coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दबाबमा ओली

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन्। पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका छैनन्। पार्टीभित्र ओली हावी भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालकै सहभागितामा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गौतमको घरमा छुट्टै बैठक गरेका थिए। बैठकले पार्टीभित्र ओलीको ज्यादती रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध एकजुट हुने निर्णय गरेको थियो। उनीहरुले सरकार परिवर्तनको समेत रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेका थिए। यसबाट ओली दबाबमा मात्रै परेनन्, त्यसपछिका सचिवालय बैठकमा उनी मौन बस्न बाध्य भए। ‘त्यसयता बसेका सचिवालय बैठकमा ओली सधैं अल्पमतमा परेका छन्’, पार्टी निकट स्रोतले भन्यो, ‘सभामुख चयन प्रकरणलाई लामो समय अलमल्याउने प्रयास गरेका ओली सचिवालयभित्र भोटिङ हुने र आफू अल्पमतमा पर्ने अवस्था देखेपछि अग्नि सापकोटालाई स्विकार्न राजी भएका थिए।’

गौतमको घरमा भएको बैठकमा ओलीले पूर्वसहमति कार्यान्वयनमा आनाकानी गरे सरकार फेर्न समेत दबाब दिने सहमति भएको थियो। सो सहमतिपछि ओलीलाई सचिवालय सदस्यहरुले सामूहिक नेतृत्वमा चल्न सुभाmाव दिँदै आएका छन्। सभामुख नियुक्तिको विषयमा दबाब झेल्न नसकेपछि ओलीले असहज महुुस गरेका थिए। पुस २३ पछिकै एक बैठकमा गौतमलाई राष्ट्रियसभामा सांसद बन्न आग्रह गरिएको थियो। तर गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पाि प्रधानमन्त्री हुन सक्ने प्रावधान राखेमात्रै राष्ट्रियसभामा जाने बताएका थिए। तर ओलीले संविधान संशोधन नगर्ने जनाउ दिएका थिए। संविधान संशोधन नहुने भएपछि माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गौतमले भाग लिएनन्।

त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामको विषयलाई लिएर विरोध भएको थियो। बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को चर्को विरोध भएपछि पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल बनायो। कार्यदल बनाउन ओली तयार नभए पनि सचिवालयका बहुमत सदस्यले यो प्रस्ताव गरेका थिए। कार्यदलले एमसिसी संशोधनपछि मात्रै संसद्बाट पास गराउन सुझाव दिएपछि ओलीलाई थप दबाब परेको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि कारबाही गर्न हतारो देखाएको आरोप लगाइरहेको पूर्वमाओवादी खेमाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पनि कारबाही गर्न दबाब बढाएका छन्। पार्टीसम्बद्ध स्रोतका अनुसार पूर्वमाओवादी खेमाले बाँस्कोटा प्रकरणलाई बदला लिने मनसायले हेरेका कारण पनि ओलीलाई दबाब बढेको हो। ‘महरा प्रकरणमा ओलीले जसरी हतारो देखाउनुभयो त्यति हतार बाँस्कोटाको बारेमा नदेखाउनुले उहाँको नियत सफा छैन कि भन्ने देखाउँछ। सचिवालय बैठकमा बाँस्कोटालाई पार्टीले पनि कारबाही गर्नुपर्ने कुरा उठाउँदा (ओलीले) सरकारी निकायले नै कारबाही थालेको भन्दै पन्छाउनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘गोकुल बाँस्कोटाको बहिर्गमनले उहाँलाई पीडा भएको महसुस हुन्छ।’

स्रोतका अनुसार बाँस्कोटा प्रकरणपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा खुलेर बोलेका छैनन्। शनिबार बसेको सचिवालय बैठकमा एमसिसी संशोधनको विषय, गौतमलाई राष्ट्रियसभामा लैजाने विषय र संविधान संशोधनको विषयले प्रवेश पाए पनि ओली यी तीनवटै विषयमा मौन बसेका थिए। बाँस्कोटा प्रकरणमा भने उनी सरकारी निकायले कारबाही प्रक्रिया अघि बढाएको भन्दै पन्छिएका थिए। ओली मौन बसेपछि बैठकले कुनै पनि विषयमा निर्णय गरेको छैन।

दाहाल सक्रिय
पार्टीको प्रदेश भेला र बैठक चलिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोमबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री ओली पार्टीको कार्यक्रममा भाग लिन पोखरा जानुअघि दाहालले बालुवाटारमा बिहान भेटेका थिए भने नेपाललाई दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेटेका थिए। प्रधानमन्त्री ओलीसँग दाहालले बाँस्कोटालाई कारबाही गर्नुपर्ने विषयमा छलफल गरेका थिए। उनले त्यसक्रममा संविधान संशोधन र राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गर्ने व्यक्तिका विषयमा पनि छलफल गरेका थिए।

नेता नेपालसँग पनि सचिवालय बैठक, एमसिसी, बाँस्कोटा प्रकरण, गौतमलाई राष्ट्रियसभामा लैजाने तथा संविधान संशोधनको विषयमा छलफल भएको थियो। नेपालसँगको भेटपछि अध्यक्ष दाहालले महासचिव विष्णु पौडेलसँग पनि परामर्श गरेका थिए। दाहाल सोमबार पोखरामा भएको पार्टी प्रदेश भेला र बैठकमा सहभागी भएका थिएनन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App