सुबाेधराज प्याकुरेलको अनेक परिचय छ। मानव अधिकारकर्मी, विकासविद्देखि समाजका घटनाक्रममा तिखो टिप्पणी गर्नु उनको विशेषता हो। मुलुकको पछिल्लो जेनजी आन्दोलन र यसका संकेतबारे ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको संस्करणमा उनले खुलेर कुरा गरेका छन्। प्रस्तुत छ– नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको संवादमा प्याकुरेलले व्यक्त गरेका धारणाको सम्पादित अंश।
भदौ २३ को जेनजी आन्दोलन र भदौ २४ को तोडफोड किन भएको हो?
यस खालको परिस्थिति आउँछ भनेर मैले दुई वर्ष अगाडिदेखि भनिरहेको थिएँ। जनतामा सुकेको कासजस्तो आक्रोश बढिसकेको थियो। कुनै दिन एउटा झिल्का लाग्छ र त्यसपछिको विद्रोहको पहिलो निसानामा हाम्रा प्रशासक पर्छन् र कर्मचारीलाई काम गरिरहेको ठाउँबाटै घिसारेर बाहिर सडकमा लगी चिमट्न र अपमान गर्न सक्छन् भन्ने लागेको थियो। यस बिचमा जति लेखें, जति अन्तरवार्ता दिएँ, मेरो ध्यान त्यसैमा थियो।
मैले ११ सय मान्छेसँग अन्तर्वार्ता लिएर एउटा रिपोर्ट तयार गरें। त्यो हेर्दा मलाई साँच्चै अत्यास लागिसकेको थियो। त्यसपछि सरोकारवाला मान्छेहरूसँग पनि कुरा गरें। मेरो निष्कर्ष के थियो भने देशमा हाम्रो संसद् एक हिसाबको आबाराजस्तो थियो। सरकार आफ्नै धुनमा एकोहोरो हिँडिरहेको थियो। न्यायालय बहुतै सुस्त थियो। कर्मचारी प्रशासन आम नागरिकको हुर्मत लिनमा व्यस्त थियो। कतैबाट जनताले अलिकति पनि सुबिस्तासँग सास फेर्न सक्ने अवस्था थिएन। त्यतिबेला जेनजी आन्दोलन सुरु भयो। उनीहरूको त जम्माजम्मी दुइटा अजेन्डा मात्रै थियो - भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा।
मान्छेमा बल, बुद्धि र शक्तिको ज्यादै घमण्ड चढेमा ऊ अहंकारी हुन्छ। अहंकारले छोपिएको व्यक्तिलाई वरपरका मान्छेले यथार्थ प्रकट गर्ने र सुझाउने काम गर्नुपर्छ। दोस्रो कुरा, उच्च ओहोदामा बसेको मान्छेले जहिल्यै पनि भुइँतहका मान्छे, आलोचक, समालोचक र विरोधीको समेतको स्वर सुन्नुपर्छ। यो कस्तो अबुझपना हो? मैले बुझ्न सकिनँ। ‘बा’ को नामबाट युटुब आयो। त्यो फ्लप खायो। ‘बा’ ले एउटा सानो रोल खेल्नुभयो, सिनेमा फ्लप खायो। ‘बा’ ले नियमित लेख्न थाल्नुभयो, त्यो आर्टिकल फ्लप खायो। हप्तैपिच्छे जनतासँग प्रधानमन्त्री भन्नुभयो, त्यो पनि फ्लप खायो। सर्वत्र फ्लप खाइरहँदा किन फ्लप खाइरहेछु खोज्नु पर्दैन?
काम त धुमधाम गरेको छु भन्ने उहाँलाई लाग्यो। नगरेको पनि होइन। भौतिक विकास र समग्र आर्थिक अवस्थाको कुरा गर्दा नगरेको त पक्कै होइन तर सबभन्दा पहिलो कुरो त जनतालाई त मर्यादाको कुरा हुन्छ नि।
उहाँले आलोचना बुझ्ने कोसिस गर्ने प्रयास गर्नुभएन कि बुझाइदिने मान्छे नै भएनन्?
यो पनि हुन सक्छ। अर्को कुरा, विरोध गर्ने कुरा लोकतान्त्रिक अधिकार पनि हो। त्यसलाई रोक्न–छेक्न खोज्नु खतरनाक हो। भदौ २३ को त्यो जुलुस खुरुखुरु जान दिएको भए प्रहरीहरू छेउतिर बसेर दायाँबायाँ नछिर्नुस्, चौडा बाटोमा नारा लगाउँदै जानुस् भनेको भए घुसपैठ गर्न खोज्नेले पनि मौका पाउने थिएन। भनिन्छ नि - आफ्नो थैलीको मुख बलियो गर्नू अर्कालाई दोष नलगाउनू। त्यो पनि भएन। अचम्मसँग यसरी गोलाबारी भयो कि १९ जना त त्यही दिन मरे। कस्तो दर्दनाक मृत्यु होला? दोस्रो दिन त झन् थपिनु थपियो। अहिलेसम्म ७४ जना मरेको रिपोर्ट आइसक्यो।
मान्छेलाई गोली हाल्ने जुन तरिका छ, त्यो के चैत १५ कै निरन्तरता थियो? वा के कुराले त्यसलाई उक्सायो?
चैत १५ मा एउटा आतंक उत्पन्न गर्न खोजेकै हो। पुलिसलाई समेत कुल्चिएर दुर्गा प्रसाईंको लक्ष्य संसद्भित्र छिर्नु नै थियो। त्यसले आतंकित भएको पक्कै हो, तर सुरक्षाले त जहिले पनि आफ्नो सुरक्षात्मक उपाय अपनाउँदा पहिला भीड कति ठुलो छ भन्ने हेर्नुपर्छ। भदौ २३ को भीड हेरिरहेको थिएँ। नवयुवा (जेएनजी) ले कति राम्रोसँग अनुशासनका कुरा बताइरहेका थिए। व्यक्तिकेन्द्रित नारा लगाउँदैनौं समेत भनेका थिए, तर त्यो चिजलाई हामीले व्यवस्थापन गर्न सकेनौं।
नेपाल प्रहरीसँग भीड नियन्त्रण गर्ने मामलामा स्रोतसाधन, प्रविधि र तालिमको कमी छ। रबर बुलेट पनि बेग्लै खालको हुन्छ। अश्रुग्यास पनि बेग्लै खालको हुन्छ। उनीहरूले यो मागेकै लामो समय भइसक्यो। सेना भनेको प्रतिरक्षा हो। आन्तरिक सुरक्षाभन्दा उसले त बाह्य दुस्मनसँग लड्ने हो। उसले चलाउने एसएलआर र इन्सास हो। नेपालमा प्रहरीलाई आर्मीको जडाउरी बनाइएको छ। आर्मीले नयाँ बन्दुक ल्याउने अनि उसले चलाएको इन्सास र एसएलआर पुलिसलाई दिने। अनि पुलिसले आकाशतिरै ताकेर हिर्काए पनि ४५ डिग्रीभन्दा माथिको एंगलमा गोली गएको छ भने त्यो गोली झरेर आउँदा त्यो जुलुसको दोस्रो, तेस्रो र चौथो लाइनमा पनि पर्न सक्छ। त्यो तात्तातो गोली पछाडिका मान्छेको टाउकोमा पनि लाग्न सक्छ।
पछिल्लो समय केपी ओली प्रधानमन्त्री भएको केही महिना मात्रै भएको थियो तर विचार पुर्याएर हेर्दा २०४६ सालयताको सम्पूर्ण दोषी केपी ओली नै भए किनभने उनको छुच्चो बोलीले। कसैलाई मान्छे नगन्ने कारणले आमनागरिकमा आक्रोश भरिएको थियो।
भदौ २४ को जुलुसमा एमाले, कांग्रेस, राप्रपा र रास्वपाका संसार थियो। त्यहाँ सर्वसाधारण पनि थिए। ती सबैको मुखमा केपी ओलीविरुद्धको नारा र आक्रोश थियो। यसबाट सबैले बुझ्नुपर्छ राजनीति गर्ने कसरी? दम्भले राजनीति हुँदैन। केही मान्छे वरपर राखेर गफ गरेको भरमा पनि राजनीति हुँदैन। समयलाई राम्ररी सँग बुझ्नुपर्छ।
अहिलेको विश्व राजनीतिक स्थिति हेर्ने हो भने खतरनाक खवस्थामा छ। त्यसमाथि अहिले अमेरिकाको विभिन्न खालको ट्यारिफले भारत अप्ठ्यारोमा छ। विश्व व्यवस्था नै एउटा फरक हिसाबमा गइसक्यो। यत्रो विधि ट्यारिफले चीन पनि अप्ठ्यारोमा छ। आफू अप्ठ्यारोमा परेका बेला कतै अशान्ति मचिए के होला भन्ने त्रासमा उनीहरू छन्। अर्कातिर युरोपेली, अमेरिकीहरूलाई वा नेटो गठबन्धनलाई नेपालमा बसेर दुवै देशलाई अनुगमन गर्न सकिन्छ कि भन्ने पनि छ। यो बेलामा कूटनीतिक हिसाबले पनि सोच्नुपर्ने हो। कस्ता गतिविधि भइरहेका छन्, त्यो पनि सोच्नुपर्ने।
भदौमा यो घटना भयो। त्यसको करिब तीन महिनाअघि राष्ट्रिय सभागृहमा देशव्यापी युवाहरूको भेला भएको थियो। त्यहाँ प्रकट भएका प्रतिबद्धता र धारणाको सम्बोधन नेपालको राज्यले गर्नुपर्थ्याे। किनभने उनीहरूले त आफ्नो अपेक्षा मात्रै राखेका थिए। अपेक्षा समाधान गर्ने उपाय त भनेका थिएनन्। उपाय भनिदिएको भए पनि सिक्न राम्रो हुन्थ्यो तर उपाय नभनुञ्जेल त राज्यले प्रतिस्पर्धी त ठान्नु पर्दैनथ्यो नि।
यो आन्दोलनमा विदेशी शक्तिको हात कति छ?
विदेशी शक्ति प्रत्यक्षरूपमा नेपालका सडकमा आएको छैन। संसारमा ट्युनिसियादेखि माडागास्कर र जर्जियासम्मको आन्दोलन डढेलो लागेजस्तो आन्दोलन छ, जसमा दृष्टिकोण छैन। हुत्त डढेलो लाग्छ, अशान्ति सिर्जना गर्छ अनि त्यो निभाउने जिम्मेवारी फेीर पुरानै सत्तालाई हुन्छ किनभने ऊसँग दृष्टिकोण छैन। उसले विरोध मात्रै गर्छ। विरोधचाहिँ केके भएनमा हुन्छ । समाधान त्यसको छैन।
जेनजी आन्दोलनपछि षड्यन्त्रको सिद्धान्त फैलिरहेको छ। विभिन्न विन्दुलाई जोडेर आफ्ना तर्क प्रस्तुत भइरहेका छन्। जेनजी आन्दोलन संसारभर ठाउँठाउँमा भइरहेको जस्तो प्रदर्शन हो कि कस्तो हो?
आजको विश्व यस्तो भइसक्यो कि संसारका कुनै पनि कुनामा भएका घटना–दुर्घटनाले तपाईंहामीलाई तुरुन्त छुन्छ । किनभने हामी त्यससँग जोडिएका छौं। दोस्रो कुरा, तन्नेरीलाई आक्रोशित बनाउन सजिलो हाम्रो व्यवहार हो।
मैले एकचोटि केपी ओलीलाई भनेको थिएँ - कमरेड, तपाईं त न्यायाधीश पो हो त। तपाईंले त तर्कका साथ फैसला लेख्नुपर्छ। त्यही सुनाउनुपर्छ। तपाईं त वकिलजस्तो पट्टा खेल्नुहुन्छ। के गरेको यो? के गर्ने अरूले बोल्दैनन् भन्नुभयो।
मैले भनें - पार्टीमा विभाग छ, नेताहरू छन्, सरकारमा हुनुहुन्छ। संसदीय समिति छ, मन्त्रालय छन्, मन्त्री छन्, प्रवक्ता छन्। उनीहरूले जनतालाई चित्तबुझ्दो गरी बताए हुन्न? उनीहरू बताउँदैनन् भने त्यसलाई नियमन गर्ने तपाईंको जिम्मेवारी हो। अरूले बोलेनन् भनेर भएभरका कुरा तपाईं नै बोल्न भ्याउनुहुन्छ भने त जनताको आक्रोश स्वतः तपाईंमै केन्द्रित हुन्छ। अरूमा त जाने कुरै छैन।
यति ठुलो काण्ड घटिसक्यो। यतिका मान्छे मारिए। दुर्घटना भयो। संसारभरि नेपालको बेइज्जत भयो। हामीलाई भिसा दिन बन्द भइसक्यो। यो अवस्थामा अहिलेका रैथाने राजनीतिक दलहरूले आत्मनिरीक्षण गर्नुपर्दैन? पहिलो कुरा, आत्मालोचना गर्ने बेला हो। दोस्रो कुरा, आफैंले भनेका कुरा संविधान संशोधनको हो। कसरी संविधान संशोधन गर्छौं भनेर कार्ययोजना बनाउने बेला हो। तेस्रो कुरा, कार्ययोजना कार्यान्वयनमा लैजान केके गर्ने? चौथो कुरा, बौद्धिक वर्गबाट उठेको एउटा गम्भीर प्रश्न छ। त्यो गम्भीर प्रश्न के हो भने संसारभर नै यो समस्या हो, हामीकहाँ मात्रै होइन। एउटा शासन व्यवस्था समाप्त पार्ने, नयाँ शासक आउने तर उनीहरू पुरानै शासन व्यवस्थामा लटपटिएर त्यस्तै हुने। जस्तो - हाम्रो नेपालमा सात सालदेखिका परिवर्तनका शृंखला छन् तर हाम्रो प्रशासनिक सोच र तरिका परिवर्तन नै भएको छैन।
– जेनजीका जम्माजम्मी दुइटा अजेन्डा थिए–भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा।
– नेपालमा प्रहरीलाई आर्मीको जडाउरी बनाइएको छ।
– विदेशी शक्ति प्रत्यक्षरूपमा नेपालका सडकमा आएको छैन।
– महानगरपालिकालाई त बालेन नै भनिन्छ।
– चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने हो भने फौजदारी अपराधीलाई तुरुन्त कारबाही गर्न सक्नुपर्छ।
– जुन राजनीतिक दलले सबभन्दा बढी चित्त बुझाउन सक्यो, त्यसले नै आगामी चुनावमा बढी मत प्राप्त गर्छ।
– प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धतामा मलाई किञ्चित पनि शंका छैन।
– ढोका खोलिदिए पनि उड्न नसक्ने पिँजडाका सुगाजस्तै कुँजिइसकेका छन् पार्टीका कार्यकर्ता।
भदौ २३ को राति नेपालमा केही देशका दूतावासका अधिकारी र विभिन्न एनजीओ, आइजीओका व्यक्ति सक्रिय भएको र यसमा संलग्न भएका समाचार आइरहेका छन्, यसलाई कसरी हेर्नुभएको छ?
भएकै हो। किनभने आजको बेलामा नेपालजस्तो संवेदनशील ठाउँमा रहेको देशमा अराजकता मच्चियो, अस्थिरता मच्चियो भने त्यसको दुषप्रभाव उनीहरूले पनि भोग्नुपर्छ। त्यो भोग्न नपरोस् भन्नका लागि सचेत भएर कुदेकै हुन्। त्यो त तपाईंहामीले राम्रैसँग थाहा पाइरहेका छौं। त्यसलाई म अस्वाभाविक रूपमा लिन्न।
सैनिक मुख्यालयमा कुनै अमूक देशको राजदूतकै प्रवेश भयो भन्ने कुरा पनि बाहिर आयो, त्यो के हो?
त्यो मलाई थाहा छैन। राजदूतै गयो कि गएन त्यो म भन्न सक्दिनँ तर केही कुरा सन्देहास्पद छन्। जस्तो - सिंहदरबारभित्र त सरकारले दमकलै दिएको थियो नि! त्यसको प्रयोग किन भएन? भन्न त प्रधानसेनापतिले भन्नुहुन्छ हामीले रोक्न खोजेको भए झनै विध्वंस हुन्थ्यो भनेर। म त्यसलाई किन मान्दिनँ भने आन्दोलनकारीले सेनालाई बहुतै सम्मान गरेको हामीले देखिरहेका छौं। एकदुई ठाउँमा त ढोगेको पनि देखिन्छ। भिडियो नै छ।
सेनाले अगाडि नबढ्नुस् राम्रो हुँदैन। नाराजुलुस त्यहीं बसेर गर्नुस् भनेर रोक्न सक्थ्यो। त्यति मात्रै होइन, दमकल पठाउनुपर्थ्याे। कतिपय मान्छे कराए पनि दमकल ल्याऊ भनेर। आन्दोलनकारीले नै सिंहदरबारभित्र दमकल छ चलाऊ भनेका छन्। छेक्दैनौं भनेका छन्। तर पनि दमकल हिँडेन।
म राष्ट्रपति भवननजिकै बस्छु। भदौ २४ का दिन बढीमा ६०/६५ जना मान्छे थिए होलान्। ढोका ढ्याङढ्याङ हल्लाए। ढोका खुल्यो। हुर्रर भित्र छिरे मान्छे। उनीहरू छिरेपछि सेनाले उत्तरतिर रहेको प्रहरी तालिम केन्द्रतिर खुरुखुरु गएर मैदान खाली गर्दियो। प्रहरीको हरिबिजोग भो, भनिसाध्य छैन।
सेनाले किन यसो गर्यो?
सेनाको इन्टलिजेन्सले कुनै हालतमा हात हाल्नु हँुदैन भन्ने निष्कर्ष दिएको थियो भने म जान्दिनँ। उसले त्यही भन्नुपर्यो। त्यो भनेको भए पनि इन्टलिजेन्सले के आधारमा भन्यो? त्यो प्रश्न त जिउँदै छ। त्यो प्रश्नबाट उम्किन पाइँदैन। दोस्रो कुरा, आन्दोलनकारीले आफ्नो एक मात्र नेता मानेको त बालेन नै हो। महानगरपालिकालाई त बालेन नै भनिन्छ। अनि महानगरपालिकाको दमकल आउनै नसक्ने हो र? किन नसक्ने हो? आउन नसक्ने हो भने पनि पठाउनुपर्थ्याे। ताकि भन्न त पाइयोस्।
मैले कोसिस गरेको थिएँ भनेर। कोसिस त गरेको देखिनुपर्छ नि। त्रिकालदर्शी कुनै ज्योतिषी हो र? जान सक्दैन भनेर दमकल रोक्ने? दमकलजस्तो कुरा, सुरक्षाजस्तो कुरा सक्छु कि सक्दिनँ भन्ने होइन नि।
हाम्रो सेनालाई दबाब दिन सक्ने कुनै त्यस्तो तत्व, शक्ति वा देश?
प्रशस्तै छन्। तिनले सेनालाई मुभ नहुन भन्न सक्छ। दबाब दिन सक्छ, तर एउटा राम्रो कुरो के छ भने आजको संसारमा कुरा छुप्दैन। विस्तारै विषय प्रकट हुन्छन्। गार्जियनले २०२२ मा लेखेको हो। सेप्टेम्बर ८ मा आन्दोलन भयो ५ मा त्यसलाई अद्यावधिक गरिएको छ। त्यतिपरका मान्छेले हेरिरहेका छन्। हाम्रो सरकार के हेर्छ? त्यो इन्टलिजेन्स कहाँ गयो होला? भीड नियन्त्रणको रणनीति त थुप्रै हुन्छ। छेकेर मात्र भीड नियन्त्रण हुँदैन। भीड त बाढी हो। बाढीलाई बग्न दिनुपर्छ।
आन्दोलनका क्रममा नेताका घर, व्यापारिक प्रतिष्ठान र सञ्चारमाध्यम छानीछानी आक्रमणमा परेका छन्, यसको कारण के देख्नुहुन्छ?
नेपालमा बेरोजगारको ठुलो संख्या छ। दोस्रो, हिजो जनयुद्धमा सामेल भएकाहरूको ठुलो पंक्ति छ। अहिल्यै भन्नुस् न, सुदनले डिस्कोर्डको दुरुपयोग भयो भनेका छन्। तेस्रो, यस्तो–यस्तो अचम्मको सफ्टवेयर सञ्चालन गरिएको छ। डिस्कर्ड भनेको गेमिङ एप हो। त्यो एपबाट नेताका घर खोज्ने र आगो लगाउने काम भएको छ।
सफ्टवेयर चलाउनेदेखि आपराधिक कर्म गर्नेसम्मका मान्छे सामेल छन्। दोस्रो, आततायी व्यवहार गरिएको छ। देउवाजीलाई रडले हिर्काइएको छ। आरजुजीलाई कुटिएको छ। विभिन्न पुलिससँग गरिएको दुर्व्यवहार। साह्रै निर्ममतापूर्वक प्रहरीको हत्या गरिएको छ। अर्को कुरा, आतंकवादीले प्रयोग गर्ने रसियन मोलोप, अर्को केमिकलसम्म प्रयोग गरिएको छ। अचम्म! कहाँबाट सिके केटाकेटीले? आपराधिक व्यक्तिहरूको प्रशस्त प्रवेश भएको छ तर नेपालमा त्यसरी आपराधिक मान्छे नै प्रयोग गरेर अस्थिरता मच्चाउने तहमा कुनै वैदेशिक शक्ति लाग्छ भन्ने मलाई लाग्दैन। म गलत पनि हुन सक्छु।
यस्तो त पटकपटक हुने भयो। यही किसिमले भोलि अर्को ग्रुपले नगर्ला र?
जेनजी आन्दोलनमा डिजिटल कम्युनिकेसनमा लागेका मान्छेको हिसाबले एकतिहाइ नै नक्कली थिए भन्ने त रिपोर्ट नै आइसक्यो। सबै जोड्दा जतिसुकै पनि भन्लान्, तर सक्रिय संलग्न मान्छेको संख्या १७ हजार पनि छैन। १७ हजारमध्ये सात हजार भन्दा कम छ काठमाडौंमा। भोलि १० हजार मान्छे लिएर आए भने के हुन्छ? आफूलाई जेनजीको नायक हुँ भन्नेहरूको जुन ढाँचा पनि ठिक छैन।
पुराना पार्टीका नेताहरू गम्भीर परीक्षणमा छन्। हरेक पार्टीभित्र विद्रोहको ज्वाला घन्किएको छ। यकिन पार्टीका चिफहरू अब चिफ बनेर बस्न सक्दैनन्। त्यो अध्यक्षता उनीहरूले छाड्नुपर्छ। नछाडिकन धरै छैन तर अहिले आफूलाई जेनजी हुँ भन्नेको गतिविधिजस्तो भइरहे त्यसले पुराना नेताहरूलाई पुनस्र्थापित गर्छ। यो बडो दुःखद् पक्ष हो।
किनभने कांग्रेस, एमाले र माओवादीजस्ता पार्टीका लाखौं कार्यकर्ता छन्। सबै बदमास त छैनन्। धेरै त चित्त दुखेरै बसेका थिए। पार्टीभित्रै झगडा गरेरै बसिराखेका थिए। ती मान्छेलाई उनीहरूको मनोबल बढाउने उनीहरूको शक्ति बढाउनेतर्फ नलागीकन एकहोरो व्यक्तिकेन्द्रित समाधान खोज्ने होइन। एउटा मान्छेले गएर सचिवलाई हप्काएको भरमा काम त हुने होइन। यो त कुनै सिनेमा त होइन नि। अहिलेको समस्या के हो भने आन्दोलनका नाममा विद्रोह भयो। कस्तो विद्रोह भने जोसँग दृष्टि छैन। समस्या यो छ उही लोकरिझ्याइँ।
हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तो नक्कली चिठी ल्याएर पनि हिँड्दिए। अहिले जति मान्छेले जेल छाडेर हिँडे त्यो सबैको एक मात्र दोषी त राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका अध्यक्ष रवि लामिछाने हुन्। यो सरकारको ताल हेर्नुस्। कति कमजोर छ यो सरकार। यसको त आत्मबलै छैन। पक्राउ परेकालाई छाड्दे भनिदियो। कसरी भने गृहमन्त्रीले? वकिल हुन् ओम प्रकाश अर्याल। मलाई त अचम्म लाग्छ। यो फौजदारी अपराधलाई छानबिन गर्न मैले रोकेको छैन भनेर गौरीबहादुर कार्कीको आयोगले विज्ञप्ति दिइसक्यो। त्यसको अर्थ सरकारको धरातल साह्रै कमजोर छ, म पदमा छु र मेरो पदीय हैसियत छैन भन्ने अनुभूत गरेर बसिरहेको छ।
यही खालका कामकारबाही र सरकारका यस्तै कमजोर अवस्था रहे अगाडिको परिस्थिति कस्तो देख्नुहुन्छ?
बडो खतरनाक छ। अहिले पनि सात हजारभन्दा बढी कैदीबन्दी बाहिर छन्। १२ सयभन्दा बढी बन्दुक र झन्डै एक लाखजति गोली बाहिर छ। गणतन्त्रपछिको पहिलो संविधानसभा चुनावमा लडाकुहरूको त्रास र आडमा हो नि माओवादीले जितेको। यूएनको अनमिनले तिनीहरूलाई एउटा साँचो दिएको थियो। बन्दुक बोकेर लडाकु निस्किए मैदानमा। त्यो त्रासले पनि हो नि त माओवादीले बढी भोट ल्याएको।
मैले त्यतिबेलै भनेको थिएँ - यो त्रासको मत हो, अर्को निर्वाचनमा जान्छ माओवादी। गयो स्वाट्टै। त्यो त्रास फेरि पनि आउन सक्छ। अहिले नै मान्छेको सातो गइसक्यो। हिजोको तथाकथित जनयुद्धले सातो बोलाएका मान्छे हामी जिउँदै छौं। हाम्रो सातो जेनजीले खायो। दुइटाले सातो खाइसकेका हामी अब अपराधीले बन्दुक पड्काउँदै आयो भने के हुन्छ हालत?
चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने हो भने पहिलो सर्त फौजदारी अपराधीहरूलाई तुरुन्त कारबाही गर्न सक्नुपर्यो। जो जेनजी फुर्ती लगाएर समात्न पाउदैनस् भन्छन्, तिनलाई सोध्नुपर्यो– तिमीहरूको लक्ष यही अपराध गर्ने थियो? दोस्रो, आपराधिक तरिकाले तिमीले समस्याको समाधान खोजेको हो र भन्नुपर्यो। तेस्रो, तिमीहरूले भनेको समस्याको समाधान व्यक्तिलाई कारबाही गरेर हुने हो र? चौथो कुरा, तिमीले उठाएका दुइटा अजेन्डा मात्रै देशको समस्या हो र? समग्र समाधानका कुरा गरौं भन्नुपर्यो। यसरी उनीहरूलाई पनि सम्झाउन जरुरी छ।
फेरि पनि कुराकानी गर्दै जाँदा सेनाकै भूमिकाको कुरा आउँछ। सेनाले राजा ल्याउन खोजेका कारण पनि सबै तबाह हुन दियो भन्ने कुरा पनि सुनिन्छ। जेनजीका प्रतिनिधिहरू समेतको बैठकमा सेनाले राजा ल्याउन खोज्नेहरूलाई स्टेक होल्डर भन्दै सँगै राख्न खोजेको पनि सुनियो। यी सबै परिस्थितिलाई कसरी हेर्नुभएको छ?
सेनाको प्रमुखसँग मेरो भेटघाट त भएको छैन तर अचम्म के लाग्यो भने उहाँले दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीका केही मान्छेलाई राखेर स्टेक होल्डर हो भन्नुको अर्थ के हो? त्यसको जवाफ उहाँले दिनुपर्छ। प्रधानसेनापति रहँदा दिए पनि हुन्छ। होइन भने अबकासपछि पनि त्यसको जवाफ त दिनुपर्छ। किनभने इतिहास त निर्मम हुन्छ। अहिले बोल्दा अरू कुनै संवेदनशील कुरा पर्छ भनेर नबोलेको पनि हुन सक्छ। किनभने डिफेन्स त बडो सेन्सिटिभ कुरा हो।
प्रधानसेनापतिले जो दुई÷तीन थरीलाई स्टेकहोल्डर भनेर सँगै राख्न खोज्दा जेनजीका मान्छेले जसरी प्रतिवाद गरे, तीतीप्रति साँच्चै श्रद्धा लाग्यो। कति तेजिला रहेछन् हेर्नुस् त। सिजन पोलिटिक्स गर्ने मान्छेले पनि त्यति चाँडो त्यसरी बुद्धि पुर्याउँदैन तर उनीहरूले बुद्धि पुर्याए। त्यो त महानता हो।
अहिले पनि उनीहरू संविधान, संघीयता, समावेशिता र चुनावका पक्षमा छन्। जबकि उनीहरूको आफ्नो संगठन बनेको छैन। राजनीतिक दलभित्र युवा आवाज सुनिने छ। त्यो युवा आवाजले लोकतन्त्रीकरणको माग गर्ने छ। ती युवा संसद्मा आउनेछन्, भ्रष्टाचार र व्यथिति आमूल रूपमा नष्ट गर्ने एउटा कार्यप्रणाली सिर्जना गर्नेछन् भन्ने उनीहरूको विश्वास छ। त्यो त महानता हो नि। त्यसकारण उनीहरू अन्धकारमा कुदेका छैनन्।
यो आन्दोलनपछाडि नेपालको प्रणालीगत सुधार हुने संकेत केही देख्नुभएको छ?
आज (बुधबार) नागरिक समाजको बृहत् भेला थियो। म जान पाइनँ। मेरो प्रस्ताव के हो भने– अब दलहरूले आफ्नो इतिहास, गौरव र आफ्नो औचित्य स्थापित गर्ने हो भने देशमा के–के परिवर्तन गर्नुपर्छ संविधानमा भन्ने कुरा त ल्याउनैपर्छ। किनभने कांग्रेस–एमालेको सरकार बनाउँदा गरिएको बचनबद्धता हो। जसलाई केपी शर्मा ओलीले अर्को चुनावपछि मात्रै भन्दिए तर त्यो एउटा एजेन्डा र अर्को मुख्य कुरा भनेको जनताप्रति जवाफदेही र सेवाग्राहीको सहजकर्ता बनेको जनप्रशासन। कसरी बन्ने भन्ने कुरा छर्लङ लेख्नुपर्छ। यो काम हामी यसरी गर्छौं भन्नेमा पार्टी–पार्टीबिच प्रतिस्पर्धा हुनुपर्छ। यो कुरामा जुन राजनीतिक दलले सबभन्दा बढी चित्त बुझाउन सक्यो, त्यसले नै आगामी चुनावमा बढी मत प्राप्त गर्छ।
यो सरकारको सुरुका गतिविधिले जेनजीका अपेक्षा र लोकतान्त्रिक प्रणालीभित्र बाँचिरहने नेपालीको चाहना बाँचिराख्ने परिस्थिति देख्नुहुन्छ?
त्यो नगरी धरै छैन। सबभन्दा ठुलो कुरा सरकारमा रहेका सबै मन्त्रीले ६ महिनाका लागि मात्रै आएको हुँ, सकेसम्म कोसिस गर्छु। भएन भने पनि म त जवाफदेही हुनु पर्दैन भन्ने सोच्ने होइन। उहाँहरूले यो ६ महिनामा मुलुकको इतिहासले सम्झने गरी काम गर्छु भन्ने सोच्नुपर्छ। अरूलाई पाँच वर्ष लाग्ला मलाई लाग्दैन। ६ महिना काफी छ। गरेर देखाउँछु भन्ने हुनुपर्छ।
गर्ने भनेको कार्यकारी काम होइन। भोलिको सरकार र संसद्लाई मार्गदर्शन हुने गरी दस्तावेज तयार गर्दिन्छु भन्ने हुनुपर्छ। त्यसको आधारभूत भूमि तयार गर्नका लागि कतिपय कानुनमा अध्यादेश ल्याएर पनि संशोधन गर्दिन्छु। ताकि आगामी सरकार त्यसलाई फलो गर्न बाध्य होऊन्। यो तरिकाले उहाँहरूले सोच्नुभयो भने ६ महिनामा चुनाव मज्जाले हुन्छ। केही मान्छे त्यहाँ बडो लायकका हुनुहुन्छ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धतामा मलाई किञ्चित पनि शंका छैन। उहाँ गर्न सक्नुहुन्छ। उहाँ डग्मगाउने मान्छे पनि होइन तर उहाँको टिम डग्मगाउला कि भन्ने पिर लाग्छ। सबैभन्दा बढी पिर गृहमन्त्री ओमप्रकाश अर्यालकै छ। उहाँका काममा अलि गडबड हुन्छ जस्तो संकेत देखिन थालेको छ।
यहाँ अर्को संलग्नता छ। उहाँ त बालेनको सल्लाहकार हो। बालेनको ढाँचा त हामीले देखेकै छौं। एकपछि अर्को सन्देहास्पद छ। त्यसकारण उहाँ कतै दबाबमा त हुनुहुन्न? अथवा दबाबमै पो गृहमन्त्री हुन जानुभयो कि? त्यसको पनि प्रभाव हुन सक्छ।
दलहरू चुनावमा आउँछन् कि आउँदैनन्?
आउनैपर्छ। चुनावमा आएनन् भने दलहरू सकिन्छन्। उनीहरू एउटा छनोट प्रक्रियाबाट चुनावमा जानुपर्छ। अब उनीहरूले उठाउने उम्मेदवार, ल्याउने एजेन्डा संविधान संशोधनको मात्रै होइन। संविधान संशोधनले कसरी नागरिकलाई सहजीकरण गर्ने, नागरिकको सम्मान गर्ने र नतिजामा आधारित मूल्यांकन हुने खालका नागरिक प्रशासनको व्यवस्था कसरी गर्छ? हाम्रो कूटनीतिक सम्बन्धलाई कसरी व्यवस्थित गर्छ? विश्वसनीय बनाउँछ? उत्ताउलो पाराले हँुदैन।
पार्टीहरू अगाडि बढ्दा नेतृत्वमै आमूल परिवर्तन गरेर जानुपर्छ। किनभने दोष एउटालाई मात्रै दिएर हुँदैन। टुलुटुलु हेरेर बस्ने, उल्टै श्रद्धेय भनेर पछिपछि लागेर हिँडे। जसले उचाल्ने काम गरे, तिनीहरूलाई त त्यो पार्टीबाट सधैंका लागि फाल्दिए हुन्छ। कामै छैन। गल्ती गर्ने मात्रै दोषी होइनन् नि। त्यो गल्तीको ढाकछोप गर्ने त्योभन्दा ठुलो दोषी हो। ६ महिनामा चुनाव गर्न सजिलो छ। पार्टीको रूपान्तरण पाँच महिनाभित्र गर्न गाह्रो छ। किनभने तह नै सखाप छ। ढोका खोलिदिए पनि उड्न नसक्ने पिँजडामा थुनिएका सुगाजस्तै कुँजिइसकेका छन् कार्यकर्ता र नेताहरू। त्यो उनीहरूले गर्नैपर्छ। चुनावबाट भागेर काइते कुरा गरेर हुँदैन। कांग्रेस–एमालेका मान्छेले संसद् पुन: स्थापनाका लागि मुद्दा हाल्ने भन्ने सुन्दै छु। यो जस्तो लफंगा कुरा अरू केही हुन सक्दैन। जनताको आन्दोलन न्यायाधीशको अदालतभन्दा माथिको कुरा हो नि।
जेनजी आन्दोलनले समग्र प्रणालीलाई सुधार गरेर नेपालको भविष्य उज्यालो बनाउँछ?
यो विरोधले एउटा झिल्काको रूपमा काम गरेको छ। त्यो झिल्काबाट छरेको प्रकाशले धेरै विषय उजागर गरेको छ। तिनीहरूका बारेमा जेनजीले छलफल गर्न भ्याएका छैनन्। किनभने त्यहाँ पनि तालतालका र सन्देहास्पद मान्छे पनि छन्। त्यो झिल्काको उज्यालोमा प्रकट भएका विषयहरूको भरपर्दो समाधानको एजेन्डा लिएर जाने कुरा राजनीतिक दलहरूको काँधमा छ। त्यो जिम्मेवारी निर्वाह गर्न सके यी दलहरू फेरि बौराउँछन्। सकेनन् भने धुलिसात भएर सकिन्छन्।
प्रकाशित: २४ आश्विन २०८२ ०७:४३ शुक्रबार





