१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

लम्बिँदै र गहिरिँदै रुस–युक्रेन युद्ध

गत वर्ष २४ फरबरीको बिहान पाँच बजे युक्रेनविरुद्ध युद्ध घोषणा गर्दा रुसका शासक भ्लादिमिर पुटिनले शायदै कल्पना गरेका थिए होलान् एक वर्ष लडिसक्दा र एक लाख भन्दा बढी सैन्य जवान हताहत भइसक्दा उनको नियन्त्रणमा पूर्वी युक्रेनको दोनबास क्षेत्र पनि आउने छैन जसको आधा भन्दा बढी भाग वस्तुतः सन् २०१४ देखि नै कब्जामा थियो र जसलाई आफ्नो पूर्ण अधिनमा ल्याउनु युक्रेनमाथि उनको अतिक्रमणको घोषित उद्देश्यमध्येको एक थियो। यथार्थमा युद्धको निर्णय गर्दा पुटिनले केही अपेक्षा गरेका थिए जुन सही निस्के मात्र शीघ्र विजय हासिल हुन सक्थ्यो तर यो एक वर्षको सिंहावलोकनले पुटिनका ती अपेक्षा गलत साबित गरेको छ र युद्ध जारी छ।  

पुटिनको पहिलो अपेक्षा युक्रेनमा रहेका रुसी भाषिक जनताले युद्धमा उनका सेनालाई सघाउने छन् भन्ने थियो र त्यसैअनुसार पहिला दिनहरूमा रुसीहरूको बहुमत भएका खार्कोभ, चेर्निगोभ, किभ जस्ता सहरहरू आक्रमणको निसानामा परेका थिए। तर त्यो अपेक्षा विपरित रुसी भाषिक जनता उनको सेनालाई फूलमाला लिएर स्वागत गर्न आएनन् बरू कडा मुकाबिला गरेर आक्रमणको दुई महिना नपुग्दै उनीहरूलाई त्यहाँबाट धपाइदिए। रुसी भाषिक भए पनि उनीहरूको मातृभूमि युक्रेन थियो र जोसुकैबाट पनि आफ्ना घर–आँगनमा गरिएको बम वर्षा उनीहरूलाई स्वीकार्य थिएन। युक्रेनका रुसीहरूलाई पुटिन सत्ताले आफ्नै देशमा चलाएको निरंकुश शासन र दमनचक्रबारे पनि थाहा थियो। उनीहरू युक्रेनमा त्यस्तै सत्ता स्थापना हुन सक्ने संभावना स्वीकार्न तयार थिएनन्।  

दोस्रो अपेक्षा राजनीतिक क्षेत्रका नवप्रवेशी युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की शक्तिशाली रुसको हमलाबाट विचलित भएर देश छाड्ने छन् र त्यसबाट उत्पन्न हुने रिक्तता रुसले एक कठपुतली सरकार बनाएर पूर्ति गर्नेछ भन्ने थियो। यस्तै अपेक्षा अमेरिकी र बेलायतीहरूले पनि गरेका थिए र उनीहरूले जेलेन्स्कीलाई बाहिर जाने सुरक्षित मार्गको व्यवस्था गरिदिने प्रस्ताव राखेका थिए। तर आफ्ना जनताको अपार समर्थनबाट निर्वाचित राष्ट्रपति मुक्तियुद्धको आगोमा अदम्य साहससहित आफैँ होमिएको देखेर मस्को, लन्डन र वासिंगटन सबै आश्चर्यचकित भए। जेलेन्स्कीले राजधानी किभ नछाडेपछि रुसी गुप्तचर सेवा र पुटिनका सहयोगीद्वारा सञ्चालित निजी सेना वाग्नर कम्पनीले कमसेकम दश पटक जेलेन्स्कीको हत्या गर्ने प्रयास गरे तर ती सबै प्रयास असफल भए र जेलेन्स्की किभमा मात्र होइन, युद्ध मोर्चाका अघिल्लो पंक्तिमा सैन्य योद्धाहरूसँग देखिन थाले।

पुटिनको तेस्रो अपेक्षा आन्तरिक विवादमा रुमल्लिएको युरोपेली संघ र विघटनको संघारमा रहेको नाटो सैन्य संगठन रुसको मुकाबिला गर्न एकत्रित हुन सक्ने छैनन् भन्ने थियो। बेलायतको बहिर्गमन, सिरिया युद्धपछि लाखौँको संख्यामा युरोप प्रवेश गरेका आप्रवासीको व्यवस्थापन, आर्थिक समस्या आदि विषयमा उत्पन्न मतभेदले युरोपेली संघ आक्रान्त थियो। त्यसरी नै शितयुद्धको अन्त्यपछि उपादेयताविहीन हुँदै गएको नाटो सैनिक संगठनलाई युरोपेली मुलुकहरूले आफ्नो वार्षिक शुल्क पनि तिर्न छाडिसकेका थिए। पुटिनले यी संस्थाहरूको कमजोरीलाई आफ्नो शक्ति सम्झेका थिए। रुसी सेना युक्रेन प्रवेश गर्दा युद्ध मैदान खाली हुनेछ र रित्तो गोलपोस्टमा बल हानेर विजयको आनन्द लिन सकिनेछ भन्ने उनको सोचाइ थियो।  

तर त्यो अपेक्षा पनि पूरा भएन र दुवै संस्थाका सदस्यहरू दोस्रो विश्व युद्धपछि युरोपमाथि आएको सबै भन्दा ठूलो सुरक्षा खतराको सामना गर्न आफ्ना अन्य विवाद थाँती राखेर एकत्रित भए। विगतमा नाटोको नामै सुन्न नचाहने र तटस्थ वैदेशिक नीतिका सफल उदाहरण मानिएका स्विडेन र फिनल्यान्ड जस्ता मुलुकले पनि पुटिनको आक्रामक रवैयासामु नाटो सदस्यताका लागि आवेदन दिए। आजकल त प्रायः हरेक बैठकमा नाटो मुलुकका नेताहरू मरणासन्न भइसकेको संगठनलाई नयाँ ऊर्जा प्रदान गरेकामा पुटिनको मुक्तकण्ठले प्रशंसा गर्छन्। जुन संस्थाप्रति प्रतिशोध साँध्न पुटिनले युक्रेनविरुद्ध युद्ध रचेका थिए परिणाममा उनी सोही संस्थाको प्रमुख उद्धारकर्ता भएर निस्के।  

युद्ध लम्बिँदैछ

युद्धको प्रारम्भमा पश्चिमी राष्ट्रहरूबाट कुनै सहायता नपाएर युक्रेनले कृष्ण सागरको तटवर्ती क्षेत्रको ठूलो भूभाग गुमाएको थियो। भीमकाय रुसी सेनालाई किभ र देशको मध्यभागमा प्रवेश रोक्न उसलाई ठूलो शक्ति लगाउनुप¥यो। त्यसबेला युरोपेली मुलुकहरूको सहायता पोल्यान्ड र रोमानियामा वार्सा सन्धि संगठनले छाडेका सोभियत संघमा निर्मित हतियारमा सीमित थियो। अहिले पश्चिमी सहायताको विरोध गर्नेहरू उसबेला ‘रुससँग युद्धमा एक्लै पारेर पश्चिमले युक्रेनलाई धोका दियो’ भनेर तिनकै आलोचना गर्थे। रुस र पश्चिमा मुलुकहरूले आशा गरे जस्तो युक्रेन त्यति छिटो हारेन जसको सम्पूर्ण श्रेय त्यहाँका जनता र सेनालाई जान्छ। तर उनीहरूको वीरता मात्रै रुस जस्तो ठूलो सैन्यशक्तिलाई धेरै समय थेग्न सम्भव थिएन।  

यसबाट पश्चिमा राष्ट्रहरू नैतिक संकटमा परे र अन्त्यमा युद्ध सुरु भएको चार महिनापछि अमेरिकाले हाइमार्स भनिने द्रुत गतिका क्षेप्यास्त्र जडित तोपहरू दियो। त्यसपछि युरोपेली देशहरूले पनि हतियार दिन थाले। यसको मद्दतबाट रुसले पहिला कब्जा गरेका उत्तर–पूर्व र दक्षिण–पश्चिमका भूभाग मुक्त गर्न युक्रेन सफल भयो। अहिले युद्ध सन् २०१४ मा रुसद्वारा सञ्चालित पृथकतावादी बिद्रोहीहरूको कब्जामा रहेको दनेच्क क्षेत्रमा केन्द्रित छ। हाल कुनै पनि पक्षले ठूलो रणनीतिक सफलता पाउन नसकेकाले युद्ध अझ लम्बिने अनुमान गरिएको छ।  

युक्रेनलाई एकै झड्कामा ढलाउन असफल भएपछि अब यो युद्ध पुटिनका लागि जति साधन लगाएर र जति मानिस मारेर भए पनि जित्नैपर्ने बाध्यता हुन गएको छ। उनको भूराजनीतिक महŒवाकांक्षा, व्यक्तिगत अभिमान र युद्धोन्माद अगाडि मानवीय जीवन, ध्वस्त सहर र गाउँहरू, जलेका स्कुल, अस्पताल र आवासीय भवन सबै गौण भएका छन्। युक्रेनका लागि भने यो युद्ध मुलुकको अस्तित्वको लडाइँ भएको छ। युद्ध हारेमा युक्रेनले आफ्नो जमिन मात्र होइन, स्वाधीनता, राष्ट्रिय पहिचान, भाषा, संस्कृति सबै गुमाउनेछ। अहिले नै अधीनस्थ इलाकाहरूमा रहेका संग्रहालयहरूबाट पुटिनका सेनाले बहुमुल्य प्राचीन सामग्रीहरू लुटेर रुसतर्फ लगेको कुरा युनेस्कोले जारी गरेको रिपोर्टमा उल्लेख छ।  

दुवै पक्षको जित्नैपर्ने अवस्थाले युद्धलाई लम्ब्याइरहेको छ र राष्ट्र संघका महासचिव आन्तोनियो गुतेरेसले पनि यस युद्धको अन्त्यका संभावनाहरू धुमिल हुँदै गएको बताएका छन्। युद्ध लम्बिनुको अर्को कारण के पनि हो भने पुटिन छिमेकमा द्वन्द्वको आगो झोसेर अस्थिर राजनीतिक अवस्थाको रचना गर्ने र त्यसैमाथि खेलिरहन रुचाउने धूर्त खेलाडी हुन्। गत तेइस वर्षको उनको शासनभरि नै पूर्वसोभियत गणतन्त्रहरूमा यस्ता द्वन्द्वहरू उम्रँदै र हुर्कँदै गए। अहिले पनि उनको मुख्य उद्देश्य युद्धलाई दीर्घकालीन द्वन्द्वमा परिणत गरेर आफ्नो प्रभुत्व जमाइराख्नु हो। तर युक्रेन युद्धप्रति अन्तर्राष्ट्रिय चासो बढी नै भएकाले यसपटक भिन्न परिणामको पनि आशा गर्न सकिन्छ।  

युद्ध फैलिँदैछ

पुटिन समर्थित रुसी प्रचारवाजीले यो युद्धमा रुस सम्पूर्ण पश्चिमी जगत्सँग लडिरहेको छ भन्ने अफवाह फैलाइरहेको छ। तर सत्य तथ्य के हो भने युक्रेनमा रुसबाहेक अन्य कुनै देशको सेना छैन र हतियार पठाएको भरमा कुनै देशलाई युद्धमा नै सामेल भयो भन्न मिल्दैन। एक समय अमेरिकी आक्रमणविरुद्ध लड्न सोभियत संघले भियतनामलाई पर्याप्त हतियार आपूर्ति गरेको थियो। तर त्यो युद्धलाई सोभियत–अमेरिका युद्ध भनिँदैन थियो, भियतनाम युद्ध नै भनिन्थ्यो। अहिले पनि अफ्रिकाका कैयन् देशमा चलिरहेको युद्धमा रुसले हतियार आपूर्ति गरिरहेको छ तर कसैले पनि रुसलाई ती देशमा युद्ध गरेको आरोप लगाएको छैन। एउटा कमजोर छिमेकीविरुद्ध युद्ध लादेर लज्जास्पद असफलता भोगिरहेकाले पुटिन सत्तालाई आफू सम्पूर्ण पश्चिमी शक्तिसँग लडेको भनेर उत्तेजनात्मक प्रचार गर्नुपर्ने बाध्यता छ।  

अवश्य नै अन्तर्राष्ट्रिय जगत् युद्धको विषयमा विभाजित छ। प्रत्यक्षरूपमा युद्ध रुस र युक्रेनबीच नै भए पनि दुवै देशले आ–आफ्नो समर्थनमा अन्य मुलुकलाई तान्ने प्रयास गरिरहेको कुरा सत्य हो। रुस जस्तो ठूलो सैन्य शक्तिको आक्रमणमा परेको युक्रेनले आफ्नो सार्वभौमिकताको रक्षार्थ अन्य मुलुक र संस्थाहरूसँग हारगुहार गर्नु स्वाभाविक छ। राष्ट्रसंघकै महासभामा पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्दा रुसको पक्षमा जम्मा चार देश उभिएका थिए। रुसकै निकटतम छिमेकका पन्ध्र पूर्वसोभियत गणराज्यमध्ये बेलारुसबाहेक अरू कसैले पनि रुसको समर्थन गरेका छैनन्। युद्ध लम्बिँदै जाँदा युक्रेन सो मतदानमा आफूलाई समर्थन गरेका या विभिन्न कारणवश तटस्थ रहेका मुलुकहरूसँग सहयोग मागिरहेको छ।  

युक्रेनलाई फगत नाटो मुलुकले होइन एसिया, युरोप, अफ्रिका, लेटिन अमेरिकालगायत सबै महादेशका असी भन्दा बढी राष्ट्रले सहायता प्रदान गरिसकेका छन्। पूर्वसोभियत गणतन्त्रहरू कजाखस्तान, अजरबैजान, जर्जिया, माल्दोभा आदिले पनि युक्रेनलाई सहायता दिइरहेका छन्। क्याम्बोडियाले समेत युद्ध क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउन आफ्नो टोली युक्रेन पठाएको छ भने केही समय अघि मात्र आफ्नो भण्डारका ट्यांकहरू पठाएर मोरक्को युक्रेनलाई हतियार दिने पहिलो अफ्रिकी मुलुक भएको छ। रुसले पनि आफ्ना सहयोगीहरूबाट हतियार प्राप्त गरिरहेको छ। जाडोयामभरि नै युक्रेनका विद्युत् स्टेसनहरूमा प्रहार गर्न उसले इरानबाट ल्याइएका ड्रोनहरू प्रयोग गरेको थियो। उत्तर कोरियाबाट पनि उसले छोटो दूरीका क्षेप्यास्त्र र बारुद झिकाइरहेको छ। तसर्थ युद्ध भूमि युक्रेनमा रहे पनि यो लडाइँ जति लम्बिँदै गएको छ त्यति नै यसको भौगोलिक आकार पनि फैलँदै गएको छ।  

युद्धको प्रभाव गहिरिँदैछ  

युद्धले दुवै देशको सामाजिक, आर्थिक र वातावरणीय अवस्थामा गहिरो प्रभाव पारेको छ। तर सबै भन्दा दर्दनाक पक्ष के छ भने शताब्दियौँदेखि भाइचारा मुलुक मानिएको रुस अब युक्रेनीहरूको प्रमुख दुस्मनमा परिणत भएको छ। यस युद्धले व्यक्ति–व्यक्ति र घर–घरलाई कहिल्यै निको नहुने चोट पु¥याएको छ। हरेक दिन कसैका बाबा, कसैका छोरा, कसैका दाजुभाइ, कसैका पति र कसैका प्रेमी घर फर्केका छैनन्। त्यो संख्या दिन÷परदिन बढिरहेको छ। युद्धपूर्व युक्रेनको विशाल नागरिक समाज र स्वयं राष्ट्रपति जेलेन्स्की रुसी भाषा, साहित्य र कलाप्रति गहिरो सम्मान, आस्था र सदासयता राख्थे। जेलेन्स्की रुसी भाषिक हुन् र कलाकारका रूपमा जीवनभर उनले खेलेका फिल्म र गाएका गीतहरू सबै रुसी भाषामा थिए।

युक्रेनमा जन्मेका विख्यात साहित्यकारहरू निकोलाई गोगल, तारास सेभचेन्को, मिखाइल बुल्गाकोभ आदिले पनि आफ्ना कृतिहरू रुसी भाषामा लेखेका थिए। प्रख्यात रुसी साहित्यकार लियो टाल्सटायको उपन्यासमा आधारित भएर युक्रेनी निर्देशक सेर्गेइ बान्दार्चुकले सन् १९६६ मा बनाएको फिल्म ’युद्ध र शान्ति’ ले अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाएको थियो र ओस्कारलगायत विभिन्न देशका पुरस्कार जितेको थियो। तर यस्तो आत्मीय सहकार्य अब सम्भव हुने देखिँंदैन। यस युद्धले ती सिर्जनात्मक प्रतिभाहरूलाई मात्र होइन, सम्पूर्ण रुसी र युक्रेनी समाजको साथसाथै कैयन् मिश्रित परिवारहरूको पनि सदाका लागि विभाजन गरेको छ।  

पुटिनले विजारोपण गरेका यो वैमनश्यता धेरै पुस्तासम्म रहने निश्चित छ। अबका साहित्य र इतिहासका स्कुले पाठ्यक्रममा दोस्रो विश्वयुद्धमा रुसी र युक्रेनीहरू सँगै लडेर सन् १९४५ मा नाजी जर्मनीलाई हराएको सन्दर्भको सट्टा त्यो घटनाको धेरैपछि सन् २०२२ मा रुसले आक्रमण गरेर हजारौँ युक्रेनीको हत्या गरेको, जाडो याममा विद्युत् स्टेसन र खानेपानीका संरचनाहरूमाथि बम हानेर पूरै देश अन्धकारमा कठ्यांग्रिन बाध्य पारेको र युक्रेनका अनाथालयका बालकहरू अपहरण गरेर रुस लगिएका घटनाका दर्दनाक कथा लेखिने छन् र लेखिसकिएका पनि छन्। यसै शताब्दीमा जन्मेका युक्रेनी पुस्तालाई उहिल्यैको कुराले भन्दा आफैँले प्रत्यक्ष देखेको भोगेको कुराले बढी प्रभाव पार्नेछ। ‘कुनै पनि मानिसको जीवनमा सबै भन्दा महŒवपूर्ण समय वर्तमान हो’, लियो टाल्सटायले लेखेका थिए– ‘र सबै भन्दा महŒवपूर्ण मानिस त्यो हो जसले वर्तमानमा तिमीलाई साथ दिइरहेको छ।’ युक्रेनीहरूले आफ्ना मित्र र शत्रु पनि वर्तमानमा भएका घटनाकै आधारमा छुट्याउने छन्।

यस युद्धका लागि मुख्य र एकल जिम्मेवारी पुटिनको भए पनि यसको पृष्ठभूमिमा रहेको द्वन्द्व चर्काउनमा पश्चिमी जगत्को दोहोरो मापदण्ड पनि जिम्मेवार छ। पुटिनले पहिला पनि धेरैपटक पश्चिमी राष्ट्रका नेताहरूले निजी बैठकमा दिएका वचन र गरिएका सहमतिलाई नै सार्वजनिकरूपमा स्वीकारिदिएर ‘बकितम’ लाई ‘लिखितम’ मा उतारिदिए आफू सन्तुष्ट हुने बताएका थिए। तर उनीहरू द्वन्द्वको गम्भीरता र संवेदनशीलताको ख्यालै नगरी मास्कोमा एउटा कुरा किभमा गएर अर्कै कुरा गर्ने गर्थे। हालै बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले आफूले पुटिनलाई युक्रेन निकट भविष्यमा नाटो सदस्य हुने कुनै सम्भावना नभएको बताएको प्रसङ्ग झिके। त्यस्तै आश्वासन अमेरिका, फ्रान्स र जर्मनीले पनि दिएका थिए। तर यी कुरा कहिल्यै पनि उनीहरूको सार्वजनिक विज्ञप्तिमा आएन किनभने युक्रेनलाई उनीहरू त्यसको ठीक विपरित अर्थ लाग्ने आश्वासन दिन्थे।  

अहिले पनि द्वन्द्वका पक्षहरू स्वयं अघि बढेर शान्ति सम्झौता गर्ने संभावना प्राय शून्य छ। यसका लागि राष्ट्र संघ सुरक्षा परिषद्मा प्रस्ताव लैजान पनि कमसेकम अमेरिका, बेलायत र फ्रान्सको साझा दृष्टिकोण आवश्यक हुन्छ किनभने यी राष्ट्र युरोपेली संघ, नाटो र सुरक्षा परिषद् सबै निकायमा प्रभावशाली छन्। तर यी कुनै पनि देशले युद्ध अन्त्यका लागि नभए पनि कमसेकम अल्पकालीन युद्ध विरामको प्रस्ताव पनि गरेका छैनन्।  

जहाँसम्म पुटिनको कुरा छ उनले के बुझ्न सकेका या चाहेका छैनन् भने बलको भरमा उनको परिकल्पनाको रुसी साम्राज्य ब्युँताउन सकिदैन। किन युक्रेन, माल्दोभा, जर्जियालगायतका पूर्वसोभियत गणतन्त्रहरू रुसको प्रभाव र दबाबबाट मुक्त हुन र अन्यत्रै सहयोग विस्तार गर्न चाहन्छन् ? किनभने युरोपेली मुलुकहरूले आफ्ना देशका बासिन्दालाई जस्तो अवसर दिएका छन्, त्यो रुसले दिन सकेको छैन। यो युद्ध र हैकमको युग होइन, प्रतिस्पर्धाको युग हो। कुनैबेला सोभियत संघ पश्चिमसँग विचार, विज्ञान, कला, खेलकुद सबै क्षेत्रमा प्रतिस्पर्धा गथ्र्याे र आफ्नो सामथ्र्य प्रदर्शन गरेर विश्वलाई आकर्षित गरेको थियो। सोभियत संघको विघटनपछिका तीन दशकमध्ये तेइस वर्षको पुटिन शासनकालमा रुसले बाह्य विश्वले प्रशंसा गर्न सक्ने कुनै प्रगति गरेको छैन। उसले आफ्ना जनतालाई सोभियत संघले जस्तो निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगारी दिन सकेको छैन।  

मुठीभर धनाढ्यको हातमा देशको सम्पूर्ण प्राकृतिक स्रोत केन्द्रित छ। रुसका छिमेकीको त के कुरा, स्वयं रुसीहरू अध्ययन, रोजगारी र लगानीका लागि युरोप र अमेरिकामा अवसर खोज्न बाध्य छन्। आफ्ना प्राकृतिक स्रोत बेचेर आर्जन गरेको धन विनाशकारी हतियारमा भन्दा मानव कल्याणका क्षेत्र र विज्ञान तथा प्रविधिको विकासमा लगायो र उच्च–आय तथा असीमित अवसरको मुलुक बन्यो भने रुस आफैँ आकर्षणको केन्द्र बन्नेछ। हतियार देखाएर अरूको बाटो रोक्नुपर्ने आवश्यकता नै हुने छैन ।

प्रकाशित: १० फाल्गुन २०७९ ००:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App