१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय

काठमाडौं - सरकारले कोरोना संक्रमितको पहिचान र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री चीन सरकारसँग खरिद गर्ने भएको छ। कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

समितिका सचिव नारायणप्रसाद बिडारीले चीनसँग जिटुजी तहमा (सरकार–सरकारबीच) स्वास्थ्य सामग्री खरिद गर्ने निष्कर्षमा बैठक पुगेको जानकारी दिए। स्वास्थ्य र परराष्ट्र मन्त्रालयको टोलीले बुधबार चिनियाँ अधिकारीसँग भिडियो कन्फरेन्स गरी आवश्यक उपकरण र औषधिबारे जानकारी गराएको छ। कन्फरेन्सका क्रममा स्वास्थ्य सामग्रीको दरभाउ विषयमा पनि कुराकानी भएको जानकारी बिडारीले दिए। समितिले निजी क्षेत्रबाट हुने उपकरण र औषधि खरिदमा पनि सहजीकरण गर्ने निर्णय गरेको छ। 

कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
 

स्वास्थ्य मन्त्रालय र मातहत निकायबाट हुने खरिद प्रक्रियालाई पनि निरन्तरता दिने निर्णय समितिले गरेको छ। ‘खरिद प्रक्रिया जिटुजी तहमा पनि अघि बढाउने निर्णय भएको छ। छिटै नै स्वास्थ्य उपकरण आउनेछन्’, बिडारीले भने। 

भारत सरकारले ६० प्रकारका औषधि दिन्छु भन्ने सन्देश पठाएका बेला चीन सरकारले भने नेपाललाई आवश्यक पर्ने सबै सामान र औषधि उपलब्ध गराउने सन्देश पठाएपछि बुधबार परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयका विज्ञसहितको टोलीले चीन सरकारका अधिकारीसँग भिडियो कन्फरेन्स गरेको हो। कन्फरेन्सपछि समितिले जिटुजीमार्फत स्वास्थ्य उपकरण खरिद गर्ने निर्णयलाई कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ। 

चैत १६ गते मन्त्रिपरिषद्ले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जिटुजी) तहमा खरिद गर्ने निर्णय गरेको थियो। 

नेपाली सेनामार्फत जिटुजी तहमा मेडिकल सामग्री खरिद गर्न परराष्ट्र मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरसँग पत्राचार गरेको भए पनि इजरायल, दक्षिण कोरिया र सिंगापुरले भने औषधि दिन नसक्ने जानकारी गराएका थिए। रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरअन्तर्गतको मेडिकल अप्सले तयार पारेको सामग्रीको सूचीसहित ती मुलुकसँग पत्राचार भएको थियो। नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा अन्य सामग्री खरिद एकाइ गठन गरेको छ। स्रोतका अनुसार  सोही समितिमार्फत चीन सरकारसँग औषधिलगायत स्वास्थ्य उपकरण खरिद हुनेछ। 

समितिले कोरोना संक्रमणका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानमाथि लगाएको रोकलाई अप्रिल ३० सम्म निरन्तरता दिने निर्णय गरेको छ। 
मुलुकमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल–भारत सीमानाका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा थप कडाइ गर्न थालिएको छ। जोखिम बढ्दै गएकाले लकडाउनलाई पनि थप कडा बनाउने निर्णय भएको छ। 
बैठकले नमुना परीक्षण दर बढाएर संक्रमितको पहिचान र उपचारमा विशेष ध्यान दिने निर्णय गरेको जानकारी पनि सचिव बिडारीले दिए। 

उच्चस्तीय समितिको बैठकले वस्तुगत राहत पाउन योग्य व्यक्ति र परिवारलाई वस्तुगत राहत दिने तथा नारायणी उपक्षेत्रीय अस्पताललाई डेडिकेड अस्पताल बनाउने निर्णय पनि गरेको छ। त्यसैगरी अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा  कार्यरत नेपालीलाई राष्ट्रसंघकै आग्रहमा उपयुक्त तरिकाबाट नेपाल फर्काउने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: ४ वैशाख २०७७ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App