२१ मंसिर २०७९ बुधबार
विचार

वारुणयन्त्रको दारुण कथा

१९९४ सालमा राणा प्रधानमन्त्री जुद्धशमसेरले बेलायत भ्रमण गर्दा त्यहाँको दमकलको कामबाट प्रभावित भएपछि आफ्नो देशमा पनि दमकल सेवा स्थापना गर्ने इच्छा बेलायती समकक्षीसमक्ष राखे। त्यसपछि बेलायतले 'मोरिस' कम्पनीको दमकल सहयोगस्वरूप उपलब्ध गराएको हो। त्यसबेला काठमाडौँबाहिर सडक सञ्जाल नभएकाले बेलायती दमकल मानिसले बोकेर राजधानी ल्याएका थिए।

काठमाडौँमा दमकल सेवा स्थापना हुँदा जनसंख्या र भवन संरचना हेरिएको थिएन। त्यतिबेला दमकल सेवा आवश्यकताभन्दा पनि आगलागी नियन्त्रणको पूर्वतयारीस्वरूप स्थापना भएको थियो। नेपालमा दमकल सेवा स्थापना हँुदा संसारमै यसको विकासक्रम सुरुवाती अवस्थामा थियो। त्यतिबेलाका दमकल अहिलेजस्तो पानी ट्यांकीसहित हुन्थेनन्। दमकलमा पानी फाल्ने 'वाटर पम्प' मात्र जडान भएका हुन्थे। आगलागी हुँदा नियन्त्रणका लाग पानी व्यवस्था गर्न सहरभरि भूमिगत पानी सञ्जाल स्थापना गरिएको हुन्थ्यो जसलाई प्राविधिक भाषामा 'हाइडे्रन्ट' भनिन्छ।

राजधानीमा दमकल स्थापना भएको सात वर्षपछि २००१ सालमा यसलाई ललितपुर र भक्तपुरमा विस्तार गरियो। २०२२ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दमकल सेवा स्थापना गरियो। २०३० सालसम्म दमकल सेवा राजधानी केन्द्रित थियो। २०३१ सालमा जर्मनीबाट सातथान 'म्यागिरस डज' दमकल प्राप्त भएपछि उपत्यकाबाहिर औद्योगिक सहरमा पनि सेवा विस्तार भएको थियो।

जुद्ध बारुण यन्त्र कार्यालय दशकौँदेखि अनवरत सञ्चालनमा रहेको संस्था भए पनि यहाँका कर्मचारी ऐननियम र सेवासर्तबिना कार्यरत छन्। स्थानीय निकायले सञ्चालन गरिरहेको दमकल सेवा ऐननियम र दक्ष जनशक्ति अभावका कारण 'रामभरोसा'मा चलिरहेको छ। अब यसलाई समयसापेक्ष सुधार गरी प्रभावकारी अग्निनियन्त्रण सेवा प्रवाह तथा जनधनको सुरक्षा एवं क्षति न्यूनीनकरण गर्नसक्ने विश्वसनीय संस्था बनाउनुपर्ने भइसकेको छ।

मुलुकमा ५८ नगरपालिका हँुदा स्थानीय स्वायत्त शासन ऐनमा 'एक नगरपालिका एक दमकल' अवधारणा बनाइए पनि अझै पुराना नौ नगरपालिकामा  दमकल सेवा सुरु भएकै छैन। अहिले नगरपालिका संख्या २ सय १७ पुगिसकेको छ। केही नयाँ नगरपालिकाले दमकल खरिद गरे पनि सञ्चालन गर्न दक्ष जनशक्ति व्यवस्था गर्न नसक्दा तालिमबिहीन कर्मचारीलाई दमकल जिम्मा लगाइएको छ। ऐननियम अभावका कारण दमकलमा 'फायर फाइटर' भर्ना गर्न सकिएको छैन जसबाट अधिकांश कर्मचारी करार र अन्य पदबाट भर्ना भई काम गरिरहेका छन्। फायर फाइटरलाई सुरक्षाका न्यूनतम सामग्री पनि उपलब्ध छैन। ऊ आफै सुरक्षित छैन भने उसबाट नागरिकको सुरक्षाको अपेक्षा गर्नु मुर्खतामात्र हुने छ। फायर फाइटरलाई ऐननियम, तालिम र आगलागीमा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्रीबिना आगलागी नियन्त्रणमा प्रयोग गर्नु भनेको उनीहरूप्रति अन्यायमात्र नभई ज्यानको सुरक्षासँग खेलबाड गर्नु पनि हो। यसबारे सम्बध निकायले सचेत हुन जरुरी छ।

मुलुकमा दमकल सेवा सरकारी प्राथमिकतामा नपर्नुका दरिला प्रमाण हालसम्म यससम्बन्धी एकीकृत संस्थागत संरचना नहुनु र विद्यमान दमकल सेवा नै हुन्। विपद पूर्वतयारी स्वरूप राज्यले दमकल कार्यालयलाई व्यवस्थित र सशक्त बनाइराख्नुपर्छ। दमकल सेवामा गरिने खर्चलाई अनावश्यक खर्च नभई नागरिकको सुरक्षा निम्ति लगानी हो भनेर मानसिकरूपमा स्वीकार नगरेसम्म सर्वसाधारणलाई अग्नि जोखिमबाट जोगाउन हम्मे पर्छ।  

हाल २ सय १७ नगरपालिकामध्ये ६४ वटामा ६९ दमकल छन् भने ११  उपमहानगरपालिकामा २० र महानगरपालिकामा चार गरी मुलुकमा ९३ दमकल रहे पनि दमकलकर्मी कति छन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन। एउटा दमकलमा न्यूनतम सात जना फायर फाइटर हुन जरुरी छ। यो हिसाबले दमकल संख्याका आधारमा ६ सय ५० फायर फाइटर हुनुपर्ने भए पनि संख्या अत्यन्तै न्यून छ। दमकल भएका नगरपालिकामा पनि तालिमप्राप्त र दक्ष जनशक्ति व्यवस्था गर्न सकिएको छैन। आगलागी जोखिम बढी भएका नगरपालिकामाले भन्दा कम जोखिम भएका नगरपालिकाले दमकल व्यवस्था गरेको देखिन्छ। स्रोतसाधनका हिसाबले अझै धेरै नगरपालिका दमकल सञ्चालन गर्नसक्ने अवस्थामा छन्। यस्तो स्थानमा नगरपालिकाबीच समन्वय गर्ने वा दुई वा त्यसभन्दा बढी नगरपालिकाबीच एकीकृत दमकल सेवा प्रवाह गर्ने हो भने कम खर्चमा प्रभावकारी सेवा दिन सकिन्छ।

अव्यवस्थित सहरीकरणका साथै बढ्दो भौतिक संरचना, जनघनत्व, आगलागीका स्रोत वृद्धि, आगलागीबारे सर्वसाधारणमा चेतना कम, पुराना दमकल, उपकरण तथा यससम्बन्धी ऐननियम अभाव, नयाँ कर्मचारी भर्ना गर्न तथा भएकालाई काममा लगाउन समस्याजस्ता कारण दमकल सेवा प्रवाहका चुनौती हुन्। दमकलकर्मीलाई तालिम अभाव, दमकल कार्यालयलाई न्यून बजेट व्यवस्था र दमकल कार्यालय सरकारी प्राथमिकतामा नपर्नु, अधिकांश दमकल स्टेसन भवनबिनै सञ्चालनमा रहनु, सडक सञ्जाल राम्रो नहुनु, आपत्कालीन सेवाका सवारीलाई सडकमा दिइनुपर्ने प्राथमिकताबारे सर्वसाधारण र सवारीचालकमा रहेको अज्ञानता, अव्यवस्थित राखिएका तार तथा जुलुस, धर्ना र ट्राफिक जाम पनि प्रभावकारी दमकल परिचालनका थप चुनौती हुन्।

आगलागी मानवसिर्जित विपद् हो। यसबारे सर्वसाधारणमा रहेको चेतनाको आधार हेर्दा नेपालमा अग्नि जोखिम बढी देखिन्छ। आगलागी हुन नदिन पूर्वतयारी स्वरूप सर्वसाधारणमा जनचेतना वृद्धि गर्ने तथा आगलागी भइहाले प्रतिकार्य गरी क्षति न्यूनीकरण गर्न दमकल स्टेसनको व्यवस्था हुन जरुरी छ। हामीसँग रहेका दमकल स्टेसन ऐननियम अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। अहिलो चलिरहेका दमकल पनि परिचालन तथा संगठन संरचनाको ठोस मापदण्ड नहुँदा सेवा भद्रगोल परिस्थितिबाट गुजि्ररहेको छ।

जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ मुलुककै पहिलो र दमकलको मातृ संस्था हो। यो महानगरको दमकल स्टेसन मात्र नभई राजधानीको दमकल कार्यालय पनि हो। परिवर्तनको सुरुवात राजधानीबाटै हुनुपर्छ। राजधानीमा भएको कामको अनुशरण र प्रभाव अन्य सहर र नगरमा छिटो हुने गर्छ। त्यसैले महानगरपालिकाले अन्य सहर र नगरले अनुशरण गर्ने किसिमको दमकलसम्बन्धी संगठन संरचना बनाइ एकलरूपमा दमकल सञ्चालन गरी नमूना दमकल स्टेसनको विकास गर्नुपर्छ। महानगरपालिकाले दमकल संगठनमा कर्मचारी व्यवस्था गरे पनि योग्य र क्षमतावानलाई संगठन संरचनामा समाहित गर्न सकिरहेको छैन।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त कर्मचारीको योग्यता र क्षमता महानगरपालिकाले सही उपयोग गर्न सकेको छैन। त्यसबाहेक कर्मचारीलाई वृत्ति विकासबाट वञ्चित गर्नु हुँदैन। काठमाडौँ दमकलले प्रवाह गर्ने सेवामा जोखिम आधारमा आवश्यक जनशक्ति र सेवा–सुविधा उपलब्ध गराइ दमकलको संगठन संरचनाअनुसार जो कर्मचारी जहाँ कार्यरत छ उसलाई इच्छाअनुसार दरबन्दी समायोजन गरे दमकल सेवा विशिष्टीकरण हुने, सेवास्तर बढ्ने तथा सेवाग्राहीले स्तरीय सेवा पाउनेछन्।

प्रमुख,जुद्ध बारुण यन्त्र कार्यालय

प्रकाशित: ४ श्रावण २०७३ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App