८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

नेपाल संवत् अर्थात् नेपाली राष्ट्रवाद

सन्दर्भ: शंखधर साख्वाः दिवस

नेपाल संवत्को नयाँ वर्ष ११४४ का अवसरमा नेपाल संवत्लाई विक्रम संवत्सरह नै सरकारी दस्ताबेजहरूमा पनि प्रयोगमा ल्याउने निर्णय नेपाल सरकारले गरेको छ। नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्छ भनेर लामो समयदेखि भइरहेको आन्दोलनको एउटा माग पूरा भएको रूपमा यसलाई लिइएको छ।  

सरकारको यस निर्णयलाई नेपाल संवत् आन्दोलनका अभियन्ता र योसँग सम्बन्धित विभिन्न संघ/संस्थाले स्वागत एवं खुसी व्यक्त गरेका छन् । वास्तवमा आफ्नै राष्ट्रको नामबाट स्थापित नेपाल संवत्लाई सरकारी कामकाजी संवत्का रूपमा प्रयोग गर्ने यो निर्णय धेरै अगाडि नै हुनुपर्ने थियो। तर ढिलो भए पनि यसले सरकारी मान्यता पाएको छ। यसका लागि सरकार धन्यवादको पात्र भएको छ।  

नेपाल संवत्को आन्दोल सांस्कृतिक अभियान भए पनि यसमा राजनीतिक जमघट भने उबेला नै हुँदै आएको देखिन्छ । जनस्तरबाट मनाइने नेपाल संवत्को नयाँ वर्षको दिन हुने सांस्कृतिक र्‍याली, औपचारिक कार्यक्रमहरूमा सबै दलका नेता तथा कार्यकर्ता सक्रियरूपमा सहभागी भएका हुन्छन्। नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्छ भनेर आवाज  

पनि तिनै दलका नेता, कार्यकर्ताले उठाइरहेका हुन्छन्। तर व्यावहारिकरूपमा यसलाई राष्ट्रिय मान्यता दिने काम भने भएको थिएन । खाली नारा र भाषणमा मात्र सीमित थियो । नेपाल संवत्को भिन्तुना कार्यक्रममा ‘नेपाल संवत् राष्ट्रिय संवत्’ भनी नारा लगाउने कतिपय नेताहरू मन्त्री/प्रधानमन्त्री बनिसक्दा पनि यसले राष्ट्रिय मान्यता हासिल गर्न सकिरहेको थिएन ।  

नेपाल संवत् नेपालको राष्ट्रिय संवत् नै हो भन्ने कुरामा कसैको दुई मत छैन । त्यसैले पनि यसलाई राष्ट्रिय मान्यता दिनु आवश्यक छ । संसारभरमा नेपाल संवत् एउटा मात्र यस्तो संवत् हो जुन देशको नामबाट स्थापना भएको छ । नेपाल संवत् देशको नामबाट स्थापना भएकाले यो त्यसै पनि राष्ट्रिय संवत् हो र यसलाई मान्नु भनेको राष्ट्रवादी हुनु पनि हो । नेपाल संवत् नेपालको हरेक सांस्कृतिक पर्व र क्रियाकलापहरूमा प्रयोग भइरहेको छ । यहाँको संस्कृति पनि हो । यही संस्कृतिको आधार भइरहेको नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु भनेको नेपालको सांस्कृतिक पहिचान र विविधतालाई पनि मान्यता दिनु हो।  

नेपाल संवत्को स्थापना शंखधर साख्वाःले गरेका थिए। जनसमुदायलाई ऋण मुक्त गरेर नेपाल संवत्को प्रयोग गरेको भन्ने इतिहास पाइन्छ । गरिब जनसमुदायलाई ऋण मुक्त गरिदिनु भनेको लोककल्याणकारी काम पनि हो। साख्वाःको लोककल्याणकारी कामलाई उदाहरणका रूपमा लिएर त्यसमार्फत पनि हामीले प्रेरणा लिनुपर्छ । कुनै पनि व्यापार व्यवसाय गर्दा आफ्नो आम्दानीको केही हिस्सा लोककल्याणकारी काममा पनि प्रयोग गर्नुपर्छ भनेर साख्वाःले सन्देश दिएका छन् । लोककल्याणकारी काम गर्नु भनेको राष्ट्रसेवाको भाव जागृत हुनु, देशभक्तिको विकास गर्नु, देशको समग्र विकास हुनु र समाज कल्याण गर्नु पनि हो । अराजक, अविश्वास, असहिष्णु जस्ता गतिविधि व्यापकरूपमा बढ्दै गइरहेको अवस्थामा आजका लागि अति आवश्यक सन्देश साख्वाःले दिएका छन् ।  

नेपाल संवत् सुरुवात गर्नु भनेको साख्वाःको जुन लोककल्याणकारी भावना वा सन्देशलाई राष्ट्रिय मान्यता प्रदान गर्नु भनेको हो । नेपाल संवत्को प्रयोग भनेको राष्ट्रवाद, समाजवादको प्रयोग पनि हो । लोककल्याणकारी राज्य व्यवस्थाको सन्दर्भ पनि हो । योसँग अनेक विषय गाँसिएका कारण राज्यले नेपाल संवत्लाई आत्मसात गरी शंखधरबाट प्रेरणा प्राप्त गरी राज्यको निर्देशक सिद्धान्तका रूपमा अगाडि बढाउन सकियो भने एउटा उपयुक्त काम हुनेछ ।  

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भटृराईको प्रधानमन्त्रीकालमा २०५६ सालमा शंखधरलाई राष्ट्रिय विभूतिका रूपमा मान्यता दिइएको थियो । साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिएको खुसियालीमा सोही दिनलाई अहिले शंखधर साख्वाः दिवसका रूपमा मनाइँदै आएको छ । आज त्यही शंखधर दिवसको दिन पनि हो । आज कै दिनमा साख्वाःद्वारा प्रतिपादित नेपाल संवत्को प्रयोग मात्र होइन, उहाँले समाएको लोक कल्याणकारी पथलाई समेत आत्मसात गर्न सकियो भने हामी एकैचोटि राष्ट्रवादी, देशभक्त र लोककल्याणकारी पनि हुन सक्छौँ । त्यसैले साख्वाःले छाडेर गएका लोककल्याणकारी मार्ग र भावनालाई अंगीकार गरी राज्य निर्माणको कार्यमा अगाडि बढ्न आज शंखधर दिवसको दिनमा संकल्प गरौँ । 

प्रकाशित: ६ मंसिर २०८० ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App