coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

धुले काठमाडौं : बिनासित्तिको सजाय

'सर, मेरो श्रीमान्लाई ग्वार्को चोकमा ड्युटी नदिनूस्, बेलुकी उनी सासै फेर्न सक्दैनन्, सुत्नै गाह्रो हुन्छ'– एक ट्राफिक प्रहरीकी श्रीमतीले ट्राफिक इन्सपेक्टर सीताराम हाछेथुसमक्ष गरेकी अनुनय हो यो। त्यसपछि हाछेथुले ललितपुरमा ट्राफिकलाई पालैपालो ड्युटी स्पटको अदलीबदली गर्न थाले। तर पनि काठमाडौंमा धुलोरहित ठाउँ नै कहाँ छ र? घटी र बढीको कुरासम्म न हो।

हुन त धुलो र हिलो आजभोलि काठमाडौं उपत्यकाको पर्याय बनेको छ। यो पंक्तिकार एकछिनै भेट्न जाँदा हाछेथुको कार्यकक्ष सातदोबाटोमा चापागाउँ जाने बाटोका सर्वसाधारण बाटो बन्द गर्ने चेतावनी दिइरहेका थिए। कारण थियो– 'मेलम्चीको पाइप जडानको जिम्मा लिएको ठेकेदारले बाटो भत्कायो तर खाल्टा र धुलोप्रति मतलव नगरेकाले स्थानीयको दैनिकी कष्टकर बन्न पुग्यो।

हाछेथु पनि के कम, मेलम्ची खानेपानीका अधिकारीलाई तुरुन्तै फोन लगाए। अनि ह्यान्ड्स फ्रि गरेर वार्तालाप उपस्थितलाई सुनाउँदै बोले। जवाफ आयो कि पाइपलाइन जडान गरेर त्यो सडकको कालोपत्र निकालेपछि अब सडकको जिम्मेवारी विभागको हुन्छ, मेलम्चीको हैन। त्यसपछि उनले फेरि तुरुन्तै सडकका अधिकारीलाई फोन लगाए। उताबाट जवाफ आयो कि मेलम्ची खानेपानीका ठेकेदारले नै आफूले पारेको खाल्डो पुर्नुपर्छ। यसरी जिम्मेवार सेवाप्रदायक निकायले नै एकले अर्कोलाई औंला तेर्स्याउँदै जिम्मेवारी पन्छाएपछि मलगायत त्यहाँ उपस्थितसँग वाल्ल पर्नुको विकल्पै भएन। ग्वार्को, सातदोबाटो, चक्रपथ, कलंकी, एकान्तकुना, जमल, बानेेश्वर, चावहिल आदि त केही उदाहरणमात्र हुन्।

श्वास/प्रश्वासका बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा धुलोले कस्तो असर पार्ला? अनुमानै पनि कहालिलाग्दो हुन्छ। अर्कोतिर त्यस्ता ठाउँमा दिनभर खडा भई ड्युटी गर्न बाध्य ट्राफिक प्रहरीको त कुरै गर्दा पनि जीउ नै सिरिंग हुन्छ। जसले छिनछिनमा सिट्टी बजउनुपर्नाले मास्कसमेत राम्ररी लगाउन पाउँदैनन्। अहिले राजधानीबासीले भोगिरहेका कहालीलाग्दो अवस्था यही हो।

पानी नभएर काकाकुल भएको उपत्यकाबासीलाई मेलम्चीबाट ल्याउने पानी केवल दन्त्य कथा जस्तो लागेको थियो। पाइप बिछ्याउने काम त भयो तर 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात्' भनेझैं हुन पुगेको छ। बस्ती बस्तीपिच्छे चोक, बाटो, गल्ली, सडक खनेर राम्ररी नपुरेको खाल्डाखुल्डीले नसताएको व्यक्ति नै छैन। पुरेको ठाउँमा पनि जथाभावीतवरले झारा तिर्ने काम गरिएका कारण पूरै सहर कुरूप बन्न पुगेको छ। धुलोको मापदण्ड डब्ल्युएचओका अनुसार २५ पिएम र नेपाल सरकारका अनुसार ४० पिएम हो तर उपत्यकामा कुनै दिन १८० पिएमसम्म धूलो उडेको तत्थ्यांकले देखाएको छ। यो भनेको मानव स्वास्थ्यका लागि अति हानिकारक परिस्थिति हो।

अलि पानी पर्‍यो भने अब त धुलो उड्दैन कि भन्ने लाग्छ तर सडक गल्ली हिलाम्य भएर, ढल फुटेर झन् सास्ती। अलि बाटो सुक्ने हो भने फेरि धूलोकै फन्दामा। यस्तो अवस्थामा सम्बन्धित निकायलाई पेच कस्ने जिम्मेवारी कसको? के आफूले भत्काएको सडक जस्ताको जस्तै पार्नुपर्दैन भत्काउनेले? दुई महिनामा सम्पूर्ण सडक बनाउने मेलम्ची आयोजनाको प्रतिबद्धता कता गयो? प्रतिबद्धता पूरा गर्न नसक्नेलाई ख्वै कारबाही गर्न सकेको? उनीहरूका कमजोरी र लापरबाहीको सिकारचाहिँ किन सर्वसाधारण हुनुपर्ने? अहिले धुलोको आतंकबाट पीडित सबै नेपालीले खाजेको उत्तर यही हो।

प्रकाशित: १ असार २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App