१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मिडिया काउन्सिल विधेयकविरुद्ध मानव साङ्लो

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा काठमाडौंसहित देशभरि मानवसाङ्लो बनाएर प्रदर्शन गरेको छ। संसद्मा पेस गरिएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएको महासंघले शनिबार दोस्रो चरणको कार्यक्रमअन्तर्गत काठमाडौंको बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।

फिर्ता नभएसम्म आन्दोलन जारी राख्छौं : आचार्य

मानव साङ्लो प्रदर्शन कार्यक्रममा उपस्थित पत्रकार महासंघका पदाधिकारी, पूर्वपदाधिकारी र सम्पादकहरूले काउन्सिल विधेयक फिर्ता लिन माग गरेका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक फिर्ता लिने विषयमा सरकार र सरोकार पक्ष राजनीतिक दलले कुनै पहल नगरेको गुनासो गरे। एक महिनादेखि चरणबद्ध आन्दोलनमा महासंघ लागेको सुनाउँदै अध्यक्ष आचार्यले अब बस्ने बैठकले अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए।

पत्रकार महासंघ कुनै राजनीतिक दल वा सरकारविरुद्ध आन्दोलनमा नरहेको जनाउँदै आचार्यले भने, ‘सरकार ढाल्न, मन्त्री ढाल्न र कसैलाई सरकारमा पु¥याउन होइन, प्रेस स्वतन्त्रताको रक्षाका लागि हामी आन्दोलित भएका हौं।’ मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आचार्यले भने, ‘यो विधेयक पास भयो भने हामीलाई मान्य हुँदैन। हामी आफैं स्वनियम गर्न सक्ने आचारसंहिता बनाउँछौं।’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले वर्तमान सरकार लोकतान्त्रिक आचरणविरुद्ध हिँडेको आरोप लगाए। ‘हामीलाई लोकतन्त्रमा यसरी सडकमा आउनुपर्छ भन्ने लागेको थिएन,’ उनले भने, ‘अहिले प्रेस स्वतन्त्रता जोगाउनुपर्ने परिस्थिति सिर्जना भएको छ। यसका लागि पत्रकारहरू कुनै आन्दोलन गर्न तयार छौं।’

नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष धर्मेन्द्र झाले मिडिया विधेयक खारेज गर्न माग गरे। विधेयकले अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको जनाउँदै झाले भने, ‘यो मिडिया विधेयक खारेज भएन भने अहिले पत्रकारिता गर्नेलाई मात्र होइन, पछिल्लो पुस्तालाई पनि असर पार्छ।’
कार्यक्रममा सम्पादकहरूले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक मान्य नभएको बताए। महासंघले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्पादकहरूले विधेयकले प्रेस र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने दाबी गरे। संविधानको मूलमर्मविपरीत आएका विधेयकहरू फिर्ता लिन सम्पादहरूले आग्रह गरे। सरकारले मिडिया काउन्सिल विधेयक संसद्मा दर्ता गरेपछि त्यसविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App