हामीले बजारबाट ‘स्वस्थकर’ भनी छनोट गरेर उपभोग गर्दै आएका खानेकुरा के साँच्चिकै स्वस्थकर छन् त? यसबारेमा हामीले कहिल्यै विचार गरेका छौं त? हामी कतिपयले प्याकेटमा पाइने ‘बे्रकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दुधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने ‘पोषक पूरक’ आदि छनोट गरेर किन्ने गरेका छौं। यस्ता खानाका प्याकेटमा ‘भिटामिन’, ‘क्याल्सियम’ र ‘प्रोटिन’ थपिएका छन् भन्ने दाबीले हामी के ठान्छौं भने यस्ता खानेकुराले बच्चालाई फाइदा गर्छ। वास्तवमा यस्ता खाना स्वस्थकर हँुदैनन्।
हामीलाई उपलब्ध विकल्पहरूमा प्रायः हामी आफू र आफ्नो परिवारका लागि निरन्तर स्वस्थकर खाना छान्ने कोसिसमा लागिराखेका हुन्छौं तर के यी प्याकेट र बट्टाका कथित स्वास्थ्यवर्धक विकल्प साँच्चै स्वस्थ छन् त? के यी वास्तवमा खाद्यपदार्थ हुन् वा खाद्यपदार्थरूपी तत्व मात्र (इडिबल फूड लाइक सब्स्ट्यान्स)? खाद्यपदार्थरूपी तत्व भन्नाले हामीले के बुझ्नुपर्छ त? विशेषज्ञहरूका अनुसार यस्ता प्रशोधित खाद्यपदार्थ सामान्यतया एकैचोटि धेरै मात्रामा उत्पादन गरिन्छ। यस्ता खाद्यपदार्थ बेच्न अनेक भ्रमपूर्ण विज्ञापन गरिएको हुन्छ। कतिपय उत्पादक कम्पनीले ‘स्वस्थ खानेकुरा’ भनी दाबी गरेका हुन्छन्।
खाद्यान्नबाहेक अन्य सामग्री यस्ता खानेकुराहरूको अवयव सूचीमा देखिन्छन्। यसकारण यस्ता अति प्रशोधित खाद्यपदार्थ आफ्नो मूल रूपभन्दा धेरै टाढा हुन्छन्। उदाहरणका लागि स्वस्थकर ब्याक्टेरियाको सहयोगले दुधबाट स्वस्थकर दही बन्छ। दही स्वस्थ खानेकुरा हो तर बजारको दहीमा अन्य पदार्थहरू समावेश गरिएको हुन्छ। कृत्रिम रङ र सुगन्धका साथै लामो समय ताजा राख्नका लागि विभिन्न रासायनिक तत्व मिलाइएको हुन्छ। अत्यधिक चिनी र त्यसको विकल्पमा ‘हाइ फ्रुक्टोज कर्न सिरप’ जस्ता तत्वहरू पनि बजारको दहीमा मिलाइएको हुन सक्छ। यस्तो दही खाँदा स्वादिलो लाग्ने भए पनि यसले परम्परागत रूपमा दहीबाट पाइने स्वास्थ्यलाभको साटो बेफाइदा हुन सक्छ।
बालबालिका र आफ्नो पोषणका लागि बट्टाको भन्दा घरमा उत्पादित दुध, दाल, अन्डा, सागपात, तरकारी, महीजस्ता खाना खाने बानी गरेमा स्वास्थ्य र पैसा दुवै जोगिन्छ।
आजकल धेरै आमाबुबा आफ्ना बच्चालाई ‘पत्रु खाना’ नदिने प्रयत्नमा छन्। तैपनि स्वस्थ खाना भन्ने भ्रममा अस्वस्थ खाना बच्चाको दैनिक भोजनको हिस्सा बनिराखेको छ। प्रोटिन, भिटामिन, मिनरल्स आदि पोषक तत्व भएको भनिएका प्याकेट बन्द खानेकुरा (मकै, गहुँ आदिबाट बनेका प्रशोधित खाजा) किनेर बच्चालाई खुवाउँदा अभिभावक ढुक्क बन्ने गरेको पाइन्छ। बजारका यस्ता खानेकुरामा के के प्रयोग गरिएको छ र कस्ता तत्व यसमा राखिएका छन् भनेर हामीले ध्यान दिनुपर्छ। वास्तवमा प्रशोधन नगरिएको अन्नमा ऊर्जा प्रदान गर्ने सूक्ष्म पोषक तत्व हुन्छ। प्रशोधित बजारका खानेकुरामा भने हामी सतर्क हुनैपर्छ। प्राकृतिक खाना भनेर हामी धेरै पटक धोका खान्छौं।
अन्न प्रशोधन गरेर सजिलै दुधसँग खान मिल्ने पारी प्याकेट बनाइन्छ अनि पोषणयुक्त छ भनेर लेखिन्छ भने त्यस्तो खानेकुराप्रति अभिभावक लोभिनु स्वाभाभिक हो। तर प्रशोधित अन्नबाट बनेको, उच्च मात्रामा चिनी भएकोे, कृत्रिम स्वाद, सुगन्ध र रङ थपिएको छ भने यस्तो खानेकुरा स्वस्थ होइन। त्यसै गरी बट्टा बन्द फलको रसमा पनि फलको स्वाद हुन्छ र स्वस्थ हुन्छ भन्ने ठानिन्छ। तर बट्टाका फलफूलको रस स्वस्थ पेयपदार्थ होइन। त्यसको वास्तविकता पनि प्याकेटको नास्ताजस्तै हो।
चिनीमुक्त खाद्यवस्तु जस्तै– ‘सुगर फ्री’ चकलेट, मिठाइ, बिस्कुटहरूमा चिनी नहालेकाले फाइदाजनकजस्तो लाग्न सक्छ तर चिनीको विकल्पमा हालिएका माल्टोज, सुक्रोज र अन्य रसायनका कारण यस्ता खानेकुराले शरीरमा चिनीको मात्रा (ब्लड सुगर) बढाउनुका साथै स्वास्थ्यमा अन्य प्रतिकूल प्रभाव पार्छ।
हामी खानाका नामले पनि भ्रमित भइराखेका हुन्छौं। हामी स्वस्थकर भनेर खैरो पाउरोटी खान्छौं। खैरो पाउरोटी अप्रशोधित गहँुको पिठोबाट बनेको हुन्छ। त्यसकारण खैरो देखिन्छ। तुलनात्मक रूपमा यो बढी पौष्टिक हुन्छ। तर वास्तविकता सधैं त्यस्तो नहुन सक्छ। केही थरीका पाउरोटीमा खैरो रङ हालेको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरूको सुझाव– हाम्रा लागि के राम्रो हुन्छ वा के राम्रो हुँदैन भन्ने सल्लाहले पनि हाम्रो खाना छनोटमा फरक पार्छ। उदाहरणका लागि विशेषज्ञले ‘आलसको बिउ’ हाम्रो स्वास्थ्यका लागि राम्रो हुन्छ भनेमा हामी सो बिउ भएको मल्टिग्रेन पाउरोटी किन्छौं तर सस्तोमा पाइने आलस भने प्रयोग गर्न गाह्रो मान्छौं।
चिनीमुक्त खाद्यवस्तु जस्तै– ‘सुगर फ्री’ चकलेट, मिठाइ, बिस्कुटहरूमा चिनी नहालेकाले फाइदाजनकजस्तो लाग्न सक्छ तर चिनीको विकल्पमा हालिएका माल्टोज, सुक्रोज र अन्य रसायनका कारण यस्ता खानेकुराले शरीरमा चिनीको मात्रा (ब्लड सुगर) बढाउनुका साथै स्वास्थ्यमा अन्य प्रतिकूल प्रभाव पार्छ। त्यसैगरी नुनिलो बिस्कुट खाँदा चिनीबिनाको हो भन्ने भ्रम हुन सक्छ तर त्यो प्याकेटमा राखिएको सामग्रीको सूची हेर्यौं भने अक्सर चिनी पनि हुन्छ। त्यसैले जति स्वस्थकर भनेर विज्ञापन गरिए पनि बिस्कुट, पाउरोटी हाम्रो भान्छाको स्वस्थकर खानाको विकल्प हुन सक्दैन।
परम्परागत खानाबाट आधुनिक खाना खाने बानी सारा संसारमा भइरहेको छ। खाने शैली र संस्कृति हाम्रा हजुरबा, हजुरआमाको भन्दा हामी अनि हामीभन्दा हाम्रा बच्चाहरूमा नै फरक भइसक्यो। हामी व्यस्त जीवनशैलीका कारण पकाउन नपर्ने वा छिटो पकाउन मिल्ने विकल्प खोज्दै छौं। दुःख लाग्दो कुरा, हामी सानो छँदा खाजामा सिङ्गै मकै पोलेर वा उसिनेर खान्थ्यौं तर अहिलेका बच्चाहरूमा कर्नफ्लेक्स खाने चलन बढेको छ। आजकाल हामी भान्साको खानाभन्दा विज्ञापनबाट सम्मोहित भएर खाना रोज्छौं।
त्यसो भए हामीले कस्तो खाद्यपदार्थ किनमेल गर्ने अनि भान्सामा के पकाउने र के खाने भन्ने निर्णय कसरी गर्ने? टिभी र रेडियोमा देखिने र सुनिने विज्ञापनबाट प्रभावित भई खाद्यवस्तु नकिनौं। किनमेल गर्दा आफ्नो मूल रूपमा भएका खाना छानौं, जस्तै– अम्बाको रसको साटो अम्बा। खाद्यसामग्रीको सूची पढ्ने गरौं। बालबालिका र आफ्नो पोषणका लागि बट्टाको भन्दा घरको खाना जस्तै– दुध, दाल, अन्डा, सागपात, तरकारी, मही खाने बानी गरेमा स्वास्थ्य र पैसा दुवै जोगिन्छ।
विभिन्न अध्ययनहरूले परम्परागत खानाले स्वास्थ्य लाभ दिन्छ भनी पुष्टि गरेका छन्। खाने शैली र खाने संस्कृति संसारभरि नै परिवर्तन हुँदै छ। यस अवस्थामा हाम्रो खाने शैलीमा पनि परिवर्तन आउनु स्वाभाविक हो। त्यसैले अहिले हजुरबा, हजुरआमाले जस्तै खान नसके पनि स्वस्थ र पौष्टिक खाना रोजौं। पहिलेको जस्तै स्वस्थकर कोदो र फापरलाई पनि हाम्रो भोजनको हिस्सा बनाऔं। पहिले प्रशोधित प्याकेट बन्द खाना हाम्रो भोजनमा समावेश हुँदैनथ्यो। मौसमअनुसारको खाना, स्थानीय रूपमा उत्पादित खानेकुरा खाने भएकाले सस्तो र स्वस्थ हुन्थ्योे। खाना घरमा प्रायः ताजा पकाइएको हुन्थ्यो। अहिले त्यो अवस्था रहेन। त्यसैले कहिलेकाहीं बाहिर खाँदा खानाको पोषण मूल्यलाई ध्यानमा राखौं। अब त मम पनि फापर र पालुङ्गोको साग मिसाएर स्वस्थकर बनाइएको पाइन्छ।
दुःख लाग्दो कुरा, हामी सानो छँदा खाजामा सिङ्गै मकै पोलेर वा उसिनेर खान्थ्यौं तर अहिलेका बच्चाहरूमा कर्नफ्लेक्स खाने चलन बढेको छ। आजकाल हामी भान्साको खानाभन्दा विज्ञापनबाट सम्मोहित भएर खाना रोज्छौं।
यद्यपि, सबै प्याकेटका खाद्यपदार्थ सधैं अस्वस्थ हुन्छन् भन्नेचाहिँ होइन। आजकल प्रायः सबै खाद्यवस्तु प्याकेटमै आउँछन्। केही प्याकेट र बट्टाका खानाहरू सुविधाजनक हुन्छन् र पोषण प्रदान गर्दछन्। जस्तै– प्याकेटमा बेचिएका दाल, गेडागुडी आदि। त्यसै गरी आजकल तिलको लड्डु, घिउ पनि प्याकेटमा आउँछ। यी स्वादिला र स्वस्थकर खाना हुन्। तर प्याकेट खोलेर तुरुन्त खान मिल्ने, आलु चिप्स, बिस्कुट, चाउचाउ भने अत्यधिक नुन÷चिनी र रसायन मिसाइएका कारण अस्वस्थकर हुन्छन्। त्यसैले के खाने भन्ने निर्णय गर्दा खानाको पोषण मूल्यलाई सधैं ध्यानमा राखौं। पोषणबारे उत्पादक कम्पनीले भ्रमपूर्ण दाबी गरेको त छैन? भन्ने विचार गरेर खाए मात्र पनि स्वस्थकर हुन्छ।
प्रकाशित: ३१ जेष्ठ २०८० ००:४६ बुधबार