१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पत्रकार सामाजिक सञ्जाल आचार संहिता ल्याइँदै

काठमाडौं - प्रेस काउन्सिल नेपालले पत्रकारका लागि सामाजिक सञ्जाल आचार संहिता ल्याउने तयारी गरेको छ।  काउन्सिलले हाल उक्त आचारसंहिताको मस्यौदा तयार गरिरहेको छ।  उक्त मस्यौदामा पत्रकारले सामाजिक सञ्जालमा के लेख्न हुने के लेख्न नहुनेबारे उल्लेख गरिएको छ।  प्रस्तावित आचार संहिता अनुसार पत्रकारले पुष्टि नभएका समाचार सामाजिक सञ्जालमा राखे पनि आचारसंहिता उल्लंघन भएको मानिने छ।  आचार संहिता पत्रकार महासंघको प्रतिक्रियापछि असोज ६ पछि कार्यान्वयनमा आउने छ।

आचार संहिता उल्लंघन गर्ने पत्रकारका बारेमा काउन्सिलले सरकारी निकायलाई पत्र लेखेर सामाजक सुरक्षा सुविधाबाट वन्चित गर्न आग्रह गर्न सक्नेछ।  काउन्सिलले प्रस्ताव गरेको मस्यौदामा पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्ने समाचार, सूचना तथा विचार तथ्य, सन्तुलन र सम्मानजनक हुनुपर्ने उल्लेख गरिएको छ।  आचारसंहितामा भनिएको छ , ‘पत्रकारले सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा तथ्यको जाँच गर्नुपर्ने छ त्यस्तै अन्य प्रयोग कर्ताका सामग्रीहरु पुनःपोस्ट गर्दा, प्रतिक्रिया जनाउँदा त्यसो कति निष्पक्ष र भरपर्दाे हो भन्ने कुरा पनि जाँच गर्नुपर्ने छ। ’

काउन्सिलले ल्याउन लागेको पत्रकार सामाजिक सञ्जाल आचार संहिताबारेमा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘पत्रकारिता पेशामा पटकपटक गल्ती गर्नेहरू बैैकिङ सेक्टरमा झैं अबदेखि कालोसूचीमा पर्नेछन्।  सामाजिक सन्जालमा जथाभावी लेख्ने,कमेन्ट र लाइक गर्ने सञ्चारकर्मीसमेत आचारसंहिता उल्लंघनअन्तर्गत कारबाहीको दायरामा आउनेछ,’ उनले भनेका छन्।

श्रेष्ठले सूचीकृत नभएका, अपुस्ट, अतिरन्जित, भ्रामक सामग्री सम्प्रेषण गर्ने विद्युतीय सन्चारमाध्यमको प्रशारण निश्चित अवधि तोकेर रोक्न सकिने।  पत्रकारिता पेशालाई मयार्दित, जिम्मेवार र थप उत्तरदायी बनाउन प्रेस काउन्सिल,पत्रकार महासँघ र सरोकारवाला व्यक्तित्वहरुको भेलाबाट आचारसंहितालाई अन्तिम रूप दिइएको उल्लेख गरेका छन।

नयाँ आचारसंहितालाई लिएर कतिपले प्रश्नसमेत उठाएका छन्।  यसले व्यक्तिगत रूपमा पत्रकारको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको कतिपयको तर्क छ।  पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले काउन्सिलले यति ठूलो संख्यामा रहेका पत्रकारको सामाजिक सञ्जाल व्यक्तिगत रूपमा अनुगमन गर्ने भन्ने कुराप्रति आश्चर्य व्यक्त गर्छन्।  उनी यो अस्पष्ट विषय भएको बताउँछन्।

प्रकाशित: १६ भाद्र २०७६ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App