निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पद मुक्त गरिएको सूचना जारी गरेको छ।
दल त्याग गरेपछि उनीहरुलाई पद मुक्त गरिएको आयोगले सूचनामार्फत जानकारी दिएको हो।
तत्कालीन नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित लामो पार्टी त्याग गरी अर्को पार्टीमा प्रवेश गरेका कारण उनलाई पदमुक्त गरिएको निर्वाचन आयोगले भनेको छ।
आयोगले लामाको पद रिक्त भएको जानकारी जिल्ला समन्वय समिति ताप्लेजुङलाई समेत गराइसकेको छ। ‘उक्त विवरण सहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएको छ’, निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेलले भने।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम विभिन्न जिल्लाका १६ जना जनप्रतिनिधिले दल त्याग गरी पद रिक्त हुन गएको जनाएको छ।
पद रिक्तको सूचना पछि प्रतिक्रिया दिदैं लामाले आफूले कानुनी परामर्श पछि कसरी अघि बढ्ने भन्ने विषयको योजना बनाइरहेको बताए। तत्कालीन नेकपा(माओवादी केन्द्र) र नेकपा एसको पार्टी एकता हुँदा उनी पार्टी एकीकरण पछि बनेको नेपाली कम्युनिस्ट पार्टीमा नलागी नेकपा एमाले प्रवेश गरेको भनेर सामाजिक सञ्जालमा फोटो तथा बधाई समेत आएका थिए।
लामा जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष समेत हुन्। उनी ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत थिए।
प्रकाशित: ३१ वैशाख २०८३ १६:०९ बिहीबार





