७ वैशाख २०८१ शुक्रबार
समाज

‘भोकै मर्नुपरे आफ्नै माटोमा मर्छौ, भारत फर्किन्नौं’

भारतीय क्वारेन्टाइनमा जान नमानेपछि नेपालगन्जस्थित नेपाल–भारत दसगजा क्षेत्रमा बसेका नेपाली नागरिक । तस्बिर सौजन्य : बिमल चन्द

नेपालगन्ज- बाँकेका विभिन्न सीमा नाकाबाट प्रवेश हुन खोजेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा बसाउने स्थानीय प्रशासनको प्रयास असफल भएको छ। स्थानीय प्रशासनले ‘माथिको निर्देशन’ भन्दै नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट एक साताअघि आवत–जावत गर्न पूर्ण रुपले रोक लगाएको थियो। नेपालगन्ज नाकामा रोक लगाए पनि भारतबाट फर्केका नेपालीहरु जिल्लाका अन्य अबैध नाकाबाट प्रवेश भए। त्यसरी प्रवेश भएका मध्ये केहीलाई नेपाली सुरक्षाकर्मीले विभिन्न ठाउँमा रोके।

जिल्लाको जयसपुर, हिरमिनिया, साईगाउँ लगायत अबैध नाकाबाट प्रवेश भएर आएका चार दिनदेखि अलपत्र परेका एक १ सय ८१ जनालाई जमुनाहा–रुपैडिहा हुँदै भारतीय क्वारेन्टाइनमा राख्ने प्रयास गरेपनि उनीहरुले अस्वीकार गरेका हुन्। सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा पठाउन नेपालगन्जस्थित जमुनाहामा बुधबार राति ११ बजेसम्म थालेको प्रयास गरेपनि उनीहरु जानै मानेनन्। ‘हामी आफ्नै माटोमा बस्न चाहन्छौं, बरु वन जंगल र खुल्ला आकाश नै किन नहोस्,’ उनीहरुले हात जोड्दै भने ‘भोकै मर्नुपरे आफ्नै माटोमा मर्छौ, तर हामी भारत फर्किन्नौं।’

रोल्पाका जनकबहादुर बुढाथोकीले सरकारले घरभित्र पस्न खोजेका आफ्ना जनतालाई अर्काको देशमा खेद्नु असह्य भएको दुखेसो पोखे। ‘भारतमा धेरै दुःख कष्ट सहेर आफ्नो देश आइपुगेका थियौं, तर यो निर्दयी सरकारले हामीलाई थप पीडा दिइरहेको छ,’ उनले भने ‘सरकारले हामीलाई पीडा दिइरहनुभन्दा बरु गोली ठोके हुन्छ।’ वर्तमान सरकारले आफूहरुलाई जवरजस्ती देश निकाला गर्न खोजिरहेको अधिकांशको दुखेसो छ। ‘हामी पनि यही देशका नागरिक हौं, तर सरकारले हामीलाई नेपाली नागरिक नै ठानेको छैन,’ अर्का गणेशबहादुर गन्र्धबले भने।

स्थानीय प्रशासनले भारतीय क्वारेन्टाइनमा पठाउन थालेपछि जमुनाहा क्षेत्रमा बुधबार मध्यराति कोही आक्रोश पोख्दै थिए, भने कोही रोई कराई गरिरहेका थिए। ‘एउटा देशले आफ्ना नागरिकलाई यता नआउ, अर्को देशमा जाउ भनिरहँदा हामीलाई कत्ति पीडा भएको होला, यस्तो पीडा सहनु भन्दा त बरु यही ठाउँमा गोली खाएर मर्न तयार छौं,’ उनीहरु भन्छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले भारतीय अधिकारी सीमापारी गाडी ल्याएर आएपनि नेपालीहरु कोही पनि त्यता जान नमानेको बताए। ‘भारतले नानपारातिर बनाएको क्वारेन्टाइनमा लैजान खोज्यो, हामीले धेरै सम्झायौं, तर मान्दै मानेनन्,’ उनले भने। एसपी ओलीका अनुसार उनीहरु जयसपुर, साईगाउँ, हिरमिनिया लगायत अबैध नाकाबाट चार दिनअघि प्रवेश भएका हुन्।

यी मध्ये अशक्त, महिला र बालबालिका गरी ९ जनालाई नेपालगन्ज उपमहानगरपालिकाको विशेष अनुरोधमा महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनामा दुई दिनअघि राखिएको थियो। भारतको बहराइचस्थित नानपारा क्षेत्रमा स्थापना गरिएको क्वारेन्टाइनमा अहिले पनि १७ जना नेपाली बसिरहेका छन्। त्यहाँ अझै २ सय जना राख्न सकिने ठाउँ रहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै नेपाली सुरक्षा अधिकारीले बताएका छन्। भारतीय क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका उनीहरु नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र दसगजामै बसेका छन्। उनीहरुको दयनीय अवस्था देखेर नेपाली सुरक्षा अधिकारी समेत ‘भावुक’ भएका छन्। तर, उनीहरुलाई माथिबाट आदेश छैन। ‘नेपाली नागरिकले सीमा क्षेत्रमा दुःख पाएको देख्दा हामीलाई पनि पीडा भइरहेको छ, तर उनीहरुलाई प्रवेश गराउने माथिबाट आदेश नै छैन,’ एक सुरक्षा अधिकारीले भने। नेपाल–भारत सीमा क्षेत्र अलपत्र परेका नेपालीलाई नेपालगन्ज उपमहानगरपालिकाले खाना र पानीको व्यवस्थापन गर्दै आएको छ।

उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको अनुरोधमा यहाँका शिख समुदायको ‘लंगर’ बाट बिहीबार खाना खुवाइएको छ। उनीहरुलाई पिउने पानी र शौचका लागि उपमहानगरपालिकाको घुम्ती शौचालयको ब्यवस्था गरिदिएको उपप्रमुख थापाले बताइन्। उनीहरुलाई दसगजाको छेउ(नेपाली भूमि)मा टेण्ट राखेर अस्थायी क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यहाँ राख्न स्थानीय प्रशासन र उपमहानगरपालिकाबीच छलफल छलफल चलेको छ। टेण्टबाट क्वारेन्टाइन निर्माण सशस्त्र प्रहरी बलले गर्ने र खानपिनको व्यवस्थापन उपमहानगरपालिकाले गर्ने तयारी छ।

 

 

प्रकाशित: २० चैत्र २०७६ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App