२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मानव जीवनमा शान्तिको महत्त्व

प्रत्येक वर्ष युनाइटेड नेसनल जनरल असेम्ब्लीका तर्फबाट २१ सेक्टेम्बरमा विश्वशान्ति दिवस मनाउने गरिन्छ। यसको प्रमुख सिद्धान्त हो– नश्लवादको अन्त्य, शान्तिको स्थापना।  

यस शान्ति दिवसको सार छ–  

दुनियाभर सधैं शान्तिको स्थिति रहिरहोस्, अन्तर्राष्ट्रिय संघर्ष, आतङ्क र अशान्तिलाई रोकौं, समस्त देशमा आपसी सद्भाव रहोस्।

मन एवं मनुष्याणां कारणं बन्धमोक्ष्योः।

मैत्राणि उपनिषद्को यस श्लोकमा ऋषि भन्छन्– मन नै मानवको सुख–दुःखका लागि जिम्मेवार हो। मन मनुष्यको शरीर, इन्द्रिय, अन्तरात्मा र चेतनासित जोडिएको छ।  

मनमा जब असीमित कामना, शक्ति र संसाधन प्राप्त गर्ने लोभ आउँछ, तब झगडा, विवाद र अशान्ति पैदा हुन्छ। यसप्रकारको उद्दण्ड र अहङ्कारी मन भएका मान्छे मानवजाति र विश्व व्यवस्थाका लागि अकल्याणकारी हुन्छन्। यसकारण मनमाथि नियन्त्रण राख्नुपर्छ।

चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवददृढम्,

तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।

६/३४(गीता)

अर्जुन भन्छन्– हे श्रीकृष्ण, यो मन बडो चञ्चल छ। जिद्दी स्वभावको पनि छ, बलवान पनि छ। यसलाई वशमा राख्नु हावालाई वशमा राख्नुजस्तै हो।

असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्,

अभ्यासेन तु कौन्तेय वैराग्येण च गृहाते।

असंयतात्मना योगो दुष्प्राप इति मे मतिः,

वश्यात्मना तु यतता शक्योवाप्तुमुपायतः।

(६–३५/३६ गीता)

कृष्ण भन्छन्– हे अर्जुन, निःसन्देह तपाईंको कुरा सत्य हो। तर वैराग्य र अभ्यास गरेर मनलाई वशमा राख्न सकिन्छ।  

अब प्रश्न उठ्छ– अभ्यास र वैराग्य के हो ?

सधैं भगवान्को नाममा अभ्यास गरेर र कामनाको त्याग गरेर वैराग्यको अनुभूति हुन्छ। विषय–वासना, धन, कर्मफल, असीमित कामनासित आशक्ति नहुनु वैराग्य हो।

जगतका सम्पूर्ण मानिसहरूको आन्तरिक कामना एउटै छ। त्यो हो– सुख, शान्ति, सफलता, सम्मान, सुरक्षा र सहयोग। तीन प्रकारका चेतना मानिसमा विद्यमान छन्। कोही ब्रह्मानन्दमा लीन छन् वा लीन हुने प्रयासमा छन्। यिनीहरू मस्त रहन्छन्। कोही प्रेमानन्दमा लीन छन् वा लीन हुने प्रयासमा छन्। यिनीहरू व्यस्त रहन्छन्। कोही सांसारिक वा भौतिकताबाट आनन्द लिने असफल प्रयास गर्छन्। यिनीहरू त्रस्त छन्। यसबाट साबित भयो कि आनन्द हामीलाई जसरी पनि चाहिन्छ। कोही आनन्दका लागि अध्यात्मको बाटो लाग्छ, कोही सराबको सिसीभित्र लीन हुने प्रयास गर्छ। अब प्रश्न उठ्छ कि हामी आनन्दको खोजीमा किन्न लागेका छौं ? यसको उत्तर छ– जब हामी नौ महिनासम्म आमाको गर्भमा रहन्छौं, त्यो बेला हामीलाई दिव्य आनन्दको अनुभूति भइरहन्छ। यसकारण आनन्द हाम्रो नसामा नै छ। 

उपनिषद्को भनाइ छ– ‘आनन्दबाट मनुष्यको जन्म भएको हो। आनन्दका लागि बाँचिरहेछौं र अन्तमा आनन्दको महासागरमा विलीन हुन जान्छौं।’ योगी–तपस्वीहरूले आनन्दलाई नै भगवान् भनेका छन्। सत्यम्, शिवम्, सुन्दरम्को तात्पर्य पनि यही नै हो। सत्य नै शिव हो र शिव नै सुन्दर छ। अब हामीलाई बुझ्नु र सम्झनुपर्छ कि जुन आन्तरिक आनन्दको प्यास हामीलाई छ र आआफ्नो क्षमता र समझअनुसार खोजिरहेका छौं, त्यही बाहिर कुनै पनि ठाउँमा छैन। त्यो दिव्य आनन्द हामीभित्र छ। यो बुझ्नका लागि सांसारिक वा आध्यात्मिक जगत्मा ध्यान–साधनाबाहेक कुनै उपाय छैन। ध्यान–योगको कुनै पनि धर्मसित सम्बन्ध छैन। यो शुद्ध विज्ञान हो, जसरी विज्ञान कारण र परिणामबाट प्रारम्भ हुन्छ। त्यस्तै कसैले पनि ध्यान गरेर यसको लाभ हेर्न सक्छ। 

ध्यान योगको सम्बन्ध कुनै धर्मविशेषसित छैन। यसकारण सर्वधर्मका मानिसबिना हिचक वा झिझक यसको प्रयोग गर्न सक्छ र गरिरहेको पनि छ। कुनै पनि व्यक्ति दैनिक पन्ध्र मिनटको अभ्यास गरेर यसको चामत्कारिक लाभ पनि पाउन सक्छ तर कम्तीमा ४५ दिन गरेपछि मात्र यसको प्रभाव अनुभव गर्न सक्छ। वर्तमान समयमा सर्वधर्मका व्यक्तिहरू ध्यान–साधना गरिरहेका पनि छन्। डाक्टरहरू पनि ध्यान–साधनाका लागि सल्लाह दिइरहेका छन्।औषधि निर्माता कम्पनीहरू मेडिटेसन म्युजिक पनि निकालिरहेका छन्। हामी को हौं ? कहाँबाट आएका हौं ? मरेपछि कता जान्छौं ? यी सबै प्रश्नको जवाफ ध्यान–योगसित छ।  

मन र मकानलाई बेला बेलामा सफा गर्नुपर्छ, नत्र घरमा अनावश्यक सामान र मनमा नकारात्मक विचार जम्मा हुन सक्छ। यसका लागि निँद र खानाजस्तै प्रतिदिन प्रातःकाल एउटा ध्यान विधिको उपयोग गर्नुपर्छ। पूरै विश्वमा लगभग ३०० धर्म छन्। सबै धर्मका धर्मगुरुहरूले आफ्ना अनुयायीलाई प्रातःकालमा निश्चित रूपमा १० मिनटको कुनै न कुनै यस्तो कार्य गर्नका लागि भन्छन्, जसले गर्दा मनमा शान्तिको स्थिति सिर्जना होस्। मनको एउटा विज्ञान हो– तपाईं जस्तो भाव वा विचारले आउनुहुन्छ, तपाईंको मनोदशा त्यस्तै भइहाल्छ। उहाँसम्म कि दशौं वर्ष अगाडिको कुनै दुःखद वा सुखद कुरालाई याद गर्नुस्, तपाईंको मनको भाव त्यस्तै दुःखी वा सुखी भइहाल्छ। विशेष रूपमा प्रातःकालको मनोदशाको दैनिक जीवनमा धैरै ठुलो प्रभाव पर्छ। बिहानको एउटा सानो तनावले पनि पूरै दिनलाई तनावपूर्ण बनाइदिन्छ। त्यस्तै बिहानको एउटा सानो आनन्दको क्षणले पनि पूरै दिनलाई आनन्दित बनाउन सक्छ।  

ध्यानको वैज्ञानिक प्रभाव

हाम्रो शरीर व्यवस्थापन राम्रो तरिकाले भयो भने शरीरका रसायन उत्पादक अंगहरूले विभिन्न प्रकारका रसायनको उत्पादन गर्छन्। जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्य, आत्मविश्वास, समझ र शान्तिमा वृद्धि हुन्छ। जब मन शान्त रहेका बेला र गहिरो निँदमा रहेका बेला मात्र अंगहरूले विभिन्न रसायनको उत्पादन राम्रोसँग गर्छन्। यी हर्मोनहरूले नै मानसिक शान्ति, आध्यात्मिक ज्ञान, उच्च समझ तथा परम सन्तोषको अनुभूति गराउँछ। यति मात्र होइन, विवेक, सन्तुष्टि र सकारात्मक सोचमा पनि वृद्धि हुन्छ।  

वर्तमान भागदौड, अस्तव्यस्त तथा अत्यधिक प्रदूषित वातावरण भएका कारण ग्ल्यान्डको कार्यक्षमता असन्तुलित भइरहेको हुन्छ। यस्तो बेला निद्रा पनि राम्रो लाग्दैन। जुन बेला निद्रा आउँछ, त्यो बेला सुत्नेका लागि समय रहँदैन र सुत्ने समय पाउने बेला निद्रा नै रहँदैन। यस्तो अति नै जटिल समस्याबाट मुक्तिका लागि हामीले दैनिक एउटा ध्यान–साधना गर्नुपर्छ। 

प्रकाशित: ६ आश्विन २०८० ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App