१६ मंसिर २०७९ शुक्रबार
विचार

मुलुकका लागि शुभ संकेत

जसरी कक्षा कोठामा विद्यार्थीहरूको विषयगत शिक्षकहरूसँग प्रश्न गर्न सक्ने क्षमतामा हुने वृद्धिले ती विषयगत शिक्षकहरूलाई थप ज्ञान आर्जन गर्नतर्फ धकेल्छ र यसले विद्यालयको गुणस्तरीय शिक्षालाई प्रोत्साहित गर्छ। त्यसैगरी सर्वसाधारणको चुनावी मैदानमा उत्रेका उम्मेदवारहरूसँग प्रश्न गर्ने क्षमतामा देखिएको वृद्धिले के दर्शाउँछ भने तिनको सूचनामाथिको पहुँच, विश्लेषण गर्ने क्षमता तथा समाजप्रतिको जवाफदेहिताप्रतिको सचेतनाको तहमा परिवर्तन आएको छ। यसबाट के पनि स्पष्ट हुन्छ भने चुनावपश्चात जोसुकै सत्ता पक्षमा परुन् वा प्रतिपक्षमा, अब उप्रान्त निष्क्रिय उपस्थितिले राजनीतिक यात्रालाई सकारात्मक प्रभाव पार्न सक्दैन। पछिल्लो समयमा गिजोलिएको राजनीतिक संस्कार र त्यसले जन्माएका विभिन्न भाष्यको प्रभावको निरन्तरतामा कमी आउने निश्चित छ।  

आधारविहीन विभिन्न उपलब्धि तथा स्रोतसाधन र अवसरहरूको अपारदर्शी वितरणप्रति सर्वसाधारणको चासो र चिन्ता बढ्न थालेको वर्तमान अवस्थामा सर्वसाधारणको बढ्दो सचेतनाले उब्जाएका प्रश्नहरूको स्पष्ट जवाफ दिन सम्बन्धित सबैलाई हम्मेहम्मे परेको अवस्था छ। हुन त विभिन्न स्वार्थ बोकी बनेका भिडले घेरिएका देखिए पनि समाजको पिँधमा बसी आफ्नो आस्थाअनुरूप राजनीतिक सिद्धान्त र विचारसँगको आबद्धताप्रति गर्व गर्नेहरूको संख्या घट्दै जाँदा आउँदा दिनहरूमा राजनीति गर्नेहरूले सर्वसाधारणप्रतिको जिम्मेवारी र जवाफदेहिता बढाउनुको विकल्प छैन। त्यसैले आआफ्नो तह र स्थानबाट सक्रिय भूमिका बढ्ने सम्भावना बढ्न सक्छ। यो भनेको मुलुकका लागि शुभ संकेतका रूपमा लिन सकिन्छ।  

अहिलेको वर्तमान समयमा बढ्दो प्रविधिमाथिको पहुँचले गर्दा सूचना र समाचारको अथाह प्रवाहले सिर्जित अन्योल अर्थात् उपलब्ध सूचना र समाचारलाई सही र गलतमा छुट्याउने चुनौती बढ्दो छ। त्यसैगरी चुनावी मैदानमा उत्रेका अत्यधिक संख्याका उम्मेदवारले गर्दा समाजलाई थप सकस भएको महसुस हुनु स्वाभाविक हो तर एउटा कुरामा के स्पष्टता देखिन्छ भने अबको राजनीति व्यक्तिगत आक्रोश, पूर्वाग्रह, कोपभाजन, आफन्त मोह र प्रतिशोधको प्रदर्शनबाट मुक्त गरिनुपर्छ भन्ने जनचाहना बढ्दो छ। त्यसैगरी राजनीतिक दलहरूको एकापसमा बढ्दो विश्वास संकट र क्षतिग्रस्त सामाजिक सम्बन्धहरूको पुनरावृत्ति पनि सामाजिक स्वीकृतिमा पर्ने कठिन देखिन्छ। अर्थात् कुनै पनि किसिमले सामाजिक विषयहरूप्रतिको अनभिज्ञता स्वीकार्य नहुने देखिन्छ।  

जब विश्वासको संकट र आस्थाको अभाव हुन्छ त्यसले सम्मानको दरिद्रता जन्माउन महŒवपूर्ण भूमिका खेल्छ। आजको कठिन मोडमा पुर्‍याइएको नेपालको राजनीतिक अवस्थाले सिर्जित सकसहरूलाई गहिरिएर हेर्ने हो भने केही गलतरूपमा सिर्जित र स्थापित भाष्यहरूको भूमिकालाई पूर्णरूपमा नकार्न सकिन्न तर यसको साथसाथै समाजको बदलिँदो अपेक्षा र आवश्यकताप्रति थप संवेदनशील बनाउने निश्चित छ।  

वास्तवमा समय र सन्दर्भअनुरूपको स्वनिर्मित विचारबाट उत्प्रेरित भै समाजसँगको सहकार्य गर्नुको विकल्प देखिन्न। अहिलेको अवस्थामा जसरी एकातर्फ समाजका विभिन्न क्षेत्रमा सफल रहेका व्यक्तित्वहरू र अनेक सम्भावना बोकेका युवाहरू आआफ्ना पेशागत कार्यक्षेत्र छोडी राजनीति गर्न चुनावी अभियानतर्फ आकर्षित भएका छन् त्यसैगरी अर्कोतर्फ सधैं आफू नै अडिग अचल भै कुर्सीमा स्थापित भैराख्नुपर्छ भन्ने मानसिकताबीच अस्वस्थ प्रतिस्पर्धाले सिर्जित सकसहरूको सिकार समाज बन्दै छ। त्यति मात्रै होइन, राजनीतिले बाटो बिराउँदा समाजमा रहेका विभिन्न पेसामा अब्बल रहेका दक्ष विज्ञहरू आफ्नो कार्यक्षेत्रमा स्वतन्त्रतापूर्वक आफ्नो क्षमता प्रयोग गर्न सक्ने अवस्था र वातावरण नरहँदा तिनमा बढ्दै गएको नैराश्यतालाई आगामी चुनावी परिणामले केही आशाको आधारहरू देला कि नदेला भन्ने प्रश्न कताकता सशंकितरूपमा फैलिँदो छ।  

त्यसैगरी उमेरको अंकले युवा हुँदैमा देशको कायापलट गर्न सक्छु भन्ने गलत भाष्य स्थापित गरिन खोज्नु आफैमा समस्यारहित भने पक्कै होइन। युवाको काँधमा थप सकस छन् जस्तो कि राजनीतिक दूरदर्शिता, स्थापित गलत बुझाइलाई सही तरिकाले बुझ्नुपर्ने अवस्था, आवश्यकताअनुरूप स्थापित परिभाषाहरू सच्याउन र पुनः परिभाषित गर्न सक्ने गरी ज्ञान र बुद्धिबीचको फरकपना बुझ्दै तिनको उपयोग र संकलनमा निरन्तर खटिरहने क्षमता। त्यसको अलावा नेपालको अस्तव्यस्त राजनीतिले लाभान्वित हुँदै आएका भित्री र बाहिरी तत्वहरूलाई खुइल्याउनु, रिझाउनु र सन्तुलित कूटनीतिको अभ्यासलाई स्थापित गर्नु कम चुनौतीपूर्ण यात्रा हुँदैन। तर पनि राजनीतिप्रति युवाहरूको बढ्दो चासो र सहभागिता पनि मुलुकका लागि शुभ संकेतकै रूपमा लिन सकिन्छ।

समाजमा उब्जेका आक्रोश हेर्दा अतिले सधैं क्षति नै गर्छ भन्ने उखान चरितार्थ भएकोझैं देखिन्छ। वास्तवमा समाजको धरातलमा देखिने जुनसुकै अवस्थाको पछाडि लामो समय र अनेक कारण हुन्छन्। भित्री र बाहिरी कारणहरूको पहिचान र समाधान समयमै गर्न सकिएन भने त्यसले सिंगो मुलुकलाई नै अस्थिर बनाइरहने निश्चित छ। पदीय लोलुपता, दूरदर्शिताको अभाव र क्षणिक प्रभावका लागि जे पनि गर्न उत्साही भैहाल्ने मनोवृत्ति राजनीतिक संस्कारमा गहिरो गरी रहेको अनुभूति यथावत भेटिन्छ।  

विश्वको बदलिँदो परिस्थिति र सन्दर्भले कुनै पनि मुलुक अप्रभावित भैरहन सक्दैन। एकछिन सोचौं, अहिले इन्टरनेटको जमानामा यसले पार्ने विभिन्न नकारात्मक प्रभावहरू एकतर्फ छन् तर यसको प्रयोगमा पूर्णतः बन्देज लगाउन सकिएला ? सकिन्न, बरु यसको प्रयोग सुरक्षित र सकारात्मक उपलब्धि लिनका लागि विभिन्न तरिका अपनाउन सकिएला। त्यसैगरी विश्वमा आएका राजनीतिक परिवर्तनका स्वरूप र लहरले दिएको संकेत भनेको समाज अहिले जुन परिवर्तनको तीव्र गतिमा छ त्यहाँ उपलब्धि र विकृति दुवै तीव्रताका साथ पाउन सकिने सम्भावना र जोखिम सदैव रहन्छ र साथै समाजमा नेतृत्व गर्नेप्रतिको बढ्दो अपेक्षा, तिनका कार्यका तुलना र मूल्यांकनका मापकहरूसमेत फेरिएका छन् भनी सहजै बुझ्न सकिन्छ। त्यसैले राजनीतिमा पनि विस्थापन र विकल्पप्रति समाजको अपेक्षाहरूलाई सहज र सजगरूपमा स्वीकार्नुप्रतिको बढ्दो विश्व लहरको प्रभावलाई नेपाली राजनीतिमा नकार्न सक्ने अवस्था नहुनु पनि एक शुभ संकेततर्फ नै इंगित गर्छ।  

अहिलेको नेपालको राजनीतिक सन्दर्भलाई नियालेर हेर्ने हो भने केही अवस्थाहरूले उब्जाएका प्रश्नहरू, के वास्तवमा समाजका अब्बल पेसाकर्मीका रूपमा स्थापित सबै सफल डाक्टर, शिक्षक, व्यवसायी, बुद्धिजीवी सबैले आआफ्नो पेसागत कार्य छाडी राजनीतिमा होमिँदै चुनावी मैदानमा उम्मेदवार भै उठेमा समाज समृद्ध बन्छ ? अथवा ती सम्पूर्ण पेसाकर्मीलाई स्वस्थ सामाजिक वातावरणमा सुरक्षित र सम्मानित भै कार्य गर्न सक्ने वातावरण भए समाज समृद्धितर्फ बढ्छ ? एउटा कुरा स्पष्ट के छ भने आजको राजनीतिक सकसले दिन खोजेको संकेत भनेको जब जब मुलुक कठिन परिस्थितितर्फ बढ्छ, त्यतिबेला हरेक नेपाली आफ्नो पेसा र व्यक्तिगत जीवनभन्दा बाहिर निस्की मुलुक हितका लागि चिन्तित बन्छन् र अगाडि आउँछन्। त्यसैले अबको चुनावमा जो व्यक्ति वा दलले जिते पनि जित नेपालीको हुनुपर्छ अन्यथा पुरानै कार्यशैलीको निरन्तरताले दीर्घकालीन राजनीतिक यात्रा सम्भव हुने छैन भन्नेतर्फको बढ्दो संवेदनशीलता मुलुकका लागि शुभ संकेत हो ।

प्रकाशित: ३ मंसिर २०७९ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App