coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘दिव्योपदेश पृथ्वीनारायणले बोलेकै कुरा हो’

पृथ्वीनारायण शाहले वि.सं. १८२६ मंसिर १ गते भक्तपुर विजय गरेको केही कालपछि पश्चिमतिर विजय अभियान सुरु गरे। सुरुमा उनले सफलता पनि प्राप्त गरे। अन्त्यमा उनी धेरै नोक्सान सहेर त्यहाँबाट फर्कन बाध्य भए। वि.सं. १८१४ जेष्ठ १९ गतेको कीर्तिपुरको पहिलो लडाइँमा मारिएका कालु पाँडेका जेठा छोरा वंशराज पाँडे थुनिए भने वि.सं. १८०३ मा साँगा चोकको लडाइँमा मारिएका शिवराम सिंह बस्न्यातका माहिला छोरा केहेरसिंह बस्न्यात त सतहुँको लडाइँमा वि.सं. १८२८ पौष ५ गते मारिए नै।

त्यसपछि उनले पूर्वतिरको अभियान सुरु गरे। उनले त्यहाँ अन्य ठाउँमा भन्दा अपेक्षाकृत सजिलैसँग विजय गरी अहिलेको सीमाभन्दा पर टिस्टासम्म पुग्न समर्थ भए। उनको ध्येय पश्चिम जित्ने थियो। पश्चिमतिर लडाइँ गर्न भनी उनी वि.सं. १८३१ को हिउँदमा नुवाकोट गए। तर त्यहीँ बिरामी परी थलिएर वि.सं. १८३१ माघ १ गते उनको निधन भयो। त्यसबेलाका पर्वतका राजाले नेपाली भाषामा लेखेको पत्र उपलब्ध छ, सही चाहिँ उर्दुमा गरिएको त्यस पत्रमा भनिएको छ, ‘गोरखाका राजा हामीमाथि दया राखी पश्चिम हेल्न भनी नुहाकोटमा आयाथ्या, भगवत इच्छा त आफैँ हेलिया।’

आफू बिरामी परी थलिएको अवस्थामा उनले आफ्ना नजिकका मानिससँग आफ्ना ज्ञान र अनुभव सुनाए। उपलब्ध हस्तलिखित प्रतिमा उल्लेख छ, ‘श्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिन्दुपतिको राज्य लिएपछि पछिल्लोपटक नुवाकोट पाउलाग्नुभएमा गुरु–पुरोहित, थरघर, भैयाद, भारादार, आफ्ना ददा सुरथसिंह राना र सबै बूढापाकाछेउ हुकुम भएका कुरा।’ त्यहाँ उपदेश सुन्न जम्मा भएका अन्यको नाम दिइएको छैन, खालि आफ्ना ददा सुरथसिंहको नाम उल्लेख छ। ददा भनेर बाल्यकालमा हेरचाह गर्ने नजिकको व्यक्तिलाई बुझिन्छ। अरु पत्रअनुसार सुरथसिंह गोरखा दरबारको ढुकुटीको जिम्मा लिने कपरदार थिए।

पृथ्वीनारायणले ‘हामी पाँच पाण्डुवाका अवतार भयाका थियौँ’ भनेर भाइहरूलाई सम्झेका छन्। त्यस उपदेशमा उनले आफ्ना बाबु, रानी, छोराहरूको नाम लिएका छैनन्।  उनले आफ्ना भाइहरूलाई किन सम्झे भने, पृथ्वीनारायण शाहको एकीकरण अभियानमा उनका भाइहरूको ठूलो योगदान थियो। तर, भाइहरूले राज्य माग्दा राज्य कमजोर हुन्छ भनेर पृथ्वीनारायणले दिएनन्। त्यतिबेला पृथ्वीनारायणले भनेका कुरा कतिले टिपे होलान्, केही प्रति तयार भयो होला, यसमध्येको एउटा प्रति असन केलटोलस्थित तिलङ्गा घर भएका बखतमानसिंह बस्न्यात (पृथ्वीनारायणका भारदार अभिमानसिंह बस्न्यातका सन्तान)को हातमा पुग्यो। उहाँले के भन्नुहुन्थ्यो भने, ‘यो प्रति मैले हाम्रो घरका नेवार कारिन्दाबाट पाएको हुँ।’ बाबुराम आचार्यको हातमा त्यसको प्रतिलिपि प-यो।

राणाकालमा यहाँ त्यति लेखपढ गर्ने, इतिहास खोतल्ने, अझ पृथ्वीनारायणको इतिहास खोतल्ने, महत्व दर्शाउने कार्य कम हुन्थ्यो। किनभने, त्यतिबेला शाह राजाहरूलाई खोपीको देवता बनाएर राखिएको थियो। जंगबहादुरकै भनाइ वा उपदेश भएको भए, वा अन्य शक्तिशाली राणाहरूले बोलेको कुरा भए, चर्चा हुन्थ्यो होला। बाबुराम आचार्यले पनि त्यो हस्तलिखित प्रति सूर्यविक्रम ज्ञवालीलाई दिए। ज्ञवालीले वि.सं. १९९२ मा निकालेको ‘पृथ्वीनारायण शाह’ भन्ने किताबमा सर्वप्रथम त्यसको उल्लेख गरी केही अंशको प्रयोग पनि गरेका छन् र त्यसलाई पृथ्वीनारायण शाहको व्याख्यान भनेका छन्। मेरा पिताजी प्रा. नयराज पन्तले लेख्नुभएको छ, ‘मूलप्रतिका धनी बखतमानसिंह बस्न्यातजीले त्यो मलाई सार्न दिँदा पृथ्वीनारायणको भाषण भनी दिनुभएको थियो।’ ललितजंग सिजापतिले श्री ५ महाराज पृथ्वीनारायण शाहको भाषण भनी लेख्नुभएको छ।

पण्डित मुरलीधर (कवि ईश्वर वल्लभका पिता) ले छापिएको सानो पर्चामा ‘पाल्नुहोस् आज साढे चार बजे श्री ५ पृथिवीनारायण शाहको वक्तव्यको व्याख्या र सहिदपार्क (भूगोल)मा हुन्छ’ भनी लेखेका छन्। मेरा पिताजीले संस्कृत सन्देशमा राज्ञःश्री पृथ्वीनारायणस्य स्वान् सभ्यान् प्रत्युपदेशः (राजा पृथ्वीनारायणले आफ्ना भारादारहरूलाई दिएको उपदेश) भनी छाप्नुभएको छ। बाबुराम आचार्य र नरहरिनाथले दिव्योपदेश भनी छाप्नुभएको छ। संशोधन मण्डल पद्धतिबाट निस्किएको हाम्रो पुस्तकमा ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ भनी छापिएको छ। बखतमानसिंह बस्न्यातको संग्रहमा रहेको सो उपदेशको मूल प्रति राष्ट्रिय अभिलेखालयमा चतुर्थ लगत नं. २९१५ मा छ। पुरातत्व विभाग अन्तर्गतकै छाउनीमा बखतमानसिंह बस्न्यात जागिरे हुनुहुन्थ्यो। रमेशचन्द्र थापा पुरातत्व विभागको महानिर्देशक भएका बेला त्यो प्र्रति केही रकम दिएर बखतमानजीबाट किनिएको हुनुपर्छ।

अहिले जसलाई ‘दिव्योपदेश’ भनिएको छ, जब वि.सं. २००७ को परिवर्तन आयो, त्यसपछि सुरुमा नरहरिनाथ (पछि बाबुराम आचार्य पनि त्यसमा गाँसिनुभयो) ले दिव्योपदेश, उपदेश भनेर प्रकाशित गर्न थाल्नुभयो। त्यसपछि पृथ्वीजयन्ती मनाउने काम पनि सुरु भयो। मेरा पिताजीले पनि वि.सं. २०१० मा त्यो हस्तलिखित प्र्रतिलाई जस्ताको त्यस्तै संस्कृतमा पद्यमा व्याख्यानसहित प्रकाश गर्नुभयो र पछि संस्कृत तथा नेपाली दुवै भाषामा करिब चार–चार सय श्लोकमा लेखेर प्रकाश गराउनुभयो। मेरा पिताजी, मेरा दुई गुरु श्रीदेवीप्रसाद भण्डारी, डा. गौतमवज्र वज्राचार्य र म समेत भई वि.सं. २०२५ र २०२८ मा श्री ५ पृथ्वीनारायण शाहको उपदेश नामक एक हजार पाँच सय पृष्ठको पुस्तक निस्किएको छ। जसमा ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ भनेर उल्लेख गरेका छौँ।

पछि वि.सं. २०५९ मा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहको राज्यकालमा श्री ५ को सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागद्वारा ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश’ भनी मद्वारा सम्पादित पुस्तक एक लाख प्रति छापिएको छ। मञ्जरी पब्लिकेसनद्वारा वि.सं. २०७३ मा ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी’ नामक मेरो पुस्तक छापिएको छ। विभिन्न समयमा कहिले पुरातत्व विभागले, कहिले नेपाल प्रज्ञा प्रतिष्ठानले, कहिले गाउँफर्क अभियानले पृथ्वीजयन्ती मनाउने क्रममा ‘दिव्योपदेश’का विभिन्न संस्करण छापेका छन्। त्यसैगरी नेपाल प्र्रौढ संगठनद्वारा र भरत बस्नेतद्वारा पनि दिव्योपदेशका विभिन्न संस्करण छापिएका छन्।   पहिलेदेखि नै पृथ्वीनारायणको उपदेश साँचो होइन भन्ने खालका हल्ला नचलेका होइनन्। अहिले आएर वि.सं. १९९० अघि दिव्योपदेश कहाँ थियो भन्ने कुरा आउँदा मलाई हाँसो उठेको छ। यस प्रसंगमा मलाई एउटा कुरा सम्झना आयो, पहिले काष्ठमण्डप लक्ष्मीनरसिंह मल्लको पाला (विक्रमको १७औँ शताब्दी) देखिको हो भन्ने प्रचार थियो। पछि अनुसन्धान बढ्दै जाँदा विक्रमको १३औँ शताब्दीदेखि काष्ठमण्डपको अस्तित्व पाइन्छ भन्ने प्रामाणिक रूपमा बाहिर आयो। आजकाल काष्ठमण्डप विक्रमको सातौँ शताब्दीदेखि नै थियो भन्ने सुन्न पाइन्छ। यस अवस्थामा वि.सं. १९९० भन्दाअघि दिव्योपदेश कहाँ थियो भन्ने प्रश्नमा कुनै तुक छैन भन्ने प्रस्ट छ।

वि.सं. १९९२ मा सूर्यविक्रम ज्ञवालीको ‘पृथ्वीनारायण शाह’ किताब निस्कियो, त्यो पुस्तक प्रामाणिक छ। प्रेमराज शर्माको सम्पादकत्वमा निस्किएको वि.सं. १९९३ जेष्ठ ९ गतेको गोरखापत्रले सूर्यविक्रमको उक्त पुस्तकको आलोचना गरेको छ। सूर्यविक्रम ज्ञवालीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव भएपछि निकालेको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ पुस्तक भ्रष्ट छ। उहाँले शिक्षण पेसा गर्दै दार्जिलिङमा बसेर ‘पृथ्वीनारायण शाह’, ‘अमरसिंह थापा’ आदि जुन पुस्तक लेख्नुभएको छ, ती अत्यन्त माथिल्लो अनुसन्धानमा आधारित छन्। पृथ्वीनारायण अन्तिम कालमा कस्ता बिरामी थिए, उनले कति दिनमा भनेका कुरा टिपोट भए, यो अनुसन्धानको विषय हो।

दिव्योपदेशमा आएका पृथ्वीनारायणका भनाइ उनकै हुन् कि होइनन् भनी जान्न ती भनाइ, उनको जीवनमा घटेका घटना र तत्कालीन परिस्थितिलाई रुजु गरेर हेर्नुपर्छ। मूलपाठ र तत्कालीन परिस्थितिको पनि अनुसन्धान गरिनुपर्छ। उनले लमजुङे राजा रिपुमर्दन शाहसित भेट गर्न गएको भनेका छन्, यसमा लमजुङे राजासँग सन्धि भएको पत्र उपलब्ध छ। उनले ‘विराज बखेतीलाई काजी बनाउने विचार गरेको थिएँ, तर ज्यादा बुद्धि कालु पाँडेको ठह-यो कालु पाँडेलाई काजी बनाएँ’ भनी उपदेशमा बोलेका छन्। कालु पाँडेलाई काजी बनाएको प्रसिद्धै छ। गौना (दुरागमन) गर्न जाँदा ससुराली खलकसँग मकवानपुरमा मेरो झगडा प-यो भनी पृथ्वीनारायणले उपदेशमा बोलेका छन्, यो पनि प्रामाणिक छ।

उनले काठमाडौं उपत्यकाको बाटो चलाऔँ भनी बोलेका छन्, किन यस्तो भने त भन्दा केरुङ र कुतीको बाटोबाट व्यापार चल्दा उनलाई राजस्व आउँथ्यो। यसरी पृथ्वीनारायणका भनाइ र तत्कालीन परिस्थिति मिल्न जान्छ। पृथ्वीनारायणसम्बन्धी पत्रहरू, कागजातको अध्ययन नगरेका मानिसले र पृथ्वीनारायणप्रति दुरासय राख्नेहरूले उनका उपदेशलाई दुत्कारेको पाइन्छ। पृथ्वीनारायणका उपदेशका घटना र उनका जीवनका घटना तुलना गर्दा मिल्छन्।

यसैगरी पृथ्वीनारायणले अदालतको पैसा दरबारभित्र नहुल्नु विदेशी नाचगान नल्याउनू, नेवारहरूको नाच हेर्नू भनी उपदेशमा बोलेका कुरा उनको पालाका सामग्रीहरूबाट प्रामाणिक ठहरिन्छन्। ठाउँको अभावले ती सबैको चर्चा यहाँ गर्न सम्भव छैन। पृथ्वीनारायणले दिव्योपदेशमा बोलेका कुरासँग तात्कालिक प्रमाणहरूको तुलना गर्दै जाँदा एउटा राम्रै पुस्तक बन्छ। हाम्रो त्यतातिर प्र्रवृत्ति जाओस् र कुन सिद्धान्तले नेपालको पुनःएकीकरण सम्भव भयो, हामी नेपाली भएर बाँच्न पायौँ, त्यतातिर हामी सबैको प्रवृत्ति जाओस् भन्ने आशा गर्दै यो कुरा अहिलेलाई यहीँ टुंग्याइन्छ।

प्रकाशित: ४ माघ २०७६ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App