८ वैशाख २०८१ शनिबार
अन्य

किसान गायक

बिहान सबेरै उठेर केही घण्टा रियाज गरेपछि सुरु हुन्छ उनको दैनिकी । मर्निङ वाक सकेर परिवारसँगै चिया खाएपछि गोठमा पालेका पशुको स्याहारमा जुट्छन् उनी । सामान्यतः दिनभर मेलापात गर्छन् । छरछिमेकीसँग अर्मापर्मा गर्छन् । साँझ घर फर्केर आराम गर्छन् । भोलिपल्ट अघिल्लै दिनजसरी अन्तुडाँडाबाट अर्काे घाम उदाउँछ ।  
जिल्ला मात्र होइन, देशले कुबेर राईलाई कुशल गायक तथा संगीतकारका रूपमा चिनेको छ । नेपाली सांगीतिक दुनियाँमा कुनैबेला चर्चाको शिखरमा रहेका गायकहरूलाई समेत पछि पारेका कुबेर अहिले कता हराए ? यो जिज्ञासा इलामे संगीतप्रेमीलाई त छँदैछ, देश–विदेशमा रहेका संगीत पारखीलाई समेत छ भन्ने पुष्टि गीत गाउनकै लागि कहिले हङकङ, कहिले अस्ट्रेलिया र कहिले कोरिया लगायतबाट आइरहने बारम्बारको निम्तोले गर्छ।

सुगम संगीतको युग तीव्र गतिमा ‘तडकभडक’तिर दगुरिरहेका बेला देशकै पूर्वी कुनामा बसेर कुबेर हार्मोनियमका रिडमा दिनहुँ औंला चालिरहेका छन् । कहिले गीत रेकर्ड गराउन र कहिले औपचारिक कार्यक्रममा गाउन हरदम गला तयार पार्नु उनको नित्यकर्म नै हो । काठमाडौं छाडेको दुई दशकपछि पनि उनलाई त्यहाँ सिकेको सुरतालले छाडेको छैन । बरु, अझ बलियोगरी साथ दिएको छ । हेर्दा किसान तर परिचय चाहिँ गायक–संगीतकारको बनाएका कुबेर भन्छन्, ‘किसानको छोरो किसान भएको छु तर हातमुख जोर्ने मेलो चाहिँ गायन नै हो अहिले पनि।’

‘बौद्धधामको मेरो मुख्य कामचाहिँ बंगुरपालन हो,’ गायक एवं संगीतकार कुबेर राईले सुनाए, ‘काठमाडौं नबसेर धेरै अवसर गुमाएँ होला । तर, इलामे दिनचर्यामा सन्तुष्ट छु। गीत–संगीतले नै जीवन चलेको छ।’

केही महिना पहिलेसम्म जुनसुकै अवसरका लागि काठमाडौं ओइरिने युवाको लर्काे लाग्थ्यो । अहिले त्यो क्रम केही घटेको छ । तर, कुबेरलाई भने न पहिला, न अहिले काठमाडौंको मोह पलाएन । लामो समय काठमाडौं बसेर गीत–संगीतमा लागेका कुबेर थोरै बाध्यता र धेरै रहर बोकेरै जन्मस्थान फर्किए । फर्केपछि उनले आफ्नो अर्काे परिचय पनि थपे–समाजसेवी कुबेर । अहिले गीत–संगीत र समाजसेवा दुवै उनीबाट अभिन्न छन्।

‘धेरै कलाकार काठमाडौं बस्न रमाउँछन्, म गाउँमै बसेर देश रमाएको देख्न चाहन्छु,’ कुबेर भन्छन्, ‘शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी, सिँचाइजस्ता सुविधा गाउँमै ल्याउन सकियो भने देश रमाउँछ, छिमेकी रमाउँछन्, अनि म रमाउँछु।’

०५१ सालको राष्ट्रिय आधुनिक गीत सम्मेलनमा त्यतिबेलाका चर्चित गायक रामकृष्ण ढकाललाई दोस्रो र ईश्वर अमात्यलाई तेस्रो बनाउँदै पहिलो स्थान जितेपछि हो एकाएक कुबेर राई चम्किएका । ‘मायाले मूलबाटो भुलेछ, नौ रंगी फूलबारी देखेर’ गीतले उनलाई अझै उचाल्यो । अनि, गायककै रूपमा चिनाउन सघायो–नेपाली हो राष्ट्रको गौरव बढाइदेऊ गीतले । काठमाडौंबाट घर फर्केपछि पनि आफूभित्रको कला अझै निखारे उनले । घरमा बसबसी ०५८ सालमा पदमसुन्दर राईको सहयोगमा ‘अन्तराल’ एल्बम निकाले । ‘निरन्तर’, ‘अविरल’ र ‘आवृत्ति’ त्यसपछि भकाभक निस्किए।

‘मायाले मूलबाटो भुलेछ,’ ‘टाढा भए के भो मायालु,’ ‘नेपाली हो राष्ट्रको गौरव बढाइदेऊ,’ ‘अल्झिएकी शीतहरू’ लगायत उनको स्वरका गीत अहिले पनि नेपालीको मन–मुटुमा गुञ्जिरहेका छन् । अढाई सय हाराहारी आधुनिक गीत, स्वदेशगान र लोकगीतमा स्वर भरिसकेका कुवेरलाई गाउने फुर्सद निकाल्न कहिलेकाहीं समस्या पर्छ । ‘घरकाम, बस्तुभाउ, खेतीपाती छाडेर कहिले बेलायत, कहिले हङकङ, कहिले अस्ट्रेलिया र कहिले कोरिया पुग्दैछु,’ उनले सुनाए, ‘देशभित्रै आयोजना गरिने कार्यक्रममा गाउन धेरैतिरबाट निम्तो आउँछ, सबै भ्याउन सकेको छैन।’

सूर्याेदय नगरपालिका–२, बौद्धधाममा बसोबास गरिरहेका उनी हरेक शुक्रबार करिब ४० किलोमिटर टाढा सदरमुकामको एक निजी स्कुलमा संगीत सिकाउन पुग्छन् । केही वर्षयता मात्रै उनी गीत गाउन ६ पटक हङकङ पुगिसके । कुबेरको दिनचर्या ‘इतिहास जित्नेहरूका लागि’ वृत्तचित्रमा समेत सुरक्षित छ।

पढाइ सिलसिलामा ०३८ सालमा काठमाडौं छिरेपछि कुबेरले एकराज राई र मानसिंह थुलुङसँग संगीतको आधारभूत ज्ञान हासिल गरे । ०३९ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका उनले कृष्णनारायण श्रेष्ठसँग तीन वर्ष गायन सिके । ०४१ सालमा आयोजित राष्ट्रिय युवा गीत प्रतियोगितामा कुबेर प्रथम हुँदा इलामकै कोमल निरौला दोस्रो थिए । ०३९ सालमा रेकर्ड भएको चन्द्र शिवाको शब्द र मानसिंह थुलुङको संगीत रहेको ‘मैले रोजेको फूल’ कुबेरको पहिलो गीत हो । उनले ११ वर्ष काठमाडौंको जेम्स स्कुल, ललितपुर मावि लगायतमा गीत–संगीत र वाद्यवादन सिकाए।

‘वास्तवमा काठमाडौंमा स्वस्थ प्रतिस्पर्धा थिएन त्यतिबेला,’ उनले २०५६ सालको समय सम्झिए, ‘काठमाडौंमा सांगीतिक क्षेत्रमा भविष्य नदेखेपछि गाउँ फर्केर केही गर्ने अठोट गरी इलाम आएँ ।’ गाउँकै युवालाई संगीत सिकाए । तर, पारिश्रमिक लिएनन् । श्रीबुङ–सल्लेरी डेढ किलोमिटरको सडक खनाए । सिद्धिखोलामा पुल बनाउन पनि उनीभित्रको कला सिकेका युवाले नै सघाएका हुन् । घरबाटै मकै–चिउराको खाजा लगेर युवाले सडक, पुल, पाटीपौवा बनाउँथे । त्यसबापत कुबेर ती युवालाई गीत–संगीत सिकाइदिन्थे । विकास निर्माणमा आफैं लाग्थे र नगदसमेत सहयोग गर्थे । भर्खरै बौद्धधाम–आहाले–लालीखर्क–रमिते–सिद्धिखोला सडक निर्माण गर्दा पनि कुबेरले त्यसको नेतृत्व लिएका छन्।    

३० रोपनीमा चिया खेती गरिरहेका कुवेर अहिले सल्लेरीको खेतीपाती छिमेकीलाई कमाउन दिएर बौद्धधाम सरेका छन् । ‘बौद्धधामको मेरो मुख्य कामचाहिँ बंगुरपालन हो,’ उनले सुनाए, ‘काठमाडौं नबसेर धेरै अवसर गुमाएँ होला । तर, आफ्नो दिनचर्यामा सन्तुष्ट छु । गीत–संगीतले नै जीवन चलेको छ ।’ २०३९ सालतिर एउटा गीतमा आफ्नो स्वर भरेबापत् २० रूपैयाँ पारिश्रमिक लिने कुवेर अहिले जिल्लामा आयोजना गरिने कार्यक्रमहरूमा गाउँदा मोलमोलाइ गर्दैनन्।

‘कार्यक्रमहरूमा गाउन जानुपर्दा ठाउँअनुसार अलि–अलि खर्च नभई हुँदैन । तर, रेकर्ड गराउँदा चाहिँ अवस्था हेरेर प्रति गीत १० हजार रूपैयाँभन्दा माथि नै पाइरहेको छु,’ उनले भने, ‘करिब १५ गीत रेकर्ड गर्न केही दिनपछि काठमाडौं जाँदैछु । गाउँघर छाडेर अवसर खोज्न कतै धाउने सपना छैन।’

प्रकाशित: ३० भाद्र २०७५ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App