१७ फाल्गुन २०८० बिहीबार
विचार

मधेसीलाई हेर्ने आँखा

२०६५ सालको कुरा हो। धरानको एउटा स्कुलमा कक्षा–५ मा मेरो भर्ना भयो। आफ्नै गृह जिल्ला सप्तरीमा कक्षा–४ सम्मको स्कुले जीवन व्यतीत भएको थियो। त्यतिखेर बुबा धरानमा सहायक वन अधिकृत हुनुहुन्थ्यो। त्यही भएर धरान जानुपरेको थियो।

कक्षामा म राम्रै विद्यार्थीको खेमामा पर्थेँ तर साथीभाइको नजरमा भने थिइन। किनकि उनीहरू मलाई मधेसीका रूपमा हेर्थे। मैथिली बोल्ने भएकाले नेपाली राम्रोसँग नआउनुलाई मेरो कमजोरी ठान्थे। जसले गर्दा मलाई निकै पीडा हुन्थ्यो। हामी तीन जना मधेसी थियौँ कक्षामा। सबैको उस्तै हाल। कतिसँग त झगडा पनि पथ्र्यो। भएन भनेर विद्यालय फेर्‍यौँ। त्यहाँ पनि उस्तै।

दोस्रो घटना– २०७२ सालको। मधेस आन्दोलन जारी थियो। म र मधेसका दुईजना सरकारी कमर्चारीलाई बिर्तामोडबाट भारदह आउनुपर्ने थियो। बिर्तामोडमा बसको सहचालकले बढी भाडा माग्यो। प्रतिकार गर्न खोज्दा दिनैपर्ने अी कस्यो। यसो गर्नुको एउटै कारण–हामी मधेसी थियौं।

तेस्रो घटना–२०७८ पुसको हो। त्रिभुवन विश्वविद्यालयको घडी भवनको प्रांगणमा घाम ताप्दै थिएँ। त्यहीबेला ६० वर्षका जस्ता देखिने बदाम बेच्ने एक पुरुष आए। मैले भनेँ–अंकल, एक पोका बदाम दिनु न। उनले हिन्दीमा सोधे– ठूलो पोका कि सानो? कुरा सानै भए पनि मैलेचाहिँ यसलाई हेपेको रूपमा लिएँ।

यी घटना प्रतिनिधि मात्र हुन्। यस्ता घटनाबाट म आजित भइसकेको छु। केही अपवादबाहेक यो सबै मधेसीको समस्या हो। मधेसीको राष्ट्रियतामाथि अहिले पनि शंकाको दृष्टिले हेरिन्छ भन्ने प्रमाण हो। यस्तै यस्तै कारणले बेला बेला सिके राउत जन्माउँछ। अनि बेला बेला मधेस आन्दोलन निम्तिन्छ तर पनि विभेद कम नहुनु विडम्बनाको विषय छ।

गणतन्त्र स्थापना हुनुभन्दा पहिला सरकारी निकायहरूमा मधेसीको सहभागिता न्यून थियो। प्रशासनिक निकायहरूमा झन् कम थियो। यति धेरै जनसंख्या भएका मधेसी समुदाय किन पछि परे होलान् भन्ने प्रश्नको उत्तर एउटै हुन्छ–विभेदकारी राज्य संयन्त्र। कुनै पनि मुलुकमा एक समुदायले अर्को समुदायलाई विभेद गर्नुमा केही हदसम्म सरकारको पनि दोष हुने गर्छ। सरकारदेखि यो नागरिकसम्म आइपुग्छ।

दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन। अनुहार, भाषा र भेषभुषाका आधारमा मधेसीलाई हेर्ने नजरमा परिवर्तन आउन सकेन। अहिले पनि मधेसी देख्नासाथ भारतीय ठान्ने नजर धेरै छन्। यसले मधेसीको चित्त दुखाउनुसम्म दुखाएको छ।

२००७ सालमा राणा शासन गएपछि मधेसीले आफ्नो हित हुने ठानेका थिए। तर भएन। अनि उनीहरू मधेसकेन्द्रित राजनीतिमा होमिए। नेपाली कांग्रेसबाट अलग्गिएर मधेसका कांग्रेसी मिलेर तराई कांग्रेस नामक राजनीतिक दल पनि गठन गरे । त्यसमार्फत मधेसका माग उठाइरहे । राज्यको पुनःसंरचना गर्नुपर्ने, सरकारी सेवाहरूमा मधेसीको उचित सहभागिता हुनुपर्ने जस्ता कैयन् माग तराई कांग्रेसको थियो। २०१५ सालको चुनावपछि तराई कांग्रेस अस्तित्वमा रहेन। रघुनाथ ठाकुरले पनि मधेसको हक हितका निम्ति अथक संघर्ष गरेका थिए। तर यावत् प्रयासका बाबजुद पनि आजसम्म स्थितिमा सुधार नआउनु दिक्कलाग्दो पक्ष हो।

मधेसको इतिहास पुरानो छ तर त्यसलाई लिपिबद्ध र खोज गर्ने काममा पनि कन्जुस्याइँ भएको छ। यो पनि विभेदकै पराकाष्ठा हो। मधेसी कतैबाट भागेर आएका होइनन्।  मूलवासी हुन्। पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि नै अरू राज्य जस्तै मधेस पनि एकीकरणको अंशमा पर्न गयो। कतिले यसलाई विस्तारवादको खेमामा राखेर पनि हेर्ने गरेका छन्। एकीकरणदेखि नै मधेसलाई विभेदको दृष्टिले हेरिन्थ्यो।

राज्यसत्ताबाट थालनी भएको विभेद आमनागरिकसम्म आइपुग्यो। धेरै मधेसको भूमिलाई नेपालको भूमि मान्ने तर त्यहाँका मूलवासीलाई नेपाली नमान्नेखाले भाष्यबाट ग्रसित छन्। धेरैको नजरमा यो एउटा इतिहास जस्तो हुन गयो। धेरैले यो भ्रमित भाष्यमा विश्वास गर्थे। अहिले पनि थोरबहुतको विश्वास त्यस्तै छ। केही वर्षअगाडि एउटा राष्ट्रिय पत्रिकामा मेरो एउटा यस्तैखाले लेख प्रकाशित भएको थियो। जसमा एकजनाको टिप्पणी थियो– तपाईँहरूलाई आफ्नै देशप्रति यति टाउको दुखाइ किन? आफ्नै देशको आलोचना किन? आरक्षण पाउनुभएकै छ त?

यस्ताखाले प्रश्न धेरैको मुखबाट सुनिन्छ। यसको उत्तर साधारण छ। कुनै पनि मधेसीले कहिल्यै पनि नेपालको आलोचना गरेको छैन। राष्ट्रियता सबैका लागि प्रिय हुन्छ। नेपाल सबै नेपालीको साझा राष्ट्र हो। सानो सानो राज्य एकीकरणबाट नेपाल निर्माण भएको हो। जसमा मधेस भूमि पनि छ। नेपाल जति पहाडको त्यति नै मधेसको पनि हो। मधेसले नेपालको आलोचना होइन, समानताका लागि विभेदकारी मानसिकता भएका व्यक्ति र संयन्त्रलाई मात्र खबरदारी गर्छ। किनकि मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म मधेस अशान्त रहिरहने छ। 

प्रकाशित: २२ माघ २०८० ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App