२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार

हुम्लाको अदानचुली गाउँपालिका-४ मा दिनभर जेसिवी चलाएर थाकेका बखतबहादुर खड्का राति गहिरो निद्रामा थिए। असोज ११ गते राती उनी सुतेको छाप्रोमा ठुलो ढुंगो बजारियो। टाउको र ढाडमा चोट लागेर उनी गम्भीर घाइते भए। 

दैलेखको दुल्लु नगरपालिका स्थायी ठेगाना भएका उनलाई नेपाली सेनाले भोलिपल्टै उद्धार गरी कर्णाली प्रदेश अस्पताल ल्याइपुर्‍यायो। हुम्लाबाट हवाई उद्धार गरी प्रदेश अस्पताल ल्याइए पनि न्युरो चिकित्सक नहुँदा उपचार सम्भव भएन। अस्पतालले बाँकेको नेपालगन्ज रेफर गर्‍यो। हुम्लाबाट हेलिकोप्टरमा ल्याइएका उनलाई सुर्खेतबाट नेपालगन्ज एम्बुलेन्समार्फत पठाउनु पर्‍यो।

केही महिनाअघि कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भए। तिनलाई पनि स्थानीय तहले पैसा व्यहोर्ने गरेर नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल ल्याइपुर्‍यायो। घाइतेमध्ये तीन जनाको उपचार प्रदेश अस्पतालमा सम्भव भएन। तीनै जनाको टाउकोमा चोट देखिएकाले प्रदेश अस्पतालले नेपालगन्ज रेफर गर्‍यो। कर्णाली प्रदेशको राजधानीमा रहेको प्रदेश अस्पताल भौतिक पूर्वाधारमा अब्बल भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारका लागि नेपालगन्ज, काठमाडौं वा भारततर्फ धाउनुपर्ने कर्णालीको बाध्यता हटेको छैन।

कर्णाली प्रदेश अस्पतालका प्रशासन प्रमुख अनिता ज्ञवालीका अनुसार प्रदेश अस्पतालमा न्युरोलोजिस्ट, कार्डियोलोजिस्ट र प्याथोलोजिस्ट विशेषज्ञ नहुँदा यी सेवा दिन सकिएको छैन। ‘सेवा सुचारु गर्न विशेषज्ञ चिकित्सक हुनुपर्‍यो’, उनले भनिन्, ‘विशेषज्ञ चिकित्सक ल्याउने प्रयास भइरहेको छ, सफल भएका छैनौं।’ 

तीन सय बेडको कर्णाली प्रदेश अस्पताल कर्णालीका अन्य जिल्लाका साथै सुदूरपश्चिमबाट पनि बिरामी आउने गरेका छन्। दरबन्दीअनुसार पनि प्रदेश अस्पतालमा जनशक्ति अभाव छ।’ सुर्खेतलाई आधार बनाएर नेपाली सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम जिल्लामा नि:शुल्क हवाई उद्धार गर्दै आएको छ। यो कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका, सुत्केरी भएर अत्यधिक रक्तस्राव भएका, सुत्केरी र बच्चाको ज्यान जोखिममा रहने अवस्थाका बिरामीलाई हवाई उद्धार गरी प्रदेश अस्पताल ल्याइन्छ। प्रदेश अस्पतालमा स्त्रीरोग विशेषज्ञको पनि अभाव छ। प्रदेश अस्पतालमा स्त्रीरोग विशेषज्ञ र फिजिसियनको जनशक्ति पनि कम छ। केही दिनअघिको प्रतिनिधिसभा बैठकमा सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेश अस्पतालमा जनशक्ति अभाव हुँदा कर्णालीका नागरिकले अत्यावश्यक स्वास्थ्योपचार नपाएको बताएका थिए। 

उनले दुई वर्षअघि नै क्याथल्याब मेसिन जडान भएको भए पनि कार्डियोलोजिस्ट डाक्टर नहुँदा सञ्चालनमा आउन सकेको छैन। न्युरोलोजिस्ट डाक्टर नहुँदा कर्णाली प्रदेश अस्पतालमा आएका ९० प्रतिशत बिरामीलाई नेपालगन्ज, काठमाडौं वा भारततर्फ रेफर गर्नुपर्ने बाध्यता छ।

‘कर्णालीमा गरिबी छ, अशिक्षा छ, भूगोल नमिलेको अवस्था छ, सडक दुर्घटना धेरै हुन्छन्’, सांसद खड्काले भने, ‘विभिन्न हिमाली तथा पहाडी क्षेत्रबाट एयर लिफ्ट गरेर पनि बिरामी कर्णाली प्रदेश अस्पताल ल्याइन्छ, यहाँ विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामी बाहिर पठाउनुपर्ने बाध्यता छ।’ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले कर्णालीमा विशेषज्ञ चिकित्सक पठाउन पहल भइरहेको बताए। ‘कर्णाली भन्नेबित्तिकै चिकित्सक जान हिच्किचाउने अवस्था छ’, उनले भने, ‘कर्णालीलाई पहिलो प्राथमिकतामा राखेर विशेषज्ञ चिकित्सक पठाउने तयारी भइरहेको छ।’

प्रकाशित: २० आश्विन २०८३ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App