१४ आश्विन २०८० आइतबार
विचार

दोष राजनीतिक नेतृत्वको

तत्कालीन नेकपा माओवादीले सुरू गरेको सशस्त्र द्वन्द्वका कारण लगभग १७ हजार नेपाली मारिए। यस सशस्त्र द्वन्द्वको दौरानमा सिर्फ सुरक्षाकर्मी तथा माओवादी विद्रोहीहरू मात्र मारिएका थिएनन्, थुप्रै निर्दोष सर्वसाधारण नागरिक पनि मारिएका थिए, अंगभंग भएका थिए। यही तथ्यांकलाई लिएर हिजोआज समाजिक संजालहरूमा वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई १७ हजारे भनेर उनको चर्को विरोध गर्ने गरेको पाइन्छ। यसरी उनको चर्को विरोध गर्नेहरूमा अधिकांश राजा आऊ, देश बचाऊ भन्नेहरू छन् भने द्वन्द्वको चपेटामा परेर नमेटिएको घाउ लिएर हिँडेकाहरू पनि छन्।

हो, सशस्त्र द्वन्द्वका कारण एउटा नेपालीले अर्को नेपालीलाई मार्ने काम भयो। शिक्षक मारिए। कर्मचारी मारिए। पत्रकार मारिए। बमले सार्वजनिक बस उडाएर निर्दोष सर्वसाधारण मारिए। मानिस काँटिए, गिँडिए। यो सत्य हो, यथार्थ हो। तर यसको सबै दोष सिर्फ नेकपा माओवादी र प्रचण्डलाई मात्र दिनु घोर अन्याय हो। यो पूर्वाग्रही सोच मात्र नभएर अदूरदर्शी विरोध हो। मुलुकमा राजनीतिक अस्थिरता फैलाएर धमिलो पानीमा माछा मार्ने सुनियोजित चाल हो।

हो, जनयुद्धको नाममा सशस्त्र द्वन्द्व सुरु गर्ने नेकपा माओवादी र यसका कमान्डर प्रचण्ड १७ हजार नेपाली मारिनुमा पहिलो दोषी भए तापनि सम्पूर्ण दोष उनको टाउकोमा थोपर्नु किमार्थ ठीक होइन, अन्याय हो। बिना पूर्वाग्रह इमानदारपूर्वक भन्ने हो भने १७ हजार नेपाली मारिनुमा दोष तत्कालीन सत्तासीन दल तथा नेतृत्वको पनि छ। पूर्वराजा ज्ञानेन्द्रको मात्र होइन, स्वर्गीय राजा वीरेन्द्रको पनि छ। कसरी? प्रश्न उठ्न सक्छ।

यस प्रश्नको उत्तर खोज्न २०५२ सालतिर जाऔँ। नेकपा माओवादीले २०५२ फागुन १ गते गोर्खामा फौजी आक्रमण गरी जनयुद्ध सुरु गर्‍यो। त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त सरकार थियो। शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने राजा वीरेन्द्र राष्ट्र प्रमुख थिए। त्यतिबेला नेपालमा नेपाल अधिराज्यको संविधान २०४७ लागु थियो। र, नेपालमा नेपाल सरकार नभएर श्री ५ को सरकार थियो। राष्ट्रको कार्यकारणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा निहित थियो भने शाही नेपाली सेनाको परमाधिपति राजा वीरेन्द्र थिए।

शेरबहादुर देउवापछि लोकेन्द्रबहादुर चन्द अनि सूर्यबहादुर थापा क्रमशः नेपालका प्रधानमन्त्री भए। त्यसपछि दोस्रोपटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। गिरिजापछि कृष्णप्रसाद भट्टराई र कृष्णप्रसाद भट्टराईपछि पुनः गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। अनि गिरिजाप्रसाद कोइरालालाई हटाएर शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री बने। १ वर्ष ७० दिनको कार्यकालपछि राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अपदस्त गरी शासनसत्ता आफ्नो हातमा लिए र ७ दिनपछि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए।

१ वर्ष पुग्दानपुग्दै लोकेन्द्रबहादुर चन्दलाई हटाइ सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। सूर्यबहादुर थापालाई १ वर्ष प्रधानमन्त्री बनाएपछि शेरबहादुर देउवालाई पुनः नेपालको प्रधानमन्त्री बनाए। यसलाई देउवाले गोर्खाली राजाको न्याय भने। तर २४३ दिनपछि शेरबहादुर देउवालाई अक्षम प्रधानमन्त्रीको आरोप लगाउँदै पुनः अपदस्त गरेर राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए र डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाए। ज्ञानेन्द्र शाह करिब १ वर्ष ९० दिन सक्रिय राजा भए।

करिब १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको दौरानमा गिरिजाप्रसाद कोइरालाले २ वर्ष १ सय ७२ दिन, शेरबहादुर देउवाले २ वर्ष ३ सय ४४ दिन (करिब ३ वर्ष), लोकेन्द्रबहादुर चन्दले १ वर्ष ८१ दिन, सूर्यबहादुर थापाले १ वर्ष १ सय ८८ दिन, कृष्णप्रसाद भट्टराईले २ सय ९६ दिन प्रधानमन्त्रीका रूपमा शासन गरे भने राजा वीरेन्द्र ४ वर्ष १ सय ७ दिन तथा ज्ञानेन्द्र शाह ७ वर्ष राजा भए। डा. तुलसी गिरी तथा कीर्तिनिधि विष्टले पनि ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेलामा १ वर्ष मन्त्रिपरिषद्को उपाध्यक्षका हैसियतले काम गरे।

माओवादी सशस्त्र द्वन्द्वको दौरानमा नेकपा एमालेका कुनै पनि व्यक्ति प्रधानमन्त्री नभए तापनि एमाले पनि पटकपटक संयुक्त सरकारमा सामेल भयो। सरकारमा नरहेको समयमा नेकपा एमाले प्रमुख प्रतिपक्ष दल थियो। संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको ठूलो भुमिका हुन्छ। प्रतिपक्ष दललाई छाया सरकार भनिन्छ।

अतः उपर्युक्त तथ्यहरूबाट १७ हजार नेपाली मारिनुमा प्रचण्डको मात्र होइन, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, एमालेको नेतृत्व तथा राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र आदिको पनि प्रत्यक्ष/ परोक्ष रूपमा हात रहेको छर्लंग हुन्छ। देश र जनताको माया भएको भए त राजा ज्ञानेन्द्रले साहसिक कदम चालेर नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्थे नि। सेरेमोनियल किंग भएर राजसंस्थालाई निरन्तरता दिन सक्थे नि। तर म महाराज हुँ तिमीहरू रैति हौ भन्ने अहंकारमा राजा ज्ञानेन्द्रले आफ्नो खुट्टामा बन्चरो हाने। अब राजा भिख मागेर पाइन्छ? समय धेरै घर्किसकेको छ। अब देश पछाडि फर्कन सक्दैन, फर्कनु पनि हुँदैन। त्यसै पछाडि परेको देश झन पछाडि पर्नेछ।

हो, गणतन्त्र स्थापना भएपछि राजनीतिक दलहरूले जनअपेक्षाअनुसार कार्य गर्न नसकेको सत्य हो। चप्पल पड्काएर हिँड्नेहरू करोडौँको गाडीमा हुइँकिने गरेको पनि सत्य हो। सुकुमबासी नेताहरूले रातरात आलिशान बंगलाहरू खडा गरेको पनि सत्य हो। देशमा बेतिथि र भ्रष्टाचार बढेको पनि सत्य हो। जनतामा राजनीतिप्रति वितृष्णा र आक्रोश बढेका पनि सत्य हो। संघीय शासन धेरैलाई मन नपरेको पनि सत्य हो। तर यसको दोष लोकतान्त्रिक गणतन्त्रको हो भन्ने कुरा सत्य होइन।

दोष राजनीतिक नेतृत्वको हो, अक्षम नेतृत्वको हो। दोष, आफ्नो अधिकारको उचित प्रयोग गर्न नसकेका सार्वभौमसत्ता सम्पन्न नेपालीको नागरिकको पनि हो। आफ्नो अधिकार प्रयोग गर्न नसक्ने भावनात्मकरूपमा कमजोर नागरिकको कमजोरी के हुन्छ भने तानाशाही निरकुंश शासनबाट पिल्सिए भने प्रजातन्त्र प्रजातन्त्र भनेर सडकमा ओर्लिन्छन्। प्रजातन्त्र आएपछि बरू त्यही व्यवस्था नै ठीक थियो भनेर तानाशाही व्यवस्थाको गुणगान गाउन थाल्छन्। यस्ता नागरिकको इमोसनसँग खेल्न निकै सजिलो हुन्छ। हेर्नुहोस् त दुर्गा प्रसाई जस्ता व्यक्तिले कसरी इमोसनल ब्लैकमेल गरी भिड जम्मा गरिरहेका छन्।

अन्तमा, राजा ज्ञानेन्द्रले राज्यसत्ता हातमा लिएर निरकुंश शासन लादेपछि नै विपरित सिद्धान्त बोकेका दलहरू पनि एक ठाउँमा उभिएका थिए। त्यो दलहरूको बाध्यता मात्र नभएर देशको आवश्यकता थियो। शान्ति र समृद्धि चाहने नेपाली नागरिकको माग पनि थियो। देशको आवश्यकता तथा शान्ति र समृद्धिको चाहनाअनुरूप नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जनआन्दोलन भयो। नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्य भयो। संविधान सभामार्फत देशमा गणतन्त्र स्थापना भयो। देश थप रक्तपात र विध्वंशबाट जोगियो।

शान्तिपूर्ण तरिकाले रक्तपातपूर्ण सशस्त्र युद्धको अन्त मात्र भएन कि विश्वलाई चकित पार्दै नेपालले ठूलो राजनीतिक छलांग पनि लगायो। शान्तिपूर्ण तरिकाले सशस्त्र माओवादीलाई मूलधारमा ल्याउनु र गणतन्त्र स्थापना गर्नु चानचुने कुरा थिएन। अतः माओवादी भयाबह सशस्त्र युद्ध अन्त गर्न राजनीतिक दलहरू तथा गिरिजाप्रसाद कोइरालाको मात्र होइन, प्रचण्डको पनि महत्वपूर्ण भूमिका छ। यो ध्रुवसत्य हो। त्यसैले प्रचण्डलाई थुक्क १७ हजारे भन्नु आकाशतिर फर्केर थुक्नु जस्तै हो। 

प्रकाशित: २८ फाल्गुन २०७९ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App