नेकपा (एमाले)का महासचिव शंकर पोखरेल यतिबेला दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन्। प्रदेश सरकारको नेतृत्व सम्हाल्दा सुरु गरिएका विकासका संरचनात्मक योजनालाई संघीय तहबाट निरन्तरता दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन्। चुनाव, विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र दाङको दीर्घकालीन रूपान्तरणमा केन्द्रित रही उनीसँग लिइएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
तपाईँ प्रदेश नेतृत्वबाट संघीय संसदतर्फ आउन खोज्नुको मुख्य उद्देश्य के हो? यो राजनीतिक उन्नयन हो कि विकासको रणनीतिक निरन्तरता?
यो राजनीतिक उन्नयन होइन, विकासको निरन्तरता सुनिश्चित गर्ने प्रयास हो। प्रदेश सरकारको नेतृत्व गर्दा हामीले विकासको आधारभूत संरचना निर्माण गर्यौ। प्रशासनिक संरचना, राजधानी, सडक, स्वास्थ्य संस्था, शिक्षा विस्तार र दीर्घकालीन पूर्वाधार योजना। तर प्रदेश सरकारको क्षमता सीमित हुन्छ। ती योजनालाई दीर्घकालीन रूपमा स्थायित्व दिन संघीय नीति, बजेट र समन्वय आवश्यक हुन्छ। दाङमा सुरु भएको परिवर्तनलाई राष्ट्रिय प्राथमिकतामा रूपान्तरण गर्न संघीय संसदको भूमिका निर्णायक हुन्छ। त्यसैले मेरो उम्मेदवारी विकासको दोस्रो चरण सुरु गर्ने अभियान हो।
प्रदेशको स्थायी राजधानी दाङमा तोक्ने निर्णयलाई ऐतिहासिक मानिन्छ। त्यो निर्णय किन आवश्यक ठान्नुभयो?
राजधानी निर्धारण कुनै भावनात्मक विषय होइन, दीर्घकालीन रणनीतिक निर्णय हो। प्रदेशको भौगोलिक सन्तुलन, प्रशासनिक पहुँच, शहरी विस्तारको सम्भावना र आर्थिक विकासको केन्द्र कहाँ बन्न सक्छ भन्ने आधारमा निर्णय गरिएको थियो। लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रका रूपमा देउखुरी उपत्यका चयन गर्नु भनेको प्रदेशको विकासको केन्द्र निर्धारण गर्नु हो। राजधानीले प्रशासन, सेवा, लगानी, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिलाई केन्द्रित गर्छ। दीर्घकालीन विकासको गति दिन यस्तो निर्णय अपरिहार्य थियो।
प्रदेशको राजधानी घोषणा भएपछि दाङमा देखिएको ठोस परिवर्तन के हो?
राजधानी बनेपछि प्रशासनिक गतिविधि बढ्यो, सेवा विस्तार भयो, निजी लगानी आकर्षित भयो। सरकारी कार्यालय स्थापना, सडक विस्तार, आवास विकास, बैंकिङ सेवा, शैक्षिक संस्था र व्यवसायिक गतिविधि तीव्र भएका छन्। सबैभन्दा महत्वपूर्ण परिवर्तन मानसिकतामा आएको छ। दाङ अब केवल क्षेत्रीय केन्द्र होइन, प्रशासनिक र आर्थिक सम्भावना भएको विकास केन्द्रका रूपमा स्थापित हुँदैछ।
तपाईँको पहलमा निर्माण भइरहेको घोराही-तुलसीपुर चारलेन सडकलाई विकासको मेरुदण्ड भनिन्छ। यसको वास्तविक महत्व के हो?
यातायात पूर्वाधार आर्थिक गतिविधिको आधार हो। चारलेन सडकले यात्रा सहज बनाउने मात्र होइन, व्यापार लागत घटाउने, बजार पहुँच बढाउने र शहरी विस्तारलाई व्यवस्थित बनाउने काम गर्छ। यो सडक आर्थिक करिडोरको रूपमा विकसित हुनेछ। उद्योग, सेवा क्षेत्र, पर्यटन र लगानी प्रवाह सबै यातायात पूर्वाधारसँग जोडिएका हुन्छन्। पूर्वाधार बनेपछि मात्र औद्योगिक विस्तार सम्भव हुन्छ। त्यसैले यो परियोजना दीर्घकालीन आर्थिक रूपान्तरणको आधार हो।
चारलेन सडकसँगै औद्योगिक विकास र रोजगारी विस्तारका लागि तपाईँको रणनीति के छ?
पूर्वाधार निर्माण पहिलो चरण हो। औद्योगिक वातावरण निर्माण दोस्रो चरण हो। औद्योगिक क्षेत्र विकास, कृषि प्रशोधन उद्योग स्थापना, लगानी प्रोत्साहन, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था र साना तथा मझौला उद्यम प्रवर्द्धन-यी सबै समानान्तर रूपमा अघि बढाइएका छन्। दाङको कृषि सम्भावना ठूलो भएकाले उत्पादनलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने उद्योग विकास दीर्घकालीन आर्थिक समाधान हो। रोजगारी सिर्जना उद्योग र उद्यम विस्तारबाटै सम्भव हुन्छ।
दाङमा स्थापना प्रक्रियामा रहेको इन्जिनियरिङ कलेज र प्राविधिक शिक्षा विस्तार किन महत्वपूर्ण छ?
विकासका लागि प्राविधिक जनशक्ति आवश्यक हुन्छ। स्थानीय विद्यार्थीलाई न्यूनतम लगानीमा उच्च प्राविधिक शिक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो। इन्जिनियरिङ कलेज स्थापना भनेको स्थानीय स्तरमै ज्ञान उत्पादन गर्ने आधार तयार गर्नु हो। अध्ययन, अनुसन्धान र विकास परियोजनाबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ। यसले दाङलाई प्राविधिक शिक्षा केन्द्र बनाउने मात्र होइन, स्थानीय विकासमा दक्ष जनशक्ति उपलब्ध गराउँछ।
कृत्रिम जलाशय निर्माण योजना र जल व्यवस्थापनलाई तपाईँले किन दीर्घकालीन प्राथमिकता दिनुभयो?
जल व्यवस्थापन भविष्यको प्रमुख चुनौती हो। कृषि, खानेपानी, वातावरणीय सन्तुलन-सबै पानीसँग जोडिएका छन्। कृत्रिम जलाशयले सिँचाइ विस्तार गर्छ, पानी संरक्षण गर्छ, भू-जल सन्तुलन कायम राख्छ र पर्यटन सम्भावना पनि बढाउँछ। यो परियोजना खाद्य सुरक्षा, कृषि उत्पादन वृद्धि र पर्यावरणीय स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण छ।
स्वास्थ्य क्षेत्रमा विशेष गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तारलाई तपाईँको महत्वपूर्ण पहल मानिन्छ। यसको उद्देश्य के हो?
हाम्रो उद्देश्य केवल अस्पताल बनाउने मात्रै थिएन, क्षेत्रीय स्तरको स्वास्थ्य,शिक्षा र अनुसन्धान केन्द्र निर्माण गर्ने थियो। पूर्वाधार विस्तार, आधुनिक उपकरण, विशेषज्ञ सेवा र स्वास्थ्य शिक्षा विकासमार्फत यस संस्थालाई सुदृढ गरिएको छ। अब यो संस्था उपचार सेवा मात्र होइन, स्वास्थ्य जनशक्ति उत्पादन र अनुसन्धानको केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ। यसले दाङ मात्र होइन आसपासका जिल्लाका नागरिकलाई पनि उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँछ।
दाङलाई दीर्घकालीन रूपमा आर्थिक, शहरी र सामाजिक दृष्टिले कस्तो क्षेत्र बनाउने लक्ष्य छ?
दाङलाई योजनाबद्ध शहरीकरण, औद्योगिक विस्तार, आधुनिक कृषि प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा र प्राविधिक शिक्षा भएको आत्मनिर्भर क्षेत्र बनाउने मेरो लक्ष्य छ। पूर्वाधार विकास, उत्पादन विस्तार र सेवा क्षेत्र सुदृढीकरण-यी तीन आधारमा दाङको आर्थिक रूपान्तरण सम्भव हुन्छ। स्थानीय रोजगारी सिर्जना, युवा उद्यमशीलता र वातावरणीय सन्तुलनलाई समान प्राथमिकता दिइनेछ।
चुनाव नजिकिँदै छ, मतदाताका लागि तपाईँको सन्देश के छ?
दाङमा परिवर्तनको आधार तयार भइसकेको छ। म लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा राजधानी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र दीर्घकालीन विकासका संरचना निर्माण भइसकेका छन्। अब यी योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक छ। यो चुनाव व्यक्तिको मात्र होइन, दाङको भविष्यको निर्णय हो। विकासलाई संस्थागत बनाउने प्रतिबद्धतासहित म जनतामाझ आएको छु। म तपाई सबैसँग एक/एक मत माग्छु। अहिले कसैको लहलहैमा लागेर मत अन्यत्र दिनुभयो भने ५ वर्ष पछुताउनुको विकल्प हुँदैन। त्यसैले मलाई भारी मतले जिताउन सुर्य चिन्हमा मतदान गरिदिनुस् भन्ने विनम्र अनुरोध छ।
प्रकाशित: १८ फाल्गुन २०८२ ०९:३८ सोमबार





