एपेक, ओइसिडी, जि–२०, डब्लुटिओलगायतका संगठनमा आबद्ध दक्षिण कोरिया आर्थिकरूपले विकसित मुलुकको समूहमा पर्ने राष्ट्र हो।
सन् २०२३ मा मानव विकास सूचकांक स्कोर शून्य दशमलब ९२ रहेको दक्षिण कोरिया मानव विकासको दृष्टिकोणबाट विश्वको १९औँ मुलुक पनि हो। २०२४ मा पाँच करोड १७ लाख जनसंख्या पुगेको दक्षिण कोरिया राजनीतिक रूपले गणतन्त्रात्मक मुलुक हो। जहाँसम्म दक्षिण कोरियाको आर्थिक आयामको सवाल छ, २०२३ मा कुल गार्हस्थ्य उत्पादन २.९ ट्रिलियन अमेरिकी डलर (पिपिपी) पुगेको कोरिया कुल गार्हस्थ्य उत्पादनको दृष्टिकोणबाट विश्वको १४औँ ठूलो अर्थतन्त्र हो।
२०२३ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २.२ प्रतिशत, औद्योगिक क्षेत्रको योगदान ३९.३ प्रतिशत र सेवा क्षेत्रको योगदान ५८.३ प्रतिशत रहेको कारिया विश्वका श्रमिक आयातकर्ता मुलुकमध्ये एक हो।
२०२३ मा आर्थिक वृद्धि दर दुई प्रतिशत रहेको दक्षिण कोरियाली प्रतिव्यक्ति आय ५६ हजार सात सय डलर (पिपिए) पुगेको छ। २०२३ मा मुद्रास्फीति दर शून्य दशमलब पाँच प्रतिशतमा सीमित गर्न सफल दक्षिण कोरिया, विश्वमै मुद्रास्फीति कम कायम गर्न सफल सातौं मुलुक हो।
१५ मे १९७४ मा नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कोरियाले सन् १९७४ मा काठमाडौंँमा दूतावास स्थापना गरेकोमा नेपालले सन् २००७ मा सोलमा नेपाली दूतावास स्थापना गरेको हो।
मित्रता र आपसी सम्बन्ध बलियो बनाउन समय–समयमा सरकार प्रमुखबाट औपचारिक तहमा भ्रमण आदान–प्रदान हुने गरेकामा नेपालले बुसान शहरमा आफ्नो अवैतानिक वाणिज्य दूत पनि नियुक्त गरेको छ।
नेपाली श्रमिक कामका लागि औपचारिक रूपमा कोरिया प्रस्थान गर्न प्रारम्भ गरेको त्यति धेरै समय भएको छैन्। नेपाल र दक्षिण कोरियाबीच अक्टोबर २००१ मा दुवै देशका परराष्ट्र मन्त्रालयबीच परामर्श संयन्त्र स्थापना गर्ने सम्झौता भएकोमा उक्त संयन्त्रले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा छलफल गरी द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने अवसरहरू प्रदान गर्दै आएको छ।
नेपाल र कोरियाबीच २०६४ साउन ८ मा रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी मन्त्रिस्तरीय सम्झौता भएको थियो। तद्नुरूप २०६५ देखि कोरिया, नेपाली श्रमिकका लागि खुला गरिएको हो।
वैदेशिक रोजगारको क्षेत्रलाई नियमन, व्यवस्थापन, अनुगमन र नियन्त्रणका लागि वैदशिक रोजगार ऐन, २०६४ पस्किएलगत्तै दक्षिण कोरिया–नेपालबीच श्रम सम्झौता हुनु आफैँमा सुखद प्रस्थान थियो। जहाँ, कोरियामा नेपाली श्रमिक रोजगारका लागि प्रस्थान गर्न प्रारम्भ गर्न थालेको डेढ दशक मात्र भएको भए तापनि छोटो अवधिमा ठूलो आकारमा विप्रेषण आप्रवाह भइसकेको छ।
अहिले सामान्य लेखपढ गर्न जानेका युवा मात्र नभई स्नातकोत्तर गरेका बेरोजगार वा अल्पबेरोजगार युवा तप्का दक्षिण कोरियामा श्रमका लागि लालायित छन् भन्दा अत्युक्ति हुदैन।
मासिक दुई लाख रुपियाँ भन्दा अधिक आयआर्जन गर्न सकिने भएको हो। महत्त्वपूर्ण कुराचाहिँ कतारभन्दा न्यून प्रतिव्यक्ति आय रहेको कोरियाले नेपाली श्रमिकलाई कतारको तुलनामा दोब्बरभन्दा अधिक पारिश्रमिक उपलब्ध गराउँदै आइरहेको छ।
अर्को खुसीको कुराचाहिँ नेपाली श्रमिकहरूले हाल मासिक दुई लाख रुपियाँसम्म पारिश्रमिक प्राप्त गरिरहेकामा मासिक तीन लाख रुपियाँभन्दा अधिक प्राप्त गर्ने गरी राज्यस्तरमा पहल भइरहेको छ। सोही कारण कोरियामा श्रम बेच्न युवाहरू मरिहत्ते गर्न थालेका हुन्।
प्रकाशित: २१ फाल्गुन २०८० ०६:१० सोमबार