१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘अवरोध नभए पाहुना पुग्छन्’

हिमालपारिको जिल्ला मुस्ताङ घुम्न पुगेका पाहुना चढेर गएका सवारी। तस्बिर : सुशीलबाबु थकाली/नागरिक

पोखरा/मुस्ताङ - ‘सिन्डिकेट’ अवरोधमा कुनैबेला सर्वाधिक ‘बदनामी’ कमाएको जिल्ला हो मुस्ताङ । स्थानीय यातायात व्यवसायीले लादेको सिन्डिकेटका कारण त्यो बेला मुस्ताङ पुगेका धेरै पर्यटकले पाउनुसम्मको सास्ती पाए। यतिसम्म की पोखराबाट जिप रिजर्भ गरेर पुगेका पर्यटकसँग अतिरिक्त बसभाडा समेत असुलियो।

पर्यटकबाहक सवारीको टायरको हावा खुस्काएर पर्यटकलाई पैदल हिँड्न बाध्य पारियो । सिन्डिकेटको दबदबाले जो कोही निजी सवारी चढेर मुस्ताङ जाने आँट गर्दैनथे । मुस्ताङमा निजी वा रिजर्भ गरेका सवारी लिएर जान सकिन्छ कि सकिन्न भन्ने धेरैको जिज्ञासा हुन्थ्यो । रिजर्भ र निजी गाडीमा जाँदा कहाँ कतिबेला अवरोध हुने भन्ने ठेगान थिएन । आफ्ना (स्थानीय) गाडीमा नचढे कुनैपनि ठाउँमा अवरोध खेप्नुपर्ने बाध्यता थियो।

सिन्डिकेटको त्यो दबदबाले झन्डै पाँच वर्ष अघिसम्म पाहुनाले मुस्ताङ घुम्ने सहज आँट गर्दैनथे । त्यसैले पनि बिदाको बेला मुस्ताङ घुम्न जाने खाँसै चाप हुँदैनथ्यो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रुपमा अब्बल रहे पनि यातायातको अवरोधले पर्यटकले पाउनुसम्मको सास्ती पाएका थिए । तर, अहिले समय फेरियो, सडकको स्वरुप पनि फेरियो, त्यहाँका यातायात व्यवसायीको मन फेरियो, अनि प्रहरी प्रशासनको पहलमा दबाबका बीच सिन्डिकेट हट्यो।

हो, त्यसैको बाबजुद अहिले मुस्ताङले पर्यटनमा निकै तीव्र गतिको फड्को मार्दैछ । त्यसको बलियो प्रमाण हो, मंगलबार झन्डै चार हजार र बुधबार २३ सय (१३१५ स्वदेशी र ९८४ विदेशी) पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैं बिदा सदुपयोग गर्न मुस्ताङ पुगेका धेरै पाहुनाले यो पटक सहजै बास पाएनन् । यातायात क्षेत्रमा लादिएको सिन्डिकेट अवरोधले कतिसम्मको अप्ठेरो र त्यो (सिन्डिकेट) हटाउँदाको सहजता कति हुँदो रहेछ भन्ने अहिले मुस्ताङ भित्रिएका पर्यटकको भीडले पुष्टि गरेको त्यहाँका पर्यटन व्यवसायीले बताएका छन्।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी खगेन्द्र तुलाचन यातायात व्यवसायीको मनोमानीका कारण जिल्लाको बदनाम भएको बताउँछन् । ‘मुस्ताङ सडक सञ्जालसँग जोडिए लगत्तै यातायात स्थानीय व्यवसायीले कसैलाई टेरेनन्,’ उनले भने, ‘तर, अहिले त्यही सिन्डिकेट हटाउँदाको परिणाम पाहुनाको भीडले पुष्टि गरेको छ।’

मुस्ताङमा सिन्डिकेट लादेकै कारण पर्यटन क्षेत्र उभो लाग्न नसकेको रहेछ भन्ने अहिले पुष्टि भएको उनले बताए । ‘अहिले सिन्डिकेट हटेपछि बल्ल यहाँको पर्यटन व्यवसाय पूर्ण रुपमा फस्टाएको छ,’ उनले भने, ‘त्यसकै परिणामस्वरुप अहिले बाह्रैमास पाहुना आउन थालेका छन् । दसैंका लामो बिदामा आन्तरिक पाहुना थामिनसक्नु आए । यदी अहिले पनि यहाँ सिन्डिकेट हुन्थ्यो भने यतिधेरै पर्यटक आउने थिएनन् ।’ सिन्डिकेट हटाएर प्रतिश्पर्धी व्यवसाय गर्न दिँदाको फाइदा मुस्ताङले पाइसकेको उनले बताए।

‘जता हेरे पनि, जहाँ गए पनि यो पटक पर्यटकले नै भरिएकै देखियो । यसले अब मुस्ताङको पर्यटन व्यवसाय उकासिँदो छ भन्ने पुष्टि गरेको छ,’ उनले भने, ‘मुस्ताङको पर्यटनमा अवरोध ल्याउन सिन्डिकेट बाधक रहेको अहिले प्रमाणित भएको छ । पर्याप्त पाहुना पाएपछि यो पटक यहाँका व्यवसायी पनि निकै नै खुसी भएका छन्।’

मुस्ताङ मात्र नभई देशभरकै सिन्डिकेट हटाएर आवागमन प्रतिश्पर्धा बढाउन सक्ने हो भने त्यसले आर्थिक रुपमा चलायमान गराउने उनको भनाइ छ । ‘अब अवरोध होइन, खुला गरेर पाहुनालाई न्यानो स्वागत गर्नुपर्छ । मुस्ताङको अवरोधले कत्तिको असर गरेको रहेछ भन्ने अब अन्यत्र पनि सिको होस्,’ तुलाचनले भने, ‘पाहुनालाई अवरोध होइन, स्वागत गरौ । यसैमा भलो छ।’

पोखराका पर्यटन व्यवसायी पनि सिन्डिकेटले मुस्ताङमा निकै नै जरो गाडेकामा त्यो हटेपछि बल्ल त्यहाँको पर्यटन फस्टाएको बताउँछन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘हामीले सिन्डिकेट हटाएर पर्यटकलाई आउजाउमा सहज बनाउँनुपर्छ भन्दा हामीलाई नै धम्कि आयो । अहिले हटेपछि बल्ल त्यसको फाइदा त्यहाँका व्यवसायीले लिएका छन् ।’ सिन्डिकेटको अप्ठेरो कत्ति हुँदो रहेछ भन्ने अहिले मुस्ताङ खुल्दाको सहजताले पुष्टि गरेको श्रेष्ठले बताए।

मुस्ताङको सिन्डिकेट हट्दाको फाइदा त्यहाँका व्यवसायीले मात्र नभई पोखराले पनि पर्याप्त पाएको उनी बताउँछन् । उनका अनुसार अहिले मुस्ताङ जाउआउमा दिनमा एक करोड रुपैयाँभन्दा बढी रकम यातायातमा खर्च भएको छ । पोखराबाट जोमसोम आउजाउ गर्दा जिपले झन्डै ३० हजार रुपैयाँ लिन्छन् । एकैदिन तीन सय ७० जिप जोमसोम पुगेका छन् । त्यसबाहेक बस, मोटरसाइकल पनि उत्तिकै छन् । ‘आर्थिक चलायमान गराउन सिन्डिकेट बाधक हो,’ उनले भने, ‘जहाँ सिन्डिकेट हट्छ, त्यहाँको आर्थिक अवस्था उकासिन्छ।’

जोमसोमस्थित ताज होटल सञ्चालक योगेश शेरचन पछिल्लो केही वर्षदेखिको पर्यटनमा भएको वृद्धिले मुस्ताङको आयस्तर उकासिएको बताउँछन् । ‘अवरोध नभएकै कारण ओइरो लागेर पाहुना आएका हुन्,’ शेरचनले भने, ‘कोही पनि मान्छे अवरोध भएको ठाउँमा पुग्दैन । स्वतन्त्र रुपमा घुम्न नपाउने अवस्थामा पर्यटक अन्यत्र जान्छन् । सिन्डिकेट छँदाको दिनमा यहाँ चाहेर पनि पाहुना आउन सकेका थिएनन् । बल्ल अहिले सहज भएको छ।’

घरपझोङ गाउँपालिकाका प्रमुख आशबहादुर थकाली पनि हिजोसम्म पाहुना आगमनमा यातायात अवरोध नै रहेको बताउँछन्् । ‘हुन त त्यो बेला बाटो पनि अलि अप्ठेरो थियो । तर, नियमित गाडी भने चलेका थिए । त्यसमा अवरोध स्थानीय व्यवसायीले गरेका थिए,’ अध्यक्ष थकालीले भने, ‘जब त्यो अवरोध हट्यो, यहाँ पाहुना ओइरिन थाले ।’ सिन्डिकेट अवरोधको परिणाम कस्तो हुँदो रहेछ भन्ने सबैले बुझ्न जरुरी रहेको उनले बताए । ‘हिजो हामीले गल्ती गरेका रहेछौ भन्ने अहिले सबैले महसुस गरेका छन्,’ उनले भने।

अध्यक्ष थकालीका अनुसार आगामी दुई वर्षभित्र बेनी–जोमसोम सडक कालोपत्रे र जोमसोम–कोरला खण्ड स्तरोन्नति भइसक्नेछ । त्यो अवस्थामा यहाँ आन्तरिक र बाह्य पाहुना अझै बढ्नेछन् । त्यो बेलाको व्यवस्थापनका लागि अहिले नै सदरमुकाम आसपासका गाउँमा होमस्टे सञ्चालनको तयारी भइरहेको उनले बताए । ‘अहिले नै पाहुनाले बास पाएनन् । बाटो कालोपत्रे भएपछि त झनै भीड हुनेछ,’ उनले भने, ‘त्यो बेलाको व्यवस्थापनका लागि अहिले नै तयारी थाल्दैछौ।’

सदरमुकाम जोमसोम आसपासका ठिनी, ढुम्बा, छैरो, चिमाङ, स्याँग गाउँमा होमस्टे खोल्ने योजना रहेको गाउँपालिका अध्यक्ष थकालीले बताए । ठिनीमा दुई वर्षअघि नै होमस्टे सञ्चालन भइसकेको छ । चिमाङ र ठिनीमा पनि होमस्टे खोल्न गाउँलेलाई प्रशिक्षण दिइसकेको उनले बताए । ‘अबको व्यवस्थापन पनि जरुरी छ,’ थकालीले भने।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App