प्रसंगः प्रधानमन्त्रीको स्वास्थ्य

पत्रकारितामा स्वास्थ्य संवेदनशीलता

सोमबार, २३ भदौ २०७६, ०९ : ३१ नागरिक

चुनबहादुर गुरुङ

मेरा मित्र कुन्दन अर्यालको आग्रहमा दशकअघि म भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री खड्गप्रसाद ओलीको निवास पुगेको थिएँ। २३ वर्षदेखि मैले मिगौैैला रोगविरुद्ध ‘जेहाद’ छेडेको थिएँ। सायद मेरा अनुभव सहयोगसिद्ध हुने ठानी मित्रले मलाई यस्तो आग्रह गरेका थिए। नेता ओलीसमक्ष मैले आफ्ना अनुभव र अनुभूति पस्केको थिएँ। सफल मिर्गौला प्रत्यारोपणपश्चात् नेता ओलीले नयाँ जीवन पाए, पटके प्रधानमन्त्री बन्ने जनादेश पनि उनैलाई जु¥यो। उनको यो प्रगतिबाट म र मजस्ताहरू हर्षित थियौं, छौं।

वीरशमशेर दीर्घरोगी थिए, त्यसैले उनले ‘रैती’का निम्ति वीर अस्पताल खडा गरे। राजा महेन्द्र मुटुरोगबाट पीडित थिए। यसैकारण उनलाई दरबारभित्रै ‘सघन उपचार कक्ष’ स्थापना गर्न सुझाव दिनेहरू धेरै थिए। तर महेन्द्रले वीर अस्पतालभित्र सघन उपचार कक्ष स्थापना गरे। त्यसैले जनताका निम्त जेलनेल निलेका नेता ओलीबाट मिर्गौला रोगविरुद्ध लडेकाहरूले अपेक्षा राख्नु स्वाभाविक थियो।

डाक्टरी रिपोर्टलाई सरल भाषामा सबैका सामु राख्न नसक्दा स्वास्थ्यजस्तो संवदेनशील सवालमा असंवेदनशील समाचार आएका हुन्।

यस्तै अपेक्षासहित नेता ओली पहिलोपटक प्रधानमन्त्री बनेलगत्तै मिर्गौला रोगविरुद्ध लडिरहेकाहरूको विश्व मञ्चमा एक सन्देश सम्प्रेषण गरें– ‘मिर्गौला रोग विजेता खड्गप्रसाद ओली नेपालका प्रधानमन्त्री !’ राजनीतिक दुनियाँदेखि दूर रहेका ती लडाकाहरूका निम्ति यो सुन्दर र सुखद समाचार थियो।

नेता ओली दोस्रोपटक प्रधानमन्त्री पदमा आसीन हुँदा ओली शैली पछ्याउँदै मैले एक सन्देश पोस्ट गरें– ‘हार्दिक बधाई, वरिष्ठ प्रधानमन्त्री पदको परिकल्पना संविधानले गरेन। पुनः प्रम पदमा पुग्नु तपाईंलाई ठूलो कुरो भएन, धेरै नबोलम्, बोलेका वचन व्यवहारमा उतारम्।’

तर चुनौतीका पहाडले थिचिएको ओली सरकार मिर्गौला रोगविरुद्ध लडेकाहरूका पक्षमा मात्र नभई समग्रमा खरो उत्रन सकेन। बोलीलाई व्यवहारमा बदल्न सहज छैन। बोली र व्यवहारबीच खाडल गहिरिँदै गएपछि मिडिया खबरदारी बढ्नु स्वाभाविक थियो। प्रधानमन्त्रीका ठट्यौली शैली मिडियाका ‘प्रिय’ बन्दै गए। विभिन्न प्रसंगमा व्यक्त उनका ठट्यौली कुरा खबरका रूपमा छाए, जसलाई आमपाठक, दर्शक र स्रोताले गम्भीर रूपमा ग्रहण गरे।

जनअपेक्षाविपरीत ल्याइएका विधेयक तथा अन्य विवादास्पद कदमले सरकारका राम्रा काम पनि ओझेलमा परे। सरकारले गरेका असल  कार्य जनसमक्ष ल्याउन सरकारी सञ्चार संयन्त्र निष्प्रभावी बने। प्रतिपक्षको पंक्तिमा उभिने आमसञ्चारका माध्यम स्वाभाविक रूपमा सरकारी मुखपत्र र नेताका बकपत्र बन्ने भएनन्।

त्यसैले सरकारका निम्ति अप्रिय रिपोर्टिङ यत्रतत्र छाउन थाले। सामाजिक सञ्जालमा पहुँच भएकाहरूले तीतो पोख्न पाए। गुठी विधेयकलगायत नियमनका नाममा ल्याइएका केही नियन्त्रणमुखी नीति निर्देशिकादेखि न्यायाधीश नियुक्तिसम्मका मुद्दाहरूमा मिडिया खबरदारी झनै बढ्यो। सरकारी सञ्चार संयन्त्रले मिडियासँग सहकार्य आवश्यक ठानेन, बरु भएभरको शक्ति खण्डनमण्डनमा खर्च गर्दै आक्रामक शैलीमा प्रस्तुत भयो। यसको नीतिगत झल्को मिडिया काउन्सिल विधेयकमा देखियो।

विडम्बना, प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे समाचार सम्प्रेषणमा पनि सामान्य अवस्थाकै रिपोर्टिङ प्रवृत्ति देखियो। केही अपवाद छाडेर भन्ने हो भने स्वास्थ्य संवेदनशीलता केन्द्रमा राखेको पाइएन। विशेषतः पहिलोपटकको सिंगापुर भ्रमणआसपास यस्ता खबर आए।

संवेदनशील सवाल ः असंवेनदशील समाचार
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे एक अन्तर्राष्ट्रिय मिडियाको ‘लिडलाइन’ यस्तो थियो– ‘सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्रीले ट्विटरमा आफ्नो स्वास्थ्य सामान्य रहेको भन्दै परीक्षणमा संलग्न सबैलाई धन्यवाद दिएका थिए। तर उनी अस्वस्थ भएको र पुनः उपचारका लागि बाहिर जाने तयारीमा रहेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।’

‘फलोअप’का निम्ति मानिस पटकपटक अस्पताल जान्छन्। कसैले दोस्रोपटक अस्पताल पुग्ने योजना बनाउँदैमा उसलाई ‘अस्वस्थ’ देख्नु÷ देखाउनु संवदेनशीलताप्रति आँखा चिम्लनुजस्तै हो। अन्य सञ्चारमाध्यममा प्रकाशित सामाग्रीलाई नै ओल्टाइपल्टाई प्रेषित समाचारको सार थियो ः ‘प्रधानमन्त्री ‘अस्वस्थ’ छन्।’ अस्वस्थ अवस्थाकालाई ‘अस्वस्थ’ भनेर झ्याली पिट्नु स्वास्थ्यसम्बन्धी शून्य संवेदनशीलता हो।

अर्को एक अनलाइन मिडियाले सबैलाई उछिन्दै प्रधानमन्त्री सिंगापुर रहँदा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेको हल्ला चलायो। मानौं प्रत्यारोपण हप्तादिनमै पूरा भइहाल्ने उपचार विधि हो। प्रत्यारोपित मिर्गौलामा असामान्य अवस्था आएका बखत यस्ता खबरले व्यक्तिको मनोविज्ञानमा ‘ठूलो भूकम्प’ ल्याइदिन्छ। यहाँ स्वास्थ्य संवेदनशीलतालाई रंगीन रूपमा प्रस्तुत गर्न खोजेको देखियो।

सिंगापुर जानुअघि नाम चलेको एक साप्ताहिक खबर पत्रिकाले प्रधानमन्त्रीको नियमीत स्वास्थ्य जाँच टोलीका एक सदस्यको हवाला दिँदै प्रधानमन्त्रीको किड्नी फङ्सन ‘असामान्य’ देखिएको भन्दै ‘स्कुप’ मा¥यो। र, प्रधानमन्त्री ओली सिंगापुर जान लागेको कारणसमेत ‘खुलासा’ ग¥यो। तर ओलीको स्वास्थ्य कसरी ‘असामान्य’ देखियो भन्ने खोजी गर्ने ‘झन्झट’ उसले गरेन।

राष्ट्रिय समाचार समितिद्वारा सम्प्रेषित खबर साभार गर्दै एक सरकारी समाचारपत्रले अर्को रंगीन खबर छाप्यो। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उसले लेखेको थियो– ‘हिजो मलाई ९९ देखि १०० डिग्री ज्वरो आएको थियो, एउटा सिटामोल खाइदिएपछि सबै निको भयो।’ उक्त समाचारको स्रोत प्रधानमन्त्रीको ट्विटर सन्देश थियो।

तर प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डल गर्नेले उपचारपछि पनि ओलीलाई ९९ देखि १०० डिग्री ज्वरो आउनु सामान्य कुरो होइन भन्ने तथ्य बुझेन, सम्बद्ध चिकित्सकसँग परामर्श गर्न आवश्यक ठानेन। प्रधानमन्त्री र सञ्चारमन्त्रीका अभिव्यक्ति मूल खबर हुन् भन्ने मन्त्र पछ्याउने प्रवृत्तिले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी रिपोर्टिङमा सरकारी समाचारपत्रहरू समेत चिप्लिए।

‘असंवेदनशील’ खबरका खानी
प्रधानमन्त्री कार्यालयमा स्थायी सञ्चार संयन्त्र बन्न सकेको छैन। सञ्चारलाई एक प्रेस सल्लाहकार र संयोजक नियुक्तिमा सीमित राखिएको छ। सार्वजनिक सञ्चार प्राथमिकतामा परेको पाइँदैन। सही सञ्चार संयन्त्र नबन्दा सार्वजनिक सूचना सम्प्रेषण– प्रधानमन्त्री, मन्त्री र ठूलाबडाका एकल सोच र सनकमा निर्भर छ। सत्ता, सदन र सडकबाट प्रेषित सञ्चारको प्रकृति पनि बिल्कुल फरक छन्।

यहाँ हेगको सन्दर्भ जोडौं, प्रचण्डले यो प्रसंग उठाउँदा अखबारका पानाहरू भरिए, सामाजिक सञ्जालका भित्ताहरू पोतिए, टिभीका स्क्रिनहरूमा राम्रै चर्चा/परिचर्चा भए। यस्ता आमसञ्चारले प्रचण्डलाई हेगतिरै पु-याउने ‘मिसन’ लाई सघाएको छ। संवेदनशील सवालमा बोल्दा पदमुक्त भएका नजिरहरू पनि हामीकहाँ छन्। तसर्थ आमसञ्चारसँगको संवाद लहड, सनक र आक्रोशका भरमा चल्दैन।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे रंगीविरंगी रिपोर्टिङ आउनुमा यही प्रवृत्ति र बेवास्ताले काम गरेको छ। शब्दावली जस्तो प्रयोग गरिए पनि मन्त्री र सल्लाहकारहरूका पटकपटकका सन्देशको सार थियो ः ‘प्रधानमन्त्री तन्दुरुस्त छन्।’ तर उनीहरूसँग कसरी ‘तन्दुरुस्त’ छन् भन्ने जवाफ थिएन÷छैन। मिर्गौलाको पिसाब छान्ने दर, पिसाबमा प्रोटिनको मात्रा, क्रियाटिनाइन्, युरिया, साइक्लोस्पिोरिन वा ट्याक लेभल र बायोप्सी रिपोर्टको व्याख्या उनीहरू गर्न सक्दैनन्।

प्रधानमन्त्री तन्दुरुस्त छन् भन्ने तथ्यगत ‘ब्रिफिङ’ उपचारमा संलग्न चिकित्सकले मात्र दिन सक्छन्। तर प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका भनाइ मिडियामा सिला  खोजेझैं खोज्नुपर्ने अवस्था थियो÷छ। डाक्टरी रिपोर्टलाई सरल भाषामा सबैका सामु राख्न नसक्दा स्वास्थ्यजस्तो संवदेनशील सवालमा असंवेदनशील समाचार आएका हुन्। समयमा सही सूचना नपाएपछि समाचारका निम्ति दोस्रो स्रोत खोज्नुपर्ने र अड्कलबाजीलाई आधार मान्नुपर्ने अवस्था आउँछ। फलतः आमसञ्चार माध्यममा असंवेदनशीलता मौलाउँछ।

संवेदनाहीन समाचार संगिनसरह
प्रधानमन्त्रीको स्वास्थ्य सबैको सरोकारको सवाल भए पनि यो व्यक्तिको नितान्त निजी मामिलासमेत हो। भारतका पूर्ववित्तमन्त्री अरुण जेट्लीको गत साल मिर्गौला प्रत्यारोपण गरिएको थियो, तर त्यसबारे चर्को प्रचार गरिएन। केही साताअघि उनको निधन भइसकेको छ । तर भारतकै पूर्वपरराष्ट्रमन्त्री सुष्मा स्वराजको मिर्गाैला प्रत्यारोपणबारे धेरैलाई जानकारी थियो। आफ्ना व्यक्तिगत कुरा भन्ने वा नभन्ने व्यक्तिको इच्छामा भर पर्छ। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था पहिल्यै सबैलाई बताएका हुन्।

केही अपवादबाहेक प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी रिपोर्टिङलाई ‘रोमान्टिजाइज् इन् जर्नालिजम्’ भन्ने आधार धेरै छन्। दीर्घरोग विजेताहरूलाई यस्ता असंवेदनशील रिपोर्टिङहरूले संगिनझैं घोच्छ, पोल्छ।

एक नेपाली चिकित्सक स्वयंलाई मिर्गौलासम्बन्धी समस्या आएपछि उनी डायलासिसमा बस्न नमानेको मैले सुनेको छु। एक प्रतिष्ठित बैंकमा कार्यरत कर्मचारी मिर्गाैला प्रत्यारोपणपश्चात् मनोवैज्ञानिक पीडा (डिप्रेसन) कारण अकालमा बितेको देखेको छु। वास्तवमा दीर्घरोगी विजेताहरू दरिलो इच्छाशक्तिले सामान्य जीवन बाँचिरहेका हुन्छन्। प्रधानमन्त्री ओली तिनैमध्ये एक हुन्।








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad