५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ज्ञवाली २७औं प्रहरी प्रमुख: 'कानुन कार्यान्वयनमा मोलाहिजा हुन्न'

काठमाडौं – सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाएपछि मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई डिआइजीबाट सीधै आइजिपीमा नियुक्त गरेको हो। ज्ञवाली नेपाल प्रहरीको २७औं महानिरीक्षक बनेका छन्।

आइजिपी नियुक्ति हुँदै गर्दा उनी निवर्तमान आइजिपी खनालको विदाई कार्यक्रम सरिक भइरहेका थिए। उनले आफू आइजिपी भएको खबर त्यहीं सुनेका थिए। त्यसपछि बिदाइ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संगठनभित्रका विकृति विसंगति निर्मूल पार्ने प्रतिबद्धता जनाएका थिए। ‘प्रहरी परिचालन निर्भीकतापूर्वक परिचालन हुने कुरालाई कसैलाई पनि रोक्न सक्दैन। हिंसात्मक गतिविधि निस्तेज भएका छन्, शान्तिसुरक्षा कायम भएको कुरालाई नकार्न सकिँदैन। अब पनि प्रहरी परिचालन र कानुन कार्यान्वयनमा कहीं कतै कमजोरी हुँदैन’, उनले बिदाइ कार्यक्रममा निर्देशनात्मक शैलीमा भनेका थिए। उनलाई गृह मन्त्रालयले बुधबारमात्रै दज्र्यानी चिह्न प्रदान गर्नेछ। ज्ञवाली विराटनगरबाट मंगलबारै काठमाडौं आएका हुन्।

निवर्तमान आइजिपी खनालले सम्बोधन गरेलगत्तै धन्यवाद ज्ञापनका लागि उभिएका ज्ञवालीले प्रहरी संगठनभित्र देखिएका विकृति निर्मूल पार्नु सबैको दायित्व भएको बताए। खनालकै वैकल्पिक समूहका ज्ञवाली आउँदो असार २४ गतेसम्मका लागि आइजिपी बनेका हुन्। आइजिपीमा नियुक्तिपछि उनले नागरिकसँग भने, ‘प्रहरीको काम कानुन कार्यान्वयन गर्ने हो। यसमा कहीं कतै कम्प्रोमाइज वा मोलाहिजा हुँदैन।’ आइजिपी ज्ञवालीले प्रहरी संगठनभित्रका विकृतिलाई निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई परिस्थितिअनुसार चल्न सक्ने प्रहरी अधिकृतका रुपमा उभ्याएका छन्। ‘कानुन कार्यान्वयनका क्रममा सोझोपन र सरल हुँदैन, कहीं न कहीं कसैलाई चित्त नबुझ्न सक्छ, त्यस्तो अवस्थामा कानुनभन्दा बाहिर जान सकिँदैन’, ज्ञवालीले भने।

डिआइजीबाट सिधै आइजिपी
नेपाल प्रहरीमा विगत दुई कार्यकालदेखि डिआइजीबाट सीधै आइजिपीमा नियुक्ति भएको छ। ज्ञवाली पनि डिआइजीबाट सीधै आइजिपी बने। ३० वर्षे सेवा अवधिका कारण एआइजीहरुसमेत अनिवार्य अवकाशमा परेपछि ज्ञवाली प्रदेश १ प्रहरी कार्यालयको प्रमुख बनेका थिए। यसअघि प्रकाश अर्याल र सर्वेन्द्र खनाल पनि डिआइजीबाट सिधै आइजिपी नियुक्त भएका थिए। यसपछि भने एआइजीबाट आइजिपी हुनेछन्। तुलनात्मक रुपमा प्रहरीभित्र इमानदार अधिकृतका रुपमा परिचय बनाएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। पास आउट भएपछि उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो। भर्ना भएको १० वर्षपछि २०५८ वैशाख १८ गते डिएसपीमा बढुवा भएका ज्ञवाली २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डिआइजीमा बढुवा भएका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्।

चुनौतीका चाङ
छोटो कार्यकालका लागि आइजिपी नियुक्त ठाकुरप्रसाद ज्ञवालीसामु निवर्तमान आइजिपी सर्वेन्द्र खनालका पालामा हुन नसकेका ‘पेन्डिङ’ काम पूरा गर्नु नै सबैभन्दा चुनौतीपूर्ण छ। ज्ञवालीलाई प्रहरी प्रमुखका रुपमा संगठनभित्र नयाँ छाप छाडेर बिदाइ हुने अर्को चुनौती पनि छ।

पूर्व प्रहरी तथा आइजिपीहरूका अनुसार पनि नवनियुक्त आइजिपीले गर्नुपर्ने मुख्य काम धेरै छन्। यसअघि काम गर्ने नेतृत्वले प्रहरीले गर्नुपर्ने सबैखाले गतिविधिलाई सँगसँगै अघि नबढाएकोले अबको नेतृत्वले त्यसतर्फ चासो दिनुपर्ने उनीहरुको सुझाव छ। त्यसमध्ये सबैभन्दा प्राथमिकतामा पर्ने कार्य हो पोलिसी कोअर्डिनेसन कमिटी (पिपिसी) को बैठक। यो बैठक सामान्यतया एक साताकोे फरकमा बस्नुपर्ने प्रावधान छ। प्रहरी संगठनमा जघन्य अपराधको अनुसन्धान विधि तय गर्ने, संगठनलाई दीर्घकालीन तरिकाले विस्तार गर्ने, योजना बनाउने, प्रहरीभित्रका समस्या र गुनासोसमेतलाई समाधान गर्नेजस्ता कार्यमा यो बैठक अति आवश्यक मानिन्छ।

खनाल आइजिपी रहेको बेला यो बैठक नियमित हुन सकेन। उनको कार्यकाल अवधिभर जम्माजम्मी पाँचपटक मात्रै बैठक बसेको थियो। ‘विगतका प्रहरी नेतृत्वले गर्नैपर्ने काम पनि गरेको देखिन्न,’ एक पूर्व आइजिपीले भने, ‘नयाँ आइजिपीले पुरानै ढर्रामा काम गर्ने हो भने प्रहरी संगठन झन् कमजोर बन्न सक्छ। त्यसकारण विगतका खाडल पुर्ने र सिर्जनात्मक काम गर्नुपर्ने हुन्छ।’ उनका अनुसार प्रहरी संगठनमा एकता, सामूहिकता र प्रतिबद्धताको भावना कमजोर बन्दै गएको महसुस गरिएको छ। निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन प्रकरणको अनुसन्धानले पनि टुंगो पाउला भन्ने आशा जनमानसमा अझै मरेको छैन। नयाँ आइजिपीले त्यसतर्फ पनि चासो दिनुपर्ने उनीहरु सुझाउँछन्।

अहिले प्रहरी संगठनमा ७० हजार हाराहारी जनशक्ति छ। विज्ञहरूका अनुसार योजनाबिना काम गर्दा सर्सर्ती प्रहरी संगठनको बारेमा बुझ्दैमा ज्ञवालीको कार्यकाल सकिन्छ। तर यसअघि भएको कमीकमजोरी सल्ट्याउँदै योजनाबद्ध ढंगले अघि बढ्दा नवनियुक्त आइजिपीको कार्यकाल सफल हुने उनीहरु बताउँछन्। यद्यपि एआइजीको समेत अनुभवबिना डिआईजीबाटै महानिरीक्षक हुँदा ज्ञवालीले कसरी काम गर्न सक्छन् भन्ने प्रश्न पनि उठेको छ। ‘प्रहरी महानिरीक्षकको कार्यकाल अति नै व्यस्त र जिम्मेवारीपूर्ण हुन्छ। आफूले कस्तो काम र नेतृत्व गर्ने भन्ने कुराले फरक पार्छ’, एक पूर्व डिआइजीले भने, ‘प्रहरी संगठनमा सुधार गर्नुपर्ने कार्य धेरै छन् तर उहाँको कार्यकाल हेर्नै बाँकी छ।’

प्रकाशित: २९ माघ २०७६ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App