१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

वैदेशिक रोजगारमा संलग्न परिवारका महिलालाई वित्तिय साक्षरता कक्षा

वित्तिय साक्षरता कक्षाका विषयमा छलफल गर्दै केपीलासगढी गाउँपालिका (बाक्सिला)का स्थानीय। तस्बिर : नागरिक

खोटाङ– खोटाङका तीन स्थानीय तहमा वैदेशिक रोजगारमा संलग्न परिवारका महिलाका लागि वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ। वैदेशिक रोजगारीबाट आएको रेमीट्यान्सलाई सुरक्षित गरि बुझ्ने, बचत गर्ने र उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको विकासका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपीलासगढी गाउँपालिकामा वित्तिय साक्षरता कक्षा सुरु गरिएको हो।

रेमीट्यान्सको व्यवस्थापन र सदुपयोगका लागि तीनवटै पालिकाको चार–चार टोलमा वैदेशिक रोजगारमा संलग्न परिवारका महिलालाई सहभागी गराएर हप्ताको एक पटक गरी २४ हप्तासम्म वित्तिय साक्षरता कक्षा सञ्चालन गरिने जनाइएको छ। नेपाल सरकार र स्वीस सरकारबीचको द्धिपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले वित्तिय साक्षरता कक्षा सुरु गरेको हो। वैदेशिक रोजगारबाट भित्रिने अधिकांश रेमीट्यान्स घर सम्हालेर बस्ने महिलाको हातमा पर्ने भएकाले उनीहरुका लागि वित्तिय साक्षरता कक्षा सुरु गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए।

वित्तिय साक्षरता कक्षा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको चार समूहका ९८ जना, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका चार समूहका १०९ जना र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समूहका ९३ महिला सहभागी छन्। वित्तिय साक्षरता कक्षामा सहभागीलाई वैदेशिक रोजगारीकाक्रममा निम्तिएका समस्याका कारण तनाव र पीडा भुल्न मनोसामाजिक परामर्श समेत प्रदान गर्ने काम भइरहेको छ।

विदेशबाट आउने रकमको उचित ठाउँमा प्रयोग हुन नसक्दा त्यसले आर्थिक समस्या क्षणिक समाधान भएपनि अनेकौँ पारिवारिक, सामाजिक, साँस्कृतिक र आर्थिक समस्या निम्त्याएका प्रशस्त उदाहरणहरु छन्। रेमीट्यान्सलाई सदुपयोग नगरेकै कारण वैदेशिक रोजगारीबाट फर्किएको केही समयमै परिवारको आर्थिक स्थिति ‘शून्य’ झरेको अझैपनि देखिने र भेटिने गरेको छ। अनुत्पादक काममा खर्च हुँदा साथमा भएको जतिसुकै मात्राको पैसा त्यसै खेर जान्छ।

यही समस्या हल गर्दै रेमीट्यान्सलाई उपलब्धिमुलक बनाउन प्रोत्साहित गर्न वैदेशिक रोजगारीमा संलग्न स्थानीयलाई सहभागी गराएर वित्तिय साक्षरता कक्षा चलाइएको सामीका कार्यक्रम संयोजक आचार्यले बताए।

 

प्रकाशित: १ फाल्गुन २०७६ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App