पुकार बमको राजनीतिक यात्रा तत्कालीन विवेकशील नेपाली दलबाट सुरु भएको हो। आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका बम जाँगरिला युवाका रुपमा चिनिन्छन्। नागरिक फ्रन्टलाइनको बुधबारको शृंखलामा बमले रास्वपाको राजनीति, भावी चुनाव लगायतका विषयमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग लामो संवाद गरेका छन्। प्रस्तुत छ– बमसँगको कुराकानीको सम्पादित अंश।
पछिल्ला केही दिनयता चुनावी घरदैलो कार्यक्रममा देखिनुभएको छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
सोचेभन्दा धेरै राम्रो छ। त्यो क्षेत्र आफैंमा संवेदनशील र देशभरिकै चासो भएको ठाउँ भएकाले त्यहाँ उठेका उम्मेदवार के गर्छन्, कस्ता कुरा राख्छन्, के बोल्छन् आदि विस्तृत जानकारी खोज्ने ठाउँ रहेछ। घरदैलो जाँदै गर्दा उहाँहरूका प्रश्न, चासो ठ्याक्क थाहा हुन्छ। उम्मेदवारको हिसाब र मत लगानीकर्ताको हिसाबले पनि कहीं न कहीं मिलेजस्तो भएको छ।
तपाईंलाई मतदाताले चिन्दा रहेछन् नि?
चिन्नुहुँदो रहेछ। विगतमा वैकल्पिक अभियान र सँगसँगै उम्मेदवार र त्यतिखेर रास्वपाको पहिलो उम्मेदवार म काठमाडौं क्षेत्र नं १ मा हुँदै गर्दा भन्दा पनि विवेकशील अभियान उज्ज्वल थापा दाहरूसँगका विभिन्न अभियानमा र १६ वर्षदेखि अध्यापन गराइरहेका कारण थुप्रै विद्यार्थीलाई भेटें। त्यसकारणले केही हदसम्म मेरो आफ्नो सामाजिक पृष्ठभूमि त्यो अभियान र एक्टिभिजमले अलि बढी चिन्नुहुँदो रहेछ।
पहिले एक नम्बरमा हुनुहुन्थ्यो, अहिले किन चारमा जानुभयो?
पार्टी ठुलो भयो। पार्टीले एक खालको ठुलो जिम्मेवारी पनि दिएको हो। अन्तिम समयसम्म काठमाडौंलगायत विभिन्न ठाउँका चारदेखि पाँचवटा निर्वाचन क्षेत्र एकदम संवेदनशील क्षेत्रका रूपमा बाँकी राखिएको थियो। चारदेखि पाँचजना बलिया उम्मेदवारको पनि घोषणा भएको थिएन। त्यही स्थितिमा चारको कुरा आउँदै गर्दा सशक्त उम्मेदवार पठाउनुपर्ने भएकाले छलफलका क्रममा मैले रोजेको हुँ। गगन थापा दाइ सर्लाही जाने कुरा नहुँदै निर्णय गरेको हुँ।
अघिल्लोपटक रास्वपाले यो क्षेत्रमा उम्मेदवार उठाएन। समानुपातिकमा करिब साढे नौ हजार मत मात्रै थियो। गगन थापाले २१ हजार मत ल्याएर जित्नुभयो, यसपालि तपाईंको अनुमान कस्तो छ?
उम्मेदवार नै नहुँदाको बखत साढे नौ हजार मत आइसकेपछि पृष्ठभूमि र विरासत बोकेको उम्मेदवार हुँदै गर्दा जित्नेभन्दा पनि कति मतमतान्तरले जित्ने भन्ने कुरामा अभ्यास भइरहेको छ। अहिलेसम्मको हिसाबले मतान्तर बढाउन हामीले ३२ हजार मत ल्याउनुपर्छ भन्ने छ। त्यहीअनुसार अगाडि बढिरहेका छौं। जितका लागि त लगभग सम्भवतः १८ देखि २० हजारमै निर्णय हुन्छ। हामीले सातदेखि १० हजारको मतान्तरको हिसाबले अगाडि बढिरहेका छौं।
घरदैलोमा जाँदै गर्दा मतदाताको चाहनाचाहिँ के पाउनुभयो?
म त एकदमै आश्चर्यमा छु। विरासत बोकेको राजनीतिक गढ र किल्ला भन्ने यहाँ एक खालको भाष्य छ। पूर्वउम्मेदवारले तीनचोटि जितेको र त्यसअघि २०५६ मा सुप्रभा घिमिरेलगायतले पाँचचोटि लगातार जितेको ठाउँ पनि हो तर पानी, ढल, खोला, अर्बन प्लडिङ, बागमती सभ्यतासँग जोडिएका आदि समस्या छन्। ३०/४० वर्षअगाडि पनि त्यही समस्या र अहिले उम्मेदवारका रूपमा जाँदा पनि त्यही समस्या छ।
अहिलेसम्म उहाँहरूकै सरकार, उहाँहरूकै प्रधानमन्त्री, आफैं मन्त्री, वडा तहसम्म आफ्नै सरकार हुँदै गर्दा जीवन निर्वाहका लागि चाहिने न्यूनतम पूर्ति हुन सकेको छैन। रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्ध त धेरै परका कुरा, न्यूनतम आवश्यकताका कुरा, ४० वर्षदेखि त्यहाँबाट जित्दै संसद्मा यो गर्छु, त्यो गर्छु भन्दा कम्तीमा हामीले देख्न पाएनौं। अहिले त्यो आक्रोश हामीमा पोखिराख्नुभएको छ। त्यो आशासहितको आक्रोश हो। उहाँहरूले हामीलाई यति धेरै चुनौती थपिदिनुभएको छ कि एक त भत्किएका, बिग्रिएका कुरा हामीले मिलाउनुपर्ने छ। त्यसपछि बनाउनुपर्ने छ। हामीले पाँच वर्षको स्थिर एकल बहुमतको सरकार किन भनिराखेका छौं भने डेढ/दुई वर्ष उहाँहरूले ४० वर्षदेखि बिगारिरहेको, भत्काइरहेको ठाउँमा मिलाउन समय लाग्छ। हामीले गर्ने भनेको सम्भवतः दोस्रो वर्ष सकिसकेपछि हो।
लगातार जित्दै आउनुभएका कांग्रेस सभापति गगन थापाले स्थान परिवर्तन गर्दा तपाईंलाई अझ सजिलो भयो जस्तो लाग्छ?
म जुन कारणले हिम्मत गरेर यो ठाउँमा आएँ। विरासतको राजनीतिको विरुद्धभन्दा पनि त्यो–त्यो भाष्य भत्काउनका लागि आएँ। गगन थापा नहुँदैमा सजिलो हैन। उहाँले सजिलो पार्दिनु भयो त्यो एउटा ठाउँमा छ तर साँच्चिकै युद्ध मैदानमा जाँदै गर्दा जुन प्रतिस्पर्धाको अनुहार हेरेर गएको थिएँ, नदेख्दा अलिकति नमज्जा लागेको छ।
तपाईं आफैं पनि युवा हुनुहुन्छ, जेनजी आन्दोलनपछाडि कतिपय दलहरूलाई मिलाउने ती अभियानलाई एक ठाउँमा जोड्ने संयोजक भएर पनि काम गर्नुभयो। युवाहरूका एजेन्डा के रहेछन्?
उहाँहरूले एकदम ठुलाठुला माग गर्नुभएको छैन। यही देशकै माटोमा, बसेकै ठाउँमा सम्मानित तरिकाले घरपरिवारसँगै उद्यमशील गरेर बस्नखान पाइयोस् भन्ने चाहना छ। काम गर्दै गर्दा अपमानित हुन नपरोस्। सामान्य ५० हजारको जागिर भएर परिवारसँग दुःखसुखका साथ बस्न खोजेका छन्। अर्को शिक्षासँग जोडेको कुरा छ। म आफैं पनि १६ वर्षदेखि पढाइरहेको छु। कलेजमा काम गर्छु। अहिलेको शिक्षा प्रणाली बेरोजगार बनाउने खालको छ। शिक्षा सिपसँग जोडिओस्। सिपबाट रोजगार सिर्जना होस्। त्यति मात्र होइन रोजगारपछि इकोसिस्टममा मास प्रोडक्सनमा जाओस्। अनि बल्ल चल्ने हो नि।
रास्वपा प्रधानमन्त्रीको उम्मेदवार नै तोकेर चुनावी मैदानमा होमिएको छ, यस्तो फरक गर्न किन आवश्यक ठान्नुभयो?
राजनीतिमा ३०/४० वर्षदेखि नेपाली नागरिकलाई बेइमानी गरिएको छ। जितेर संसद्मा गइसकेपछि मोजमस्ती हुँदो रहेछ। नम्बरको खेल हुँदो रहेछ। दुईदुई ठाउँबाट हारेको मान्छे पनि प्रधानमन्त्री हुँदो रहेछ। सबैभन्दा ठुलो समस्या हामीले देख्यौं। त्यो देखेरै हामीले आफ्ना उम्मेदवार सबैलाई खुलारूपमा पार्टीभित्र र बाहिर कहीं पनि विवाद नहुने गरी अगाडि सा¥यौं। राजनीतिक बेइमानी चिर्न रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेको हो। यो रणनीति हो। अहिले केपी ओली र गगन थापाले पनि भनिराख्नुभएको छ।
रास्वपाको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र साह केपी ओलीसँगै प्रतिस्पर्धा गर्न जानुभयो,। यो प्रतिस्पर्धापछाडिको उद्देश्य के हो?
स्पष्ट छ, बालेन साहको एक्लो निर्णय हो। त्यसमा पार्टी सहमत भयो। लालमोहर भयो। हामी खुसी भयौं। उत्साहित भयौं। कम्तीमा प्रधानमन्त्रीका उम्मेदवारको सहज विजय हुनुपर्छ भन्ने खालको हिसाबले कसैले महोत्तरी आफ्नै जन्मथलोको कुरा पनि गरे। कसैले काठमाडौं– २ का लागि सुझाव दिँदै गर्दा उहाँले राखेको तर्कमा हामी सहमत भयौं। मलाई खुसी पनि लाग्यो। कारण के थियो भने– एउटा पात्र केपी ओली मात्र हैन। केपी ओली प्रवृत्ति हो। जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचारविरुद्ध जवाफ माग्न गएका स्कुल ड्रेसका कलिला भाइबहिनीमाथि गोली चलाई एकै दिन १९/२० जना ढले अनि धेरैले बालेनलाई लुसिफर भने। यसको ग्राइन्ड डिजाइनर भने। उसले उक्साहट गर्यो भने। त्यो पीडा थियो नि बालेनमा। त्यो बदला होइन। त्यो प्रवृत्ति तोड्नुपर्छ, रोक्नुपर्छ। जेनजीहरूले बालेनलाई प्रधानमन्त्रीका रूपमा हेर्नुभएको थियो। उहाँहरूका आकांक्षा, इच्छा र जेनजी आन्दोलनले दिएको जनादेशलाई कसैले पूरा गर्छ र कसैले जिम्मा लिन्छ भने त्यो बालेन नै हो। बालेनले केपी ओली प्रवृत्ति रोक्दा नै बल्ल सही अर्थमा जेनजी सहिदप्रतिको वास्तविक श्रद्धाञ्जली अर्पण गरेको ठहरिन्छ।
त्यसकारण कसैलाई हराउन होइन, एकदम सुझबुझ तरिकाले र युगले दिएको ठुलो जिम्मेवारी र दायित्व बोध गरेर बालेन त्यहाँ जानुभएको हो। कतिपयले भने– कसैलाई भेट्न गएनन्, श्रद्धाञ्जली पनि दिएनन्। स्टाटस लेखेर घरमै लुकेर बस्यो, लुसिफर भयो भन्ने खालको आरोपले कहीँ न कहीं पीडा त भयो। एउटा ३५ वर्षको भर्खरको युवालाई जसरी खेदिएको छ, त्यो सबैको दायित्व बोकेर देशलाई एउटा दिशा दिन हामी पछाडि छौं। उहाँले गरेको आँट सामान्य होइन, यो ४० वर्षदेखिको प्रवृत्ति रोक्नैपर्ने छ।
नेपालमा धेरै षड्यन्त्रका सिद्धान्त चल्छन्, यस हिसाबले कतै उहाँलाई हराउन पो झापामा लगिएको हो कि भन्ने चर्चा पनि छ नि?
जसले यो चर्चा चलायो, उहाँहरू कसरी परिचालित हुनुभएको छ ? उहाँहरूको प्रेरणास्रोत के हो ? उहाँहरू किन त्यसरी बोलिराख्नु भएको छ ? रिसर्च गर्दा १५ मिनेटमै नतिजा आउँछ। उहाँहरूलाई बोल्ने केही पनि आधार छैन। छटपटी छ। पार्टी–पार्टीमा भाँजो हाल्ने कि ? उहाँहरूले बुझेजानेको जुन परम्परागत राजनीति षड्यन्त्रको सिद्धान्त हाल्दियो भने केही चिज पाक्छ कि भन्ने छ। त्यसमा हामी सचेत छौं।
षड्यन्त्रको सिद्धान्तकै कुरा गर्दा, एकथरी मान्छेले खास शक्तिले नै तपाईंहरूलाई अगाडि बढाएका कारण त्यसले नेपालको हित गर्दैन भनेर चर्चा गरिराखेका छन् नि?
अहिलेसम्मको नेपालको इतिहासमा छिमेकीको आशीर्वाद नलिईकन प्रधानमन्त्री बन्दैन भन्ने खालको कुरा हामीले देखेको हो नि। सरकार परिवर्तन हुने बेला कसैको पेट दुख्छ। कोही टाउको दुखेर सिंगापुर जान्छन्। कोही ग्यास्ट्रिक लागेर दिल्ली जान्छन्। कोही अमेरिका जान्छन्। यो त नागरिकले देखिराखेका हुन् नि।
यति भन्दै गर्दा कूटनीतिक रूपमा हामी जो–जो छिमेकीसँगको सम्बन्धमा छौं। नयाँ सम्बन्ध स्थापित गर्न हामी यो कुरामा विश्वास गर्दैनौं। म वार्ता समिति संयोजक हुँदै गर्दा सयौं, हजारौं व्यक्ति र समुहसँग भेटें। स्वार्थ समूहसँग पनि भेटें तर हामी डग्मगाएनौं। हाम्रा लागि राष्ट्र पहिलो थियो। जेनजी जनलहरमा रगतको आहालमा टेकेर बनेको जुन सरकार छ, जुन चुनाव आएको छ, त्यसको मर्म हामीलाई थाहा छ। नागरिकले बोले हामी त्यसलाई लिन्छौं, मान्छौं। त्यसबाहेक पुराना प्रवृत्ति बोक्ने कुनै पात्रले नेतृत्वले लिन्छ भने त्यो हामी मान्दैनौं।
नेपालमा भूराजनीतिको प्रभाव कति छ, महसुस गर्नुभएको छ?
निकै छ। यो त जगजाहेरै छ। यो असामान्य पनि त छैन। किनकि नेपाल यस्तो ठाउँमा छ, जुन यो भूराजनीति मात्र हैन, पुूरा सत्ता परिवर्तनसँग जोडिएको छ। विश्व राजनीतिमा एसियातिर आउँदै गर्दा त्यसको स्वाभाविक रूपमा ठुलाठुला राष्ट्रहरूको चासो रहन्छ। नेपाल चीन, भारत र अमेरिकाको स्वार्थको ठाउँमा छ। यसलाई नकार्नै मिल्दैन। उहाँहरूको पनि आफ्नो राष्ट्रिय स्वार्थ हुन्छ, तर हामी उदाउँदो मूलधारको पहिलो शक्तिका रूपमा आउँदै गर्दा आफ्नो राष्ट्रिय स्वार्थ सबैभन्दा माथि छ कि छैन? त्यो हुँदै गर्दा बाँकीले खेल्न खोज्छन्। त्यो खेल्दै गर्दा हाम्रो सीमा कहाँसम्म हो? हामी पनि खेलमा जान्छौं र उहाँहरू पनि खेलमा आउनुहुन्छ। तर त्यो खेलमा हाम्रै राष्ट्रिय स्वार्थले जित्नुपर्छ। त्यति सचेत हुनैपर्छ।
वरिष्ठ नेताका रूपमा रास्वपा प्रवेश गरेका बालेन साह प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हुनुहुन्छ, उहाँले पार्टीमा हाइज्याक गर्नुभयो भन्ने चर्चा पनि छ, यसलाई कसरी चिर्नुहुन्छ?
त्यसो भन्ने मान्छेलाई हेर्नुपर्छ। ती व्यक्ति र पात्रलाई हेर्नुपर्छ। हामीसँगै जोडिएका साथीहरूले भन्नुभएको छ भने हामीले सोच्नुपर्छ तर पुराना पार्टीका नेतृत्व, हारेका, थाकेका, सकिन लागेका, अस्तित्वविहीन हुन लागेकाहरूबाट यस्ता कुरा आउनु स्वाभाविक हो। हाइज्याक होइन उहाँ संगठन विस्तारमा गइराख्नुभएको छ। एकै दिन ६/६ वटा जिल्ला भ्याइराख्नुभएको छ। उहाँले मज्जाले आफ्नै ठाउँमा बसेर स्टाटस मात्र लेखेर पुग्थ्यो होला नि। किन मेहनत गरिराख्नुभएको छ। उहाँलाई सबैले सघाइ राख्नुभएको छ।
समायोजन हुँदै गर्दा उहाँहरूले ठुलो भाग खोज्नुभएन। जम्मा ३० प्रतिशत मात्र हो। ७० प्रतिशत त संस्थापनसँग जोडेको रास्वपाकै साथीहरू हुनुहुन्छ। उहाँ त एउटा समुह भयो, हामी एउटा परिवारका रूपमा भयौं भनेर दौडिराख्नुभएको छ। यता रवि लामिछाने पार्टी अध्यक्ष आफ्नो तरिकाले काम गरिराख्नुभएको छ। हामी आफ्नो तरिकाले काम गरिरहेका छौं। बालेनजी सम्भावित प्रधानमन्त्रीको उम्मेदवारका रूपमा राखिरहेका छौं। त्यसले हाइज्याक होइन। पार्टीका लागि स्केल अप गरिरहेको छ। धेरै माथि पुर्याइरहेको छ। त्यसमा हामीलाई गर्व छ।
जता जाँदा पनि बालेनले जुन ‘हाइहाइ’ पाइराख्नुभएको छ, त्यसले पार्टीका पुराना नेता, सभापति रवि लामिछाने र डिपी अर्याल आदिमा इस्र्याको भाव पैदा भएको त छैन?
त्यो त गर्वको कुरा हो। कहाँ इर्ष्या छ? इष्र्या भएको भए हुँदाखाँदाको प्रधानमन्त्रीको सबभन्दा ठुलो दाबीकर्ता त हाम्रा पार्टी अध्यक्ष रवि लामिछाने हो नि तर उहाँले किन त्यो सहर्ष स्वीकार गर्नुभयो त? यो जतिको महानता, त्याग केही हो भन्ने त्यो कारणले हामी त खुसी छौं। हामी गर्व गर्छौं। हामीलाई पनि लागेको थियो कतै सँगै बस्न मिल्ने हो कि होइन? जुँगाको लडाइँ हुन्छ कि? रास्वपामा भोलिपर्सि पार्टी अध्यक्षको प्रशिक्षण छ। समानुपातिक उम्मेदवार र प्रत्यक्ष उम्मेदवारहरूलाई दुई दिनको प्रशिक्षण छ। संगठन उहाँ (सभापति रवि लामिछाने) ले हेर्नुहुन्छ। अभियानको अभियानको अनुहार (फेस अफ द मुमेन्ट) को हिसाबले उहाँ (वरिष्ठ नेता बालेन्द्र साह) ले हेरिराख्नुभएको छ। मिलेर काम गरिराख्नुभएको छ। हामीले चाहेकै यही हो।
कुलमान घिसिङ पनि आउनुभएको थियो फर्किनुभयो, किन राख्नुभएन?
अझ पनि सम्झन्छु। केन्द्रीय वार्ता संयोजकका रूपमा पहिलोपटक गणेश कार्कीसहित हामीले सम्पर्क गर्दै गर्दा जुन खालको सहमतिमा पुग्यौं, त्यसमा म उहाँलाई दोष दिन्न तर उहाँसँग जोडिएका केहीको व्यक्तिगत स्वार्थमा कुलमान सर फस्नुभयो। म अझै पनि भन्छु– ठुला मुद्दा केही थिएन। सामान्य व्यावहारिक कुरा थिए। मिलाउन सकिन्थ्यो। सबै दोष उहाँलाई मात्र दिन्न। त्यो समयको चाप थियो। दाइ (कुलमान) सँग समानुपातिकका उम्मेदवारको लिस्टिङ गर्दै गर्दा हामीसँग जम्मा दुई/तीन घन्टा मात्र बाँकी थियो। त्यसपछि उम्मेदवार समायोजन गरिसकेपछि जस्तै यतातिर ३० प्रतिशत यता २० प्रतिशत गरेर बाँकी रहेको रास्वपाबाट मिलाउँदै गर्दा हुन्थ्यो। केही साथीहरूको व्यक्तिगत इगो र स्वार्थका कारणले मिलिसकेर हस्ताक्षर भएर अँगालो हालेपछि छुट्टिनुप¥यो। अझै पनि हामीलाई आस छ– भोलिको दिन हामीसँगै हुनुपर्छ। यति भन्दै गर्दा म गाली खान्छु होला।
रास्वपाले कुलमानलाई धोका दिएको आरोप छ, किनभने उहाँका कतिपय मान्छे त रास्वपामै बसे त?
डाक्टर तारा जोशी संवाद समितिको संयोजक नै हुनुहुन्थ्यो। म वार्ता संयोजक थिएँ। हामी तीनचार चरणमा कुरा गर्दै गर्दा, दिगो रूपमा कसरी जाने भन्दै गर्दा उहाँहरूले त्यो बुझ्नुभयो। बाँकी १५/१६ जनाले बुझ्नुभयो। रिमा (विश्वकर्मा) जीहरूले बुझ्नुभयो। भविष्य कहाँ छ? नागरिकका मुद्दा उठाइसकेपछि त्यो शक्तिको अवस्था र प्राधिकार त चाहियो। त्यो रास्वपासँग थियो। सुझबुझ तरिकाले लगभग ६० प्रतिशतजति साथीहरूले त्यो निर्णय गर्नुभयो।
बालेन र कुलमानलाई ल्याउन जति सजिलो भयो, कुलमानलाई ल्याएर अड्याउन त्यति गाह्रो भयो हैन?
बालेनले एकदम छिटो हुन्छ भन्नुभयो। कुलमान सरले एक युगमा, एक कालखण्डमा एकपटक मात्रै आउने अवसर गुमाउनुभयो। सुरुमा बालेन प्रधानमन्त्री वा पार्टीको वरिष्ठ भन्ने केही पनि थिएन। बालेनजीले स्पष्ट भन्नुभएको थियो– तपाईंहरू मिल्नुस्, वैकल्पिक र समान मुद्दा भएका साथीहरू एक ठाउँमा आए समर्थन हुन्छ। त्यही बेला कुलमानजी प्रधानमन्त्री, चुनावी कमान्डरलगायतको कुरा थियो तर हामीले अध्यक्षमा नचलाउनुस् है भनेका थियौं। एकजना मान्छे प्रतिशोधमा परेर एक वर्षदेखि जेलभित्र हुनुहुन्छ। उहाँले बनाएको पार्टी, उहाँले चलाएको अभियान कम्तीमा अध्यक्ष नचलाइदिनुस् भनेर कुरामा संवाद मिलेन र त्यो एक युगको मौका कुलमान सरले गुमाउनुभएकै हो।
व्यक्ति बालेन आउनु र पार्टीसहित कुलमान आउनु फरक थियो होला नि?
उहाँको त्यो पार्टी खोलेको ७/१० दिन त भएको थियो। ५० प्रतिशत साथीहरू हामीले पठाएका थियौं। किनभने त्यो ठाउँमा पछि भोलिका दिनमा अनेक थोरै स्वार्थ समूह जोडिन सक्छन्। त्यो यताउता नहोस् भन्ने खालको छ। गलत सोचले होइन, सकारात्मक सोचले नै गरेको हो। किनभने अन्ततः हाम्रैमा आउने हो। उहाँलाई पनि व्यक्तिभन्दा पार्टी नै गए संवादमा सजिलो हुन्छ भने भयो। त्यो बुझेरै उहाँले पार्टी निर्माण गरेर संगठन विस्तारमा लाग्नुभएको थियो तर उहाँको संरचना र संगठन हुनुअगाडि नै उहाँलाई प्रधानमन्त्री प्रस्ताव म आफैंले डिपी सरलाई सहमत गराएको हो। स्वर्णिम वाग्ले दाइ सहमत हुँदै गर्दा उहाँलाई दाइ यही कुरा तपाईंले सार्वजनिक रूपमा बोल्नुपर्छ। भनेको म उपाध्यक्ष छाडेर प्रधानमन्त्री दिन तयार छु। मान्न तयार छु, स्वीकार गर्न तयार छु भनेको हो। यो पार्टी बन्नुभन्दा अगाडिको कुरा। यो सच्याउन सकिन्छ। अझै पनि समय छ। सम्भावनाको ढोका अझै पनि खुला छ।
हिजोका प्रवृत्तिमाथि प्रश्न उठाउने तपाईंहरूका प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले नै उद्योगी–व्यवसायीको महँगो गाडी चढ्नुभएको छ, यो के हो?
यो प्रश्न उठेको छ। यसको जवाफ बालेनजीले नै दिनुपर्छ। यो अतिरञ्जना बनाउने खालको विषय होइन जस्तो लाग्छ तर नागरिक स्तरबाट प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनुपर्छ। मलाई आशा छ– हाम्रा वरिष्ठ नेता, हाम्रा भावी प्रधानमन्त्रीले यसबारेमा स्पष्टरूपमा बुझाउनुहुन्छ।
बालेनले प्रेसलाई सामना नै गर्नुहुन्न। अन्तरवार्ता पनि दिनु हुन्न, भेट्नु हुन्न भन्ने आम गुनासो छ, त्यसमा तपाईंहरूले उहाँलाई केही सुझाव दिनुभएको छैन?
पुकार बम नेतृत्वको व्यक्तित्व हेर्नुभयो भने ऊ लडाकु हो। ऊ मैदानमा जाने हो। ऊ अभियानमा जाने हो। यता पार्टी अध्यक्ष रवि लामिछानेलाई हेरे मासलाई सहमत गराउन सक्ने कुरा हो। हामीले जुन कुरा १०/२० दिनमा एक महिनामा भन्नुपर्ने कुरा उहाँले त्यो मासलाई एकैचोटी भन्न सक्नुहुन्छ तर बालेनजी शान्त रणनीतिक समुहसँग बसेर परिणाममुखी काम गर्ने मान्छे हुनुहुन्छ। यो सबै चिजको फ्युजन भएको हो। अब मासलाई प्रभावित गर्न मास मिडिया अन्तर्वार्तादेखि पब्लिकमा पनि सामना गर्नुपर्छ। यो भन्दै गर्दा मान्छेले के बुझ्नुपर्छ भने नतृत्वको आफ्नै स्टाइल हुन्छ। जस्तो उहाँले पूर्णतः संवाद नै नगरेको हैन नि। जस्तै– सोसल मिडियादेखि लिएर महानगरपालिकाको फेसबुक पेजहरूमा प्रश्न आइसकेपछि तथ्यसहितको लिखित जवाफ दिनुभएकै हो नि। अन्तर्वार्ता दिएर मात्र मिडिया र पब्लिकसँग खुल्यो भन्न मिल्दैन जस्तो लाग्छ।
प्रधानमन्त्रीका उम्मेदवारहरूबिचको डिबेटमा बालेनले गरेको अस्वीकारलाई कसरी लिनुभएको छ?
उहाँले भन्नुभन्दा अगाडि यस्तै कुनै एउटा फोरममा मलाई पनि प्रस्ताव गरिएको थियो। उहाँले दिएको स्टेटमेन्ट र उहाँले लिनुभएको अडानमा मेरो सहमति छ। हिजोका दिनमा जो प्रधानमन्त्री भएर, गृहमन्त्री भएर आदेश दिने, नेतृत्व लिने ठाउँमा त उहाँहरू हुनुहुन्थ्यो नि। अहिलेको जेनजीले के चाहेका छन्? एउटा क्षमायाचना चाहेको हो नि। एउटा सामान्य ७०/८० जनालाई ड्याङ–ड्याङ गोली हानेर मारेको छ। एउटा सामान्य क्षमायाचना पनि छैन। आत्मसात पनि गरेको छैन। जेनजीलाई फेन्टा चोर त सुन्तला चोर भनिरहेको छ अनि उनीहरूले हामीसँग डिबेट गर्दा त्यो फोरममा सुशासन र भ्रष्टाचारविरुद्ध बोल्न सुहाउँछ ? हामीले त्यो सुन्ने हो ? म त सुन्न सक्दिनँ।
उहाँहरू हाम्रो लेभलमा आएर डिबेट गर्न कम्तीमा त्यो लेभल उहाँले माथि गर्नुपर्छ। हामी उहाँहरूसँग एउटै फोरममा गएर सुशासन, भ्रष्टाचारका बारेमा कुरा गर्नु भनेको हामी त्यो लेभलमा खस्नु हो। हामीलाई त्यो म्यान्डेट छैन। त्यो नैतिकता छैन। हामी त्यो गुमाउँदैनौं। त्यसले बालेनजीले जे गर्नुभएको छ, मलाई गर्व छ। त्यसमा कुनै पश्चात्ताप छैन। जानु हुँदैन। त्यो ट्यापमा पर्नु हुँदैन।
पार्टी अध्यक्ष रवि लामिछाने पछिल्ला दिनमा एकदमै मौन देखिनुभएको छ, केही पाक्दै छ कि?
अहिले अलि अस्वस्थ हुनुहुन्छ। अलिकति केयरलेस भयो। समयमा सुत्ने खानेदेखि दौडेपछि दौड्यादौड्यै, बिहानदेखि बेलुकासम्म निरन्तर काम गरिरहनुहुन्छ। अलिकति त्यो लापरबाहीले आमसभामा इन्फेक्सन बढेपछि पूर्ण आराम गर्नुपर्छ हिँड्नु हुँदैन। संक्रमण बाहिरबाट आउँछ भनेर डाक्टरकै सल्लाहमा हो। एकदुई दिनपछि प्रशिक्षण कार्यक्रम छ। उहाँ सक्रिय रूपमा आइसक्नुभएको छ।
पार्टी सञ्चालनका काम कसरी भइरहेको छ?
अहिले पार्टी अध्यक्ष रवि लामिछाने, प्रधानमन्त्री बालेन साह, वाचा पत्र र नीति विचारको मास्टरमाइन्ड स्वर्णिम वाग्ले, अभियानमा पुकार बमहरू हुनुहुन्छ। सामूहिक नेतृत्वमा गइरहेको छ। सामूहिक रूपमा काम गरिरहेका छौं।
निर्वाचनपछि रास्वपा कति ठुलो दल बन्ला?
संविधानमा धेरै कुरा संशोधन गर्नुपर्ने छ। सम्भवतः यही प्रक्रियामा मेरो लागि यो चुनाव अन्तिम हुन्छ होला। किनभने हाम्रो राजनीति, देश, समाज एउटा चुनावबाट अर्को चुनावमा मात्रै सीमित भयो। त्यो पनि पूर्णकाल कसैले काम गर्नै पाएन। त्यो सबै समस्याको जड निर्वाचन प्रक्रिया नै हो। त्यसका लागि हामीले दुईतिहाइ ल्याउनुपर्छ। हाम्रो लक्ष्य भनेको दुईतिहाइ हो। त्यो नसकिएला। कम्तीमा एकल बहुमतको सुविधाजनक पाँचबर्से स्थिर सरकार हो। त्यो भनेको १३८ मा पार लगाउँछौं। १४०/४५ सम्म पुग्दै गर्दा पनि नेपाल हो। हामीले संसदीय अभ्यास पहिले पनि देख्दै आएका छौं। ५० लाखमा मान्छे नबिक्ला एक करोडमा नबिक्ला तर १० करोडमा एउटा घर र गाडीमा सम्भावना बढी हुन्छ। त्यसकारण कम्तीमा १० देखि १५ सिट एडभान्टेजको हिसाबले १५० जस्तै हाम्रा डाक्टर स्वर्णिम वाग्लेको १५१ को जुन टार्गेट छ, त्यसमा पाँचबर्से स्थिर सरकारका लागि दौडधुपमा छौं।
प्रत्यक्ष र समानुपातिकमा कति–कति आकलन गर्नुभएको छ?
प्रत्यक्षको १६५ मा लगभग ७०÷८० ल्याउनैपर्छ। ११० जना समानुपातिकको कम्तीमा ७० कटाउनुपर्छ। चुनावपछाडि हामीले बलियो प्रतिपक्षका रूपमा कांग्रेस र एमाले पाउँछौं।
चुनावपछाडिका पाँच वर्ष कस्ता हुन्छन्? नेपाल कुन ठाउँमा पुग्छ?
हामीले पाँच वर्षलाई अवमूल्यन गरे रास्वपालाई बिग्रन र माइनसमा जान पाँच वर्ष पर्याप्त हुन्छ। कम्तीमा हामीलाई यो कुराको हेक्का छ। बालेनजी र पार्टी सभापति रवि लामिछानेलाई पनि छ। पाँच वर्ष काम गर्नका लागि थोरै समय हो तर हामीले दिनरात एउटै गर्नुपर्छ। अबको १५ महिनापछि आउने स्थानीय सरकारमा पनि हामीले त्यहीअनुसारले भोट मागिरहेका छौं। तीन तहको सरकारमा हामीलाई विश्वास गर्नुपर्छ। त्यसपछि हामीले डेलिभर गर्छौं। तीन वर्षमा त्यसले त्यो नतिजा दिन्छ। सामान्य शिक्षा, रोजगारी, स्वास्थ्यका कुरा र न्युनतम सम्मानजनक जीवनको आधार रास्वपाले बसाउँछ। त्यसपछि को मान्छे आयो को गयो भन्ने मतलब पनि हुँदैन। हामीले गर्न खोजेको एउटा न्युनतम आधार पाँच वर्षमा ४० वर्षदेखि सिन्डिकेटले थोपरेको फोहोर सफा गर्नुपर्ने छ। बाँकी तीन वर्षमा पुनर्निर्माण पनि गर्नुपर्ने छ। त्यो हामी सक्छौं।
प्रकाशित: १६ माघ २०८२ ०९:१७ शुक्रबार





