५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

संगीतमा रमाउँदै गए रूबी

काठमाडौं- रुबी जोशी पेशाले कुनैबेला बंैकर थिए। पेशा फरक भए पनि उनको मन गीतसंगीतसँग जोडियो। त्यही गीतसंगीतमै रमाउँदा रमाउँदै उनले शनिबार ७३ वर्षको उमेरमा धर्ती त्यागे, श्रोताका लागि केही कालजयी गीत छाडेर। उनको शनिबार नै अन्त्येष्टि गरिएको थियो। जोशीका एक छोरा र पत्नी छन्।

उनले २०२२ सालमा रेडियो नेपालमा रेकर्ड गराएको पहिलो गीत 'एकान्त रातबीच' बोलको थियो। उनी २०१७ सालमा रेडियो नेपालमा छिरेका थिए। हृदयचन्द्र थापाको शब्द रहेको 'नमेटिने चिनो' बोलको गीतबाट उनले उतिबेलाको सर्वोत्कृष्ट गायनको पुरस्कार जिते। यही गीतको नामबाट उनको एल्बम काका पुष्प नेपालीले श्रोतामाझ ल्याएका थिए।

राममान तृषितको रचना तथा शिवशंकरको संगीतमा 'तिम्रो पनि माया लाग्छ, उसको पनि माया लाग्छ', नातिकाजीको संगीतमा 'आशा हजार मरेर मेरो गीतको जन्म भएको छ', रवीन्› शाहको 'रानी तलाउ किनारा', 'कान्छी मट्याङ–ट्याङ', पुण्यप्रसाद सुवेदीको 'शीतलुमाथि नि शीतलुपर्‍यो नि', यादव खरेलको 'कतिकति कुरा यस्ता हुन्छन्' लगायतका गीतले उनलाई चिनाए।

‘उनले गाएका सबै गीत राम्रा थिए,' गीतसंगीतका बारेमा अध्ययन गर्दै आएका प्रकाश सायमीले भने, ‘गाउँले पाराको शीतलुमाथि नि शीतलु पर्‍यो नि' श्रोताहरुको मुखमुखमा झुन्डिने गीत थियो।'

बेलाबेला सामाजिक गतिविधिमा पनि रुबीको सक्रियता रहन्थ्यो। २०४५ साल भदौ ५ गते भूकम्प गएका बेला चलचित्रकर्मी र कलाकारका बीच भएको मैत्रीपूर्ण फुटबलका संयोजक जोशी नै रहेको सायमीले बताए।

'कान्छी मट्याङ टयाङ'ले नयाँ पुस्तामाझ लोकप्रियता कमाएको थियो। पछि गुलाम अलिले गाएको मविवि शाहको 'गाजलु ती ठूला ठूला आँखा' पहिले रुबीले अर्कै लयमा गाएका थिए। उनी बच्चु कैलाश, नारायण गोपाल, नातिकाजी, शिवशंकरका दौंतरी समूहका थिए। २०२१ सालमा नारायण गोपालको नेतृत्वमा कलाकार टोली कोरिया जाँदा जोशी पनि साथै थिए। गोरो अनुहारका जोशीलाई 'तुयुकाई तुयुकाई'(गोरेकाजी) भनेर नारायणगोपालले बोलाउने गर्थे।

बाल्यकालदेखिका सहकर्मी योगेश वैद्य उनको निधनले मर्माहत छन्। ‘उनको नरदेवीमा मामाघर थियो हामी छिमेकी,' वैद्य सम्झन्छन्, ‘मामाघरबाट सुरु भएको हाम्रो मित्रता अन्तिम समयसम्म पनि उस्तै थियो।'

भेट हुँदा हर्मोनियम बजाएर गीत गाउने, रमाइलो गर्ने गर्दागर्दै उनीहरु रेडियो नेपालमा काम गर्न पनि सँगै गए। वैद्यका अनुसार राष्ट्र बैंकको विशिष्ट श्रेणीको अधिकृतमा लामो समय सेवा गरेपछि पनि उनले बैंक क्षेत्र छाडेनन्। कृषि विकास बैंक, लुम्बिनी, श्रीलंका बैकमा थप सेवा गरे। तर बैंकमै उनलाई कसैले आर्थिक कारोबारमा फसाएपछि नराम्रोसँग उनमा निराशा छायो। त्यसपछि आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्दै जाँदा एउटा मिर्गाैला झिकेर फ्याँक्नुपरेको वैद्य बताउँछन्।

अखिल नेपाल संागीतिक संघका सदस्यसचिव जोशी रहँदा वैद्य सदस्य थिए। ‘त्यो संगठन त राम्ररी चलेन तर हाम्रो मित्रता झाँगियो,' वैद्य थप्छन्, ‘हामी वर्षमा एकदुईपटक परिवारसँग अनि कहिलेकाहीँ आफूआफू मिलेर पिकनिक जान्थ्यौं, जुन पछिसम्म पनि चलिरह्यो।'

पिता विष्णुलाल जोशी र माता गणेशकुमारी जोशीका छोरा उनको निदान अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो।

कमजोर एउटामात्र मिर्गौलाले काम गरिरहेको अवस्थामा उनलाई मधुमेहले पनि च्याप्दै लगेको थियो। आफन्तका अनुसार विगत दुई महिनायता त्यही रोगसँग लड्दै थिए। हरेक चार घण्टा हुँदै हरेक ६ घण्टामा डायलासिस गर्दागर्दै भित्रको पानी नतानिएपछि उनको अवस्था जटिल बनेको थियो। अन्तिम अवस्थामा भेन्टिलेटरमै उनको निधन भएको थियो।

 अहिले मह जोडी भनेर सबैले चिन्ने हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जोडी बनाउन उनको ठूलो भूमिका थियो। राष्ट्र बैंकको २५ वर्षको उत्सव मनाउन मह जोडीलाई 'बैंकेश्वर' प्रहसनका लागि निम्ताएर सधंैका लागि एक बन्धनमा बाँधिदिएको उनका निकटस्थहरु बताउँछन्।

प्रकाशित: १२ मंसिर २०७३ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App