त्यही साँझ मौसम पूर्वानुमान महाशाखा प्रमुख सुमनकुमार रेग्मी ललितपुरको आफ्नै घरमा थिए। उनलाई रत्नपार्क क्षेत्रमा भएको वर्षाको कुनै खबर थिएन। वर्षाको कारण सोध्दा उनले उल्टै प्रश्न गरे, 'ए हो र! यहाँ त एक थोपा परेको छैन, के भनूँ?'
यो घटना हो, साउन २० गतेको।
त्यसको दुई दिनपछि रत्नपार्कबाट ओभानै मोटरसाइकल चढेर महाराजगन्ज गएकाहरू टिचिङ अस्पताल पुग्दासम्म निथ्रुक्कै भिजे। जति अगाडि बढ्थे, पानी उति दर्किंदै जान्थ्यो। रेनकोट बोकेकाहरूले हत्तपत्त ओढिहाले। त्यहाँबाट बूढानीलकण्ठतिर गएकाहरू फेरि छक्क परे। चक्रपथ नाघेर अगाडि बढ्दा सडकमा धूलो मरेकै थिएन। भिजेको रेनकोट ओढेर मोटरसाइकल कुदाइरहेकाहरूलाई फेरि फुकाल्न हतार भयो।
भोलिपल्ट २३ गते साँझ साढे आठ बजे रत्नपार्कदेखि पानीपोखरीसम्म मुसलधारे वर्षा भइरहेको थियो। त्यही बेला पानीपोखरीबाट चक्रपथसम्म परेकै थिएन। फेरि चक्रपथभन्दा उत्तरतिर सडकमा झरीको नदी बगेको थियो।
केही सातायता काठमाडौंका सीमित ठाउँमा दिनहुँ भइरहेको भारी वर्षाले सर्वसाधारण आजित छन्। अफिसबाट घर हिँड्दा पानी परेको हुँदैन। घर पुग्ने बेला चुट्नसम्म चुट्छ। कहिले ठिक उल्टो हुन्छ।
'उपत्यकामा यसपालि पकेट–पकेट क्षेत्रमा मुसलधारे पानी पर्ने क्रम बढेको छ,' महाशाखा प्रमुख रेग्मी भन्छन, 'यसले सर्वसाधारण अन्योलमा परेका होलान्।'
मनसुन सुरु भएपछि लगातार पानी परिरहन्छ भन्ने आमधारणा छ। यो सही पनि हो। तर, अहिले भइरहेको वर्षा अलि भिन्न खालको छ। पहिले मनसुन बेला काठमाडौं उपत्यकामा ५–७ दिन लगातार पानी पर्थ्यो। अहिले त्यस्तो भइरहेको छैन। रेग्मीका अनुसार, अहिले मनसुन सक्रिय पनि छैन, निष्त्रि्कय पनि छैन।
'मनसुन अवस्था यसपालि अलि फरक महसुस गरेका छौं,' उनले भने, 'घाम पनि लाग्छ, बादल पनि देखिन्छ। पानी सीमित ठाउँमा मात्र पर्छ।'
महाशाखाका प्रवक्ता तथा मौसमविद शिव नेपालका अनुसार मनसुनको ठूलो प्रणाली सक्रिय नभएकाले यस्तो अवस्था आएको हो।
'मनसुन राम्ररी सक्रिय हुँदा वायुमण्डलमा वाष्पीकरण प्रक्रिया नियमित हुन्छ, र त्यो पूर्वी वायुको प्रभावले भइरहेको हुन्छ,' उनले भने, 'त्यही बेला बिहानदेखि मध्याह्नसम्म चर्को घाम लाग्यो भने स्थानीय रूपमै बादल बन्छ र जहाँ बादल बन्छ, त्यहीँ भारी वर्षा हुन्छ। अहिलेको अवस्था यही हो।' उनले यो अवस्था 'प्रारम्भिक मनसुन'जस्तो देखिएको बताएका छन्।
नेपालका अनुसार ठूलो प्रणाली सक्रिय हुन न्यूनचापीय रेखा नेपालतिर आउनुपर्छ। त्यो लखनउ र दिल्लीको बीचमा छ। त्यति सक्रिय पनि छैन। यो जति नेपालतिर ढल्कियो, वर्षा त्यति बेसी हुन्छ र मनसुन सक्रिय हुन्छ।
दुई/तीन वर्षयता मनसुनमा केही परिवर्तन आएको विज्ञहरूको अनुभव छ। पानी पर्ने अवधि र क्षेत्र घटेको छ। पानीको मात्रा भने घटेको छैन। 'यसले के देखाउँछ भने थोरै समयमा धेरै पानी परिरहेको छ,' नेपालले भने, 'नेपालमा मनसुन सुरु हुने र सकिने समय पनि पछाडि सरेको छ।'
जल तथा मौसम विज्ञान विभागअन्तर्गतका काठमाडौं, भक्तपुर र ललितपुरका २४ घन्टाको विवरण दिने चारवटा मौसम केन्द्रको तथ्यांकले उपत्यकामा 'पकेट' वर्षाको मात्रा बढेको देखाउँछ।
काठमाडौंको बूढानीलकण्ठ र एयरपोर्ट, भक्तपुरको नगरकोट र ललितपुरको खोकनास्थित मौसम केन्द्रका साउन २० देखि २८ गतेसम्मको तथ्यांक हेर्दा यी क्षेत्रमा वर्षाको मात्रा र पानी परेको समयमा भिन्नता देखिएको छ। चारमध्ये कुनैमा राति, कुनैमा बेलुका र कुनैमा दिउँसो पानी परेको देखिन्छ। (हेर्नुस् तालिका)
महाशाखा प्रमुख रेग्मी भने अहिलेको मनसुनमा आएका परिवर्तनलाई 'एक प्रकारको मौसम परिवर्तनको असर' पनि हुनसक्ने बताउँछन्। 'हुन त अध्ययन भएको छैन,' उनले भने, 'लामो समय पानी नपर्ने, थोरै समयमा धेरै पर्ने र पकेट–पकेट क्षेत्रमा मात्र पानी पर्नेजस्ता विषयको जलवायु अध्ययन गरिनुपर्छ।'
उनका अनुसार सामान्यतया मनुसन दुई किसिमले सक्रिय हुन्छ। पहिलो बंगालको खाडीमा शक्तिशाली समुद्री आँधी आयो भने त्यसले उत्पन्न हुने बादल पूर्वी नेपालबाट भित्रिन्छ। त्यो विस्तारै पश्चिमतिर फैलिँदै जान्छ र राम्ररी वर्षा हुन्छ। अर्को प्रणाली भनेको, न्यूनचापीय रेखा हो, जुन नेपालतर्फ नजिकियो भने राम्रो वर्षा हुन्छ। अहिले दुवै प्रणाली सक्रिय नभएको अवस्था हो।
'त्यसैले स्थानीय प्रणाली सक्रिय भएर पकेट रेनफल बढेको हो', रेग्मी भन्छन्।
प्रकाशित: २८ श्रावण २०७० २१:२४ सोमबार