भाषिक विविधताको महत्व नबुझ्दा...

शुक्रबार, ०७ मङि्सर २०७५, ०७ : ३६ प्रा. डा. दानराज रेग्मी

नेपालमा १२५ भन्दा बढी जातजातिले सयौँ भाषा–भाषिकाहरू मातृभाषाका रूपमा बोल्छन्। हामी भाषिक विविधतामा साँच्चै नै धनी छौँ। यो नेपालको सम्पत्ति हो। तर यसमा आफ्नै खालका थुप्रै जटिलता पनि छन्। सबै भाषाको स्थिति समान छैन। थुप्रै भाषाहरू लोप हुने अवस्थामा छन्। नेपालमा कुन भाषा हो र कुन भाषिका हो भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास अझै हुन सकेको छैन। कुन भाषा नेपालका रैथाने मातृभाषा हुन् र कुन विदेशी भाषा हुन् भन्ने स्पष्ट रेखांकन गर्न पनि सकिएको छैन। त्यस्तै अंग्रेजी र फ्रेन्च जस्ता भाषालाई पनि मातृभाषाका रूपमा गणना कुन आधारमा गरियो ? यस्ता प्रश्नहरू अनुत्तरित नै छन्। यस्ता प्रश्नको सर्वस्वीकार्य उत्तर तत्कालै कसैले पनि दिन सक्दैन। तर उत्तर खोज्नु जरुरी छ।

भाषिक विविधताभित्र के कस्ता जटिलता छन् र ती जटिलतालाई वस्तुगत तथ्यको आधारमा विश्लेषण गरी भाषिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययन हुन सकेको छैन। तैपनि व्यक्तिगत वा संस्थागत रूपमा प्रयास भने जारी नै छन्। भाषा आयोग पनि यस दिशामा अगाडि बढिरहेको छ। भाषाविज्ञान केन्द्रीय विभागले सन् २००९ मा सुरु गरी २०१७ को अन्त्यतिर समापन गरेको नेपालको भाषिक सर्वेक्षणले यहाँका प्रमुख सबै भाषामा समाज भाषा वैज्ञानिक सर्वेक्षण सम्पन्न गरेको पाइन्छ। यसले भाषिक समुदाय विशेषमा रहेको बहुभाषिकता, भाषिक निर्वाह, भाषिक अभिवृत्ति र भाषा विशेषको विकास योजनाका बारेमा विश्लेषण गर्ने प्रयास गरेको छ। यति मात्र नभई यसले भाषिक विविधता भित्रका थुप्रै जटिलताहरूलाई चिरफार गर्ने र ती जटिलताको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा केही रणनीतिहरू पनि सुझाएको पाइन्छ।

नेपालका धेरै भाषिक समुदायका १५ देखि २९ वर्ष समूहका युवकयवतीहरूले लगभग आफ्नो मातृभाषा बोल्न छाडिसकेका छन्। ३० देखि ५९ वर्ष समूहकालाई आफ्नो मातृभाषा राम्ररी आए पनि सीमित भाषा प्रयोगका क्षेत्रमा बाहेक नेपाली भाषा नै प्रयोग गरेको पाइन्छ। ६० देखि माथिका उमेर समूहका मानिसहरू भने मातृभाषाप्रति सबैभन्दा बढी निष्ठावान् रहेको पाइन्छ। तर उनीहरूलाई पनि घरमा नातिनातिनीसँग कुराकानी गर्दा नेपालीमैै कुरा गर्नुपर्ने बाध्यता रहेको छ।

सरकारी कामकाज, आम सञ्चार र शिक्षण माध्यम भाषाका रूपमा नेपाली प्रयोग भइरहेको छ। थुप्रै मातृभाषीहरू नेपाली भाषातिर अपसरित हुँदै गइरेका छन्। यो क्रम जारी नै छ। विशेष भाषिक योजनाविना सजिलै रोक्न सकिने अवस्था पनि छैन। यसमा नेपालीइतरका भाषिक समुदायले ठूलो पीडाबोध गरेको पाइन्छ। राज्यले नेपाली भाषालाई मात्र विशेष संरक्षण दिएकाले अन्यभाषाहरू प्रयोगविहीन हुँदै कमजोर भएका भन्ने गुनासो उनीहरूमा रहेको पाइन्छ। पछिल्लो जनगणनामा पहिलो भाषाको रूपमा नेपाली भाषाको वक्ता संख्या घट्नुको एउटा कारण यही पनि हुन सक्छ। थुप्रै समुदायले नेपाली भाषालाई खसान्ते वा खस भाषा भन्ने गरेको पाइन्छ। नेपाली भाषाप्रति सकारात्मक अभिवृत्तिको जगेर्ना हुन सकेको देखिँदैन। यसका थप कारणहरूको खोजी तत्कालै गर्नु आवश्यक छैन र?

यस्ता थुप्रै कुराहरू सर्वेक्षणले उद्घाटन गर्ने प्रयास गरेको छ। नेपालका धेरै भाषाहरूको नाम जातिको नामबाट राखिएको पाइन्छ। नेपालमा मातृभाषाका रूपमा बोलिने ल्होवा, काइके, घले, मनाङे, थकाली, डोल्पाली जस्ता थुप्रै भाषालाई भने एक जाति विशेषले मात्र बोलेको पाइँदैन। कहिलेकाहीँ यस्ता नामले पहिचानको मुद्दामा विवाद ल्याएको पाइन्छ।

वक्ताले आफ्नो भाषाको नाम जनगणनामा भन्दा फरक राखेको पाइन्छ।  भुजेलले आफ्नो भाषालाई पुख्ग्याल ङुर भन्छन् भने माथिल्लो मनाङकाले ङिस्याङ के भनेको पाइन्छ। त्यस्तै थकालीले आफ्नो भाषालाई तम्हाङ कइ, माथिल्लो मुस्ताङकाले ल्होके र राउटले खाम्ची भन्दछन्। यी नाम बढी अर्थपूर्ण पनि रहेकाले प्रयोगमा ल्याउनुपर्ने देखिन्छ।

मानिसहरू आफ्नो मूल थलोबाट विभिन्न कारणले अन्यत्र बसाइँसराइ गरिरहेका छन्। उनीहरूको आफ्नो मौलिक जातीय नाम र बोल्ने बोलीको नाम पनि छ। तर नयाँ स्थानमा अल्पसंख्यक देखिने मानसिक भयको कारणले धर्म र संस्कृतिसँग मेल खाने जातिमा सम्मिलीकृत हुँदै गएको पाइन्छ। आफूले बोल्ने बोलीलाई पनि आफू सम्मिलीकृत भएको भाषाको नाम नै दिएको पाइन्छ। डोल्पाका काइके भाषा बोल्ने मगर जातिले आफ्नो भाषानाम मगरमा लेखाएको पाइन्छ। त्यस्तै उपल्लो मनाङका मनाङे भाषीले आफ्नो विशेष जातीय नाम भए पनि सामान्यरूपमा गुरुङ लेखाएकाले भाषाको नाम पनि गुरुङ लेखाएको पाइन्छ। त्यस्तै उपल्लो मुस्ताङका धेरै सेके भाषीले पनि जातीय नाम गुरूङ लेखाएकाले खास गुरूङ भाषाभन्दा बिल्कुलै फरक भए पनि पछिल्लो जनगणनामा भाषा पनि गुरुङ नै लेखाएको देखिन्छ। भाषा संरक्षणमा यस्ता कुराले अप्ठेरो पर्न सक्छ।

तराईमा अवधी भाषीले पनि पहिलो सम्पर्क भाषा नेपाली र दोस्रोमा हिन्दीलाई मानेको पाइन्छ। मैथिली, अङ्गिका, मगही र बज्जिका भाषीले नेपालीलाई सम्पर्क भाषाका रूपमा प्रयोग गरेको पाइन्छ। त्यस्तै उच्च हिमाली क्षेत्रमा पनि नेपालीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गरेको पाइन्छ। तर तराईमा पढेलेखेकाले भने हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा प्रयोग गरेको पाइन्छ। नेपालका अधिकांश अल्पसंख्यक भाषाहरूमा प्रार्थना गर्दा, झगडा गर्दा, गाली गर्दा र पारिवारिक जमघटमा वार्तलाप गर्दा बाहेक भाषा प्रयोगका अरू क्षेत्रमा नेपाली भाषा नै बढी प्रयोग गरेको पाइन्छ।  

नेपालका केही भाषाका मात्र मौलिक लिपि छन्। तैपनि लेखनमा भने देवनागरी लिपिको प्रयोग गरिरहेको अवस्था छ। प्राथमिक तहका पाठ्यपुस्तकहरू पनि देवनागरी लिपिमा लेखिएका छन्। लेखन प्रणाली नभएका नयाँ भाषाहरूका लागि पनि देवनागरी लिपि प्रयोग गर्न चाहेको अवस्था छ।  थुप्रै समुदायमा ससाना बालबालिकाहरूले पहिलो भाषाको रूपमा मातृभाषा सिक्ने गरेको देखिँदैन। तर जनगणना भने पहिलो भाषाका रूपमा नबोले पनि मातृभाषाका रूपमा गणना गरेको पाइन्छ। मातृभाषामा जनचेतना अपेक्षित रूपमा बढेको पाइँदैन।

अन्तर्भाषिक विवाहका कारणले पनि नेपाली भाषाहरू कमजोर हुँदै गएको कुरा सर्वेक्षणले देखाएको छ। विशेषतः राई किरात समूहका भाषाहरू एक आपसमा बोधगम्य छैनन्। जातीय रूपमा समान भएकाले बान्तवा र चाम्लिङ भाषीको बीचमा विवाह भएमा एकले अर्काको भाषा बुझ्न नसकेको अवस्थामा नेपाली नै प्रयोग गरेको पाइन्छ। बालबालिकाले पनि नेपाली बोल्नुपर्ने हुन जान्छ।

नेपाली भाषातिर अपसरित भएका र सहरी क्षेत्रतिर बसोवास गरेका थुप्रै भाषिक समुदायका मानिसहरूले मातृभाषामा भन्दा नेपाली र अंग्रेजी माध्यममा नै बालबालिकाहरूलाई आधारभूत तहको शिक्षा दिन चाहेको पाइन्छ। तर घरपरिवारमा निरन्तररूपमा मातृभाषा बोल्ने समुदायका मानिसहरू भने ससाना बालबालिकाहरूलाई मातृभाषामा नै शिक्षा दिन पाए राम्रो हुन्थ्यो कि भन्ने सोचाइमा रहेको अवस्था छ।

बसाइँसराइले जीवनस्तरमा सकरात्मक प्रभाव पार्न सक्छ। तर यसले मातृभाषाको प्रयोगमा भने नकरात्मक असर पारेको पाइन्छ। बसाइँसराइसँगै नेपाली वा स्थानीय प्रभावशाली भाषातिर अपसरित हुँदै गएको पाइन्छ। नेपालमा धेरैजसो अभिभावकहरूमा मातृभाषा शिक्षाको महत्वका बारेमा खासै जानकारी लिन चाहेको पाइँदैन।  

नेपालमा भाषाका वक्ताहरू विभिन्न स्थानमा छरिएर रहेको पाइन्छ। भुजेलभाषी ३३ जिल्ला, नेवार ६९ जिल्ला, तामाङ ७० जिल्ला, मैथिली ७५ जिल्ला, थकाली २९ जिल्ला, चेपाङ १५ जिल्ला र बान्तवा २५ जिल्लामा फैलिएर बसेका छन्। थकालीको मूल थलो थासाङ हो। त्यहाँ भन्दा करिब ५ गुणा बढी वक्ता काठमाडौँमा रहेको पाइन्छ। यसरी वक्ताको वितरण छिरिएर रहँदा मातृभाषाको प्रयोग गर्ने अवसर मात्र कम हुने नभई परम्परागत संस्कृतिमा पनि असर पर्दै गएको पाइन्छ।

नेपालमा तराईका केही भाषिक समुदायमा घर परिवार, छरछिमेक र हाटबजारमा मातृभाषाका प्रयोग गर्ने गरेको पाइन्छ। तर धार्मिक प्रवचन, विशेष भेला, राजनैतिक भाषण जस्ता औपचारिक कार्यक्रममा भने हिन्दीको प्रयोग गरेको पाइन्छ।

महिलाहरू मातृभाषामा बढी अनुरक्त नै हुन्छन्। तर थकाली समुदायमा भने महिला पुरुषको तुलनामा मातृभाषाप्रति कम अनुरक्त रहेको पाइन्छ। नेपालका धेरै भाषिक समुदायका १५ देखि २९ वर्ष समूहका युवकयवतीहरूले लगभग आफ्नो मातृभाषा बोल्न छाडिसकेका छन्। ३० देखि ५९ वर्ष समूहकालाई आफ्नो मातृभाषा राम्ररी आए पनि सीमित भाषा प्रयोगका क्षेत्रमा बाहेक नेपाली भाषा नै प्रयोग गरेको पाइन्छ। ६० देखि माथिका उमेर समूहका मानिसहरू भने मातृभाषाप्रति सबैभन्दा बढी निष्ठावान् रहेको पाइन्छ। तर उनीहरूलाई पनि घरमा नातिनातिनीसँग कुराकानी गर्दा नेपालीमैै कुरा गर्नुपर्ने बाध्यता छ।

भाषिक निर्वाह र मातृभाषामा दक्षताको स्तर पनि नेपालका अधिकांश भाषाहरूमा ज्यादै कमजोर देखिएको छ। बिहेको निम्तो गर्नुपर्दा र समुदायका बैठकमा भएका निर्णय लेख्नुपर्दा नेपाली भाषाको प्रयोग गरिन्छ। सबै भाषिक समुदायले मातृभाषालाई गौरवको विषय माने पनि मातृभाषालाई विषयका रूपमा पढाउन चाहने भाषिक समुदायको संख्या निकै कम छ। भाषा पहिचानको मेरूदण्ड मानिएको छ। यसलाई संरक्षण र संवर्धनका लागि विभिन्न काम गर्न उत्सुक रहेको पनि पाइन्छ।  केही भाषिक समुदायले मातृभाषालाई आधारभूत तहमा माध्यमका रूपमा प्रयोग गर्न चाहेको अवस्था छ। यसका लागि पाठ्यपुस्तकको लेखन र अन्य सामग्री निर्माण गर्नका लागि अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएको पाइन्छ। तर कार्यान्वयनका लागि उचित वातावरण भने रहेको पाइँदैन।

नेपालमा विशेषतः अल्पसंख्यक भाषाहरूको संरक्षणका लागि भाषिक समुदायको मात्र प्रयासले पुग्दैन। यसका लागि भाषा आयोग, स्थानीय सरकार, भाषिक समुदाय र विज्ञ मिलेर काम गर्नुपर्ने हुन्छ। यस्ता भाषाहरूको संरक्षणका लागि भाषिक लोपोन्मुखताको तहको पहिचान गरी त्यसैअनुरूप दिगो भाषा विकासका रणनीतिहरू तय गरिनुपर्छ। दिगो मौखिक प्रयोग भएका भाषाहरूलाई लेखन प्रणालीको विकास गरी लेख्य परम्परामा ल्याउनु पर्छ। दिगो पहिचान भएका भाषालाई बोल्न प्रोत्साहन गरी दिगो मौखिक प्रयोगतर्फ लानुपर्छ। भाषा बोलिएन भने बिस्तारै कमजोर हुँदै जान्छ। त्यसैले भाषा बोलिनु पर्छ, लेखिनु पर्छ, आम सञ्चारमा प्रयोग हुनुपर्छ र आधारभूत तहको शिक्षामा प्रयोग हुनुपर्छ। नेपाली भाषाप्रति सकारात्मक अभिवृत्तिको विकास गर्नका लागि सरकारले बहुभाषिकताको मर्मअनुसार भाषा प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। यसका लागि सबैभन्दा महŒवपूर्ण कुरा के हो भने भाषा संरक्षण र विकासका कार्यक्रमलाई अन्य विकास निर्माणका कार्यक्रमहरूसँग एकीकृत रूपमा लैजानुपर्छ। आउँदो जनगणनामा उचित प्रकारले भाषिक जनगणना गर्नुपर्छ। समुदायको आर्थिक र सामाजिक उत्थानविना भाषिक संरक्षण गर्न सकिन्न भन्ने मूल मन्त्रलाई कसैले बिर्सनु हुन्न।

(त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका पूर्वविभागीय प्रमुख)








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad