६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउन  प्रभाव: गाउँमा सहज, शहरमा सकस

जुम्ला - जुम्लाको घोडेगाउँमा लकडाउन उलंङ्घन गरेर गाउँ छोडेर जानेलाई पाँच सय रुपैयाँ जरिवाना छ। गाउँभित्र प्रवेश गर्नेलाइ एक हजार रुपैयाँ। गाउँमा त्यो नियम लागेपछि आउजाउ गर्ने ह्वात्तै घटेको छ। त्यो गाउँमा न भिडभाड हुन्छ। नत आउजाउ नै बढि  हुन्छ। गाउँमा अपरिचित र विदेशबाट आउने ब्यक्ति प्रवेश नपाउने भएपछि गाउँमा आफ्नै खालको सहज जीवनयापन छ।

स्थानीय जङ्ग रोकाया भन्छन्,‘ बाहिरबाट आउने व्यक्ति रोकेपछि यहाँ कोरानाको त्रास छैन्। लकडाउन भित्र यहाँका स्थानीयले आफ्नै खालको जीवनशैली अपनाएका छन्। दिउँसो खेतिपातीमा संलग्न हुन्छन्। सामाजिक दुरी कायम गरेका छन्। राति सिँधै घर भित्रिन्छन्। न गाउँमा कचहरी बस्छ, नत कुनै सामुहिक कार्य नै भएका छन्।’ 

यहाँका अधिकांश सर्वसाधरण लेकाली बस्ती सरिसके। जहाँ कोही पनि नयाँ व्यक्ति प्रवेश गर्न पाउँदैन्। कनकासुन्दरी गाउँपालिका ५ को मुलबाटो नै बन्द छ। विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस छिर्न नपाउने गरि स्थानीयले बाटो नै बन्द गरेका छन्। अहिले भारत लगायतका देशबाट आउनेलाई सिँधै क्वारेन्टाइनमा लैजाने संस्कार बसिसकेको छ। यहाँका प्रत्येक स्थानीय तहमा ६ देखि ५३ बेड सम्मका क्वारेन्टाइन स्थापना गरिएका छन्।

तर जुम्लाको सहर मानिएको खलंगामा भने लकडाउन अवधिमा घुमफिर गर्न पनि कठिन छ। चौकचौकमा प्रहरी परिचालित छन्। सहरी क्षेत्रमा अनावश्यक प्रवेश बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाइरहेको छ। यहाँका दुर्गम बस्तीमा कोरानाको त्रास छैन्। बरु नयाँ मान्छेलाइ कसरी प्रवेशमा रोक लगाउने भन्ने चिन्ताले सताउने गरेको स्थानीय सार्कीबहादुर बोहारा बताउँछन्। 

गाउँमा आफ्नै प्रकारको लकडाउन छ। स्थानीय स्तरमा कोराना भित्रिन नदिनको लागि आफ्नै खाले नियम छ। उनले भने,‘ गाउँमा सचेतनाका क्रियाकलाप भइराखेका छन्। अपरिचित ब्यक्ति छिर्न नदिन एक्केबद्धता छ। जनप्रतिनिधि, शिक्षक,कर्मचारी, बुद्धिजीवि सबै हातेमालो गरेर लागि परेका छन्। ’ 

घरभित्र बस्दा सरसफाइका क्रियाकलापमा संलग्न हुन्छौँ, स्थानीय बोहोरा भन्छन्,‘ घरबाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्छौँ। एक आपसमा दुरी कायम गरेका छौँ। सरकारले थालेको लकडाउनको पुर्ण पालना गरेका छौँ।’

गाउँका स्थानीयले कामको शिलशिलामा विदेश तथा स्वदेशमा रहेका आफन्तलाइ घर नफर्कन आग्रह गरिरहेका छन्। उनीहरुले जहाँ रहेपछि सुरक्षित रुपमा बस्न र लकडाउनको पालना गर्न सबैलाई सुझाव दिइएको बताएका छन्। सिंगो मानवजातिलाइ संकट परिरहेको समयमा उच्च सतर्कता अपनाउनु निकै राम्रो पक्ष हो, तिला ६ का वडाध्यक्ष भक्तबहादुर रोकाया भन्छन्,‘गाउँमा कोरानाको संक्रमण हुन नदिनको लागि निकै राम्रो पहल भइराखेको छ। यही अवस्थामा कोराना गाउँमा समेत छिर्न पाउँदैन्। ’ 

उनले गाउँमा आफन्तजन, इष्टमित्रलाइ समेत एक गाँउदेखि अर्को गाउँमा जान पुर्ण प्रतिबन्ध गरिएको बताए। लकडाउन अवधि भर खाना नपुग्नेको स्थानीय सरकारहरुले पहिचान गरेर राहत उपलब्ध गराइरहेका छन्। जुम्लामा एक नगरपालिका सहित ७ गाउँपालिका छन्। यहाँका सहर र कर्णाली करिडोरका क्षेत्र निकै जोखिममा छन्। जनस्वास्थ्य कार्यालयको टोली -यापिड टेस्टको लागि गाउँ गाउँ सम्म पुगेकोले विदेशबाट आएकाहरुको -यापिड टेस्ट भइरहेको छ।

 

प्रकाशित: ३ वैशाख २०७७ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App