जागिरको अन्याय र होटल

सोमबार, ०१ असोज २०७५, १७ : ०१ विश्वमणि पोखरेल/दिलीप पौडेल

श्यामबहादुर पाण्डेलाई यतिबेला बुढ्यौलीले छोपे पनि उनको शारीरिक स्फुर्तीमा कमी आएको छैन । चार दशकअघि सुरु गरेको सांग्रिला होटलका उनी अहिले पनि अध्यक्ष छन् ।

काठमाडौंको मुटु लाजिम्पाटस्थित सांग्रिला होटलको माथिल्लो तलामा अध्यक्षको कक्षमा पुग्दा उनी आफ्ना दुई छोरा प्रसिद्ध र प्रवीणसँग व्यावसायिक योजनाका बारेमा छलफलमा व्यस्त देखिन्थे । उनीहरूको सामुन्ने आर्किटेक्टले तयार पारेका नक्साहरू थिए । चार दशकअघि होटल व्यवसायमा लागेका श्यामबहादुर अहिले पनि उत्तिकै उत्साही देखिन्छन्। 

भव्य होटलको माथिल्लो तलामा चिटिक्क परेको अध्यक्ष पाण्डेको कार्यालयमा पुगेपछि हामीले कुरा थालिहाल्यौँ र सोध्यौँ पर्यटन व्यवसायमा कसरी आउनुभयो ? 

हाम्रो प्रश्नमा पाण्डे बडो मजाकिया शैलीमा प्रस्तुत भए, भने, ‘हिँडेर नै आएको हो नि !’ 

एक ठहाका लगाएपछि उनी सामान्य भए र आफ्नो लामो यात्राका बारेमा खुल्न थाले । उनले तय गरेको यात्रा लामो मात्र होइन, उत्तिकै रोमाञ्चक, उत्साहबद्र्धक र चुनौतीपूर्ण पनि छ । चार दशक लामो होटल व्यवसाय यात्राबारे उनको निष्कर्ष छ, ‘मैले रिस्क लिएँ र अन्ततः स्थापित भएँ ।’

हुन पनि उनले काठमाडौँमा चार तारे होटल सांग्रिलाबाट सुरु गरेको यात्रा पाँच तारेमा स्तरोन्नति हुँदै पोखराको घरिपाटनस्थित सांग्रिला होटल भिलेज रिसोर्टसम्म पुगेको छ । पोखराकै बेगनासमा निर्माणाधीन लस्ट होराइजन दुई वर्षपछि सञ्चालनमा आउँदैछ ।

श्यामबहादुर पाण्डेले लाजिम्पाटमा हालेको जगलाई बिस्तार गर्ने काम छोरा प्रसिद्ध र प्रवीणले गर्दैआएका छन् । ‘बुबाको साथ, समर्थन र सहमतिमा हामीले उहाँले बसाएको होटल व्यवसायलाई बिस्तार गर्दैछौँ,’ प्रसिद्ध भन्छन्, ‘हामीले अग्र्यानिक नेपाली ब्रान्डलाई फैलाउँदैछौँ । काठमाडौँ र पोखरापछि मुलुकका अन्य पर्यटकीय क्षेत्रमा पनि हाम्रो ब्रान्ड बिस्तार गर्ने योजना छ ।’ 

जागिर छोडेर व्यवसाय 

उसो भए श्यामबहादुर कसरी यस क्षेत्रमा आए त ? उनले यस क्षेत्रमा भविष्य देखेर सोझै आएका भने होइनन् । मुलक प्रजातन्त्रको संक्रमणकालीन अवस्थामा थियो । २०१५ सालतिर उनी गृह मन्त्रालयको सेक्सन अफिसर थिए । सेक्सन अफिसरको जागिरको क्रममा उनी हिमालको काख किमाथान्का पोस्टमा थिए ।  

सैनिक परिवारको माहोलमा हुर्किएका काठमाडौंका रैथाने पाण्डे किमाथान्कापछि सहज स्थानमा सरुवा होला भन्ने आशामा थिए तर उनले सोचेजस्तो भएन । उल्टै उनलाई विकट क्षेत्र कर्णाली पठाएपछि पाण्डेले जागिर छाड्ने निर्णय गरे ।

‘दुर्गममा बसेको कर्मचारीलाई भेदभाव गरेर कर्णालीको रारा खटाएपछि जागिरबाट राजिनामा दिएँ,’ उनले भने, ‘यस्तो भेदभावपूर्ण जागिरबाट उँभो नलाग्ने देखेपछि कठोर निर्णय लिन बाध्य भएँ ।’ 

आफ्नो काम इमान्दारीपूर्वक गर्ने तर चाकडी नगर्ने हरकोहीको यस्तै हालत हुन्छ भन्ने उनलाई लाग्यो । यही विश्लेषणमा उनले सरकारी सेवाबाट राजिनामा गरेका थिए ।

नयाँ बाटो खुल्यो

नेपालमा भर्खर प्रशासनिक संरचना निर्माण हुँदै गरेको समय थियो २०१८ साल । पढेलेखेका युवाहरू धमाधम जागिरमा जम्दै थिए, सरकारी जागिरको उच्च सम्मान, आदर, सान र आकर्षण थियो । एमए पास गरेका श्यामबहादुरलाई भने त्यही सान र आदर पाइने सरकारी जागिर फापेन । उनले कसैगरी आफ्नो कामको मूल्याङ्कन भएको मान्न सकेनन् । त्यसैले उनी त्यसमा अडिन सकेनन् । 

जागिरबाट उनले राजिनामा त दिए तर अबको जीवन कसरी अघि बढाउने ? कयौँ प्रश्न उनको मनमा उठिरहेको थियो । घरमा जिम्मेवारी थपिदै थियो । छोरा–छोरी नाबालक थिए । 

‘यही नै स्टोरीको टर्निङ प्वाइन्ट हो त्यो बेला,’ श्यामबहादुरले भने, ‘यही बेला मेरो रियल स्टोरी सुरु हुन्छ । 

पद्योदयबाट एसएलसी सकेपछि भारतमा बिए/एमए गरेका थिए । साथमा सरकारी छात्रवृत्तिमा अमेरिकामा पढेको उनको अनुभव थियो । त्यो बेला नै अमेरिकाको आँखै तिर्मिराउने विकास देखेर उनी उतै पो फर्कने हो कि भन्ने मनसाय बनाइरहेका थिए । ‘विदेशमा अध्ययन गरेर फर्केपछि, यहाँ फ्युचर नहुने देखेर के गरौँ, कसो गरौं हुन्थ्यो,’ उनले विचलित पार्ने ती दिन स्मरण गर्दै भने, ‘साथीभाइसँग भेटघाट गर्ने, कुराकानी गर्नेमा नै दिनहरू बित्दै थिए ।’

साथीहरूसँग भेट हुने जक्सन थियो, त्यस बेलाको पारस होटल । न्युरोडको पारस होटलमा भेटघाट चिया चमेना गरेर उनी समय काटिरहेका थिए । त्यो बेला सडकमा कमै गाडी चल्थे र गाडी चलाउनेमध्ये श्यामबहादुर पनि हुन्थे । गाडी लिएर उनी नयाँ सडकस्थित त्यस बेलाको ‘भव्य’ पारस होटल आउँथे । साथीसँग भेटघाट ग¥यो, दिनहरू बितायो गर्दै थिए उनी । यसैबीच एक साँझमा उनका साथी रमेश धिताललाई गाडीमा  पकनाजोल छाड्न जाँदै थिए । दुवै साथीबीच कुरा हुँदै थियो । श्यामबहादुरले रमेशलाई भने, ‘यार यहाँ त केही होलाजस्तो लागेन, अब त विदेश नै जानुपर्ला जस्तो छ ।’

‘विदेश कहाँ जान्छस् ?’ रमेशले सोधे ।
‘अमेरिका नै जानु पर्ला,’ उनले भने, ‘केही समय त्यहाँ पढेकाले ठाउँ राम्रो पनि लाग्यो ।’
यसपछि त रमेशले उनलाई नराम्ररी हकारे, ‘विदेशमा तँ के गर्छस् ? भारी बोक्छस् ? भुइँ सफा गर्छस् ? यत्तिको पढेलेखेको मान्छेले त यहीँ पो उद्यम गर्नुपर्छ त ! मलाई तेरो विदेश जाने कुरा बिल्कुलै मन परेन ।’

रमेश धितालले ५५ वर्षअघि आफूलाई हकारेर सम्झाएको कुरा अहिले श्यामबहादुरको स्मृतिमा खेलिरहन्छ । उनले त्यति नहकारिदिएका भए ? सायद उनी पनि अरुजस्तै एनआरएन हुन्थे होला ! तर धितालको ‘भरिया हुने ?’ भन्ने प्रश्नले उनको माथिंगल खराब गरिदियो र नेपालमै बसेर उन्नयन गर्ने टुंगोमा पुगे । 

उनको पहिलो व्यावसायिक यात्रा विदेशी कम्पनीलाई नेपालमा खुल्ने टेन्डरहरूका बारेमा जानकारी पठाउने र टेन्डर प्रक्रियामा सघाउने थियो । पुतलीसडकमा अफिस सञ्चालन गरेर कम्पनीले यहाँ खोलेका टेन्डरका सूचना विदेशी कम्पनीलाई दिन्थे । त्यसबेला सुनकोशी जलविद्युत आयोजना निर्माणाधीन थियो । त्यस आयोजनामा काम गर्नका लागि रासन ठेक्कामा उनले लिए । सुनकोशी आयोजना स्थलसम्म रासन ठेक्का पाएका उनी तातोपानी हुँदै तिब्बतसम्म खाद्यान्न निर्यात गर्ने काममा हौसिए । त्यो बेला तिब्बतमा खाद्यसामग्रीको ठूलो माग थियो । त्यही देखेर उनले थोरबहुत कमाउने मौका यहीँनेर खोजे । तातोपानीको कठ्याङ्ग्रिने चिसोमा रातभर स–साना छाप्राहरूमा बिताएको सम्झना ताजै छ उनमा । ‘तातोपानीबाट तिब्बततर्फ खाद्यान्न पठायो, तिब्बती लामाहरूले सामान लिन्थे र पैसा भोलि बिहान मात्र दिन्छु भन्थे,’ ती दिन सम्झँदै उनले भने, ‘चिसो छाप्रोमा रातभर पैसा दिने हो कि होइन भन्दै मनमा कुरा खेलाएर धेरै रात बिताएको छु । अहिलेजस्तो समय थिएन, सबै विश्वासमा चलेको थियो ।’ 

खाद्यान्न सप्लाईमा सक्रिय रहेकै बेला नेपाल टेलिकम नयाँ प्रविधिमा फड्को मार्दै थियो र अल्काटेल कम्पनी नेपालमा कार्यरत थियो । त्यसैबेला श्यामबहादुरले टेलिकम कम्पनीलाई विदेशी अल्काटेल कम्पनीसँग मिलेर सामान सप्लाई गरे ।

अल्काटेलसँग मिलेर काम गर्दा श्यामबहादुरको विदेशी कम्पनी र कम्पनीका ठूला जिम्मेवार व्यक्तिसँग सम्बन्ध बिस्तार भयो । विदेशी कम्पनीका मान्छे नेपाल आउँदा होटलमा बस्ने व्यवस्था मिलाउने जिम्मा पाण्डेकै हुन्थ्यो । त्यसबेला राम्रा होटल भनेर कहलिएका थोरै होटल थिए— सोल्टी र अन्नपूर्ण अन्यभन्दा स्तरीय थिए । होटलमा मान्छे राख्न चाकडी गर्नुपथ्र्यो र भनसुन गर्नुपर्ने अवस्था थियो । त्यसपछि पाण्डेलाई लाग्यो– बिजनेस भनेको त यस्तो पो त!
‘राम्रो होटलमा कोठा पाउनै मुस्किल थियो त्यो समय,’ पाण्डेले भने, ‘त्यसपछि होटलमा भविष्य देखेर यस क्षेत्रमै केही काम गर्ने निर्णय गरेँ ।’ 

विदेशी पाहुनालाई राख्ने समस्या मात्र नभएर टेन्डरका सूचना विदेश पठाउन पनि टेलेक्स चाहिन्थ्यो । त्यस्तो सुुविधा तारे  होटलमा मात्र हुन्थ्यो । सोल्टी र अन्नपूर्णबाट त्यस्ता सूचना र टेलेक्स पठाउन होटलका कर्मचारीको निकै चाकडी गर्नुपथ्र्यो ।

होटलमा पाहुना राख्ने हैरानी र सूचना पठाउने सास्तीका बीच पाण्डे आफू पनि त्यही क्षेत्रमा लाग्ने योजनामा जुटे । तर पञ्चायत कालमा कम्पनी खोल्न सहज थिएन । होटल व्यवसायमा दरबारियाहरूको बोलबोला भएकाले जो कोही त्यसमा हात हाल्ने जोखिम मोल्दैनथे । राजा वीरेन्द्रको राज्य भिषेकको उत्सव पारेर होटलहरूलाई लाइसेन्स दिने नीति आयो, त्यसैबेला श्यामबहादुरले पनि मौका छोपे । उनले होटलका लागि लाइसेन्स लिन निवेदन दिए, सांग्रिला लगायत एक दर्जन होटलले त्यसैबेला स्वीकृति पाएका हुन् । संयोगले लामो समयदेखि बन्द रहेको होटल सञ्चालनको इजाजत खुल्यो । ‘बन्द भएको लाइसेन्स खुल्यो र आवेदन दिएपछि अनुमति पाएँ,’ पाण्डे सम्झन्छन् ।

लाइसेन्स त पाइयो तर होटल कसरी खोल्ने ? कहा खोल्ने ? पैसा कहाँबाट ल्याउने ? यावत् समस्या उनको सामुन्ने थिए ।  होटल गर्ने मनसायमा पुगे पनि जग्गा पाउन कठिन थियो । जग्गा खरिद गर्न मात्र करिब चार÷पाँच वर्ष समय खर्चनु परेको उनको अनुभव छ । ‘त्यसबेला चाहेजस्तो होटल बनाउनका लागि आठ÷दश जनाको जग्गा किन्नु प¥यो,’ उनले भने ।

पाण्डेले एनआरडिसीबाट ऋण लिएर ५० कोठाको होटल सुरु गरे । ‘निर्माण व्यवसायी पाउन पनि निकै कठिन थियो, सामान पाइँदैनथ्यो,’ श्यामबहादुर त्यस बेलाको अप्ठेरो खुलाउँछन्, ‘भारतबाट सरदारलाई ल्याएर निर्माणको काम  ग-यौं ।’

पाण्डेलाई मल्ल होटलको गार्डेनको डिजाइन खुब मन परेको थियो । त्यसको खोजी गर्दै जाँदा त्यसको डिजाइन एक जना पत्रकार, कलाकार, फोटोग्राफर बहुआयामिक व्यक्तित्व डेसमण्ड डोइगले डिजाइन गरेको उनले सुइँको पाए । पछि पाण्डेले डेसमण्डको बारेमा सोधिखोजी गरेर संगत बढाए । उनले भेटमा भने, ‘तिमीले मल्ल होटलका कतिपय काम राम्रो गरेका छौ, मलाई मेरो होटलको बगैँचा बनाउनु थियो, सहयोग गर न ।’ मदर टेरेसाको जीवनी लेखेर चर्चित बनेका डेसमण्ड होटलको आन्तरिक डिजाइनिङ र बगैँचाको खाका कोर्न अब्बल थिए । उनको परिकल्पना सांग्रिलाको बगैँचा र कोठाचोटामा फक्रिन थाल्यो ।

डेसमण्ड नेपाल, तिब्बत, भुटान, भारतको संस्कृतिका बारेमा जानकार थिए । डेसमण्डसँग गहिरो मित्रता कायम भएपछि सांग्रिलाको गार्डेन डिजाइनिङमा मात्र सहयोग गरेनन्, होटलको प्रवद्र्धनमा समेत सहयोग पु-याए । 

नेपाल आउँदा मकालु होटलमा बस्ने डेसमण्ड त अब  सांग्रिलाकै अंसियारझैँ बस्न थाले । लेखक, कलाकार र डिजाइनरको परिचय बनाएका यिनै विदेशी मित्रको साथले सगरमाथाका आरोही एडमण्ड हिलारी, तेन्जिङ नोर्गे शेर्पा, बिबिसी दिल्लीस्थित संवाददाता मार्क टली लगायतका प्रख्यात अन्तर्राष्ट्रिय व्यक्तित्वको जमघट हुने थलो बन्यो सांग्रिला । व्यवसाय बिस्तारमा डेसमण्डको घनिष्ठताले निकै सघाउ पुगेको उनी यतिबेला स्मरण गर्दै थिए । 
पछि त होटलका कोठाहरु भरिभराउ नै हुन थाल्यो ।

सांग्रिलाको पहिलो जनरल म्यानेजरका रुपमा उत्पल सेन गुप्ता नियुक्त गरिएका थिए । उत्पल डेसमण्डको निजी सहयोगी थिए । आफू व्यवसायमा लागेको समयलाई पाण्डे सकारात्मक समय, सोच र त्यस्तै खालै साथी संगातिको भूमिका रहेको औँल्याउँछन् । 

करिब चार वर्ष सरकारी सेवामा काम गरेकाले त्यहाँ चिनेजानेका साथीहरू हुने नै भए । उनीहरुका कारण र चिनजानले सरकारी निकायको कामकाज गर्न उनलाई सहयोग पुग्यो । उता काठमाडौँका रैथाने पाण्डेका साथीहरुको ठूलो जमात यहीँका थिए । उनीहरुले पनि विभिन्न पेसा व्यवसाय सम्हालिरहेका थिए । ‘मैले साथीहरूबाट प्रशस्त सल्लाह र सहयोग पाएको छु,’ श्यामबहादुर त्यो बेलाको सहयोगी समय सम्झन्छन्, ‘सरकारी सेवामा काम गरेकाले सरकारी काम लिन मलाई सजिलो भयो ।’ 

त्यतिबेला होटललाई सम्मानित पेसाको रुपमा हेरिन्थ्यो । ‘राजपरिवारका सदस्यहरुले होटल खोल्ने भएकाले सरकारी हाकिमले पनि सकारात्मक रुपमा हेर्थे,’ उनले भने । अन्नपूर्ण, याक एन्ड यति, एभरेस्ट लगायतका होटल त्यसअघि नै स्थापना भएका थिए । होटल व्यवस्थित भएकैले सांग्रिला होटल विदेशीको रोजाइमा पर्न थाल्यो । 

सांग्रिलाको सुरुवात नै राम्रो स्थानबाट सुरु भएकाले अन्तर्राष्ट्रिय चेन होटलसँग प्रतिस्पर्धा गर्न सक्षम भएको पाण्डे बताउँछन् । ‘३०/३५ वर्षदेखि हामी अग्रणी नै छौं,’ उनले भने, ‘प्रिमियम होटलको रुपमा राख्न सकेका छौँ ।’  

पर्यटन व्यवसायमा एउटै सेवालाई कपी पेस्ट गर्न नहुने पाण्डेको मान्यता छ । ‘अर्को होटलले दिने भन्दा फरक सेवा दिन सक्नुपर्छ,’ पाण्डेले भने, ‘टुरिजम प्रमोट गर्ने हो भने मकहाँ भएको तपाईंकहाँ हुनुहुँदैन । तपाईंकहाँ भएको मकहाँ राख्ने होइन ।’ 

पर्यटकलाई फरक–फरक वातावरण, खानामा फरक स्वाद दिनुपर्ने बताउँदै श्यामबहादुर भन्छन्, ‘सांग्रिलाको गार्डेनदेखि डेकोरेसनसम्म टिपिकल छ । त्यसैले विदेशीले रुचाएका छन् ।’  

राजधानी केन्द्रित पर्यटन व्यवसायले मुलुकले आर्थिक रुपमा फड्को मार्न नसक्ने निष्कर्षसहित पोखरामा पनि सांग्रिला भिलेज होटल उनले बिस्तार गरेका छन् । नेपालमा हिमाल, तराई, पहाड लगायतको प्राकृतिक विविधता भएकाले नै पर्यटनको सम्भावना प्रचुर भएको उनको बुझाइ छ । ‘हामीकहाँ सोलिड कुरा छन्,’ उनले भने, ‘माउन्ट एभरेस्ट कहाँ छ ? हाम्रो आफ्नै पहिचान छ ।’ यहाँ आउने पर्यटकसँग फाइदा भरपूर लिन सकिने र लिनुपर्ने उनी बताउँछन् । 

लगानीको वातावरण बनाए पर्यटन क्षेत्र फस्टाउने पाण्डेले बताए । ‘व्यापारीलाई पैसा राख्न मन लाग्दैन,’ उनले भने, ‘लगानी गर्ने वातावरण बनाउनुप-यो ।’ अहिले बलियो सरकार आएकोमा आशावादी श्यामबहादुर भन्छन्, ‘एयरपोर्ट, सडक लगायतका पूर्वाधार सरकारले बनाउनुप-यो, व्यवसायीहरु केही नयाँ गर्न तयार भइहाल्छन् ।’  

परिवर्तनका लागि केही न केही गर्नुपर्ने उनी बताउँछन् । ‘विगतमा लगानी गर्न कठिन भए पनि अहिले निजी क्षेत्र लगानी गर्न सक्षम छ,’ उनले भने, ‘सरकारले लगानीको वातावरण बनाए रोजगारी आफैँ सिर्जना हुन्छ ।’

सांग्रिला समूहले पोखराको बेगनासमा नयाँ होटल बनाउँदैछ ।’ पोखरा बेगनासमा निर्माणाधीन रहेको लस्ट होराइजन सांग्रिला लक्जरियस बुटिक रिसोर्ट हो । ‘काठमाडौंको सांग्रिलामा सय÷दुई सय डलर भयो,’ उनले भने, ‘यो भन्दा लक्जरियस बुटिक रिसोर्ट चार÷पाँच सय डलरको बनाउँदै छौं ।’ जंगल, लेक, हिमाल एकैठाउँमा भएकाले बेगनासमा बेस्ट रिसोर्ट बनाउन पाण्डे लागिपरेका हुन् । सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

पर्यटन विकास गर्न सरकारले पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने उनको धारणा छ । ‘अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण र प्लेन ल्याउन ढिला भयो,’ उनले आशावादी हुँदै भने, ‘भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि पर्यटनले फड्को मार्छ ।’ 

पर्यटन  पूर्वाधार तयार भए १० लाखको पर्यटक आगमन ४०/५० लाख पुग्ने दाबी उनको छ । श्याम बहादुर भन्छन्, ‘टुरिजम् नै नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्नसक्छ ।’ 

सूत्र सिन्सियर वर्क 

श्यामबहादुर पाण्डे आफ्नो समयका जटिलता चिर्दै, संघर्ष गर्दै सांग्रिलाको संवाहक बनेका हुन् । पाण्डेको सफलताको के हो त ? हामीले जान्न चाह्यौँ । उनले दुई शब्दमा आफ्नो सूत्र खोले— सिन्सियर वर्क । ‘म यो काम गरेरै छाड्छु भनेर लाग्नु भयो भने गन्तव्यमा अवश्य पुगिन्छ,’ श्यामबहादुर भन्छन्, ‘कुनै पनि काम गर्दा रिस्क लिने आँट गर्नुपर्छ ।’

राजनीति उस्तै 

पञ्चायत कालमा विभिन्न व्यवसाय हुँदै होटल व्यवसायमा जमेका पाण्डेलाई हामीले सोध्यौँ, ‘पञ्चायत, प्रजातन्त्रकाल र अहिलेको गणतन्त्रकालीन राजनीतिक प्रणालीमा काम गर्न कहिले सहज भयो ?’

पाण्डेले फ्याट्ट जवाफमा भने, ‘व्यवसायीलाई व्यवसाय गर्न कहिल्यै पनि सजिलो हुँदैन, सधैँ उस्तै हुन्छ ।’ 

उनले थप स्पष्ट पार्न खोज्दै भने, ‘हिजो पनि काम गर्छु भन्नेलाई अवसर थियो, आज पनि छ, हिजो र आजमा केही फरक छैन ।’ 

कर्म नै धर्म 

पाण्डेको दैनिकी सामान्य छ । बिहान ढिलो उठ्ने, सामान्य खानपिन गरेर आराम गर्दै अपराह्न ३ बजेतिर होटलमा आउँछन् । ‘होटलमा आफ्ना साथीभाइहरूसँग भेटघाट गर्ने हो,’ उनी भन्छन्, ‘पुराना साथीहरूसँग भेटघाट हुन्छ, गपसप हुन्छ, त्यस्तै हो ।’ 

पेट बढ्ने हो कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ यतिबेला । सामाजिक क्षेत्रमा सक्रिय उनी लाजिम्पाट क्षेत्रका विभिन्न क्लबहरूका अभिभावक पनि हुन् ।  

धर्मकर्मबारे हामीले बुझ्न खोज्यौँ । उनले सटिक उत्तर दिए, ‘कर्म नै मेरो धर्म हो ।’ 

अन्त्यमा हामीले पाण्डेको उमेर सोध्यौँ । पाण्डेले भने, ‘असी कटियो होला, अब रिटायर्ड हुने क्रममा छु ।’







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad