८ वैशाख २०८१ शनिबार
अर्थ

प्रतिव्यक्ति आय बढ्यो, गरिबी घट्यो

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन्।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरे। उनले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने दावी पनि गरे। सर्वेक्षणमा आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख गरिएको छ। अर्थमन्त्री खतिवडाले कूल ग्राहस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता समेत बढेको बताए। उनले विगतका धेरै दशकयता पहिलो पटक आन्तरिक बचतले कूल ग्राहस्थ उत्पादनको २० प्रतिशत नाघेको उल्लेख गर्दै यसले राष्ट्रिय पूँजी निर्माणका लागि उल्लेख्य योगदान दिने विश्वास पनि व्यक्त गरे।

सर्वेक्षणमा आन्तरिक तथा बाह्य लगानीका लागि आकर्षित गर्न भएको नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो तथा उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै आएको दावी गरिएको छ। अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको देखिएको पनि स्पष्ट पारे। उनले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रुपमा घट्दै गएको बताए। सर्वेक्षणमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ। अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/७७ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब पुग्ने अनुमान गरिएको पनि बताए।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको पनि सो आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा वित्तिय क्षेत्र स्थायित्वका सूचकहरु सवल रहेका पनि दावी गरिएको छ। अर्थमन्त्री खतिवडाले निर्यात व्यापार केही बढ्न गएको पनि बताए। आर्थिक वर्ष २०७५/७६ को अवधिमा व्यापार घाटा ८ खर्ब ८८ अर्ब रहेको छ। अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष भित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुने पनि बताए। त्यसैगरी पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम पनि तीव्रताका साथ अघि बढाएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको कामले तीव्रता पाएको, नेपालमा आएका पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको तथा तीन वटै तहमा कर्मचारी समायोजनपछि संघीयता कार्यान्वयनका काममा सहजता आएको पनि बताए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App