२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार प्रयास आरोपमा प्रहरी पक्राउ

कपिलवस्तु – आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्।

आठ दिनअघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ । बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई यही असोज २० गते जबरजस्ती करणी प्रयास गरेका थिए । प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ओलीले बलात्कार प्रयास गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

ड्युटी सकेर कोठामा जाने क्रममा ओलीले ती महिला प्रहरीलाई समातेर जबरजस्ती गर्न खोजेका थिए । तर महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए । तत्कालै फोन गरेर पीडितले आफ्नो श्रीमान्लाई घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि भोलिपल्ट अर्थात् असोज २१ गते उनीहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परेका हुन्।

जिल्ला अदालत कपिलवस्तुका अनुसार ओलीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दामा सात दिनको म्याद समेत थप भइसकेको छ । प्रहरी जवान ओलीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै प्रहरी नायब उपरीक्षक रवि रावलले पीडितको गोपनीयताका लागि घटना सार्वजनिक नगरिएको दाबी गरे।

प्रकाशित: ३० आश्विन २०७५ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App