२८ श्रावण २०७७ बुधबार
विचार

मौन संस्कृति

संसार, गलत क्रियाकलाप गर्नेहरूबाट नष्ट हुँदैन, तर यसकारणले नष्ट हुन्छ, जो गलत क्रियाकलाप चुपचाप हेरिमात्र रहन्छ – अल्बर्ट आइन्स्टाइन।

बोल्नुपर्ने, चिच्याउनपर्ने विषय र समयमा मौनता खतरनाक हुन्छ । मौनताले लम्पसारवादी समाज निर्माण गरिरहेको हुन्छ । मौन बसिदिँदा राजनीतिक पार्टीहरू भ्रष्ट उत्पादनका कारखानामा फेरिन्छन् । नेपालमा अहिले मौन संस्कृति बढ्दो छ । तोप बनेर गर्जिने नागरिक र मिडिया आक्रामक नबन्दा समस्या थपिएको छ ।

भर्खरैको ठूलो आर्थिक भ्रष्टाचारको मुद्दाले धेरै सोच्न बाध्य पा¥यो । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विभिन्न व्यक्ति र संस्थालाई राजस्व छुट दिँदा राज्यकोषमा २० अर्ब रुपियाँ घाटा लाग्यो । राजनीतिक पार्टी, सदन, मिडिया, नागरिक समाज, जागरुक समाजको मौनता देख्दा लाग्छ, नेपालमा भ्रष्टाचार सामान्य विषय हो । 

राजनीतिक पार्टीको मौनता बहुअर्थी छ । नीतिगत भ्रष्टाचारमा चुर्लम्म डुबेकाहरू मौन छन् । पूर्वअर्थमन्त्रीहरू कि मौन छन् कि बचाउमा छन् । विद्यार्थी संगठन, युवक संगठन किन मौन ? मौनताकै पनि कतै सिन्डिकेट त बनेको छैन ?

गम्भीर विषयलाई सरल बनाउनु वा वास्ता नराख्नु मौन संस्कृतिकै अर्को रुप हो । सोच, सपना र संवेदनशीलता कसैले कहीँ धरौटी राखेको छैन भने देशको अवस्था यस्तो हुने थिएन । सत्ताको डाडु–पन्यु समातेका कांग्रेस, एमाले र माओवादी नेतृत्व के भ्रष्ट सिन्डिकेटमा सदस्य हुन् ? परिवर्तनका लागि त्याग, बलिदान र मूल्य तिरेको समाज अहिले भने रमिते, तमासे र उपदेशक बनेर आफनो कर्तव्य पूरा भएको ठान्दैछ । किन परिवर्तनका मान्यता र आर्दश संस्थागत गर्न र आर्दश पछ्याउन बजार संस्कृतिविरुद्ध जानै सकेन् । जब पार्टीहरूमा कार्यकर्ता नभई कारिन्दा रहन्छन्, गम्भीर विषय बहसमा उठ्दैन । यस्तो गम्भीर विषय ठूला पार्टीहरूमा छलफलको विषय नै बनेन ।  अहिलेको अवस्था हेरेर संवेदनशील र सचेत मान्छेहरूमा निद्रा हराउनुपर्ने हो । विरह वा कुण्ठाका कविता मात्र लेख्ने कि फेसबुके भित्ताबाट बाहिर पनि निस्कने ? आक्रोश र घृणाका कारण आन्दोलन ऊर्जाशील बन्न सकिरहेको छैन । आखिर मान्छेलाई यो के भयो ? किन भयो ? हाम्रो समग्र आन्दोलन सोच्ने ठेक्का अरुलाई नै सुम्पिँदै  निरासिँदै पलायन हँुदै छ ।

हो, हरेक संक्रमण कालमा पुर्खाले भनेझैँ युग हाकिँदैन । केही त गडबड हुन्छ नै । तर हरेक प्रतिकूलतालाई अनुकूलतामा फेर्ने नेपाली राजनीति कहाँ चुक्यो ? कहाँ भूल भयो ? उपाय खोज्नैपर्छ । तुहिएका सपना, बिर्सिएका आदर्श, भुलेका प्रतिबद्धताहरू फेरि सम्झिनैपर्छ । रुप जेसुकै होस्, खिया लागेका सोचलाई आरनमा डढाउनैपर्छ ।

आदर्शले चिथोरिरहेको बेला हो, अहिले । अब आशा प्राप्त गर्न आफैँप्रति निर्मम बन्नैपर्छ । सपनाको शिला खोज्नैपर्छ । मौलिकतामा रहेको कल्पनाशीलता हासिल गर्नैपर्छ । अविश्वासको अभेद्य किल्लाको चक्रब्यूह तोड्नैपर्छ । 

मौन संस्कृति र तर्कहीन निष्क्रिय समाज मृतसमाजको संकेत हो । ब्रेख्त भन्छन्— हाम्रो समाजमा चौतर्फी असन्तोष त छ, तर किन विद्रोह भने हुन सकिरहेको छैन ? ब्रेख्तलाई जवाफ दिन आवश्यक छ । नेपाली राजनीतिलाई भ्रष्ट सिन्डिकेटबाट मुक्त गर्नैपर्छ ।

प्रकाशित: १८ श्रावण २०७४ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App