बिपी कोइराला नेपालको प्रजातान्त्रिक विचारधाराका शीर्ष भाष्यकार हुन्। त्यसो त उनी राष्ट्रियता र समाजवादका शीर्ष व्याख्याता र विचारक समेत हुन्। नेपालको सन्दर्भमा राजनीतिक अवधारणाको व्याख्या र विश्लेषणमा उनको समानान्तर उचाइमा पुग्न सकेको अर्को राजनीतिज्ञ अहिलेसम्म मुलुकले पाउन सकेको देखिँदैन।
प्रजातन्त्र वा लोकतन्त्र विश्वव्यापी राजनीतिक चिन्तन भएको हुँदा यसको सार्वदेशिक आधारभूत मान्यताहरूमा समानता रहेको महसुस गर्न सकिन्छ। मुलुकका आआफ्नै ऐतिहासिक पृष्ठभूमि र राजनीतिक विशेषताअनुसार राष्ट्रियता र समाजवादको व्याख्या र विश्लेषणमा भने केही विशिष्टीकृत दृष्टिकोण वा विचार पनि पाइन्छन्। जस्तो, नेपाली राष्ट्रियताका आधार र अमेरिकी राष्ट्रियताका आधारमा केही भिन्नता हुन सक्छन्।
त्यस्तै, नेपालको राजनीतिक परिप्रेक्ष्यमा बुझ्न सकिने समाजवाद र चीन वा युरोपियन मुलुकहरूमा अनुभव गरिने समाजवादी दृष्टिकोणका बीचमा भिन्नता हुन सक्छन्। कहीं प्रजातान्त्रिक समाजवाद र कतै समाजवाद मात्र पनि भन्ने गरिएको पाइन्छ। मुलुकले अख्तियार गरेको राज्य व्यवस्थाले यसको निर्धारण वा सुनिश्चितता गरेको हुन्छ।
बिपीले ‘प्रजातान्त्रिक समाजवाद’लाई आफ्नो चिन्तनको मूल आयाम बनाए र त्यसकै केन्द्रीयतामा आफ्ना विचार र दृष्टिकोणहरू पनि व्यक्त गरे। उनले प्रजातन्त्र र समाजवादको चर्चा गर्ने क्रममा दुवैको संश्लेषीकृत व्याख्या गर्दै प्रजातन्त्रबिनाको समाजवाद अधिनायकवादी र समाजवादबिनाको प्रजातन्त्र सामन्तवादको पृष्ठपोषक बन्न सक्ने हुँदा यी दुवैलाई सन्तुलित तवरले राज्यव्यवस्थामा अपनाउनुपर्ने आवश्यकता प्रस्ट्याए, ‘राजनीतिक दृष्टिले समानताको सिद्धान्तलाई प्रजातन्त्रले स्थापित गर्छ भने त्यस्तै आर्थिक दृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्थापित गर्दछ।’
बिपीको तस्बिरमा माल्यार्पण गर्दै गर्दा कांग्रेसप्रति तेर्सिएका आम प्रश्न छन्: झल्मलाइरहेको चहकिलो बिपी विचारलाई आफ्नै धमिला आँखाका कारणले झन् धमिलो पो देख्न थालेको हो कि? यत्रो लामो समयभित्र कांग्रेसले ‘राष्ट्र’को जीवन, संस्कार एवम् लोकतान्त्रिक संस्कृति निर्माण गर्न कति समय व्यतीत गर्यो?
बिपी विचारको अर्को महत्त्वपूर्ण आयाम ‘राष्ट्रियता’ मा केन्द्रित रहेको पाइन्छ। प्रजातन्त्रबिना राष्ट्रियताको भावनाले आकार ग्रहण गर्न नसक्ने उनको विचार रहेको छ। राष्ट्रियता भन्नेबित्तिकै ‘राष्ट्र’ को उपस्थिति स्वतः रहन जान्छ। बिपी विचारमा सन्निहित राष्ट्रियतासम्बन्धी निकै चर्चा परिचर्चा हुँदै आएको पनि छ तर उनको राष्ट्रियता भित्रको ‘राष्ट्र’ के हो भन्ने सन्दर्भमा भने कमै विवेचना गरिएको पाइन्छ। यस आलेखमा बिपी–विचारभित्रको ‘राष्ट्र’ के हो भन्ने सन्दर्भमा चियाउने प्रयत्न गरिएको छ।
भौगोलिक सीमामा आबद्ध भूगोल देश हुन सक्छ। त्यस्तो देशका अधिकारविहीन मानिस रैतीका रूपमा रहन्छन्, वास्तविक जनता हुन सक्दैनन्। २००७ सालभन्दा पहिले नेपाली जनता रैतीका हैसियतमा मात्र थिए–स्वतन्त्रताविहीन, अधिकारविहीन रैती मात्र। सुगौली सन्धिपछिको नेपाल देशका रूपमा खडा त भयो, तर राष्ट्र बन्न सकेन।
२००७ सालको जनक्रान्तिले नेपाललाई ‘देश’ बाट ‘राष्ट्र’ को हैसियत प्रदान गर्यो। नेपालीलाई ‘रैती’ बाट ‘जनता’ मा उकाल्यो। देश सबैको साझा हो, देश कसैको व्यक्तिगत सम्पत्ति हुन सक्दैन। देशलाई वास्तविक देश अर्थात् राष्ट्र बनाउन राष्ट्रियताको भावनाको बीजारोपण गराउन, प्रजातन्त्रको अर्थ र औचित्य प्रदान गरी नेपाली जनताको सामर्थ्य लाई उठाउन आफू २००७ सालको जनक्रान्तिमा होमिनुपरेको विचार बिपीले अदालतमा बयान दिँदा व्यक्त गरेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रको महिमाले मण्डित यस पुनीत भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ। देशप्रति ममता भएर म होमिएको हुँ। देशलाई राष्ट्र बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु। मेरो राजनीतिक जीवनको केन्द्रीय प्रेरणा यही भावना हो ।’ (अदालतमा बयान)
सचेत नागरिकले नै राष्ट्रप्रतिको जिम्मेवारीलाई बोध गर्न सक्छ भन्दै बिपीले नेपाली जनतालाई रैतीबाट उठाएर सबल, सक्षम र मुलुकप्रतिको दायित्व वहन गर्न सक्ने नागरिक बनाउन आफ्नो जीवन अर्पित रहेको बताएका छन्, ‘नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो। रैती भने निमुखो हुन्छ। त्यो अर्काको खटनमा हिँड्छ। उसलाई न देशप्रति चाख हुन्छ, न त आफ्नो अधिकारप्रति जागरुक नै हुन्छ। उसमा आज्ञापालन गर्ने स्वभाव बनेको हुँदा ऊ कुनै जिम्मेवारी पनि लिँदैन।
तसर्थ, रैतीहरूबाट राष्ट्र बन्न सक्दैन। २००७ सालको क्रान्तिले नेपालीलाई नागरिक बनाएको थियो, राजाले २०१७ सालमा त्यसलाई खोसे र सारालाई फेरि रैती तुल्याए। उनले राष्ट्रलाई आफ्नो पेवा, जमिनदारी बनाए।’ (तरुण/राजनीतिक अभिलेख)
राजाद्वारा नियोजित २०१७ सालको राजनीतिक षड्यन्त्रले राष्ट्रको हैसियतमा स्थापित देशलाई पुनः पछिल्तिर फर्काएर अधिकारविहीन रैतीस्थलका रूपमा परिणत गराएको हुँदा त्यसलाई पुनः राष्ट्रको हैसियतमा पुर्याउने संकल्पका साथ आफू सक्रिय रहेको कुरा बिपीले बयानका क्रममा बताएका छन्।
अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको राजनीतिक स्वार्थ विस्तारको हुन्डरीमा परेर नेपालको अस्तित्व विलिन हुनसक्ने खतरा बढ्दै गइरहेको आभास पाए। यस्तो स्थितिमा आफ्नो प्रथम कर्तव्य राष्ट्र बचाउने प्रयत्न गर्नु हो भन्ने अठोट लिएर बिपी राष्ट्रिय मेलमिलापको मार्गचित्र बनाई २०३३ सालमा प्रवासबाट नेपाल फर्किएका थिए। बिपीको राष्ट्रिय मेलमिलापको नीति राष्ट्र बचाउने नीति हो।
प्रजातान्त्रिक अधिकार प्राप्त देश वा जनता नै वास्तवमा ‘राष्ट्र’ हो भन्ने कुरा बिपीले व्यक्त गरेका छन्, ‘देश वा राष्ट्र भनेको वास्तवमा भूगोल होइन, माटो होइन। त्यो यथार्थमा जनता हो। तसर्थ जनताको हित हुने कुरो नै देशहितको कुरो पनि हो। जनताको अधिकार देशको अधिकार हो। जनताको अधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो। नेपालको भूगोलबाट यहाँ बस्ने एक करोड नेपाली जनता लोप भए भने मेरो अर्थमा नेपाल लोप हुन्छ। तर त्यो भूगोल भने आफ्नो ठाउँमा जस्ताको तस्तै रहिरहन्छ ।’ (तरुण–२, राजनीतिक अभिलेख)
वास्तविक अर्थमा जनताले जनताको हैसियत प्राप्त गरी बाँच्न नसकेको वा स्वतन्त्रता प्राप्त नागरिक नभएको देश राष्ट्र बन्न नसक्ने आशय बिपीको रहेको पाइन्छ। भूगोलरूपी देश हुनुको कुनै अर्थ नरहने उनले बताएका छन्। राष्ट्र र राष्ट्रियता अविभाज्य तत्त्व हुन्। राष्ट्र नभई राष्ट्रियताको परिकल्पना गर्न सकिन्न। बिपी विचारभित्रको राष्ट्रियतालाई राष्ट्र (जनता) र प्रजातन्त्र (मुलुकमा उपलब्ध भइरहने स्वतन्त्रताको संस्थागत आधार र जनतामा त्यसको अनवरतताको प्रत्याभूति) को संश्लेषणात्मक स्वरूपमा बुझ्न सकिन्छ।
बिपीले नेपालको राजनीतिक सन्दर्भमा व्यक्त गरेका विचार र दृष्टिकोणहरूले समकालीन नेपालमा प्रजातन्त्रप्रतिको पुनर्जागरण एवम् सचेतीकरणका लागि सर्वाधिक सामर्थ्य प्रदान गरे। त्यसको परिणति, राजनीतिक परिवर्तनका द्वारहरू खुले। तिनले निरन्तर उत्पन्न गराउँदै आएको वैचारिकी र भाष्यलाई प्रतिस्थापन गर्न तत्काल सम्भव देखिएको छैन।
‘बिपी’ नेपाली जनता (राष्ट्र)का राष्ट्रिय वैचारिक सम्पदा हुन्, मानव सम्पदा हुन्, उनका विचार कुनै एउटा पक्ष (पार्टी) का लागि मात्र होइनन्। नेपालको लोकतान्त्रिकीकरण मूलतः उनका विचारको उज्यालोबाटै सम्भव भएको हो भन्न सकिन्छ।
यद्यपि उनका राजनीतिक सहयात्रीहरूको समर्पण र त्यागको पनि उत्तिकै अहम् भूमिका रहेको तथ्यलाई बिर्सनु हुँदैन।
विडम्बना ! नेपाली कांग्रेसले बिपी चिन्तन र विचारलाई त्याग्दै गएको अनुभव सर्वत्र हुँदै छ। बिपीको देहान्तपछि नेपालको चिरकालीन इतिहासले सम्झिने दुइटा जनआन्दोलन भए। पहिलो (२०४६) ले राजतन्त्रलाई संवैधानिक बनायो भने दोस्रोले नेपालमा गणतन्त्रात्मक युगारम्भ गरायो।
यी परिवर्तनका लागि कांग्रेसको भूमिका अग्रणी रहेकोमा विवाद छैन। नेपाली कांग्रेसका साथमा अन्य प्रमुख राजनीतिक दलहरूको सहभागिता पनि उक्त जनआन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण रहनु उत्तिकै स्वाभाविक रह्यो। मुलुकको राज्य व्यवस्था परिवर्तनका लागि निश्चय नै यी जनआन्दोलनले महत्त्वपूर्ण भूमिका खेले।
मूलतः २०४६ सालयताका वर्षहरूमा दुईपटक संविधान जारी भए। तिनका मार्गदर्शनमा रहेर मुलुकको राजनीतिक, आर्थिक, सामाजिक संरचनात्मक परिवर्तन गरिँदै आएको छ। पछिल्लो संविधान संघीय गणतन्त्रात्मक नेपालको दस्ताबेज बनेको छ। नेपालको संविधान, २०७२ जारी भए पनि सारपूर्ण तवरमा राष्ट्रको हृदयलाई सामथ्र्य प्रदान गर्ने काम गरेको अनुभूति गर्न भने पाइएको छैन। यस्तो हुनुमा अरूको पनि जिम्मेवारी छ भनिएला।
नेपाली कांग्रेसले बिपीको नामलाई शब्दाडम्बरमा मात्र सीमित राख्न पुगेको देखिन्छ। उनका विचारपथमा नयाँ इँटा थपेर त्यसलाई अझ विस्तारित गर्न त परै जाओस्, कांग्रेस झन्झन् पथभ्रष्ट बन्दै गइरहेको महसुस हुन्छ। बिपीले दिएको विचारको उज्यालोमा कांग्रेस हिँड्न छोडिसकेको देखिन्छ।
सत्तामा पुग्न जस्तोसुकै अमर्यादित सम्झौता गर्न तयार हुने नेतृत्वले बिपीको फोटोमा माल्यार्पण गर्नु भनेको उनीप्रति बोक्रे आस्था देखाउनुभन्दा फरक नभएको महसुस गर्ने गरिएको छ। यस्तो स्थितिमा कांग्रेसप्रति तेर्सिएका केही आम प्रश्नहरू छन्। ती प्रश्न बिपीको ‘राष्ट्र’सँग जोडिएका छन्–‘राष्ट्र’ले आश गरेका कांग्रेस नेता (पाका र युवा दुवैथरी) कुर्सी (सत्ता)लाई आँखाको तारो बनाएर हिँडिरहेका त छैनन्? लोकतन्त्र नभएको अन्धकारपूर्ण समयलाई चिर्न बिपीले विचारको ज्योति जगाए। त्यही ज्योतिलाई बोकेर हिँडेको कांग्रेसले आफ्नो यात्रालाई आत्मविश्वासपूर्ण बनाउन ‘माटो’लाई सम्झेर सही ठाउँमा पाइला चाल्न बिस्र्यो कि? राष्ट्र (जनता)को आफूप्रतिको आशा र विश्वासलाई नजरअन्दाज गर्दा आत्मविश्वास गुमाएर कांग्रेस अमर्यादित, अप्राकृतिक गठबन्धनको साङ्लोमा बेरिन पुग्यो कि? झल्मलाइरहेको चहकिलो बिपी विचारलाई आफ्नै धमिला आँखाका कारणले झन् धमिलो पो देख्न थालेको हो कि? २०४६ सालयताको अमूल्य समय कतै सिंहदरबारसम्मको दौडमा मात्र कांग्रेस सीमित रहन गयो कि? यत्रो लामो समयभित्र कांग्रेसले ‘राष्ट्र’को जीवन, संस्कार एवम् लोकतान्त्रिक संस्कृति निर्माण गर्न कति समय व्यतीत गर्यो? त्यसको आत्मसमीक्षा कांग्रेस नेतृत्वले गर्ने समय पायो कि पाएन? ‘राष्ट्र’ कतै आशाहीन भएर सुस्केरा हाल्दै भएको केही आँठा सुर्का बेचेर, साहुलाई बुझाएर विदेशमा अरूकै लागि पसिना चुहाउन पुग्यो कि? कृषिप्रधान मुलुकका बारी कान्ला किन बाँझै भए ? विदेशबाट अन्न ल्याएर छाक टार्नुपर्ने अवस्थामा राष्ट्र के कारण पुग्यो, त्यसको खोजीनीति कांग्रेसले गरेन कि? कतै बिपी विचारवाहक हुँ भन्दाभन्दै कांग्रेस स्वयम् विचारविहीन भइसक्न आँट्यो कि? द्विविधाग्रस्त भएर कांग्रेस अनिर्णयको बन्दी पो भयो कि?
‘तिमीलाई कर्तव्याकर्तव्यको द्विविधा भए सहिदलाई सम्झ, त्यसले तिमीलाई उच्चतामा पुग्ने प्रेरणा दिन्छ,’ बिपीले भनेका थिए। उनको यस प्रेरणालाई बिपी–नगरमा हुने बैठकहरूमा कांग्रेसले स्मरण गर्न पो नभ्याएको हो कि?
बिपीको ‘राष्ट्र’ र वर्तमान कांग्रेसको ‘राष्ट्र’का बिचको परिभाषामा नै अन्तर आइसकेको हो कि ? वा पछिल्लो पुस्ताका कांग्रेसहरूमा ‘पितामह’ ले परिभाषा दिएको ‘राष्ट्र’ र आफ्नो पुस्ताको ‘राष्ट्र’ एकै हुन नसक्ने महसुस भएको हो कि? बेलाबेलामा ‘राष्ट्र’ लाई भेटेर जागरण कार्यक्रम गर्ने कांग्रेसको केन्द्रीय घर स्वयम् प्रशिक्षणविहीन भएर दाइभाइहरूका बिचमा सेखासेख पो गरिरहेको छ कि?
यस्ता खस्रा मसिना प्रश्नहरू स्वयम् कांग्रेसको मनमा उत्पन्न भए कि भएनन् होला? यी त केही प्रतिनिधि प्रश्न मात्र हुन्। यस्ता अरू अनगिन्ती गम्भीर प्रश्न छन् ‘राष्ट्र’ले कांग्रेसलाई सोध्ने। देशवासीलाई ‘राष्ट्र’को हैसियतमा पुर्याउन विचार र संघर्षका पाइला सँगसँगै चालेर हिँडेका बिपी र उनका विचारको प्राधिकार र उत्तराधिकारलाई आफूमा राखिरहन कांग्रेसको सामथ्र्य रहला कि नरहला भन्ने पेचिलो प्रश्नमाथि बिपी–नगरमा गम्भीर बहसको थालनी हुनु जरुरी देखिएको छ। भाद्र २४ गते बिपीको फोटोमा माल्यार्पण गर्दै गर्दा उनले छोडेको ‘राष्ट्र’को अनुहारलाई पनि कांग्रेस नेतृत्वले स्मरण गरोस्। कांग्रेसले बिपीको ‘राष्ट्र’ आफूभित्र बाँचिरहेको छ कि छैन, आफ्नै छातीलाई सोधोस्।
प्रकाशित: २३ भाद्र २०८० ०१:०५ शनिबार