स्थानीय बजारमा किसानको मूल्यभन्दा पनि स्थानीय व्यापारीको मूल्य हावी भएपछि थपलियाको नयाँ लगानी योजना गर्भमै तुहियो। 'बन्द यति लामो समयसम्म लम्बिएला भनेर सोचेकै थिइनँ,' उनी भन्छन्, 'तरकारी खेतीमा गरेको लगानीसमेत असुल गर्न हम्मे पर्योि।' पहिलो चरणकै लगानी डुबेपछि पुनः लगानी गर्ने हिम्मतै नभएको उनले सुनाए।
थपलिया मधेस आन्दोलन र नाकाबन्दीका कारण मारमा परेका प्रतिनिधि किसान हुन्। यहाँका अधिकतर किसानको पीडा उनको जस्तै छ। लालपुर गाउँमा उत्पादित तरकारी भारतीय बजार जयनगरदेखि पूर्वको सुनसारी, मोरङसम्म पुग्थ्यो।
मधेसकेन्›ित दलको घोषित आन्दोलन चार महिना पुग्दैछ। नाका धर्ना र भारतीय नाकाबन्दी ८० दिन पुग्यो। नाकाबन्दीका कारण किसानले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन। गर्जो टार्नै नपाएपछि कतिपय किसानले अघिल्लो वर्षभन्दा हजार रुपैयाँसम्म कम मूल्यमा धान बेचेका छन्। हातमुख जोर्न बाध्य भएर 'अवैध कारोबार' मा संलग्न भएका छन्। चार महिना लामो बन्दले थलिएका यहाँका नागरिक 'बन्द कहिले खुल्छ?' भनिरहेका छन्।
बन्दमा यहाँका साना र मझौला व्यापारी ऋणको बोझमा चुर्लुम्मै डुबेका छन्। तर, बन्द र नाकाबन्दीको आडमा यहीँका कतिपय मानिस इन्धन र खाना पकाउने ग्यास तस्करीबाट लाखौं कमाइरहेका छन्।
आन्दोलन उठानका बेला 'नयाँ संविधानले मधेसीको अधिकार खोस्यो' भन्ने नारा फैलाएर सहभागिता बढाउने काम भए पनि पछिल्लो समय आन्दोलन सीमांकनमा अड्किएको छ। अधिकार र हडताल मात्र बुझेका अधिकांश नागरिकलाई सीमांकनबारे चासो पनि छैन।
'संघीयतालाई बटमलाइन बनाएको मोर्चाले तत्काल त्यसलाई छाडेर सम्झौता गर्ने अवस्था छैन,' मधेस मामिलाका विश्लेषक विजयप्रसाद मिश्र भन्छन्, 'राष्ट्रियताको नारालाई उचाइमा पुर्यााएको अहिलेको सरकारले सीमांकन संशोधन गर्न हिम्मत गर्न सकिरहेको छैन, दुवैलाई नागरिकले फेस गर्नुपरेको छ।' दुवैको 'इगो' ले समाधान अडि्कएको उनको तर्क छ।
मोर्चालाई अर्को चुनौती पनि छ। बन्द लम्ब्याइरहँदा आन्दोलनमा जनसहभागिता र समर्थन घट्ने मोर्चासामु चुनौती छ। मधेसका व्यापारीले अब कति दिनसम्म ऋणको बोझमा पिल्सिरहने भन्दै पसल खोल्न सुरु गरिसकेका छन्, जुन आन्दोलनरत मोर्चाका लागि चुनौती बनेको छ।
यति लामो समय मधेस ठप्प हुँदा पनि राज्यले माग सम्बोधनमा चासो नदेखाउँदा नागरिकमा व्यापक निराशा छ। 'मधेस आन्दोलनले सबै आजित र व्यापारी आर्थिक रूपमा डामाडोल भइसकेकाले अवतरणनिम्ति राज्य र मधेसी दल जिम्मेवार हुनुपर्छ,' जिल्ला उद्योग वाणिज्य संघ सिरहा उपाध्यक्ष अशोक साहको तर्क छ।
मधेसमा केही दिनदेखि जारी शीतलहर र गहुँ लगाउन मधेसका अधिकतर ग्रामीण नागरिक व्यस्त छन्। मधेस आन्दोलनमा सहभागी हुने ग्रामीण नागरिक खेतीपातीमा व्यस्त हुन छाडेर आन्दोलनमा आउने सम्भावना न्यून रहेको स्थानीय नेता बताउँछन्। बिस्तारै आन्दोलनमा जनसहभागिता पातलिँदै गएको पाइन्छ।
चार महिना लामो बन्द र अढाइ महिनाभन्दा बढीको नाकाबन्दीले पहाड मात्र नभई मधेसी नागरिकसमेत मानवीय संकटमा परेका छन्।
सिरहाका एक व्यापारीले नागरिकसँग भने, 'सीमांकनको पछिल्लो विवादले अधिकार प्राप्तिभन्दा पनि 'अडान' को लडाइँ देखिएको छ।' उनले भने, 'आफुले शासन गर्ने क्षेत्र बढाउन देशलाई बन्धक बनाउनु न्यायोचित होइन।'
सिरहा प्याब्सन सचिव उमेश चौधरी भन्छन्, 'मधेस बन्दका कारण यहाँका संस्थागत विद्यालय धारासयी हुने अवस्थामा पुगिसके।' स्कुल खुला गरे पनि बस नचल्दा विद्यार्थीको उपस्थित पातलो छ। 'चार महिनादेखि टाढा घर भएका विद्यार्थीले पढ्न पाएका छैनन्, पढ्न नपाएपछि ती विद्यार्थीका अभिभावकले शुल्क तिर्न मान्दैनन्,' चौधरीले थपे।
चिसो बढेसँगै नाका सुनसान
महोत्तरी संवाददाता महेशकुमार दासका अनुसार गत असोज ७ देखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा नाकाबन्दी गर्नेको भीड हेर्नलायक हुन्थ्यो। तर, अहिले आएर ती नाका सुनसान देखिन थालेका छन्। साउन अन्तिम साताबाट सुरु भएको बन्द–हड्तालको दबाबले मधेसका सम्बोधन हुने संकेत नदेखेपछि मधेसी मोर्चाले असोज ७ देखि नाकाबन्दी गर्ने निर्णय गरेको थियो।
मधेसी मोर्चाको संस्थागत निर्णयलगत्तै भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठामोड, छोटी नाका मटिहानी र सम्सीमा नाकाबन्दी गर्ने नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुन्थ्यो। नाकाबन्दीमा समर्थन जनाउने गाउँ–गाउँबाट आएर नाकामा बस्ने गरेका थिए।
तर, मंसिर दोस्रो साताबाट चिसो बढेसँगै यी नाकामा मोर्चाका जिल्लास्तरका नेता पनि कमै उपस्थित हुने गरेका छन् भने गाउँ–गाउँबाट समर्थक पनि आउन छाडेका छन्। तराईमा अहिले किसानलाई खेती थन्क्याउने चटारो बढेपछि नाकामा समर्थकको उपस्थिति घट्दै गएको तराई–मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेले बताए।
'साढे तीन महिनादेखि जारी आन्दोलनका कारण एक त त्यत्तिकै सबै थाकिसकेका छन्, त्यसमाथि तराईमा खेती थन्क्याउने सिजन भएर आन्दोलनका समर्थक पनि आउन छाडेका छन्,' पौडेलले थपे। पूर्वी तराईमा मंसिर दोस्रो साताबाट चिसो बढेर बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर सुरु भएसँगै आन्दोलनमा समर्थकको उपस्थिति घट्दै गएको हो।
प्रकाशित: २५ मंसिर २०७२ २०:०७ शुक्रबार





