६ वैशाख २०८१ बिहीबार
विचार

हीराजस्तै मिरा

परम्परागत संस्कार र डरका कारण उनको गाउँका कतिपय चेलीबेटी अझै पनि घुम्टोमै छन्। उनी भने निडर छिन्। पर्साको ग्रामीण भेगमा जन्मेकी उनी अपराधीहरूलाई घुम्टो लगाउन बाध्य पार्छिन्। नेपाल प्रहरीकी निडर ‘सिपाही’ डिआइजी मिरा चौधरी यति बेला प्रहरीको मात्र हैन, सिंगो नेपाली समाजको ‘साहस’ बन्दै छिन्।  

कुनै समयकी चर्चित फुटबलर मिरा चौधरी नेपाल प्रहरीमा प्रवेश गरेपछि जुन जुन ठाउँमा गइन् त्यहाँ चम्किइन्। फुटबलको मैदानमा जस्तै आफ्नो कर्मक्षेत्रमा उनले ‘गोल’ गर्न कुनै कसर बाँकि राखिनन्। १ नम्बर प्रदेश विराटनगरमा हुँदा होस् वा वाग्मती प्रदेशमा कार्यरत हुँदा होस्, उनी त्यस क्षेत्रमा सफल रहिन्।  

बारा जिल्लामा बस्दा नसुल्झेका विभिन्न आपराधिक घटनाका अपराधीसम्म पुगिन्। पाल्पा र मकवानपुरमा बस्दा उनले नाम कमाइन्। केन्द्रीय अनुसन्धान ब्युरो रहँदा विभिन्न खाले तस्करीको जरोसम्म पुगेर त्यसको जालो नष्ट बनाइन्। महिला बालबालिका सेवा केन्द्र कालिमाटीमा ५ वर्ष काम गरेर उनीहरूको महिला र बालबालिकाको सुरक्षा र हकहितमा काम गरिन्।  

यसै बीच २०७१ सालतिर गुण्डा नाइके दिनेश अधिकारी ‐चरी) को ‘इनकाउन्टरमा’ उनको समेत नाम मुछियो। यसबारेमा विभिन्न खाले टीकाटिप्पणीसमेत भयो। उनी भने उक्त घटना कानुनसम्मत रहेको दाबी गर्छिन्। ‘परेवाको सुरक्षा गर्ने जिम्मेवारी लिनेले बाजलाई मार्नुपर्ने अवस्था आउँछ,’ उनले भनिन्, ‘कसैसँगको व्यक्तिगत रिसका कारण हैन, नेपाल प्रहरीको इमान्दार सिपाहीका नाताले आफ्नो कर्म निभाएको हुँ। निभाउने छु।’  

आफ्नो नाम जतिसुकै चम्के पनि उनी यसको श्रेय सिंगो संगठनलाई दिन्छिन्। ‘म संगठनले खटाएको एउटा सिपाही मात्र हुँ,’ उनले भनिन्, ‘नियम कानुनमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै छु।’ संगठन प्रमुख र आफूभन्दा सिनियरले दिएका जिम्मेवारी पूरा गर्दा सधैं खुसी लाग्ने उनले सुनाइन्। ‘कतै गल्ती भएको भए सच्याउने काम पनि गरें,’ उनी भन्छिन्, ‘सिंगो संगठनको शिर भने सधैं उचो राख्ने काम गरें।’  

लगनशीलता, इमान्दारिता र दृढ इच्छाशक्तिले जुनसुकै काम पनि फत्ते गर्न सकिने उनको अनुभव छ। ‘दवङ’ प्रहरीको उपमासमेत पाएकी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मिरा चौधरीले यति बेला महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंको प्रमुखका रूपमा कमान्ड सम्हाल्दै छिन्।

यहाँ आएको छोटो समयमै उनले यातायातको सुरक्षा र सुधारका विभिन्न उपाय प्रयोगमा ल्याएकी छिन्। उनले सार्वजनिक सवारीको भाडादर अनुगमन, यात्रु सहायता, बसपार्कजस्ता समस्या समाधानका लागि यातायात व्यवसायीसँग निरन्तर छलफल गरिन् र त्यसलाई सहजतातर्फ लगिन्।  

पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सडकमा लेन अनुशासन, हर्न निषेधलाई थप कडाइ र सिसिटिभी निगरानीमा ध्यान दिइन्। मापसे चेकमा कडाइ गरेकी उनले विद्यालको बस हाक्ने चालकको व्यवहारमा थप ध्यान दिइन्। उनले चालकलाई मात्र हैन, ट्राफिकको व्यवहार सुधारका लागि दैनिक ४० जना ट्राफिक प्रहरीलाई आचरण व्यवहार र अनुशासन सिकाइको कक्षा सञ्चालनमा ल्याइन्। ‘उपत्यकामा चल्ने १५ लाखभन्दा बढी सवारीको नियन्त्रण १५ सय ट्राफिक प्रहरीले मात्र सम्भव हुन्न,’ उनले भनिन्, ‘सवारी चालक, सर्वसाधारण र प्रहरी सबै मिलेर व्यवस्थापनमा लागे चाडै नै सहर सुन्दर र व्यवस्थित हुने छ।’ यसका लागि उनले ट्राफिक सचेतनालगायत कार्यक्रम गर्नका लागि विभिन्न १५ वटा निकायसँग समन्वय गरिसकेकी छिन्।  

ट्राफिक अभियान साझा रहेको बताउँदै ट्राफिक प्रहरीले मात्रै चाहेर अथवा अन्य कुनै एउटा निकायले मात्रै चाहेर यो सम्भव नहुने उनको बुझाइ छ। ट्राफिक व्यवस्थापन सहज बनाउन सबैले आफ्नो क्षेत्रबाट केही न केही गर्नुपर्ने उनी बताउँछिन्। सामाजिक सञ्जालमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्न उनी पछि पर्दिनन्। त्यस्तै उनले पछिल्लो समय मोटरसाइकलको ध्वनि बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न लागेको सुनाइन्। एम्बुलेन्स चालक, पानी बोक्ने गाडी, जुन ठुला ट्रिपर हुन्छन्, त्यो पनि अनियन्त्रित हिसाबले चलाइयो भन्ने सूचना आएकाले त्यस्तालाई पनि कारबाहीको दायरा बढाएको उनी बताउँछिन्।  

‘ससाना कुरामा ध्यान दिँदा ठुला दुर्घटना टर्ने गर्छ,’ उनले भनिन्, ‘हामी दुर्घटना कसरी घटाउन सकिन्छ भनेर गहिरो अध्ययन गर्दै अगाडि बढेका छौं।’ गाडीमा रहेको बम्मर हटाउनेदेखि लिएर दुर्घटनाका संवेदनशील स्थानको पहिचान गरेर सुरक्षाको विधि अपनाउँदै उनी अगाडि बढ्दै छिन्। ‘यति बेला मेरो पूरै ध्यान कसरी ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त र सुरक्षित बनाउने भन्नेमा रहेको छ,’ उनले भनिन्, ‘सर्वसाधारणको जीवन जोगाउँदै सहरलाई नयाँ जीवन दिन म दिनरात खटिइरहेको छु।’

२०५१ सालतिर प्रहरी निरीक्षकमा प्रवेश गर्दा उनले आफू कहाँसम्म पुग्छु भन्ने कहिल्यै नसोचेको सुनाइन्। ‘मलाई सानैदेखि प्रहरी बन्नुथियो,’ उनले भनिन्, ‘अहिले म जुुन पदमा भए पनि जहाँ रहे पनि आफूलाई संगठनको सिपाही नै ठान्ने गरेको छु।’  

उनकै डिआइजीको ब्याचबाट चाँडै नै नयाँ आइजिपी नियुक्त हुने छ। तर उनलाई त्योभन्दा पनि बढ्दा चासो आफ्नो वर्तमान जिम्मेवारीमा रहेको छ। उनी जहाँ खटिन्छिन्, त्यहींको हुने गर्छिन्। उनी संगठनले तोकेको जिम्मेवारीबाहेक बाँकी कुरासँग खासै सरोकार राख्दिनन्। उनले आफ्नो कार्यकालमा विभिन्न प्रहरी महानिरीक्षकसँग प्रत्यक्ष बसेर काम गर्ने मौका पाएकी छिन्। उनलाई संगठनको काम कारवाहीका बारेमा धेरै कुरा जानकारी छ।  

‘म भोलि के बन्छु भन्दा पनि आज पाएको जिम्मेवारी कसरी राम्रोसँग निभाउने भन्नेमा लागेको छु,’ उनले भनिन्, ‘इमान्दारिताका साथ काम गर्ने जो केहीलाई पनि संगठनले राम्रो मूल्याङ्कन गर्छ भन्ने मेरो विश्वास रहेको छ ।’

प्रकाशित: २४ मंसिर २०७९ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App