१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिराटनगर र सुनसरीमा रहेका पालिकावासीलाई गाउँपालिकाको राहत

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कामका सिलसिलामा बिराटनगर र सुनसरीमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीलाई राहत बाँड्न सुरु गरेको छ । दैनिक जीवन यापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा शहरमा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका पालिकाबासीलाई गाउँपालिकाले कोठा–कोठामै पुगेर चामल, दान, नुन, तेल लगायतका खाद्यवस्तु उपलव्ध गराउन थालेको हो ।

गत बैसाख ६ गतेदेखि काठमाडौंमा बसिरहेका पालिकाबासीलाई उनीहरुकै स्थानमा पुगेर राहत बाँडेको गाउँपालिकाले आईतबारदेखि बिराटनगर र सुनसरीमा बसिरहेका लकडाउन पीडित पालिकाबासीलाई कोठामै पुगेर राहत दिन सुरु गरेको हो । हालसम्म बिराटनगर र सुनसरीमा बसिरहेका १७१ परिवारलाई राहत प्रदान गरिसकिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । लकडाउन पीडितलाई जनही प्रतिव्यक्ति ५ केजी चामल, २ केजी दाल, १ केजी नुन र आधा लिटर तेल उपलव्ध गराउने गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा बसिरहेका २०७ परिवारलाई पनि राहत पुर्‍याइसकिएको गाउँपालिकाले जनाएको छ ।

लकडाउन’का कारण दैनिक ज्यालादारीका काम गर्न नपाउँदा मारमा परेका मजदुर तथा विद्यार्थीलाई तत्तत् स्थानमा पुगेर राहत उपलव्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ । शहरबाट गाउँ आए ‘लकडाउन’को उल्लंघन हुने र क्वारेन्टीनमा बस्नुपर्ने भएकाले शहरमा बसिरहेका पालिकाबासीलाई कोठामै खाद्यान्न पुर्‍याइदिने व्यवस्था मिलाइएको हो । ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका आफ्नो गाउँपालिकाका श्रमिक मजदुर तथा विद्यार्थी लगायतको सहजताका लागि गाउँपालिकाले राहतका प्याकेज ल्याएको हो । ‘लकडाउन’मा दुःख पाएका नागरिकले बसिरहेकै ठाउँमा आवश्यक राहत पाउँदा राहतको महसुस गरेका छन् ।

राहतका लागि आव्हान गरिएको सूचनाका आधारमा सम्पर्कमा आएका पालिकाबासीलाई कोठा–कोठामै राहत पुर्‍याउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए । फोन सम्पर्कमा नआए पनि नागरिकतासहित राहत लिन आएका पालिकाबासीलाई समेत खाद्यान्न वितरण भइरहेको राहत वितरणमा खटिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका वडासचिव सञ्जिव आचार्यले बताए ।

विदेश जान लाग्दा ‘लकडाउन’ले काठमाडौंमै अड्किएका तथा कोरियन लगायतका विदेशी भाषा अध्ययनकाक्रममा शहर बजारमा रोकिएका पालिकाबासीलाई समेत सो राहत उपलव्ध गराइएको छ । तर कर्मचारी वा अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न व्यक्तिलाई भने राहत वितरण गरिएको छैन । ‘नागरिकलाई लकडाउन पालना गर भनेर मात्र हुँदैन, आवश्यक राहत पनि दिन सक्नुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हामीले शहरमा बसिरहेका पालिकाबासीलाई लकडाउनको पालना गरेर बस्नु, हामी कोठामै चामल ल्याइदिन्छौँ भनेर राहत बाँडिरहेका छौँ ।’

प्रकाशित: २४ वैशाख २०७७ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App