७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

रिसोर्टको तृप्तिसँगै क्रान्तिको विसर्जन

यतिखेर कार्यकारी प्रधानमन्त्री पुष्पकमल दाहाल छन्। नेकपा माओवादीका विगत ३५ वर्षदेखिका कार्यकारी अध्यक्ष, जनविद्रोहका नायक पनि उनै हुन्। देशलाई समाजवादी मात्र होइन, साम्यवादी चित्रमा लैजान खोज्ने प्रमुख पात्र पनि उनै हुन्। उनको यो लचकदार र चमत्कारी व्यक्तित्वमा त्यतिखेर आक्रमण भएको छ जब माओवादी सुप्रिम कमान्डरकोे तीनमहिने क्रान्तिकारी रूपान्तरण अभियान तीव्र गतिमा चलिरहेको छ।

 यस्तो समयमा भएको पछिल्लो बिष्फोटनले उनले पड्काउन लगाएका सकेट बमहरूको आवाजलाई समेत मत्थर पारेको छ। यिनका हिजोका क्रान्तिकारी लफ्फाजी, छलाङ, रूपान्तरण खोक्रो र नक्कली सावित भएका छन्। जो यति मुखरित छ कि सबैको केन्द्रविन्दु उनले गरेको नातिनीको कन्यादान समारोहमा थपिएर बिष्फोट भैरहेको छ। बहुचर्चित कवि अर्जुन पराजुलीको हस्तलिखित पोस्ट वामपन्थी कित्तामा ठूलो धमाका बनेको छ।

पाँचतारे होटलमा भड्किलो राजसी विवाह ! चर्चाको शिखरमा छ। गोकर्ण रिसोर्टको मण्डपमा होमिएको चरुसँगै उडेको धुवा र त्यसको सुगन्ध झनझन् फैलिँदो छ। यो जति फैलिइरहेछ, प्रचण्डको क्रान्तिकारितामाथि पुसको ठिहीमा ठाँटो जमेको पानी खन्याउँदै चोटिलो हमला प्रहार भइरहेको छ। जाडो महिनामा सिस्नो पानीको प्रहार खप्न प्रचण्डलाई साह्रै कष्ट भैरहेको देखिँदैछ। उनी धुम्म अनुहार पारेर चूपचाप छन्। एकतमासले हेरिरहेका छन्, न टाउको हल्लाएका देखिन्छन् न त कुम उचालेकै। मुन्टो उठाउन पनि सकिरहेका छैनन्।

प्रचण्डको रातो बर्को ओडेको ज्यानमाथि एकपछि अर्को आरोपको बौछार भैरहेछ। दरबारिया, मण्डले र पूर्वपञ्चहरूले पनि अनैतिक भनेर दुत्कार्न थालेपछि यिनका प्रवक्ताहरू पनि अवाक् बनिरहेछन्। मौन बन्न बाध्य छन् र तिनको वाक्यसमेत फुट्न सकेको छैन। कतिपय भने प्रचण्डमाथि गधा बोकेर ओइरिन थालेका छन्। भन्दैछन्, यी भ्रष्ट हुन्। लुटेरा हुन्। अनैतिक हुन्। कमिसनखोर हुन्। दलाल हुन्। स्वार्थी हुन्। गद्धार हुन्। प्रतिक्रान्तिकारी हुन्। पदलोलुप हुन्। पैसाप्रति यिनको आशक्ति यति तीव्र छ कि त्यसका लागि जे पनि गर्छन्।

खासमा के हुन् प्रचण्ड ? यिनमाथि जे÷जति आरोप लागेका छन्, यस्ता आरोप यसअघि कसैलाई पनि लागेको थिएन। यो नयाँपनलाई कसरी बुझ्ने ? उनी आफैँ भने यसबारे के भन्छन् ? सधैँ विवादास्पद अभिव्यक्ति दिएर प्रश्न उठाउनेहरूलाई भुसको थैलोमा हाल्न माहिर प्रचण्डले आफ्नो कुलीन, सामन्ती, फौजी र राजसी ठाँटबाँटलाई कस्तो क्रान्तिकारी जलप लगाएर सामसुम पार्ने हुन् ? हेर्न बाँकी नै छ तर ख्यालख्यालमा यी क्रान्तिकारी आफैँले कबुल गरेको मारिएका १७ हजार नेपालीमध्ये ५ हजारको हत्याको जिम्मेवारी लिन्छु भनेर फसेझैँ यसपालि के उल्कापात बोल्ने हुन् र जटिलतामा जेलिने हुन्, त्यो सुन्न र देख्न अब धेरै पर्खिरहनु पर्ने देखिँदैन।

भारतीय पत्रकार अनिर्वन रोयले चर्चामा चुलिएका बेलामा उनको बारेमा पुस्तक लेखे, ‘प्रचण्ड, नचिनिएका क्रान्तिकारी !’ तर प्रचण्ड यतिखेर उदांगिएका भ्रान्तिकारी हुन् र यिनको विसर्जन भैसकेको खुलेआम आरोप उनकै कित्ताबाट उठिरहेछ। उनकै अनुचरहरू, हाकाहाकी नसके पनि उनको कथनी र करनीमा आलोचना नगरी नहुने गरी कुनामा पुगेका देखिँदैछन्। के उनमाथि लागिरहेका आरोप सत्य हुन् अथवा एक महान् क्रान्तिकारीमाथि लागेका कपोलकल्पित, मनगढन्त र पूर्वाग्रही आक्षेप हुन् ?

स्वयम्, नेकपा माओवादीभित्र भने उनीमाथि लागेका र लागिरहेका आरोपहरूको लामो माला तयार भएको छ। बाबुराम भट्टराईले लगाएका भ्रष्टाचार र अरू फौजदारी अपराधहरू, मोहन वैद्यका आरोपहरूको फेहरिस्त लामै छ। सिपी गजुरेलको पुष्पकमलले हत्याएको प्रचण्ड पदवीलाई उनै गजुरेलले विस्तारवादी, साम्राज्यवादी र दलाल पुँजीपतिहरूको मतियार बनेर क्रान्तिकारी बन्न खोजेको गनगन छाडेका छैनन्। नेत्रविक्रम चन्दले प्रचण्डले क्रान्तिमाथि गरेको गद्धारीको आरोप, बादलहरूले वर्ग छाडेर जातीय लैंगिक रुझान पहिल्याएको जस्ता अनगिन्ती दोषसमेत थपिएर यतिखेर सांस्कृतिक, सामाजिक, राजनीतिक आरोपहरू प्रचण्डका लागि गलपासो बन्न पुगेको छ। धेरै पैसा कमाएपछि सर्वहारा रहन सकिँदैन भन्ने पुनः प्रमाणित भएको छ, पाँचतारे होटलको राजसी बिहे !

कानुनी राजको ठाडो उल्लंघन, भ्रष्टाचार, अपराधीलाई क्लिनचिट, समानुपातिक सिट बेचबिखन, तस्करलाई आशीर्वाद, राजनीतिक बेइमानी, नेपाली नागरिकलाई भुटानी बनाएर बेच्ने, सुन तस्करी, मिटरब्याजी संरक्षण, राजनीतिको व्यापारीकरण र अपराधको राजनीतीकरणले प्रचण्ड नेतृत्वलाई बदनामीको शिखरमा पु¥याएका छन्। देश आर्थिक तथा नैतिकरूपमा असफल राष्ट्रको खाडलमा पुगेको छ। यस सन्दर्भमा प्रचण्डको छटपटीलाई केलाउँदा उनी दिग्भ्रमित हुनुका कारणहरू खुल्न थाल्छ।

के पछिल्लो गलपासो प्रचण्डको इतिश्री गराउन काफी छ ? अथवा, उनको पतनका नयाँ शृंखलाहरू थपिँदैछन्। थपिए पनि आश्चर्य नमाने हुन्छ। नातिनी प्रतिभाको खर्चिलो, भड्किलो र राजसी विवाह नै कुनै बेलाका क्रान्तिकारी प्रचण्डको राजनीतिक अवसानको चिहान बन्यो भने आश्चर्य नमाने हुन्छ। क्रान्तिकारिता, नैतिकता र सिद्धान्तनिष्ठताका लागि यो त एउटा निहुँ मात्र हो, खासमा उनका कर्तुतहरू नै उनको पतनका जायज कारण हुन्।

साम, दान, दण्ड, भेद प्रयोग गरेर बेलुनझैँ फुलाइएको माओवादी क्रान्ति अन्ततः किन, कसरी र के कारणले एउटा रिसोर्टमा गरिएको होममा परेर स्वाहा हुँदैछ ? यो आफैँमा नेपाली क्रान्तिको उहापोह बुझाउने रोचक किम्बदन्ती बन्दैछ। नयाँ पुस्ताका लागि उग्रवामपन्थी अतिवादले कसरी वामपन्थी लोकतान्त्रिक आन्दोलनलाई नै सखाप बनाउँछ भन्ने ज्वलन्त उदाहरण बनिरहेको छ, प्रचण्डको वर्गीय आत्महत्या ! उनले राजसी बिहेमार्फत कुलिन वर्गको देखिन आफ्नो भएभरको क्षमता खर्चिए। सबै विदेशी राजदूतावाससम्मलाई चुलै निम्तो बाँडेर राजसी ठाँट प्रदर्शन गरे। यो नै उनको वर्गउत्थान हो र पतन पनि !

माओवादीकै विद्यार्थी संगठनका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले लेखे– लुम्बिनी विकास कोषको प्रचण्डको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन ! अनि पत्रकार विजयकुमार पाण्डेले पोस्ट गरे– के हरेक सर्वहारा शाषितभित्र, कुनै दिन सामन्ती बन्ने चाहनाको बिउ लुकेको हुन्छ ? कुन विन्दुमा मान्छे शोषितबाट सामन्त बन्न रत्तिभर लाजसरम छोड्छ ? वा मान्छेको मूल स्वभाविक चरित्र नै त्यो हो ?

स्वतःस्फूर्तरूपमा सामाजिक सञ्जाल भरिएका छन्, हिजो चप्पल लगाएर प्याट्प्याट् बजाउँदै आएका नेताहरूलाई तिनका कार्यकर्ताले सोध्न सक्छन्– तपाईँ करोडौँ पर्ने गाडी चढिरहनु र आलिसान बंगलामा बसिरहनुभएको छ। दिनमा चार जोर लुगा फेर्नुहुन्छ। यो पैसा कहाँबाट आयो ? तपाईँले यो देशमा कति कर तिर्नु भयो ? तपाईँको उद्योग के हो ? व्यवसाय के हो ?

सांसद ज्ञानेन्द्र शाही देशव्यापीरूपमा बोलिरहेका छन्, हिजो जनवादी विवाह गर्नुपर्छ भनेर हिन्दु परम्पराअनुसार विवाह गर्ने नवजोडीलाई विवाह मण्डपमा बम हानेर, घाँटी रेटेर मारे। आज तिनैका सुप्रिमो प्रचण्डले पाँचतारे होटलमा नातिनीलाई आशीर्वाद दिँदा उनलाई लाज लाग्दैन ? आत्मग्लानि हुँदैन ?

गएको आमचुनावमा पुग÷नपुग १० प्रतिशत मत पाउने माओवादी जुन तिकडमले शासनसत्तामा पुग्यो, अहिले उसका क्रान्तिकारी लफ्फाजीहरूलाई सबैको पहुँचमा रहेको सूचना प्रविधिले तीव्र गतिमा उदांग पार्ने काम गरिरहेको छ। कामरेड प्रचण्डका झुट, फरेब र आश्वासनका ठूलाठूला पुलिन्दा खुलिरहेछन्। उनले खडा गरेको अभेद्य पर्खालहरू गल्र्यामगुर्लुम ढल्न थालेका छन्। राम–रावण युद्धमा रावणको भाइ विभीषणको असहयोगपछि रावणको पराजय भएझैँ क्रान्तिकारी प्रचण्डका सहयात्रीहरू नै यतिखेर अभेद्य ठानिएका प्रचण्डका किल्लाहरू एकपछि अर्को ढाल्न थालेका छन्।

तिनलाई प्रचण्डको भयले अहिले पनि पूरै खुल्न दिइरहेको छैन किनभने प्रचण्ड आफ्ना वैरीहरूप्रति कति निर्मम भएर उत्रन सक्छन् भन्ने तिनलाई राम्ररी थाहा छ। जब प्रचण्ड तृप्ति रिसोर्टमा गएर विसर्जन हुन्छ त्यतिबेला पूर्वपञ्चहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच पञ्चायतकालमा भएको उचाल, पछार र थचार जस्तै देख्न सकिन्छ। अघिल्लो दिनसम्म राष्ट्रिय पञ्चायतमा बहुमत भएका थापा रातभरमा अहिले प्रचण्डका निर्वाचित सांसदको संख्यामा झरेर एक्लिए र प्रधानमन्त्री उनबाट खोसिएको थियो।  

प्रकाशित: ४ पुस २०८० ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App