१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

बिरालो दर्शन र विज्ञान संस्कार

वैज्ञानिक कार्ल सेगन (सन् १९३४–१९९६) विज्ञान प्रचारप्रसारमा पनि पोख्त थिए। उनको खास विषय थियो खगोल–भौतिकी (एस्ट्रोफिजिक्स)। कोर्नेल विश्वविद्यालयमा पढाउँथे। गजब प्रवचन दिन्थे। सुन्नेहरूको ताँती लाग्थ्यो। एउटा अन्तर्वार्तामा उनले बोलेका थिए– हामी यस्ता मानिसको समाज बनाउँदैछौँ जुन विज्ञानमा अतिनिर्भर हुँदै गैरहेको छ तर वैज्ञानिक संस्कारप्रति उनीहरू उदासीन छन्। यस्तो समाज बन्नु भनेको आत्मघाती नियति हो। अहिले समाजमा भइरहेका यावत् विषयमा यो लागु हुन्छ। यद्यपि यहाँ प्रसंग बिरालोको विषयमा छ।

गुरुत्वाकर्षण सिद्धान्तका वैज्ञानिक आइज्याक न्युटन (सन् १६४३–१७२७) दुईवटा बिरालाबारे हामीमध्ये धेरैले सुने/जानेका छौँ। एउटाको नाम स्पिटहेड थियो। एउटा सानो थियो अर्को ठूलो। उनीहरू न्युटनको कार्यकक्षमा आउजाउ गरिरहन्थे। एक दिन, न्युटनले सिकर्मी बोलाएर भनेछन्–यिनका लागि दुईवटा प्वाल बनाइदिनुहोस्, एउटा सानो अर्को ठूलो। सिकर्मीले भनेछन्, महाशय एउटै ठूलो प्वाल भए भइहाल्यो नि, सानो पनि त्यसैबाट छिर्छ त। न्युटन आफ्नो हुस्सुपनाप्रति आफैँ दंग परे। हो त नि किन दुइटा प्वाल चाहियो? जे होस्, यसबाट थाहा लाग्छ न्युटन बिरालो मन पराउँथे।

अर्का वैज्ञानिक थिए, एर्विन एर्विन श्रोदिन्गर (१८८७–१९६१)। उनी पनि भौतिकशास्त्री थिए, ४५ वर्षको उमेरमै नोबेल पुरस्कार जितेका थिए। उनी दार्शनिक पनि थिए। उनले ‘ह्वाट इज लाइफ’ भन्ने जीवनसम्बन्धी सुन्दर पुस्तक लेखेका छन्। यहाँ प्रसंग भने उही बिरालोको। श्रोदिन्गर्स क्याट भनिने एउटा थट एक्पेरिमेन्ट (विचार प्रयोग) छ। उनले यो प्रयोग अल्बर्ट आइन्स्टाइनसित क्वान्टम मेकानिक्सको सिलसिलामा छलफल हुँदा प्रतिपादन गरेका थिए। यो सन् १९३५ तिरको कुरा हो। त्यतिबेला क्वान्टम मेकानिक्सबारे खुब बहस चल्थ्यो। यो पदार्थ र ऊर्जा सम्बन्ध अनि परमाणुको मापन विषयको गहन कुरा हो।

श्रोदिन्गरको प्रयोगमा एउटा कुनै स्टिलको बाकसभित्र एउटा बिरालो राखिएको कल्पना गरिन्छ। अनि बाकसमा बिरालोलाई मृत्यु गराउने कुनै घातक विकिरण राखिन्छ। अब हामीलाई यो थाहा हुँदैन कि त्यस बन्द बाकसभित्र बिरालो जिउँदै छ वा मरिसक्यो। यो कुरा तब मात्र थाहा हुन्छ जब हामी त्यो बाकस खोलेर हेर्छौँ। भन्नुको तात्पर्य जतिबेला हामी बाकस खोल्न लागेका हुन्छौँ त्यतिबेला बिरालो मरिसकेको हुन सक्छ वा बाँचिरहेको पनि। भन्नाले बिरालो एउटै समयमा मरेको पनि र बाँचेको पनि हुन्छ। यसलाई श्रोदिन्गर्स क्याट पाराडक्स भनिन्छ।

श्रोदिन्गरसित बिरालो भएको/नभएको थाहा भएन तर त्यति धेरै प्रकारका जन्तुमध्ये उनले बिरालो नै किन आफ्नो विचार प्रयोगका लागि रोजे ? मननयोग्य कुरा छ। पक्कै पनि बिरालोप्रति त्यस वैज्ञानिकको आशक्ति वा प्रेम थियो।

बिरालो मन पराउने र बिरालो पाल्ने अरू पनि नामुद वैज्ञानिक छन्। जस्तै– आइन्स्टाइन। उनको बिरालोको नाम टाइगर थियो। एडविन हब्बल, उनले आफ्नो बिरालोको नाम निकोलस कपर्निकस राखेका थिए। निकोला तेस्लाको बिरालोको नाम मकाका थियो। फ्रान्सेली दार्शनिकहरूका विषयमा केसम्म भनिन्छ भने उनीहरूका कुरा एक अर्कासित पटक्कै मेल खाँदैन तर बिरालोको सन्दर्भमा भने उनीहरूको कुरा ठ्याक्कै मिल्छ। जस्तै जाँ पल सात्र, अल्बर्ट कामु, ज्याक डेरिडा– सबैले बिराला पालेका थिए।

सन् २०२० को अन्ततिर दर्शनसम्बन्धी पुस्तक प्रकाशित भयो। नाम थियो–‘फिलाइन फिलोसोफी: बिरालाहरू र  जीवनको अर्थ।’ लेखक हुन् जोन ग्रे। ग्रेलाई समाजवादपट्टि झुकाव राख्ने चिन्तक भनेर भनिन्छ। उनी नवउदारवादका आलोचक हुन्। उनी भन्छन्, बिरालाहरू जीवनको संवेदना र सरगर्मीका लागि बाँच्छन्, कुनै वस्तु प्राप्ति वा लक्ष्य हासिल गर्नका लागि हैन। जब बिरालो शिकार खोजिरहेको हुँदैन, प्रेयसीको पछि लागिरहेको हुँदैन, खाइरहेको वा उकेलिरहेको हुँदैन, ऊ मात्र सुतेर बस्छ। कुनै न कुनै क्रियाकलापमा निरन्तर लागिरहने उनमा हुटहुटी हुँदैन। यसकारण, ग्रेको सुझाव छ, तपाईँ सुखको खोजीमा हुनुहुन्छ भने बिरालोबाट सिक्नोस्।

उल्लिखित वैज्ञानिकहरू वा दार्शनिकहरूका कुराबाट नै प्रेरित भएर हो वा आफ्नो मनखुसीले, आजभोलि हामीतिर पनि बिरालो पाल्ने प्रचलन सुरु भएको छ। खासगरी युवा पुस्तामा देखिएको यो जनावर प्रेम सराहनीय मान्नुपर्छ। कहीँ कतै जनावरहरूप्रति अमानवीय व्यवहार भएको छ भने उनीहरू आवाज उठाउँछन्। बेबारिसे छन्, भोकै छन्, घाइते छन् भने उनीहरू उद्दार गर्न तम्सन्छन्। यसैगरी, पशुहरूको हेरचाह गर्ने संस्थाहरू पनि उदाउन थालेका छन्। जनावर अधिकारको कुरा उठ्न थालेको छ। यसलाई विवेकशीलताको उत्थान मान्नुपर्छ ।

बिरालाहरू कुकुरसँगै पालेको पनि देखिन्छ। ‘कति झगडा गरेका कुकुर बिरालो जस्तो’ भन्ने आहान अब अप्रासंगिक भएको छ। उनीहरू दुवै मांसाहारी वर्गमा पर्छन्। आजभन्दा चार करोड २० लाख वर्षअघि उनीहरूका एउटै पुर्खा थियो, जसलाई मियासिड्स भनिन्छ। मानिसले बिरालोलाई आफूसँग राख्न थालेको १० हजार वर्ष पहिलेबाट हो भनिन्छ अर्थात् कुकुरभन्दा धेरै पछि मात्रै। तर बिरालो अलि बेग्लैखालको प्राणी हुँदो हो। कुकुर जस्तो यो आफ्नो मालिकप्रति बफादार देखिन्न। के भनिन्छ भने मानिसका लागि बिरालो हैन, बिरालोका लागि मानिस हुन्छ। समुदायहरूमा जन्तु–जनावरप्रति विवेकभाव बढ्दै गर्दा यदि त्यहाँ वैज्ञानिक संस्कारको अभाव छ भने त्यसको परिणति उल्टो हुने संभावना पनि उत्तिकै प्रबल छ। प्रेम भावना हो, विज्ञान विधि हो। विधिको बेवास्ताले दुर्घटना र विपद् निम्तन्छ। यस्तो परिणति नेपाली समाजमा व्याप्त हुँदैछ। एउटा दृष्टान्त बिरालोकै राख्दैछु।

दृष्टान्त हो गेंकी नामको सानो बिरालोको। कसैले वा उसैको माउले उसलाई एउटा अफिसको ढोकामा छाडेर गएको रहेछ। यो हालसालै मात्र भएको पाटन सहरको कुरा हो। एउटा सहृदयी परिवारले त्यस परित्यक्त बच्चालाई ‘अडप्ट’ गर्न लागे। ऊ सुन्दर, मायालु, फुर्तिलो र स्वस्थ थियो। सबैलाई व्यस्त राख्थ्यो। त्यही भएर गेंकी नाम राखिएको। जापानी भाषामा यसको अर्थ स्वस्थ र फुर्तिलो भन्ने रहेछ। पाल्न लागेको दुई सातापछि उपचारका लागि नजिकैको जनावर हेरचाह केन्द्रमा लगेछन्। त्यहाँ अरू पनि दुई तीनवटा बिरालाका बच्चाहरू ल्याइएको रहेछ। सँगसँगै तिनको अपरेसन भयो, फर्काएर घर लगियो।

घर लगेको सातौँ दिनमा गेंकीलाई सन्चो भएन। उसले वान्ता गर्‍यो। खान मन गरेन। आठौँ दिन राति पखाला लाग्यो, त्यो रक्ताम्य थियो। नवौँ दिन बिहान डाक्टर देखाउन लगियो। उपचार गर्दागर्दै उनको मृत्यु भयो। यो आकस्मिक घटनाले पाल्न लगेको परिवारमा गहिरो शोक छायो। परीक्षणबाट थाहा लाग्यो कि गेंकीलाई फिलाइन पार्भोभाइरसको संक्रमण भएको रहेछ। यो अति छिटो सर्ने प्रलयकारी रोग रहेछ। शोक सन्तप्त परिवारले दायित्वस्वरूप गेंकीसँगै उपचार गरिएका बिरालाहरूको परिवारलाई सम्पर्क गरे। थाहा लाग्यो कि तिनका पनि कोही भर्खरै मरेको, कोही गम्भीर अवस्थामा रहेछ। कसैको त घरका अरू बिरालोसमेतलाई सरेछ। जसको पछि मृत्यु भयो।

प्रश्न रह्यो, के यस्तो दुर्घटना टार्न सकिन्नथ्यो ? अपरेसन गर्नुअघि ती बिरालालाई खोप लगाउनु अनिवार्य विधि हुँदो हो। चिकित्सा विज्ञानमा यसलाई प्रोटोकल भनिन्छ। तर प्रोटोकलको बेवास्ता गरिदिँदा नै यो घटना हुन गयो र ती अवोध बिरालाका बच्चाहरूको असामयिक मृत्यु भयो। जिम्मेवार निकायहरू, जस्तै– नेपाल पशुचिकित्सा परिषद्, एनिमल सेन्टरहरूले यस्तो विधि–विधान लागु गर्नेतर्फ खासै चासो र चिन्ता लिएको देखिन्न।

सामान्यतया १४–१५ वर्ष बाँच्ने बिरालोका लागि ६ महिनामै मर्नु कुनै हालतमा न्यायोचित होइन। थाहा छैन, वैज्ञानिक विधिप्रतिको यस्तो मानवीय बेवास्ताले कति मासुमगेंकिहरूले छोटो आयु बाँच्नुपर्ने हो। कार्ल सेगनले भने जस्तै वैज्ञानिक संस्कारको उपेक्षा गरेर हामीले आत्मघाती समाज निर्माण गर्दैछौँ अथवा विवेकको आडम्बरमा जोन ग्रेको फिलाइन फिलोसोफी अर्थात् बिरालो दर्शनलाई प्रत्याह्वान ?

 

– भुजु नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हुन्। 

प्रकाशित: ९ पुस २०८० ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App