१६ चैत्र २०८० शुक्रबार
विचार

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?

प्रेम हाँसो र आँसुसँग खेल्छ । जीवनका सबैथोक प्रेमको अङ्गालोभित्र आउँछन् । जीवनका प्रत्येक कदमसँगै सबै क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई हामी सबैले जान्नु र अध्ययन गर्ने गर्नुपर्छ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्।

भ्यालेन्टाइन डेलाई जसरी उल्लासपूर्ण मनाउने गरिए पनि यसको महत्त्वबारे पछिल्लोे पिंँढी कम जानकार छन् । हजारौँं वर्षअघि रोमनका राजा क्लोडियसले आफ्नो सन्देशमा कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए । सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। 

पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको अलग–अगल विचार ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा थियो । राजाज्ञाको उर्दी अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए । फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन दिवस मनाउने मुख्य आधार हो । उनले उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरितमात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिकस्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गरेका थिए । त्यो दिन नै भ्यालेन्टाइन दिवसका रूपमा विख्यात भयो। 

पश्चिमेली सभ्यताको यो चाड विस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । यो दिनलाई युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाले पश्चिमेली सभ्यता र फेसन स्वीकार गरेका छन्। त्यसैगरी मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहजरूपमा स्वीकार गरेका छन् । पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो । यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउने दिन हो भन्ने युवाहरूको जमात ठूलै छ। त्यसैले आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि यही सोच्छन् र उनीहरू प्रेमका लागि जीवन नै त्याग गर्न पछि पर्दैनन् । जीवनका गोरेटाहरूमा अंकुशभन्दा खुसी, माया र स्वतन्त्रता चाहेका हुन्छन्। 

समयको परिवर्तनसँगै भ्यालेन्टाइन दिवस मनाउने प्रचलन पनि भिन्नाभिन्नै छ । पहिला प्रेमी/प्रेमिका आ–आफ्ना भाव प्रेमपत्रद्वारा व्यक्त गर्थे भने पछि गुलाफ र फूलका गुच्छाको चलन आएको छ । सन् १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा खेलौना, मुटु आकारका चकलेट, अर्थात् धेरैले पछिल्लो समयमा गुलाफको फूल उपहार दिन मन पराउने भएकाले त्यही अनुरूपमा वस्तुहरू र फूलहरू उत्पादन गर्ने गरेको छ। 

आखिर प्रेम र प्रणयमा भ्यालेन्टाइन दिवसलाई नै किन रोजियो ? पश्चिमी सभ्यताको त्यो एउटा इतिहास पुरुषले स्थापित गरेको मान्यता अहिलेसम्म किन स्मरणीय रह्यो भन्ने कौतुहलता जागृत भइ नै रहेको छ। के पूर्वीय समाजमा त्यस्ता दिवस मनाउने कुनै सन्दर्भ छैन त ? पक्कै पनि छन् । नेपाल र भारतमै प्रेम र समर्पणका अनेक कथा र गाथाले भरिएका सामग्री जति पनि छन् तर ती सबैभन्दा अलग छ । किनभने भ्यालेन्टाइनले शासकविरुद्ध सङ्घर्ष गरे, देह त्याग गरे– प्रेम र प्रणयका लागि । त्यसैले अरु प्रेमका कथाभन्दा फरक छ भ्यालेन्टाइन डे। 

प्रकाशित: २ फाल्गुन २०७४ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App