१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नौबिसे–नागढुंगा सडकखण्ड : अधिक भारले टिक्दैन देब्रे लेन

धादिङ - दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ।

खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ। सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ।

क्षमताभन्दा बढी भारका सवारी गुडाउँदा देब्रे लेन कामै नलाग्ने गरी क्षतविक्षत भएको छ। बर्खा नसकिँदै अधिकांश भाग कामै नलाग्ने अवस्थामा पुगेको छ। यसले गाडी ओहोरदोहार गर्न मुस्किल हुने गरेको बसका चालक गणेश श्रेष्ठले बताए।

सडकको देब्रे लेनमा सवारी गुड्नै नसक्ने भएको छ। देब्रे लेन निकै गहिरो र खोल्साजस्तो बनेको छ। ठाउँठाउँमा परेको खाल्डाखुल्डी त सामान्यजस्तै भएको छ।

‘उकालोमा बढी भार बोकेका ट्रकले लेन नै खाल्डाखुल्डी बनाइदिएको छ,’ उनले भने, ‘खाल्डाखुल्डी सडकमा १० किलोमिटर सडक पार गर्न धेरै समय लाग्ने अवस्था छ।’ सडकको भारवहन क्षमताले नधान्ने सवारी गुडेकाले तीन महिनामै सडकको लेन भासिने गरेको चालकहरूको भनाइ छ।

सडक बिग्रिएसँगै यात्रासमेत जोखिम र कष्टप्रद बन्दै जान थालेको छ। बिग्रिएको ठाउँमा समयमा नै मर्मत सम्भार नगर्नु, जथाभावी क्षमताभन्दा धेरै भार बोकेका सवारीलाई कडाई नगर्नु जस्ता समस्याले यात्रा गर्ने यात्रुहरू आजित भइसकेका छन्। सडकको देब्रे लेनमा सवारी गुड्नै नसक्ने भएको छ। देब्रे लेन निकै गहिरो र खोल्साजस्तो बनेको छ। ठाउँठाउँमा परेको खाल्डाखुल्डी त सामान्यजस्तै भएको छ।

हरेक वर्ष सडक मर्मत–सम्भारका नाममा करोडौं बजेट विनियोजन हुन्छ। वर्षभरि कुनै न कुनै स्थानमा मर्मत पनि भइरहेको हुन्छ, तर कहिल्यै बनिसक्दैन। कमजोर कालोपत्रेका कारण सडक कामै नलाग्नेगरी बिग्रिएको खानीखोलाका स्थानीय प्रमोद गिरीले बताए। ‘सडक विभागको लापरबाहीले कमजोर कालोपत्रे गरिँदा खाल्डाखुल्डी बनेको हो,’ उनले भने, ‘दुनियाँका आँखामा छारो हालेर माकुराको जालोजस्तो पिच गरिन्छ, अनि तीन महिना पनि टिक्दैन।’ सार्वजनिक सडकमा कसैको चासो नहुँदा निर्माण कम्पनी र अनुगमन जिम्मा पाएका निकाय पनि मौन रहेको उनले बताए।

चाडपर्वको समयमा राजधानी काठमाडौंमा दैनिक उपभोग्य सामानहरूको माग बढी हुने भएका कारण ठूल्ठूला मालवाहक सवारीमा अत्यधिक लोड बनाएर सामान ल्याइने गरिन्छ। सडकको भारलाई नै थेग्न नसक्ने गरी सवारी गुड्दा सडक भासिने र सवारी बिग्रिनाले सो क्षेत्रमा सवारी लाम लाग्ने गरेको छ। दैनिक १० देखि १४ हजार सवारी आवातजावत गर्ने र ठूला मालवाहक सवारीले देब्रे लेन ध्वस्त पारेको छ।

सडक विभागले बिग्रिएको सडकको मर्मत पनि गर्ने गरेको छ। तर यो सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ। चौडाइ कम भएका कारण निर्माण सामग्री राख्न र काम गर्न पनि असहज हुने गरेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले बताए। ‘यस सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको छ,’ उनले भने, ‘सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने अवस्था छ, १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गर्छ।’

यो क्षेत्रमा सडक ६ देखि सात मिटरमात्र चौडा रहेको छ। सडक मर्मत गर्नसमेत गाह्रो हुने भएका कारण ठेकेदार कम्पनीहरू पनि नपाउने गरेको उनले बताए। साँधुरो सडकमा मर्मत गर्दा अत्यधिक जाम पर्ने र चौतर्फी विरोध आउने भएका कारण काम गर्न असहज हुने गरेको अधिकारीले बताए। सडकखण्डमा काम गर्ने ठेक्का कसैको पनि नपरेपछि सोही सडक खण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्सट्रक्सनको सहयोग लिएर मर्मतको काम भइरहेको छ।

मर्मतको गुणस्तरै कमजोर भएका बेला धादिङ र नुवाकोटबाट गिटी–बालुवा बोक्ने टिपरले सडक तहसनहस पार्ने गरेको छ। नदीबाट निकालेको र प्रशोधन गरिएको चिसो बालुवा बोकेर गुड्ने टिपरको भार सडकले थेग्नसक्ने क्षमताभन्दा दोब्बर हुन्छ। त्यसमाथि टिपरले उकालोमा पानी चुहाउँदा सडक सधैं चिसो भइरहन्छ। यसले चाँडो कालोपत्रे भत्कने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ।

त्रिभुवन राजपथको सडकको क्षमताप्रति एक्सएल सवारी बराबर १० टन मात्र रहेको छ भने सवारीहरूले भने प्रति एक्सएल बराबर १५ देखि ४० टन बोकेर राजधानी जाने गरेका छन्। बाहिरी जिल्ला तथा भारतबाट समेत भारी लोड बोकेर आउने मालवाहक सवारीसाधनको लोडले सडकको देब्रे लेनमा असर गरेको छ। देब्रे लेनको भाग भासिने र दबिने गरेका कारण सडकमा दुरावस्था देखिएको छ। सडकका ठाउँठाउँमा खाल्टाखुल्टी मात्र होइन कुलोजस्तै बनेको छ। पानी परेको समयमा खाल्टाखुल्टीमा पानी जम्ने गरेका कारण सवारीसाधन फस्ने गरेका छन्।

प्रकाशित: १७ आश्विन २०७६ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App