८ वैशाख २०८१ शनिबार
समाज

निर्मला हत्याका १० महिनाप्रहरी अझै ‘सुराक’कै खोजीमा

धनगढी - कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भयो भने केही घाइते भए।

निर्मलाका आमा र बुबाले प्रहरी प्रमुख, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर हत्यारा पत्ता लगाउन बिन्ती गरे। पीडित आमाबुबासहित आफन्त चार महिनासम्म अनवरत धर्ना बसे। तर निकै चर्चा पाएको र सरकारले धेरै दबाब खेपेको निर्मला पन्त हत्याकाण्डको रहस्य १० महिना हुँदा पनि खुल्न सकेको छैन।

हत्यारा पत्ता नलागेपछि यसअघि दबाब दिन संघर्षमा उत्रेका स्थानीय, अधिकारकर्मी, निर्मलाका आमाबुबालगायत आफन्त पनि सुस्ताएका छन्। ‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्,, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?’

न्याय माग्दा–माग्दा थाकेका उनले पन्ध्र–बीस दिनदेखि घरनजिकै भासीमा ठेलामा चटपटे बेच्ने व्यवसाय फेरि सुरु गरेको बताए। ‘निर्मलालाई न्याय’का लागि कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि निर्मलाका बुबाआमा, आफन्तलगायत अनवरत रूपमा धर्ना बसेका थिए। धर्नाकै क्रममा मानसिक समस्या देखिएपछि उनलाई उपचारार्थ काठमाडौं लगिएको थियो।

निर्मलाको हत्यारा पत्ता लाग्ने कुनै संकेत नदेखिएपछि फागुृन १० गते हामीले धर्ना छोड्यांै’ उनले भने। बिरामी भएका बेला खाएको औषधिको असरले अहिले पनि कुनै–कुनै बेला टाउको दुख्ने समस्या देखा परिरहेको उनको भनाइ छ। छोरीको हत्यारा पत्ता लगाउन धेरै प्रयास गरे पनि सरकारले गम्भीरता नदेखाएको उनले बताए। ‘गरिबको छोरा र सामान्य मान्छेले मेरो छोरीको हत्या गरेको भए अहिलेसम्म पत्ता लागिसक्थ्यो,’ उनले भने, ‘सुरुदेखि अनुसन्धान गर्न आनाकानी गर्ने, प्रमाण नष्ट गर्ने गरियो, अहिले पनि छोरीको हत्यारा पत्ता लगाउन गम्भीरता देखाइएको छैन।’

निर्मलाकी आमा दुर्गादेवी पन्तले अब त छोरीको हत्यारा पत्ता लाग्ने कुराको आशा नै मरिसकेको बताइन्। ‘पत्ता लाग्छ–लाग्छ भनेको १० महिना भइसक्यो, अहिलेसम्म हत्यारा पत्ता लगाएका छैनन्,’ उनले भनिन्, ‘अब त हत्यारा पत्ता लाग्ला भन्ने आशा नै मरिसक्यो।’ प्रहरीले ‘एकदिन पत्ता लगाएरै छाड्छौं’ मात्र भन्ने गरेको उनले बताइन्।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले घटना भएको लामो समय बितेकाले कति दिनसम्म आन्दोलन गर्ने भनेर सेलाउँदै गएको बताए। ‘निर्मलाको हत्यारा पत्ता लगाइनुपर्छ भनेर ज्ञापन–पत्र दिने, आवाज उठाउने काम त भइरहेको छ,’ उनले भने, ‘अन्य धेरै मुद्दा पनि छन्, एउटै घटनाका लागि सधैं आन्दोलन कति दिनसम्म गर्ने भनेर पनि अहिले शान्त हुँदै गएको हो।’

केही व्यक्ति र केही महिला अधिकारकर्मी निर्मलाको न्यायको आन्दोलनलाई आफ्नो फाइदा र स्वार्थअनुकूल बनाउन दुई–तीन गुटमा विभाजित हुने, केही व्यक्तिले राजनीतिक फाइदा उठाउन उपयोग गर्ने जस्ता कारण पनि पछिल्ला दिनमा निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भन्ने आन्दोलन कमजोर भएको उनको विश्लेषण छ। निर्मला पन्तको हत्या अहिलेसम्म पत्ता नलाग्नु ठूलै रहस्य हुनसक्ने हुने उनी बताउँछन्। ‘सामान्य व्यक्तिको हत्यामा संलग्नता भएको भए पत्ता लागिसक्नुपथ्र्यो। त्यति धेरै प्रहरी कारबाहीमा पर्दासमेत पत्ता नलाग्नु भनेकै यसमा कुनै ठूलो रहस्य छ जस्तो लाग्छ।’

१० महिना भइसक्दा पनि हत्यारा पत्ता नलागेपछि त्रास बढेको निर्मलाका आमा दुर्गादेवीले बताएकी छन्। ‘मेरी छोरीको हत्यारा पत्ता नलागेकाले उसले फेरि अर्को घटना पनि घटाउन सक्छ कि भनेर त्रसित भएका छौं,’ उनले भनिन्, ‘यति ठूलो आन्दोलन भएर पनि पत्ता लगाउन सकिएन भने एकपटक घटना घटाउनेले अर्को पटक घटना घटाउँदैन कसरी भन्न सकिन्छ भनेर डर–त्रासमा बाँचेका छौं।’ उल्टाखामस्थित घरमा उनीसहित दुई छोरी मनिषा र सरस्वती मात्र बस्ने गरेका छन्।

प्रहरी ‘सुराक’कै खोजीमा

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्य निर्मला पन्तको सबै कोणबाट अनुसन्धान जारी रहेको बताउँछन्। ‘अहिलेसम्म कुनै तथ्य फेला परेको छैन,’ उनले भने, ‘अपराधीसम्म पुग्ने नयाँ–नयाँ क्ल्यु खोजेर अनुसन्धान गरिरहेका छौं।’ सिआइबीको टोलीले पनि अनुसन्धान जारी राखेको छ।

प्रहरीले निर्मलालाई पहिचान गरेकै व्यक्तिबाट घटना भएको हुन सक्ने भन्दै गाउँ र छिमेकीमाथि अनुसन्धान ग¥यो। त्यो गाउँ र गाउँ वरपर घटनाका बेला भएका र पछि भारततिर गएकाहरू पत्ता लगाएर प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘घटनाका बेला गाउँमा भएर अहिले नभएकाको अनुसन्धान जारी छ, तर अझै धेरै कुरा खुल्न सकेको छैन,’ एक प्रहरी अधिकृतले भने। अनुसन्धानका क्रममा प्रहरीले करिब चार हजार कल डिटेल अध्ययन तथा दुई सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको थियो।

साउन १० गते घरबाट डेढ किलोमिटर टाढा रहेको साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएका बेला निर्मला हराएकी थिइन्। छोरी घरमा नआएपछि त्यसैदिन साँझ प्रहरीलाई खोजिदिन निर्मलाकी आमाले गरेको आग्रह प्रहरीले अटेर गरेको थियो। दोस्रो दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

घटनापछि स्थानीय र उनका आफन्तले हत्यारा पत्ता लगाउनुपर्ने माग राख्दै सुरुदेखि नै प्रदर्शन सुरु गरे। भदौ ४ गते भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह विष्टलाई प्रहरीले दोषी भन्दै सार्वजनिक गरे पनि पछि उनी निर्दोष भएको र दोषीलाई बचाउन उनीलाई फसाउन लागेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र भदौ ८ गते प्रहरीले गोली चलेर हताहतीसमेत भएको थियो। पछि डिएनए मेल नखाएपछि दिलिप रिहा भएका थिए।

साउन ११ गते उखुबारीमा पानीमा घोप्टो पारिएको अवस्थामा शव फेला परेको थियो। त्यसबेला प्रहरीले फिंगर प्रिन्ट, फुट प्रिन्ट, रौं, रगत, अन्य कुनै प्रमाण पनि संकलन गरेन। निर्मलाको शरीरमा भएको लुगासमेत डढाइएको थियो। निर्मलाको भेजाइनल स्वाबमा शुक्रकीटको अवशेष फेला परेर डिएनए प्रोफाइल बनेकाले यो मात्र एक प्रमाण रहेको छ।

प्रमाण नष्ट गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्ट र इन्सेपेक्टर ऐकेन्द्र खड्कालाई भविश्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन्। तत्कालीन एसपी विष्टसहित आठ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा प्रमाण नष्ट गरेको मुद्दा विचाराधीन रहेको छ। उनीहरू धरौटीमा छुटेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७६ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App