन्छ। त्यहाँ बालकेन्द्रित पढाइ छ, छैन ? कस्तो पाठ्यक्रम प्रयोग हुन्छ ? मूल्याङ्कन कसरी गरिन्छ ? शिक्षण सिकाइ क्रियाकलाप कसरी गरिन्छ ? यावत् विषयमा विचार विमर्श हुनु जरुरी छ। प्रायः हाम्रा अभिभावक महँगो विद्यालय राम्रो हुन्छ भन्ने सोच राख्छन्। तर बढी पैसा लिँदैमा त्यहाँ राम्रो शिक्षण सिकाइ क्रियाकलाप हुन्छ भन्ने कुरा सबै ठाउँमा लागु नहुन सक्छ। यसर्थ हरेक अभिभावकले विद्यालयको अवस्था, भौतिक सुविधा, पर्याप्त शैक्षिक सामग्री, सरसफाइ आदिमा ख्याल गर्नुपर्छ। हरेक बालबालिकालाई पोषणयुक्त खानाको व्यवस्थापन पनि त्यत्तिकै जरुरी छ।

यस मामलामा निजी विद्यालयहरूले अभिभावकहरूलाई अनेक प्रलोभन देखाइ आकर्षित गराइरहेका छन्। विद्यालयका नाममा अनेकन तडकभडक देखाइ पाठ्यक्रम, शिक्षा पद्धति र राष्ट्रिय निर्दिष्ट लक्ष्य ख्याल नराखी आफूखुसी गर्ने गरेका छन्। कतिपय निजी विद्यलयले अनुशासनका नाममा विद्यार्थीलाई कठोर सजाय दिने गरेका छन् जसले बालबलिकालाई भयको अवस्थाले ग्रसित बनाइरहेका छन्। कतिपय विद्यालयले भौतिक अंगभङ्ग हुने गरी सजाय दिने गरेका समाचारसमेत आइरहेका छन्।

निजी विद्यालयले दैनिक पठनपाठन साथै थप गृहकार्य दिने गर्छन्। ठूलो किताबको भारी बोकाइ कलिला बालबालिकालाई बोझ थमाएकोमा समेत अभिभावक दंग हुन्छन्। यसरी एकांकी सोचबाट हाम्रा अभिभावक अभिप्रेरित हुन्छन्। कलिला बालबालिकालाई विद्यालयदेखि घरसम्म गृह कार्यको बोझ किताबको गह्रौं भारी बोकाउनु उपयुक्त होइन। खाली पढाइ र लेखाइमा मात्र सीमित नराखी भविष्यमा क्षमतावान र सफल नागरिक बन्न आवश्यक सबैखाले जीवनोपयोगी सिपहरूको विकास गराइनु अपरिहार्य छ।

बालबालिकामा आत्मविश्वास बढाउनेखालको शिक्षण सिकाई प्रविधिको खाँचो छ। उसमा म यो काम गर्न सक्छु भन्ने आँट र विश्वास चाहिन्छ। साथै बालबालिकामा सिर्जनात्मक सोच र विश्लेषणात्मक क्षमताका साथै नेतृत्व सिपको पनि त्यत्तिकै जरुरत छ। बालबालिकामा दायित्वबोध समस्या समाधानका उपाय र विकल्पको खोजी गर्ने क्षमता विकास गराउनु पनि त्यत्तिकै आवश्यक छ। यसरी समग्र व्यक्तित्वको विकास भएको छ छैन भन्ने दृष्टिकोणबाट बालबालिकाको मूल्याङ्कन हुनुपर्छ।

सामुदायिक विद्यालयको अवस्था अव्यवस्थित हुनुमा त्यहाँ स्वामित्वको अभाव हुनु पनि हो। त्यहाँ अधिकांश समय नेतृत्व लिएर बस्ने प्रधानाध्यापकको पनि स्वामित्व अभाव महसुस हुने गरेको छ। शिक्षा ऐनको आठौँ संशोधनपछि झनै व्यवस्थित हुन सकिरहेको छैन। व्यवस्थापन समितिको गठन प्रक्रियादेखि नै राजनीतीकरण हुँदै आएको देखिन्छ। २०७२ सालको संविधानले विद्यालय शिक्षाको सम्पूर्ण अधिकार तल्लो निकाय गाउँपालिका वा नगरपालिकालाई नै दिएको छ। यसमा शिक्षक संघ संगठनले विरोध गर्दै आएका छन्। शिक्षक व्यवस्थापन केन्द्रीकृत हुनुपर्ने मनसाय उनीहरूको बुझिन आउँछ। समुदायलाई सशक्तीकरण गर्नका लागि पनि शिक्षामा विकेन्द्रीकरण जरुरी छ।

स्थानीय तह जति बलियो भयो त्यति नै शिक्षा पनि मजबुत हुने हो। सिंहदरवारबाट गाउँ÷गाउँमा अधिकार पुर्‍याउने लोकतन्त्रको उद्देश्यलाई फलिभूत गराउन पनि स्थानिय तहलाई अधिकार सुम्पनु हो। सार्वजनिक शिक्षालाई कमजोर हुन दिनु हुँदैन। यस मामलामा शिक्षा मन्त्रालयले अविलम्व संविधानअनुसारको एकसरो शिक्षा ऐन दिन सक्नुपर्छ। शिक्षाको हकमा शिक्षा मन्त्रालयले स्थानीय तहदेखि सशक्तीकरण गर्र्नुपर्छ।

विद्यालयले विद्यार्थीको मूल्याङ्कन प्रक्रियालाई निरन्तर अघि बढाइरहनुपर्छ। विद्यार्थीको समग्र मूल्याङ्कन गरिरहँदा जहाँ कमजोरी पाइन्छ त्यहाँ अविलम्व सुधार गर्दै अगाडि बढाउनुपर्छ। अभिभावकले पनि सन्तानलाई फेल गराउन हुँदैन भनी शिक्षकलाई धम्काउने प्रवृत्ति पनि त्याग्नुपर्छ। विद्यालय शिक्षाको उद्देश्य बालबालिकाको सर्वाङ्गीण विकास गराउनु हो। यो हर बालबालिकाको सामाजिक तथा सांस्कृतिक परिवेशसँग मिल्दोजुल्दो हुनु पनि त्यत्तिकै जरुरी छ।

प्रकाशित: २१ चैत्र २०८० ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App