आज राष्ट्रिय योग दिवस। ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापी रूपमा राष्ट्रिय योग दिवस मनाइँदैछ। विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका लागि योग अपरिहार्य बनेको छ। राष्ट्रिय योग दिवसको सन्दर्भमा योगको विभिन्न आयामबारे योग तथा प्राकृतिक चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय, योग विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राडा क्षितिज बराकोटीसँग गरिएकाे कुराकानीको सम्पादित अंशः
वास्तवमा योग के हो?
योग शब्दको उत्पत्ति जोडबाट सुरु भएको छ। योगको गहिरो अर्थ चै ‘समाधि’ हो। समाधिबाट योग प्रारम्भ हुन्छ। महर्षि पतञ्जलिले ‘योगश्चित्तवृत्तिनिरोधः’ भनेर योगलाई स्पष्ट पार्नुभएको छ। चित्तका वृत्तिहरू रोक्नु नै योग हो। श्रीम्दभागवत गीतामा ‘योगःकर्मशु कौशलम्’ अर्थात् कर्ममा कुशलता ल्याउने, निःस्वार्थ भावले कर्म गर्नु नै योग हो भनिएको छ। ‘समत्वम् योग उच्यते’ अर्थात् समभाव राख्नु नै योग हो। मन स्थिर गर्दै विचारविहीन बनाएर शून्यतातर्फ लैजाने अभ्यास योग हो।
समग्रमा चित्तका वृत्तिको निरोध, कर्ममा कुशलता र समभाव राख्नु, दुःख, सुख वा सम, विषम परिस्थितिमा पनि मन सन्तुलनमा राख्न सक्नु नै योग हो। योगले शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक लगायत विभिन्न आयामल जोड्छ। यस आधारमा पनि योग समग्रता हो।
योगलाई विज्ञानका रूपमा पनि हेर्ने गरिएको छ। के साँच्चै योग विज्ञान नै हो त?
योग विज्ञान मात्रै नभई ‘महाविज्ञान’ हो। योगलाई तौलन, मापन गर्न र यसको नतिजा ठिक हो वा होइन भनेर परीक्षण गर्न सकिन्छ। योगका अभ्यासहरू हेर्ने हो भने सुक्ष्म र स्थूल व्यायाम, आसन, प्राणायाम लगायत पर्दछन्। यी अभ्यासबाट प्राप्त हुने नतिजाबारे अध्ययन भएका छन्। आधुनिक विज्ञानले यसलाई प्रमाणित गरिसकेको छ। आसन, प्राणायम लगायत योगाभ्यासबाट सकारात्मक नतीजा प्राप्त भएका छन्। यसलाई मापन गर्न सकिन्छ। शरीर तथा मन शुद्धी, रोग निवारणमा पनि योग प्रभावकारी देखिएका छन्। आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यान विज्ञानको कसीमा उत्रिएका छन्। योगभ्यासले शरीरलाई विभिन्न किसिमबाट फाइदा पुगिरहेको हुन्छ।
योगबाट के कस्ता लाभ लिन सकिन्छ?
योगका असङ्ख्य लाभ छन्। योगबाट शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक, आर्थिक लगायत फाइदा लिन सकिन्छ। योगले शरीर सन्तुलित, लचिलो, सुगठित, नरम-कडा बनाउने, हड्डी र जोर्नी लचिलो र बलियो बनाउने, शरीरलाई दोष (वात, पित्त र कफ) र रोग मुक्त बनाउने, पञ्चमहाभूत सन्तुलनमा राख्ने काम गर्छ।
योगमा शरीर शुद्धीका विभिन्न उपाय छन्। योगले मन आनन्दित बनाउँछ। मनका लागि गरिएको अभ्यासले शरीरलाई फाइदा र शरीरका लागि गरिएको अभ्यासले मनका लागि फाइदा पुर्याउँछ। योगले नकारात्मक भावना हटाई सकारात्मक बनाउन सहयोग गर्छ। त्यसले मानसिक शान्ति र आनन्द पैदा हुन्छ। मन चिन्ता, तनाव, अवसान लगायत मानसिक रोगलाई नियन्त्रण गर्छ।
योगले व्यक्ति रूपान्तरित गर्छ। शारीरिक र मानसिक रूपमा स्वथ्य व्यक्तिले परिवार र समाजका लागि अमूल्य योगदान दिन सक्छ। अष्टाङ्गिक योग अन्तर्गतको यम र नियमको परिपालनाले सामाजिक सुव्यवस्था राम्रो बनाउँछ। नियमले व्यक्ति अनुशासित बनाउँछ। अनुशासित व्यक्तिले समाजमा अहिंसा, सत्य, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य सामाजिक नैतिकता प्रवर्द्धन गर्छ। जसले गर्दा समाजमा सुसबन्ध कायम गर्छ। सामाजिक समस्या आउन पाउँदैन। व्यक्ति, समाज ठीक हुँदै गएपछि चेतनाको स्तर उन्नत हुँदै जान्छ। योगबाट आध्यात्मिक चेतना अभिवृद्धि हुन्छ। यसबाट दया, माया, करुणाको भाव अभिवृद्धि हुन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्यको परिभाषाभित्र शारीरिक, मानसिक, सामाजिक र आद्यात्मिक स्वास्थ्यलाई समेटेको छ। यी सबै उपलब्धि योगबाट मात्र सम्भव छ।
योगलाई चिकित्साका रूपमा पनि हेर्न सकिन्छ?
पछिल्लो समय योगलाई चिकित्साका रूपमा अध्ययन, अनुसन्धान र अवलम्बन गर्न थालिएको छ। विदेशका कतिपय अस्पतालमा आधुनिक चिकित्सा पद्धतिसँगै योग पनि जोडेको पाइन्छ। रोगको रोकथाम, प्रवर्द्धन, पुनः स्थापना र सम्वर्द्धनमा योगको प्रभावकारिता पाउन सकिन्छ। रोग लाग्नै नदिने, लागेपछि उपचार गर्ने, शारीरिक र मानसिक पुनः स्थापनामा योग निकै प्रभावकारी देखिएको छ।
समग्रतामा स्वास्थ्यका चारै आयाम जोड्ने काम योगले गर्दछ। छिमेकी मुलुक भारतमा प्राकृतिक चिकित्सा, आयुर्वेद, होमियोपेथी र आधुनिक चिकित्सामा पनि योग जोडिएको पाइन्छ।
नेपालमा पनि विस्तारै एकीकृत चिकित्सा प्रणालीको अभ्यास सुरु हुन थालेको छ। हरेक चिकित्सा पद्धतिमा योग जोड्नु आवश्यक छ। यसबाट शरीर र मन ठीक हुँदै गएर औषधिले पनि प्रभावकारी काम गर्न सक्छ। औषधिको प्रभाव बढ्ने मात्र नभई हरेक रोगमा योगको पनि आफ्नै चिकित्सात्मक क्षमता छ। यस हिसाबबाट शारीरिक, मानसिक, सामाजिक, अध्यात्मिकलगायत सबै समस्यालाई योगाभ्यास मार्फत निराकरण गर्न सकिन्छ।
अहिलेको अति व्यस्त दैनिकीमा योगको महत्त्व कस्तो छ?
अहिले प्रतिस्पर्धाको जिन्दगी र दैनिकी बढ्दो छ। मान्छेसँग समय छैन तर समय खेर फालेको पनि पत्तो पाएको छैन। सामाजिक सञ्जालमा घन्टौं बिताउन समय बित्छ तर योगाभ्यासका लागि समय हुँदैन। शरीर सक्रिय पार्दै मन स्थिर राख्नुपर्नेमा मन सक्रिय र शरीर स्थिर छ।
योगले शरीरलाई सक्रिय बनाउन र मन स्थिर बनाउन सिकाउँछ। शरीर चलायमान भएपछि विकार र दोषहरू उत्पन्न हुन पाउँदैनन्। निष्क्रिय जीवनशैलीका कारण नसर्ने रोगको महामारी फैलिएको छ। आदिदैविक, आदिभौतिक र अद्यात्मिक रोग हटाउन योगले सहयोग गर्छ। भागदौडको जिन्दगी शान्त बनाउने खालका अभ्यास योगले सुरु गर्छ। योगमार्फत मन खुसी, प्रसन्न र स्थिर हुन्छ। यसबाट तनाव कम हुन्छ। योगले सात्विकता प्रवर्द्धन गर्छ। योगले सात्विक भोजन, विचार र जीवनशैली अपनाउन अभिप्रेरित गर्छ। व्यस्त दैनिकीमा योगलाई अङ्ग बनाउन सकियो भने जीवन सुमधुर बन्छ।
योगको बहुआयामिक उपयोग कसरी गर्न सकिन्छ?
यस वर्षको राष्ट्रिय योग दिवसको नारा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ रहेको छ। मन समृद्ध छैन भने जीवनस्तर बढेर मात्रै समृद्धि प्राप्ति हुँदैन। पहिलो समृद्धि भनेको मन सुखी हुनु हो। स्वस्थ्य हुनु पनि समृद्धि हो। शरीर, मन र चेनाको समृद्धि हुनुपर्यो।
योगलाई रोजगारको सशक्त माध्यम बनाउन सकिन्छ। योगका दक्ष जनशक्ति उत्पादन गर्न सकिएमा रोजगारी उच्च सम्भावना छ। पछिल्लो समय योग विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गइरहेको छ।
तपोभूमि, ऋषिभूमि नेपामा प्रशस्त्रै योग गुरु तयार गर्न सकिन्छ। नेपालबाट श्रमिक बनाएर मात्र विदेशमा किन पठाउने? योग गुरु बनाएर पठाउन सकिन्छ। योग गुरुका रूपमा विदेश जाँदा सम्मान र उचित अर्थोपार्जन पनि हुन्छ। योगलाई पर्यटनसँग पनि जोड्न सकिन्छ। नेपाल प्राकृतिक रूपमा अति सुन्दर र मनमोहक छ। यहाँ थुप्रै तपोभूमि र साधनास्थल छन्। ठाउँठाउँमा अन्तर्राष्ट्रिय स्तरको योग अनुसन्धान केन्द्र, योगग्राम, ध्यान केन्द्र र आश्रम निर्माण गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ।
योगले विश्व शान्तिका लागि कसरी योगदान दिन सक्छ?
योग यम र नियमको जग र अनुशासनमा उभिएको जीवनदर्शन हो। यमअन्तर्गत अहिंसा, सत्य, अस्तेय, अपरिग्रह र ब्रह्मर्च पर्दछन्। मन, वचन र कर्मले हिंसा नगर्ने अवस्था नै शान्ति हो। अहिंसा नै पहिलो धर्म हो। जहाँ झुटो र बदमासी हुन्छ, त्यहाँ द्वन्द्व सिर्जना हुन्छ। सत्य बोल्ने अभ्यास योगले गराउँछ। जहाँ चोरी, ठगी हुन्छ, त्यहाँ कलह हुन्छ। धेरै कुरा जम्मा नगरेपछि लुछाचुँडी भएन। ब्रह्मको जस्तो शुद्ध आचारण गराउन योगले सिकाउँछ। लडाइँ, झगडा मात्र अशान्ति होइन। व्यक्तिको मनमा पनि ठूलो द्वन्द्व छ। पहिला मन शान्त हुनु जरुरी छ। मन शान्त भएपछि मात्र समाज, राष्ट्र र विश्व शान्तिका क्षेत्रका काम गर्न सकिन्छ। योगीमा मित्रता, दया, करुणा र मायासहितको चेतनाको भाव हुन्छ। अन्तहृदय निर्मल हुने व्यक्तिले युद्ध, हिंसाको बाटो लिंदैन।
एउटा व्यक्तिले यौगिक दिनचर्या कसरी अपनाउन सक्छ?
प्रत्येक दिन योगमय बनाउन पहिला दक्ष प्रशिक्षकसँग योग सिकेर मानसिक रूपमा तयार हुनुपर्छ। सामाजिक सञ्जालमा राखेको भिडियोका आधारमा योगाभ्यास गर्नु उचित हुँदैन।
गुरुको सान्निध्यमा योग सिकेको खण्डमा बढी लाभदायी हुन्छ। ब्रह्ममूहुर्तमा उठेर मलासनमा बसेर उषापान गर्न सकिन्छ। शरीर शुद्धी गरेर मात्रै योगाभ्यास गर्नु उचित हुन्छ।
योगमा शरीर शुद्धीकरणका लागि षट्कर्म (धौती, वस्ती, नेती, नौली, त्राटक र कपालभाँती) का अभ्यास गर्न सकिन्छ। मन्त्र प्रार्थनाबाट योगाभ्यास सुरु गर्नुपर्छ। सदैव सकारात्मक भाव राख्नुपर्छ। सूक्ष्म व्यायाममा आँखा, गर्धन, हात, कम्मर, मेरुदण्ड, पेट, खुट्टाका अभ्यास गर्न सकिन्छ। स्थूल व्यायाममा उर्ध्वगति, रज्जु आकर्षण क्रिया, रेखा गति लगायत शरीर तताउने अभ्यास गर्न सकिन्छ। यी अभ्यास सकेपछि आसनमा प्रवेश गर्नु उचित हुन्छ।
शरीरलाई शीतलता र उष्णता प्रदान गर्ने र सन्तुलन गर्ने प्राणायाम छन्। यी प्राणायामका अभ्यास ३० मिनेट गर्न सकिन्छ। इन्द्रिय वशमा राख्न प्रत्याहारको अभ्यास गर्न सकिन्छ। ज्ञानेन्द्रीय र कर्मेन्द्रीय एकै ठाउँमा केन्द्रित गरेर धारणाको चरणमा पुग्न सकिन्छ। यसको अभ्यास बढाउँदै गएपछि धारणा स्वतः ध्यानमा रूपान्तरित हुन्छ। ध्यानको अभ्यास बढाउँदै लैजाँदा ध्यान गरेको विषय हरायो, ध्यान गर्नेवाला पनि हराएपछि शून्य अवस्था हुन्छ। त्यहाँबाट बल्ल योग सुरु हुन्छ। यो नै समाधितर्फ उन्मुख हुने अवस्था हो। योग अभ्यासका क्रममा शरीर, मन र चेतना एउटा दिशामा लयबद्ध गर्छौं।
योगाभ्यास एक घन्टा मात्रै गर्ने हो त? होइन। योग २४ सै घन्टा गर्ने कुरा हो। कस्तो खालको योगाभ्यास गर्ने हो त्यो आफ्नो अवस्था अनुसार छनोट गर्नुपर्छ। खाली पेटमा, खाना खाएपछि, बिरामी अवस्थामा र आरोग्य प्राप्त गर्ने योगका आसनहरू छन्।
ऋतु, शरीरको अवस्था, रोगअनुसार योग गर्नु उचित हुन्छ। आफ्नो अवस्था अनुसार उपयुक्त अभ्यास गर्नुपर्छ। पट्कर्म, आसन, प्राणायाम सरलबाट जटिलखालका अभ्यास गर्नुपर्छ। भ्याएसम्म ब्रह्ममूहुर्तमा योगाभ्यास गर्नु राम्रो हुन्छ।
बिहान उपयुक्त नहुनेले कार्यालयमा कामको सिलसिलामा मन स्थिर राख्ने, शरीर चलायमान बनाउने अभ्यास गर्न सकिन्छ। अहिले कर्पोरेट योगको निकै प्रचलन छ। कर्मचारी, शिक्षक, विद्यार्थीलाई कार्यालय समयको बीचबीचमा योगाभ्यास गराउँदा त्यसबाट सकारात्मक भावको विकाससँगै नतिजामा सुधार आउँछ।
विद्यार्थीलाई प्रार्थनाका समयमा योग, ध्यान र प्राणायाम गराउन सकिन्छ। कुर्सीमा बसेरै आसन, प्राणायाम र ध्यान गर्न सकिन्छ। आसन, प्राणायाम र ध्यानलाई समेटेर योगमय दिनचर्या बनाउन सकिन्छ। योगबाट यौगिक आहार, सात्विक आहार, निःस्वार्थ सेवाको भाव लिन सकिन्छ। कार्यसम्पादन, चिन्ततन मनन् गर्दा आफूलाई योगमय बनाउन सके त्यसबाट निर्णय क्षमता र स्मरण क्षमता पनि बढ्छ। कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी, व्यापारीलाई मात्र होइन, सबैलाई योग अनिवार्य छ।
नेपालमा योग शिक्षाको अवस्था कस्तो छ?
नेपालमा औपचारिक योग शिक्षा विस्तारै अघि बढिरहेको छ। विद्यालय तहदेखि नै योगका विभिन्न आयाम समेटिन थालिएको छ। कतिपय विद्यालयमा छुट्टै योग गुरु नियुक्त गरेर अध्ययन अध्यापन भइरहेको छ।
कक्षा ९, १०, ११ र १२ मा ऐच्छिक विषयका रूपमा १०० पूर्णाङ्कको पाठ्यक्रम पढाइ भइरहेको छ। प्रमाणपत्र तहमा प्राकृतिक चिकित्सासँगै योग शिक्षा पनि जोडिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयले छ महिने योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण, काठमाडौँ विश्वविद्यालयले स्नातक तहमा योग विज्ञान र आरोग्य, त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा योग विज्ञान र एक वर्षे पोष्ट ग्य्राजुयट तहको योग विज्ञान कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट पनि विभिन्न तालिम प्रशिक्षण सञ्चालन हुँदै छ। निजी क्षेत्रबाट पनि २००–४०० घन्टे योग प्रशिक्षण चलिरहेको छ। नेपाल सरकारका विभिन्न क्षेत्रमा सेवा प्रवेश, पदोन्नति लगायत विभिन्न तालिममा पनि योग जोडिएको पाइन्छ।
अन्त्यमा, राष्ट्रिय योग दिवसका अवसरमा समाज र आमनागरिकका लागि यहाँको सन्देश?
यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाइँदै छ। जब व्यक्ति स्वस्थ हुन्छ, तब समाज पनि स्वस्थ हुन्छ। आफूबाटै रूपान्तरण सुरु गरौँ। आफूबाट गरिएका व्यवहार समाजमा फैलाऔँ। आफ्नो स्वास्थ्य समृद्ध बनाऔँ। समभावले मेहनत गरौँ, कुशल ढङ्गले कर्म गरौँ। देशलाई योगमय बनाऔँ। अन्तर्राष्ट्रिय पर्यटक योग सिक्न नेपालमा आउने वातावरण बनाऔँ। योगको वैश्विक नेतृत्व नेपालले गरौँ। मन शान्ति भएपछि मात्र विश्व शान्ति सम्भव छ। स्वस्थ, समृद्धि र शान्तिलाई जोड्ने काम योगले गर्छ। योग गरौँ, स्वस्थ बनौँ, समाजमा सकारात्मक भावना फैलाऔँ। विश्व बन्धुत्वका लागि काम गरौँ। यसैमा सबैको कल्याण छ।
- रासस/ अशोक घिमिरे
प्रकाशित: १ माघ २०८२ १२:४४ बिहीबार





