अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा तान्जानियाको अरूसामा रहेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढीलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न विपद्लाई सन्दर्भमा राख्दै 'जलवायुजन्य विपद् सम्बोधन गर्न र हिमाली क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रहरूको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल' शीर्षकको आपत्कालीन एजेन्डा आईपीयू सचिवालयमा दर्ता तथा प्रस्तुत गरेको छ।
छलफलका क्रममा जलवायुजन्य विपद्बाट प्रभावित तथा संवेदनशील क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।
उक्त प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले भोलि विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलसँग छलफल गरी समर्थनका लागि मत माग्ने कार्यक्रम तय गरेको छ।
यसैबीच, सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्ध, आपसी अनुभव आदानप्रदान तथा आगामी दिनमा संसदीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।
प्रकाशित: २० आश्विन २०८३ ११:२० मंगलबार





