१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

अस्थिर सरकारको किम्बदन्ती

म भाग्यवाद वा ज्योतिष भविष्यवाणीमा उति साह्रो विश्वास गर्दिन। काम गरी खानुपर्ने मानिसले आफ्नो कर्ममा विश्वास गर्नुपर्छ। कामकुरो एकातिर थाँती राखेर भाग्य र भविष्यवाणीको भरमा बस्ने हो भने शायदै सफलताको उचाइ भेट्न सकिन्छ। भाग्य तब चम्कन्छ र भविष्यवाणी तब मिल्छ जब मेहनत र लगनशीलताले हरेस खाँदैन। सही बाटो पहिल्याउन सकिएन भने गन्तव्य भेट्टाउन सकिन्न।

कुनै घटना र परिस्थितिले मानिसलाई भाग्यवादमा विश्वास गर्न बाध्य पारिदिन्छ। म यस्तै एउटा घटनाले असमञ्जसमा परेँ। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पृथ्वी जयन्ती २०६० को अवसरमा प्रकाशित गरेको स्मारिकामा एक लेख पढेको हुँ। इतिहासकार प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले लेख्नुभएको शीर्षकको लेख थियो–‘‘भादगाउँमै राजधानी बसाल्ने इच्छा थियो तर....’’। लेख पढेपछि पृथ्वीनारायण शाहले नेपाल एकीकरणपश्चात एकीकृत राज्यको राजधानी कहाँ बनाउने भन्नेबारेका गहन चिन्तन गरेका थिए भन्ने ज्ञात हुन्छ।

म भाग्यवाद वा ज्योतिष भविष्यवाणीमा उति साह्रो विश्वास गर्दिन। काम गरी खानुपर्ने मानिसले आफ्नो कर्ममा विश्वास गर्नुपर्छ।

पृथ्वीनारायणले नेपाल एकीकरण अभियान थाल्नुअघि त्यो बेलाका समृद्ध र शक्तिशाली राज्यहरू काठमाडौँ, पाटन र भक्तपुरको वास्तविक अवस्था बुझ्न करिब दुई वर्ष जति भक्तपुरमै बसेर उपत्यकाको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सामरिक विषयहरूको गहन अध्ययन गरेका थिए।

यो एक हिसाबले पृथ्वीनारायण शाहको चातुर्य थियो। उनले भक्तपुरका तत्कालीन राजा रणजीत मल्लका जेठा छोरा राजकुमार वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए र उनलाई राजाले आफ्नै छोरासरह सम्मान दिएर दरबारमै बस्ने व्यवस्था गरिदिएका थिए। उपत्यका विजयपछि भक्तपुरसँगको नाता, यहाँको रहन–सहन, सुख–समृद्धि र संस्कृतिसँग परिचित राजा पृथ्वीनारायण शाहले भक्तपुरलाई नै राजधानी बनाउन इच्छा व्यक्त गरेका थिए।

 साथै भक्तपुरकोे तलेजु मन्दिर तथा मल्लकालीन त्रिपुर विद्यापीठ जहाँ राजपरिवारका सदस्यलाई दिक्षा दिइन्छ, सो विद्यापीठका प्रमुख आचार्यहरूका सन्तति प्रा. डा.सिद्धिवीर कर्माचार्यको भनाइ उद्धृत गर्दै उहाँले लेख्नुभएको छ ‘‘भादगाउँमै राजधानी बसाल्ने पृथ्वीनारायण शाहको भित्री इच्छा थियो। यसको निमित्त उनले भक्तपुर र गोरखा दुवै ठाउँका ज्योतिषसित बुझ्दा उनीहरूले ‘भक्तपुरमा राजधानी बसालेको खण्डमा जनतालाई अनिष्ट पर्न सक्छ, ललितपुरमा राजधानी बसालेको खण्डमा जेठो छोरालाई अनिष्ठ पर्न सक्छ औ कान्तिपुरमा राजधानी बसालेको खण्डमा मन्त्रीहरूलाई अनिष्ट पर्न सक्छ’ भनेर एकै प्रकारको भविष्यवाणी गरेपछि अन्ततः कान्तिपुरलाई नै उनले राजधानी बनाउनुपरेको थियो।’’

राजधानी चयनको तत्कालीन अभ्यासमा ज्योतिषहरूले राखेका तर्कहरूलाई ध्यान दिँदा र देशको विगतदेखि आजसम्मको अवस्था हेर्ने हो भने कतै ती सुझाब सही थिए कि भन्ने जस्तो पनि लाग्न थाल्छ। तर त्यो कुराको प्रामाणिकता के हो र त्यो कुरा कति सत्य हो भन्न सकिने अवस्थामा हामी छैनौँ। तर अलिखित इतिहासलाई पुस्तान्तरण भई आएको एउटा दन्त्यकथा सरह मात्रै मानेर हेर्ने हो भने पनि त्यस सन्दर्भमा मलाई लागेको बिचार यहाँ प्रस्तुत गर्न चाहन्छु।

राजधानी चयनको तत्कालीन अभ्यासमा ज्योतिषहरूले राखेका तर्कहरूलाई ध्यान दिँदा र देशको विगतदेखि आजसम्मको अवस्था हेर्ने हो भने कतै ती सुझाब सही थिए कि भन्ने जस्तो पनि लाग्न थाल्छ।

पहिलो कुरा ती ज्योतिषाचार्यहरूले भक्तपुरमा राजधानी स्थापित गर्दा जनतालाई अनिष्ट पर्न सक्छ भनेका थिए। एक हिसाबले त्यो सही हो जस्तो पनि लाग्दछ किन भने पृथ्वीनारायण शाह जसले मित छोराको हैसियतमा भक्तपुर दरवारमै त्यत्रो समय व्यतित गरेका थिए र जसले आफ्नै मितको षडयन्त्रपूर्वक हत्या गरेको भन्ने जनविश्वास भक्तपुरमा रहेको थियो भन्ने गरिन्छ।

 साथसाथै आफ्नै मितबुवा राजा रणजीत मल्लको विश्वासघात गरी राज्य हत्याउने काम गरेको भन्ने कुराले भक्तपुरका जनता चिढिएका थिए। त्यस परिस्थितिमा जनविद्रोह हुन सक्ने र वातावरण अरू थप अशान्त हुन सक्ने कुरालाई नकार्न सकिन्नथ्यो। त्यसकारण यो कुरा ज्योतिष हिसाबले मात्र नभै राजनीतिक हिसाबले पनि सही हो जस्तो लाग्छ।

त्यस्तै ललितपुरलाई राजधानीको रूपमा चयन नगर्नाको कारणमा जेठो छोरालाई अनिष्ट पर्न सक्छ भन्ने चेतावनी दिइएको थियो। पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाह जो आफ्ना बुबाको शेषपछि राजा बन्ने रोलक्रममा थिए, उनलाई केही केही भएको खण्डमा शाहवंशकै लागि अनिष्ट पर्न सक्ने भएकोले लालितपुरलाई राजधानी नबनाइएको होला भन्ने अनुमान गर्न कुनै गाह्रो परेन। यसै प्रसङ्गमा ललितपुर र प्रतापसिंह शाहसित सम्बन्धित केही घटनाक्रम पनि इतिहासको कालखण्डमा भेटिन्छन् जुन माथिको भविष्यवाणीको प्रसङ्गसित मेल खानखोज्छ।

पृथ्वीनारायण शाहको देहावसानपछि प्रतापसिंह शाह राजा बने। प्रतापसिंह शाहका दुई रानी थिए जसमध्ये एक ललितपुरकी नेवार समुदायकी मैजु रानी मानेश्वरीदेवी थिइन्। प्रतापसिंह शाहकी पहिली रानी राजेन्द्रराज्यलक्ष्मीदेवीको तर्फबाट छोरा रणबहादुर शाह र द्वितीय रानी मानेश्वरीदेवीका तर्फदुई छोरा विदुरबहादुर शाह र शेरबहादुर शाह थिए।

दुवै रानीमा आआफ्ना छोरालाई राजगद्धीको उत्तराधिकारी बनाउने कुरामा प्रतिस्पर्धा थियो। तर राजा प्रतापसिंह शाहको कम उमेरमै क्षयरोगको कारणले मृत्यु भयो। तत्पश्चात रणबहादुर शाहलाई राजा बनाइयो तर पनि सिंहासनका लागि आन्तरिक कलह, होडबाजीर षडयन्त्र भईनै रहे। अन्ततः भण्डारखाल पर्व रचियो जुन घटनामा राजा रणबहादुर शाहलगायत शेरबहादुर शाह तथा विदुरबहादुर शाहका साथमा धेरै भारदारको हत्या भएको इतिहास साक्षी छ।

पहिलो कुरा ती ज्योतिषाचार्यहरूले भक्तपुरमा राजधानी स्थापित गर्दा जनतालाई अनिष्ट पर्न सक्छ भनेका थिए। एक हिसाबले त्यो सही हो जस्तो पनि लाग्दछ किन भने पृथ्वीनारायण शाह जसले मित छोराको हैसियतमा भक्तपुर दरवारमै त्यत्रो समय व्यतित गरेका थिए र जसले आफ्नै मितको षडयन्त्रपूर्वक हत्या गरेको भन्ने जनविश्वास भक्तपुरमा रहेको थियो भन्ने गरिन्छ।

तेस्रो सुझावमुताबिक मन्त्रीहरूलाई अनिष्ट पर्न सक्ने माथि दिइएका सबै तर्कमध्ये राजतन्त्रका लागि कम जोखिमपूर्ण आकलन गरी अन्ततः कान्तिपुरलाई राजधानी सहरका रूपमा छनोट गरिएको हुनुपर्छ, शायद !राजाले त्यस अवस्थामा उपत्यकाका तीन सहर कान्तिपुर, लालितपुर र भक्तपुरको आर्थिक, सामाजिक र सांस्कृतिक बैभवको अगाडि नेपालका अरू कुनै सहरलाई दाँज्न नसकेको पनि हुन सक्छ, राजधानी बसाउन। अब प्रश्न उठ्छ के त्यो समयमा ज्योतिषहरूले निकालेको निष्कर्ष सही थियो त? जहाँसम्म मन्त्रीहरूलाई अनिष्ट हुने कुरा छ, हामीले देखेका र सुनेका विभिन्न घटनाक्रमको विवेचना गर्ने हो भने बि.सं. १८२६ देखि आजसम्म पनि यो देशको मुख्तियार वा प्रधानमन्त्रीहरूले शान्तिपूर्वक राजकाज गर्न पाएका जस्तो लाग्दैन।

सधैँको नियति उही शक्ति संघर्ष, प्रधानमन्त्री हुनका लागि हुने घात÷प्रतिघात, लुछाचुँडी, तानातानको अवस्था, आन्तरिक कलहले राजनीतिक स्थायित्व दिन सकेकै छैन। इतिहासको कालखण्डमा त्यस्ता विभिन्न घटना साक्षीका रूपमा उभिएकापनि छन्। हत्या हिंसा, मारकाट र कोतपर्व धेरै भइसकेका छन् यो देशको इतिहासमा।

पहिलो कालखण्डमा मन्त्री, भारदारहरूको शक्ति संघर्ष रक्तपातपूर्ण हुन्थ्यो। तर आधुनिक कालखण्डमा आएर शक्तिका लागि प्रत्यक्ष व्यक्ति हत्या नभए पनि चरित्र हत्याका लागि जे पनि गर्ने, जे पनि बोल्ने गरेको पाइन्छ। कहीँ नभएको जात्रा हेर्न अरूकतै जानै पर्दैन अब राजधानी सहर काठमाडौँ आए पुग्छ। नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापादेखि आजका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको पालोसम्ममाआइपुग्दा यो देशमा कम्तीमा पनि ७५ पटक कार्यकारी प्रमुख वा प्रधानमन्त्रीको कुर्सीमा फेरबदल अथवा पदबहाली भइसकेको छ (बीच बीचमा राजाद्वारा प्रत्यक्ष शासन गरिएको अवधिहरूसमेत गणना गरिँदा)।

सबभन्दा बढी समय भीमसेन थापाले करिब ३१ वर्ष शासन गरेका देखिन्छ तर उनको अन्त्य भने त्यति सुखद रहेन। जंगबहादुर राणाले दुई पटक गरी २९ वर्ष शासन व्यवस्था सञ्चालन गरेका देखिन्छ। उनी पछि बढी समयका लागि प्रधानमन्त्री बन्नेमा चन्द्रशमशेर रहेको देखिन्छ जो २८ वर्ष प्रधानमन्त्री भए। त्यसपछि वीरशमशेर १५ बर्ष, जुद्धशमशेर १३ वर्ष प्रधानमन्त्री भए भने अरू प्रधानमन्त्रीले १० वर्ष भन्दा कम समय मात्रै कुर्सीमा बस्ने मौका पाए। सो अवधिमा पनि सहज रूपमा सत्ता हस्तान्तरण भएको पाइँदैन हत्या, हिंसाका धेरै घटनादोहोरिएका इतिहास छ।

२००७ सालमा आएको प्रजातन्त्रपछिको समयमा त ४ वर्ष भन्दा बढी समयका लागि प्रधानमन्त्री बन्नेहरू कोही पनि भएनन्। २०४७ सालको प्रजातन्त्रपछिको समयमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा सबभन्दा बढी ५–५ पटक प्रधानमन्त्री भए। कृष्णप्रसाद भट्टराई, केपी ओली, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द २–२ पटक प्रधानमन्त्री भए भने पुष्पकमल दाहाल तेस्रो पटकका लागि प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन्। तर २०४७ सालपछिको अवधिमा कसैले पनि पाँच वर्षे कार्यकाल पूरा गर्नपाएका छैनन्। हालसम्म एक कार्यकालमा सबभन्दा बढी प्रधानमन्त्रीको पद सम्हालेको भनेको तीन वर्ष १८८ दिन गिरिजाप्रसाद कोइरालाको कार्यकाल थियो।

सबभन्दा बढी समय भीमसेन थापाले करिब ३१ वर्ष शासन गरेका देखिन्छ तर उनको अन्त्य भने त्यति सुखद रहेन। जंगबहादुर राणाले दुई पटक गरी २९ वर्ष शासन व्यवस्था सञ्चालन गरेका देखिन्छ।

प्रधानमन्त्री बन्न वा कार्यपालिका प्रमुख भएर राज्य सञ्चालन गर्न यहाँ जुन अभ्यास गरिँदै आइएको छ त्यसलाई हेर्दा साँच्चै पृथ्वीनारायणको पालामा राजधानी सहरको छनोट गर्नुपूर्व ग्रह गोचरको अध्ययन गरी ज्योतिष हिसाबकिताबबाट कान्तिपुरमा राजधानी बसालेको खण्डमा मन्त्रीहरूलाई अनिष्ट हुन्छ भन्ने भविष्यवाणी सही हो कि भन्ने लाग्छ सबैलाई। अब यी सब परिस्थितिजन्य परिणामहरू देखेपछि र भोगेपछि पत्याउने कि नपत्याउने?

प्रकाशित: २७ असार २०८० ००:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App