२९ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

मेरो घरमा आगो लगाएर बनेको सरकार होइन यो?

नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने धारणालाई उठाउँदै आएका छन्। गत भदौ २३ को जेनजी आन्दोलन र त्यसैको आडमा भएको तोडफोड, आगजनी र विध्वंसपछि भदौ २४ मा राजीनामा गरेर हटेका प्रधानमन्त्री ओलीले मुलुकको तत्कालीन अवस्था, वर्तमान राजनीति र भोलिको नेपालबारे ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधबार प्रधानसम्पादक गुणराज लुइँटेलसँग भक्तपुरको गुन्डुस्थित आफ्नो निवासमा डेढ घन्टाभन्दा लामो कुराकानी गरेका छन्। प्रस्तुत छ– अध्यक्ष ओलीले व्यक्त गरेका विचारको सम्पादित अंश।

भदौ २३ सम्म मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्री हुनुहुन्थ्यो। जेनजी विद्रोहपछि बालुवाटारबाट भक्तपुरको गुन्डु गाउँमा आइपुगेको तीन महिना हुन लाग्यो। त्यो घटनाको पृष्ठभूमि फर्केर हेर्दा कसरी स्मरण गर्नुहुन्छ?

त्यस्तो हुनु हुँदैनथ्यो । भदौ २३ गते माग, नारा, पूर्व घोषणा र प्रतिबद्धताका साथ आन्दोलन भएको थियो । माइतीघर मण्डलबाट एभरेस्ट होटेलसम्म त्यसलाई कायम गरिएको थियो। युवाहरूको आन्दोलन भनिएको थियो । त्यहाँसम्म साँच्चै नवयुवाकै आन्दोलन थियो। त्यसपछि उनीहरूकै शब्दमा भन्ने हो भने मागहरू अपहरण भए, आन्दोलन पनि अपहरण भयो र कुनै घुसपैठिया तत्वहरू कसैले कुनै ‘एलिएन’ तत्वहरू नै भन्दा हुन्छ, तिनलाई खोसेर लगियो।

त्यसपछिको परिदृश्य बेग्लै भयो। पूर्वघोषित माग र नारा हराए, उपद्रव मात्रै बाँकी रह्यो। भ्रष्टाचार नियन्त्रणको मागका लागि उपद्रव गर्नु पर्दैन। संसद् भवन जलाउनु पर्दैन। जलाउन भित्र जाने प्रयास त गर्नु पर्दैन। पर्खालभित्र धारो थियो र? पानी खान जान भत्काएको थियो? भित्र चिया पसल थियो? बाहिर भोक लाग्या थियो र चियापसलमा जान नपाएकाले त्यो पर्खाल प्वाल पारेको हो? त्यहाँका फलामका बारहरू काट्या हो? यो त पूर्वतयारी देखिन्छ। एउटा अप्रिय स्थितिको सिर्जना गर्नुपर्छ, जसले भोलि–पर्सि अझ ठुलाठुला उपद्रव मच्चाउन सकियोस् भन्ने योजना भएकै देखिन्छ।

गोली चल्ने परिस्थिति अरू कुनै हिसाबले रोक्न सकिन्थ्यो कि?

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) मा आगजनी गर्ने दुश्चेष्टाको त्यो उग्ररूप नभएको भए गोली चल्ने परिस्थिति आउने नै थिएन। तीमध्ये आह्वान गरेर– हाम्रो प्रदर्शन सकियो। हामी सफल भएका छौं। अब घुसपैठ हुन थाल्यो। हाम्रो आन्दोलन सिध्यायौं। अब हामी यहींबाट फर्कन्छौं। छिटो फर्कौं भनेर उनीहरूले माइकिङ गरे र फर्किए।

त्यसपछि जस्तो खालको भयावह स्थिति बन्यो, त्यो आन्दोलन हाँकेका मान्छे सात दिन त लुकेर बसे। उसमाथि बहुतै धम्की आए। आन्दोलन नेतृत्व गर्ने मान्छेलाई नै धम्क्याएर, त्रसित बनाएर, लुकेर बस्नुपर्ने ठाउँमा पुर्‍याएर, उपद्रो मच्चाए। ती तत्त्वहरू को थिए? यसमा म जान चाहन्न। कुनै पनि संरचना रक्षाका लागि त्यहाँ सुरक्षा प्रबन्ध गरिएको हुन्छ। सुरक्षा दस्ता राखिएको हुन्छ। त्यसमाथि सुरक्षा गर्न नसकिने गरी हमला भए त्यसमा त्यसले प्रतिवाद गर्दैन? रक्षाका लागि काम गर्दैन?

त्यसलाई आदेश दिनु पर्दैन?

त्यो त पहिल्यै आदेश हुन्छ होला नि। यससम्बन्धी म सुरक्षाविज्ञ होइन। सुरक्षा निकायको सिपाहीमा पनि जागिर खाएको मान्छे होइन।

तर सबभन्दा माथि चलाउने मान्छे हो?

म हबलदारमा पनि प्रमोसन भएको मान्छे होइन। सुरक्षा व्यवस्था चलाउने म उपत्यकाको प्रमुख पनि होइन। म काठमाडौंको प्रमुख पनि होइन। प्रमुख जिल्ला अधिकारी जसले आदेश दिने भनिन्छ, त्यो पनि त्यतिबेलै आदेश दिन्छ भन्ने होइन। त्यो पहिले लेखेर दिएको हुन्छ होला। अनि म त्यो सुरक्षा समितिमा पनि छैन। सुरक्षा समितिमा प्रधानमन्त्री हुँदैन। प्रधानमन्त्रीले त के हुँदैछ भनेर रिपोर्ट लिने हो।

राष्ट्रिय सुरक्षा परिषद्को नेतृत्व प्रधानमन्त्रीले गर्छ नि।

हो। राष्ट्रिय सुरक्षा परिषद् सेनासँग सम्बन्धित हुन्छ। सेना युद्धका लागि वा त्यस्तै प्रयोजनका लागि परिचालन हुन्छ। सेना परिचालन दुई प्रकारको हुन्छ। एउटा स्ट्यान्डबाइ (तैनाथी) आदेशसहितको परिचालन। प्राकृतिक प्रकोप वा कुनै परिस्थिति सिर्जना भयो भने सेना परिचालन गर्नुपर्ने अवस्था आउँछ। अस्थायी, आवधिक, आंशिक रूपमा कुनै कफ्र्यु आदेश जारी भए त्यसमा सिडिओले नै सेना परिचालन गर्ने हो। त्यसमा प्रधानमन्त्रीको हुँदैन।

अर्को, राष्ट्रियस्तरमा सुरक्षाका लागि सेना परिचालन गर्नुपर्‍यो भए वा पहिले–पहिले पनि विभिन्न समयमा सुरक्षाका लागि सेना परिचालन गरिएको छ। त्यस्तो खालको परिस्थिति त उत्पन्न भएको थिएन। जेनजीले माग गरे भन्नेबित्तिकै पनि सेना परिचालन गर्नुपर्ने त थिएन। सेना प्रतिरक्षा, रोक्न र देखाउनका लागि मात्रै परिचालन गर्ने हो, लड्नका लागि होइन। ब्याक फोर्सका रूपमा राखिएको सेनालाई लड्नका लागि राखिएको होइन। सशस्त्र प्रहरी प्रयोग हुन सक्छ, तर प्रहरी नै हो प्रयोग हुने। प्रधानमन्त्री कार्यकारी प्रमुख हो। त्यसकारण सबै अंग, सबै निकायको प्रमुखै मानिन्छ।

तर नेपालको संविधानले सेनाको परमाधिपति त प्रधानमन्त्रीलाई भनेको छैन। राष्ट्रपतिलाई भनेको छ। प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउँछ। प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले इजाजत दिएमा मात्रै पाउँछ। त्यसकारण परमाधिपतिसँग कुनै आज्ञा, इजाजत, स्वीकृति केही पनि लिइएको छ/छैन। सेना परिचालन गर्ने वा त्यस रूपमा सेना परिचालन गर्ने कुनै गृहयुद्धको स्थिति पनि होइन। युद्धको स्थिति त होइन।

नेपाली जनताका नाममा त्यो तहको उपद्रव हुन्छ, अरूका घरमा आगो लगाएर रमाउँछन्। अरूका घरका म्याप ट्रेसिङ गर्छन्, केमिकल प्रयोग गरेर घर आगो लगाउने तयारी गर्छन्। त्यसमा अनेक प्रकारका शक्ति परिचालन गरिन्छन्, गरिन्छ। यस्ता षड्यन्त्रको तहमा नेपाली जनता छन् भन्ने सोचिएन। अलि बढी नै विश्वास गरियो।

सरकारको यस्तो विश्लेषण, पूर्वानुमान केही थिएन?

थिएन।

प्रधानमन्त्रीले विकासका राम्रा कामको जस लिन हुने तर यस्तो परिस्थिति आउँदा मैले गरेको होइन भन्न पाइन्छ?

मेरो कार्यकालमा रंगशाला, पुल, धरहरा, रानीपोखरी पुनर्निर्माण भयो होला। जाजरकोटमा मान्छे भीरबाट लड्यो, मैले थाहा पाएको छैन भन्नुपर्‍यो। त्यो मेरो बाध्यता हो। किनकि जाजरकोटमा मान्छे लड्यो मैले कसरी थाहा पाउने? यो देशमा जे भए पनि सबै प्रधानमन्त्रीको जिम्मा? यो फेरि भदौ २३ पछि मात्रै प्रधानमन्त्रीको राजीनामा मागेको हो र? २३ पछि मात्रै प्रधानमन्त्रीको विरोध भएको हो र? २३ पछि मात्रै केपी ओलीलाई मारिहाल्नुपर्छ भन्ने कुरा सुनिएको हो र? मलाई गाली गर्दै देश छोड भन्ने नारा लगाउनेहरू २३ गतेपछि मात्रै उम्रिएका हुन् र? २३ गते मान्छे मारिएकोमा चिन्ता हुने भए त्यो मान्छे मारिने तारतम्य मिलाउने काम कसैले गर्थे होला र? नेपाली युवाहरूको ज्यान गएकोमा पिर होइन यिनलाई । यिनलाई देशमा उपद्रो बचाउन सकिएकोमा खुसी छ। अरू कुरा यिनीहरू नाटक मात्र गर्छन्।

हामी दुःखी छौं। देशमा यस्तो हुनु हुँदैनथ्यो। हाम्रा युवाहरूको ज्यान जाने परिस्थिति बन्नु हुँदैनथ्यो, ज्यान जानु हुँदैनथ्यो। त्यस प्रकारको परिस्थिति सिर्जना हुनु, राष्ट्रिय सम्पत्तिमा आगलागी हुनु, सरकारी कार्यालयहरू, राज्यका तीनवटै अङ्गका मुख्यालयहरू जलाइनु, उद्योगहरू जलाइनु, विकास निर्माणलाई ध्वस्त पारिनु, जनप्रतिनिधि संस्थाका संरचना ध्वस्त पारिनु भनेको लोकतन्त्रको विरोध छ। विकास, राजनीति, उचित व्यवस्थापन, सुशासनको विरोध छ। अराजकता, आगजनी, ढुंगामुढा र लुटपाटको प्रोत्साहन छ। स्याउ चोरेर खाने पनि क्रान्तिकारी हुन्छ? बियरको बोतल चोरेर भाग्ने पनि क्रान्तिकारी हुन्छ? ती जेनजी युवा हुन् र? सिंहदरबार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सर्वोच्च अदालत, मेरो घर, अर्काको घर, उद्योग व्यवसाय, प्रदेशसभाका कार्यालय, पार्टीका कार्यालय जलाउने काम सबै जेनजीले गरेको हो? जेनजीले हुँदै होइन। यो त क्रिमिनल (अपराधी) तत्त्वहरूले हो।

श्रीलंका, बंगलादेशमा भएजस्तै घटना नेपालमा पनि हुन्छ भनिरहेका थिए। सुरक्षा अंगले पनि यस्तो आकलन गरेको थियो?

यस्तो थियो । यस्तो गर्न सक्छन्, हामी सतर्क हुनुपर्ने विश्लेषण भएको थियो तर नेपालमा दुइटा कुरा थिए– एउटा नेपालका आफ्ना सामाजिक मूल्य मान्यता छन्, जसले यस्तो गर्न दिँदैन। अर्काको घर जलाएर मागेको के? त्यो स्तरमा केही छँदै थिएन। त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्न खोजिएको भए  तर यहाँ त बेग्लै अब के थियो म जान्दिनँ।

सुरक्षा निकायले यस्तो खालको परिस्थितिमा तपाईंहरूलाई एयरलिफ्टिङ (हवाई उद्धार) नै गर्नुपर्ने हुन्छ भनेर योजना पनि सुनाएका थिए रे।

एयरलिफ्टिङका कुरा कहाँबाट आए? त्यो त तपाईंबाट सुन्दै छु। कसैले मसँग एयरलिफ्टिङका कुरा गरेको छैन। किनभने भदौ २२ गते गोदावरीमा हाम्रो विधान महाधिवेशन थियो। बेलुका महाधिवेशनपछि मैले गृहमन्त्रीजीलाई फोन गरेँ। सुरक्षा समितिकै बैठक बसिराखेका छौं भन्नुभयो। त्यो सकेर बालुवाटारमा आउनुस्, बैठक गरौं भनेँ। म तीन दिनदेखि पार्टीको महाधिवेशनको काममा व्यस्त भए पनि भोलिको काम बारे सोध्न गएँ। त्यतिबेला उहाँले जेनजीका मुख्य माग बताउनुभएको थियो– शान्तिपूर्ण गर्छौ भनेका छन्, माइतीघर मण्डलबाट एभरेस्टसम्म जान्छन्। शान्तिपूर्ण जुलुस त्यहाँबाट सिद्धिन्छ। त्यसकारण हामी धेरै ठुलो तयारी केही गर्नुपर्दैन। तैपनि अप्रिय स्थिति होला। कहिलेकहीँ ठुलो तयारी नगर्दा अप्रिय स्थिति हुन सक्छ, अप्रिय स्थिति तर्फ जान नपाओस्, यदि त्यतातिर जान खोजे पहिले नै रोक्नु भनेर मैले भन्या थिएँ। त्यस्तो आउँदैन, त्यस्तो हुँदै भनेर मलाई ब्रिफिङ गरिएको थियो । अनि कहाँ हेलिकप्टर, एयरलिफ्टिङको कुरा आयो? त्यो कुरा थिएन । तर ग्लोबल ट्रेन्ड त हामीले हेरिराख्या थियौं।

अनि कुनकुन शक्ति कसरी अस्थिरताका लागि क्रियाशील छन्। अराजकताको पक्षमा को लागिराख्या छ, कस्तो गरिराखेका छन्। कसको स्वार्थ के छ भन्ने कुराको पनि हामी अनुमान गरिरहेका थियौं। कुनै पनि परिस्थिति बिगार्न, भड्काउन खोज्ने कुरा हुनसक्छ भन्ने कुरा त अन्यत्र हामीले देखेकै थियौं। त्यही कुराको बारेमा कहिलेकहीँ छलफल, सल्लाह हुन्थ्यो। त्यो स्वाभाविक कुरा थियो तर त्यो रोक्न सकिँदैन, केही भएपछि हामी छोड्दिन्छौ भन्ने कुरा कसैले भनेको थिएन। केही हुन थालेपछि आगलागी गर्न दिन्छौ त कसैले भनेको थिएन तर आगलागी त भयो। तोडफोड, लुटपाट भयो। राज्य संयन्त्र प्यारालाइज भएर बस्यो, चुपचाप लागेर बस्यो । दुखद कुरा त्यहीनेरि हो। सुरक्षा संयन्त्रहरूको परिचालनमा कमी कहाँ भयो? के कमी भयो? त्यसलाई सानो छदै खेरि किन रोक्न सकिएन? अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि मान्छे भित्रै पस्ने  स्थिति किन बन्यो? यी कुराहरू छन्। त्यसपछि बेलुकाबाट कफ्र्यु लगाउन सकिन्थ्यो। सेना सडकमा उत्रिन सक्थ्यो।

सेना सहितको सुरक्षा निकायहरू परिचालित हुने कुरा २३ गते राती तयारी भएको थियो रे। तर भोलिपल्ट परिचालन भएको त देखिएन?

केपीः २३ गते राति ११ बजेबाट परिचालन गर्ने भन्ने थियो। अघिल्लो दिन २३ गतेका लागि त त्यस्तो भएन । किनभने त्यस्तो हुन्छ भन्ने कसैको पनि सोच थिएन। मैले सुरक्षा निकायहरूसँग सोधेँ। त्यहाँ मैले बोलाएको ठाउँमा सेनाका एक जना जर्नेल, गृहमन्त्री र मुख्य सचिव हुनुहुन्थ्यो। अरू तीनवटै निकायका प्रमुखहरू हुनुहुन्थ्यो। अहिले आएर प्रतिशोधात्मक खालका क्रियाकलाप जो जागिरबाट हट्छ त्यसलाई घरबाट बाहिर निस्किन नपाउने वा कति मिटर परसम्म जान पाउने, कुन बाटोसम्म जान पाउने, कुन डाँडो काट्न नपाउने भन्ने कुराहरू भन्न थालियो। त्यो अचम्मको प्रतिशोध देखिन्छ। किनभने अलिकति त त्यहाँ प्रतिरोध भएको देखिन्छ। सुरक्षा कायम गर्न खोजेको देखिन्छ। सुरक्षा कायम गर्न खोज्नेहरू माथि प्रतिशोध लिन खोजेको देखिन्छ। सुरक्षा निकायको प्रहरी माथि किन एक्सन लिन खोजिराखिएको छ? वा त्योसँग वैरभाव किन देखाइँदै छ? अर्को, के नेपालमा सेना, प्रहरी, अनुसन्धान विभाग चाहिँदैन भनेको हो? होइन भने मान्छेको ज्यानको मूल्यमा संरचनाहरूको सुरक्षा गर्न सकिँदैन भन्ने हो भने सेना विभिन्न ठाउँमा संरचनाहरूको सुरक्षाका लागि बसेको छ, त्यो के त्यहाँ मुसा आएर प्वाल पार्छ भनेर बसेको हो?

सुरक्षाको जिम्मा पाएको ठाउँमा हिंसात्मक ढङ्गले आइलाग्यो भने, अनियन्त्रित ढङ्गले आइलाग्यो भने, तोडफोड, विध्वंस, आगजनी हुने भयो भने सुरक्षा निकायले गोली चलाउने कि नचलाउने? यो आजको मात्रै कुरा होइन। सिद्धान्त प्रतिपादन गर्दा त भविष्यसम्मका लागि नै प्रतिपादन गर्नुपर्‍यो। एउटा मात्रै घटनाको लागि होइन। भविष्यसम्मका सम्भावित अनेक घटना होलान् नि। एकछिनका लागि एकछिनको कुरो हुँदैन। त्यो त राष्ट्रिय नीति र व्यवहारमा उत्रिने खालको व्यवहारिक नीति, जसलाई हामी प्रयोगमा ल्याउँछौ। त्यो नीतिको कुरा हुनुपर्‍यो नि।

पछिल्लो समय प्रधानमन्त्री भएपछि सुरुदेखि नै सार्वजनिक कार्यक्रममा जाँदा तपाईका विरुद्ध विभिन्न ठाउँमा विरोध सुनिन्थ्यो। त्यो खालको माहौलहरू बनाउन खोजेको थियो भन्ने लाग्छ?

केपीः हो । अवश्य हो। त्यो खोजिएको थियो। मलाई खेलाडीहरूले मन पराएर बोलाउँथे, दर्शकहरूले मन पराए। खेलकुदका संस्थाहरूले मन पराए, किनभने म खेल मन पराउँछु, खेलाडी मन पराउँछु उनीहरूलाई प्रोत्साहित गर्छु। त्यसकारण उनीहरूले मलाई मन पराउनु स्वाभाविक थियो। मन पराए। मैले कुनै खेलाडी अहिलेका जस्ता देखिस् तेरो देश जल्यो भनेर खुसी भएका, रमाएका, पागलपनका साथ कराएका यो भन्दा अगाडि देखेको थिएन। म बिना अपवाद हरेक खेलाडीलाई माया गर्थे। हरेक कलाकारलाई माया गर्थे।

मैले वास्तवमा माया गर्थे। खेलाडी र दर्शकहरूले पनि मेरो पक्षमा नारा लगाउँथे। त्यो कुरासँग केही तत्त्वहरूलाई असह्य भयो। उनीहरूले अभियान चलाए। सांस्कृतिक कार्यक्रमहरूमा जाँदा पनि त्यो अभियान देखियो। त्यो अभियान टुँडिखेलको गौरा पर्वमा पनि देखियो। अर्को तत्कालीन माओवादी केन्द्र पनि इर्ष्यालु भएर आफ्नो सारा समय मलाई गाली गर्नमै खर्च गर्थे। ममाथि झुटा लाञ्छना र आरोप लगाउनै खर्च गर्थे।

म प्रधानमन्त्री भएका बेला उपद्रवकारीहरूले उपद्रव मच्चाएकै हुन्। त्यहाँ गोली चलेकै हो। कसले गोली चलायो म जान्दिनँ। न मैले गोली चलाउने मान्छे चिन्या छु। पुलिसले चलायो कि बाहिरैबाट चल्यो कि वा अरू नै कुनै घुसपैठियाले चलायो कि? कसले चलायो मलाई थाहा भएन । त्यो जान्नेले जान्लान्। आफूले चलाएको वा आफ्नो टोलीले चलाएको हो भनेर कसैले भनेको मैले सुन्या पनि छैन। सम्भवतः पुलिसले चलायो कि! उसलाई त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुरक्षाको जिम्मा दिइएको छ। त्यो सुरक्षाका लागि गोली सहितको बन्दुक दिइएको छ।

विध्वंस पारे तपाईंलाई हटाउन सजिलो हुन्छ भनेर गरेजस्तो लाग्छ?

त्यो त छ नै । मलाई हटाउन मात्रै पनि होइन । योभन्दा ठुलो विषय छ। यो देशको राष्ट्रियता, अस्तित्व, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय हित र स्वाभिमानको प्रश्न छ। यी चिजलाई कमजोर पार्न र यो देशको अस्तित्व समाप्त पार्ने वा आश्रित, कमजोर स्वतन्त्रता नभएको, स्वाधीन होइन आदेशमा चल्नुपर्ने, राष्ट्र भनिने तर राष्ट्रको हैसियत कायम राख्न नपाउने रूपमा लाने, लोकतान्त्रिक प्रणाली मासेकोबाट देखिन्छ।

संसद् भंग नगरी नसक्ने चिन्तन र व्यवहारबाट देख्नुहुन्छ। संविधान मासेर संविधान मिचेर कुल्चिएर अवैध सिफारिस, असंवैधानिक सिफारिस देखिन्छ। प्रधानमन्त्री फेर्नु मात्रै थियो भने संसद् किन विघटन गर्नुपर्थ्याे? यहाँ लोकतन्त्रमाथिको दुस्मनी छ। म त एउटा प्रतिनिधि पात्र हुँ।

तपाईंको संकेत देशभित्रकै शक्तितिर हो कि बाहिरको?

धनबहादुर, बलबहादुर वा कुन के बहादुर म जान्दिनँ। यो त देखिएकै छैन र ? यी संस्थाका पछाडि कस्ताकस्ता संस्था रहेछन्? भन्दा जेनजी भन्थे यहाँ त छिप्पिएका संस्था पो रहेछन्! यो बनाएको छ नि त छानबिन समिति। यो छानबिन समिति छानबिन गरे झैं गरेर केपी शर्मा ओली र रमेश लेखकले जिम्मेवारी लिनुपर्छ। त्यसकारण उनीहरूलाई गिरफ्तार गरेर थुन्नुपर्छ भन्ने कामको जिम्मा पाएको भन्ने ठानेको छ उसले।

छानबिन समितिले बोलाउने भनेको छ, के गर्नुहुन्छ?

मैले आफ्नो कुरा भनिसकेको छु । बोलाउने–नबोलाउने उहाँहरूका कुरा हुन्। उहाँ (गौरीबहादुर कार्की) आफ्नो फैसला सुनाइसकेका व्यक्ति हुनुभएकाले मैले उहाँहरूलाई निष्पक्ष आयोग भनेर त्यस दर्जामा मान्नुपर्ने कुनै बाध्यता छैन। म एउटा स्वतन्त्र नागरिक हुँ। म विवेकले काम गर्छु। मैले उहाँहरूको फैसला पहिले सुनिसकेको छु। प्रधानमन्त्री, गृहमन्त्रीको फैसला सुनिसकेको छु। तार, बेतार, दूरबिन आदि–इत्यादि विभिन्न वेभहरू सबैबाट देखेको, सुनेको छु। श्रव्य–दृश्य सबै आइराखेको छ मसँग। यति गम्भीर प्रश्न उठिसकेपछि आयोग विघटन गर्नुपथ्र्यो। कि त्यस्तो बोलेको छैन भनेर जवाफ दिनुपर्‍यो। त्यो त सक्ने ठाउँ छैन होला। त्यसो भएपछि कि राजीनामा दिनुपथ्र्यो होइन भने जसले गठन गरेको थियो, त्यसले हटाउनुपर्थ्याे। अरू मान्छे राख्न सकिन्थ्यो। त्यो त भएन।

अरू मान्छे भए तपाईंलाई मान्य हुन्छ?

आयोग बनाउनुपर्छ भन्ने त म पनि हो नि । २३ को घटना कसरी भयो भनेर छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग बनाउने त क्याबिनेटले बेलुका निर्णय गरेको थियो। त्यसकारण आयोग बनाउने निर्णय त मेरो हो। २४ गतेको घटना भएकै थिएन। २४ पनि भइसकेपछि त आयोग चाहियो नै तर त्यसपछि बनेको आयोगका कामकारबाही, उहाँहरूका धारणागत पूर्वफैसला, अभिव्यक्तिगत फैसला त पूर्व आइसके। अरू उहाँहरूका अभिव्यक्ति र गतिविधिले आग्रह, पूर्वाआग्रहपूर्ण भन्ने स्पष्ट भइसकेपछि त्यस आयोगलाई मान्यता दिने काम मूर्खतापूर्ण हुन्छ। त्यसो भएर मान्यता दिने कुरा आउँदैन। म मान्यता दिन्नँ, नेकपा एमालेले मान्यता दिँदैन। अनुपयुक्त भनेपछि स्वीकार्य छैन। त्यस प्रक्रियामा हामी सामेल हुँदैनौं। बाँकी त उहाँहरूको काम हो। केके गर्नुहुन्छ, गिरफ्तार गरेर लानुहुन्छ कि? थुन्नुहुन्छ कि? अनुचित आयोगका कामकारबाही कानुनभित्र पर्दैन। मैले यसमा धेरै केही भनिरहनु छैन।

नेपाल भूराजनीतिक खेलमा परिसकेको हो? त्यसमा तपाईंको जानकारी के छ? वा त्यससम्बन्धी विश्लेषण के छ? चीन भ्रमणमा रेड कार्पेट, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट, सैन्य परेडमा सहभागी भएको एक हप्तामै सत्ताच्युत हुनुभयो। यी सबै घटनालाई कहीं न कहीं जोड्न सकिन्छ?

मेरो पुटिन, सी चिन फिङ (चीनका राष्ट्रपति), मोदीजी (भारतका प्रधानमन्त्री नरेन्द्र मोदी) सँग भेट भयो। अरू थुप्रै राष्ट्र प्रमुख र प्रधानमन्त्रीजीसँग भेट भयो। यो देशका लागि खुसी र गौरवको कुरा हो। मोदीजी नेपाल आउँदै हुनुहुन्थ्यो, म भारत जाँदै थिएँ। पुटिन नेपाल आउँदै हुनुहुन्थ्यो म रसिया जाँदै थिएँ। यो हामी सार्वभौम देशले कसैलाई मन पर्छ, कुनै देश जाने, कसैलाई मन पर्दैन, कुनै देश नजाने। कुनै देशको राष्ट्रपति यहाँ आउने–नआउने भन्ने कुरा स्वतन्त्र राष्ट्रको हिसाबले हाम्रो हितका लागि हामी गर्छौं। अरूको अहित गर्दैनौं आफ्नो हित खुरुखुरु गर्छौं । स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्ता भनेको यही हो । यसलाई हामी कायम गर्छौं।

यो नेपाल राष्ट्र फेरि पनि स्वाधीन, स्वतन्त्र रहनेछ। राष्ट्रियता र इतिहासप्रति गौरव छ । केही मान्छेका कुरा बेग्लै हो। आम नेपाली जनताले यस देशको, देशको अस्तित्वको जयजयगान गर्छन्। नेपाली जनताले यसलाई अगाडि बढाउने, विकास गर्ने, सुशासन ल्याउने र शान्ति पुनर्स्थापना गर्ने कुरामा संकल्प गर्छन्। फेरि नेपालमा शान्ति स्थापना हुन्छ। नेपाली जनताले शान्ति स्थापना गर्छन् र नेपाल अगाडि बढ्छ। कसैलाई चित्त बुझे पनि नबुझे पनि हामी शान्ति स्थापना गर्छौं। देशलाई लोकतान्त्रिक प्रणालीको बाटोमा फर्काउँछौं । फेरि हाम्रो राष्ट्रियता, राष्ट्रिय एकता मजबुत बनाउँछौं र शान्ति खलबलाउन दिँदैनौं।

भदौ २४ मा भएको विध्वंसमा तत्कालीन माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको भन्ने तपाईंको बुझाइ हो?

नेतृत्वमा थाहा भएन। उहाँले देशभरिबाट पूर्वलडाकुहरू बोलाउनुभएको थियो।

सरकारलाई त्यसको संकेत वा जानकारी थियो?

थिएन। पछि थाहा भयो। उहाँले बोलाउनुभएको थियो। विभिन्न ठाउँमा झन्डा बोकेर माओवादी कार्यकर्ता उभिएकै छन्। बोलेकै छन्, चिनिएकै छन्। त्यतिबेला दिग्विजय गरिसक्यौं, सबै भइसक्यो भनेर आफैं सेल्फी खिच्दै अपलोड गरेका छन्। क्रान्ति सम्पन्न भइसक्यो। २४ गते बिहान प्रचण्डजीले म प्रधानमन्त्री हुने भएँ। साथीहरूले सहयोग गर्नुपर्‍यो, संयुक्त सरकार बनाऊँ, अगाडि बढौं, संविधानबाट होइन, आन्दोलनका बलमा क्रान्ति सम्पन्न गरेर प्रधानमन्त्री बन्दै छु तपाईंहरू पनि आउनुपर्छ भनेर सिंहदरबारमा भन्दै हुनुहुन्थ्यो। उहाँ त प्रधानमन्त्री बन्ने छलफलमा हुनुहुन्थ्यो। आगो लागेपछि त्यहाँबाट कुदेर आर्मीकहाँ पस्नुभएछ। नेपाली आर्मीलाई त्यति विश्वास गर्नुभयो त्यसका लागि धन्यवाद छ।

२४ गतेको घटनापछाडि नेपाली सेनाको कामप्रति तपाईंको के विश्वास छ?

त्यहाँ विभिन्न खालका विश्लेषणका कमी रहेको हुन सक्छ । केही कमी रहेका हुन सक्छन्। काम भइसकेपछि त्यसलाई रफु भरेर जस्टिफाइ पुष्टि गर्न खोजिएको हुन सक्छ। विश्लेषणमा केही कुरामा कमी रहेका हुन सक्छन्। फेरि पनि राष्ट्रिय सुरक्षाको अन्तिम किल्ला त सेना हो। सेनाप्रति अविश्वास गर्ने, सेनाले गर्दैन भने कसले गर्छ? सेनाले कहीं चुक गरेको हुन सक्छ। यस विषयलाई एकदम बढाइचढाइ गर्नुपर्ने, तिललाई पहाड बनाउनुपर्ने आवश्यकता पनि छैन। कमी भएका हुन सक्छन्।

दुनियाँमा सबैका कमी हुन सक्ने, नेपाली सेनाको नहुने भन्ने हुँदैन। भइहाले पनि भयो कमी  तर नेपाली सेनाले आफैंले आगो लगाउँदै हिँड्या त होइन । कमी कतै भए पनि उसको दोष त छैन। वा उसले अपराध गरेको त होइन। सेनामाथि नेपाली जनताले विश्वास गर्नुपर्छ, भर पर्नुपर्छ। विश्वासै नगर्नुपर्ने खालका कामकारबाही नेपाल सेनाले गरेको छैन। विश्वास गर्नलायकका काम गरेको छ।

सुशीला कार्कीलाई दलहरूले नै प्रधानमन्त्री बनाउनुभएको होइन?

राष्ट्रपतिज्यूले नियुक्ति गर्नुभयो। म कामचलाउ प्रधानमन्त्री थिएँ। उहाँ संविधानको रक्षक हो। उहाँ संविधानको पालक हो, उल्लंघन गर्ने होइन। त्यसकारण मेरो सिफारिसमा सम्झाइएको छ– राष्ट्रपतिज्यू संविधानको रक्षक हो, पालक हो। अहिलेको जटिल परिस्थितिको समाधान संविधानभित्रबाट गर्न आवश्यक कदम चाल्न सिफारिस गर्दछु। यो मेरो सिफारिस हो। मैले पटकपटक भनेको छु, संविधानभित्रबाट भनेको छु, संविधानअनुसार भनेको छु।

मेरो सिफारिसमा व्यक्तिको नाम छैन, हुने कुरा पनि भएन। संविधानको कुनै धारा छैन। वर्तमान, विषम र जटिल परिस्थितिको संविधान र लोकतान्त्रिक प्रणाली कायम राखेर संविधानभित्रैबाट समाधान खोज्नुपर्ने भएकाले सम्माननीय राष्ट्रपतिज्यू तपाईं संविधानको रक्षक र पालक भएकाले संविधानभित्रैबाट समस्याको समाधानका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु। यसले अन्यथा अर्थ दिँदैन। यो २६ गते शुक्रबार अपरान्हको कुरा हो। त्यसपछि मैले मध्यराती साढे ११ बजेतिर सुनें कि राष्ट्रपतिजी त संसद् विघटन गर्न खोज्दै हुनुहुन्छ।

संसद्को अधिवेशन चलिराखेको थियो। त्यो अधिवेशन भोलिपल्ट थियो । त्यो अधिवेशनमा बसेर सबै गर्न सकिन्थ्यो। अधिवेशन बस्न सकिँदैन हामी सुरक्षा दिन सक्दैनौं सेनाले भनेको कुरा सुनें। सैनिक मुख्यालयमै सांसदहरू झिकाएर गर्न सकिन्थ्यो नि।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै मान्छे उभिएरै गर्दिन्थे। संविधान त मासिँदैनथ्यो। २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका बखत संसद् बोलाउनै नसकिने परिस्थिति थिएन। सुरक्षा दिने हो भने त्यो तोड्ने अवस्था त थिएन। संविधान संशोधन गरेर गर्नुपथ्र्यो। प्रधानन्यायाधीशलाई संविधानको धारा १ सय ३२ को २ ले त निषेध गरेको छ। जानीजानी पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न कसरी तयार हुनुभयो? संविधान केही पनि होइन, मिचेर जानुपर्छ भन्ने सोच त अहिलेका प्रधानमन्त्रीजीको देखिन्छ। त्यसको उहाँले चर्चा पनि गर्नुहुन्न। के हो र संविधान भन्नुहुन्छ ? संविधानको धारा ७६ मध्ये मात्रै एउटा ठाउँ हो, जहाँबाट प्रधानमन्त्री बन्छ। त्यसको उहाँ चर्चा गर्नुहुन्न। प्रतिनिधिसभाको सदस्य हुनैपर्छ। त्यसको उहाँ चर्चा गर्नुहुन्न। होइन भने संविधान संशोधन गरेर धाराहरू संशोधन निलम्बन केही गर्नुपर्थ्याे। त्यो त गर्नु हुन्न। धारा थप्नुपथ्र्यो, उपधारा थप्नुपर्थ्याे। त्यो त गर्नुहुन्न भने संविधान त मिचेकै हो।

तपाईं यो सरकारको विरुद्ध र संसद् पुनस्र्थापनाका पक्षमा सक्रियतापूर्वक लाग्नुभएको छ?

सरकारको समर्थन गर्नुपर्ने कारण के? कमसेकम संविधानको पालना भएछ भनेर मान्नुपर्ने?

कम्तीमा संविधान जोगाए भन्ने त छ नि?

जोगाएँ भन्ने हिसाबले मान्नुपर्ने? संविधान मिचियो खारेज भएको छैन। संविधान कायम छ। मिचिएको छ। मिचिएको जति सच्याउनुपर्छ। अनधिकृत सिफारिसमा संविधानविपरीत प्रतिनिधिसभा विघटन भएको छ। त्यो अविलम्ब पुनस्र्थापना हुनुपर्दछ। लोकतन्त्र फर्काउने बाटो त्यही हो। जनताले छानेको, निर्वाचनबाट आएको सरकारलाई यत्तिकै विरोध गर्न पाइन्छ ? हट् भन्न पाइन्छ? त्यो कोणबाट यो सरकारको समर्थन गर्नुपर्ने?

अदालतले आफैं नोटिसमा लिएर अहिलेका क्रियाकलापलाई रद्ध गर्नुपर्थ्याे। सम्मानित सर्वोच्च अदालतले यो असंवैधानिक गतिविधि आफैं नोटिसमा लिएर पूर्ण इजलासबाट बदर गर्नुपथ्र्यो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानन्यायाधीशको हिसाबले के भन्नुहुन्छ ? पहिले के भन्नुहुन्थ्यो? अहिले के भन्नुहुन्छ? पहिले अन्तरिम संविधान थियो । सर्वदलीय सहमति थियो। अब अहिले के भन्नुहुन्छ?

सरकार चुनावको तयारीमा देखिन्छ, कांग्रेसलगायतका दलहरू चुनावमा जाने तयारीमा देखिन्छन्, एमालेको के छ तयारी?

चुनावको तयारी अस्ति हामीले पर्सामा देख्यौं। बारामा देख्यौं। हिजो विराटनगरमा देख्यौं। अरू ठाउँमा देख्दै छौं।

तपाईंलाई चुनाव हुँदैन जस्तो लाग्छ?

चुनावको तयारीका अरू योजना सुन्दै छु। म्यानमारमा चुनाव भनेको कति वर्ष भयो?

तपाईंको निष्कर्ष हामी निरकुशतातिर पस्यौं भन्ने हो?

लागे पुगेसम्म उहाँहरूले गर्ने त्यही हो । तर म भन्न चाहन्छु– उहाँहरूको अवधि टुट्यो।

गत अंकमा हामीले प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्वार्ता गरेका थियौं। त्यस क्रममा उहाँले चुनाव गराउँछौं। एमाले चुनावमा नआएर कहाँ जान्छ भन्नुभएको थियो। एमाले कहाँ जान खोजेको?

एमाले पार्टी खोली खेली हेरौं भनी खोलेको १२५औं पार्टी होइन। अहिले एकताका नाममा तमासा चलेको छ। अहिले नेपालमा ठुलो उपलब्धि भएको छ। ओरिजिनल्ली माओवादी पार्टी आफैंले नेम प्लेट निकालेर फ्याँके। अब माओवादी, माओवाद पनि छैन। केही पनि छैन। त्यहाँ मलाई राम्रो लाग्छ। मेरै साथीहरू छन्। म खुसी भएको छु। मेरै साथीहरूले सब घेरिसकेका छन्। प्रचण्डसँग गएका साथीहरू उनीभन्दा उमेरले जेठा छन्। राजनीतिले जेठा छन्, अनुभवमा जेठा छन्। प्रचण्डको नाम नसुन्दा ती नेता भइसकेका थिए। ‘इट्स नट अ जोक’।

बुधबारसम्म नाम दर्ता गर्न निर्वाचन आयोगले समय दिएको छ, चुनावका लागि एमालेले नाम दर्ता गर्छ?

राष्ट्रियसभा र प्रतिनिधिसभा सबैका लागि गर्छौं। त्यो हामीले गरिरहेका छौं। कानुनी प्रक्रियामा हामी पछि पर्दैनौं। हाम्रो कारणले चुनाव नहुने होइन, सरकारको कारणले हुँदैन। यो चुनाव गराउन आएको सरकार हो? चुनाव चाहियो भनेर जनताले माग गरेका थिए? यसको जन्म कसरी भयो? मेरो घरमा आगो लगाएर बनाएको होइन यो सरकार? यो आगजनीवाला सरकार होइन? अनि यो चुनाव गर्नलाई बनाएको हो?

पछिल्लो समय जेनजीसँग तपाईंको भेटघाट बाक्लिएको सुनिन्छ, उनीहरूसहितको सरकार बनाउन खोज्नुभएको हो?

अब प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ। त्यसबाट सर्वपक्षीय सहमति गर्नुपर्छ। मैले पनि थुप्रैलाई आलोचना गरेको छु। सबै पक्ष बसौं । सबै पक्षले देशप्रति जिम्मेवार भएर सोच्नुप¥यो। एउटा संकटमा फस्यो नि। संविधान मिचिएको छ। संसद् विघटन भएको छ। यस्तो अवस्थामा संसद् पुनस्र्थापना गरौं र समाधानबारे सोचौं। संविधान अलिकति संशोधन नगरीकन जेनजीका माग एड्रेस गर्न सकिँदैन। जेसुकै भए पनि जेनजीका नाममा एउटा खेलोफड्को त भयो। अपराधीलाई कारबाही गर। जेनजीका भावना र मागको पनि कदर गरौं।

अहिले संविधान संशोधन गर्ने, उनीहरूलाई पनि सामेल गरी सरकार बनाउने, प्रधानमन्त्री कुरा सर्वपक्षीय सहमतिमा गरौं। सामान्यतः संवैधानिक हिसाबले भन्ने हो भने विघटित सरकार नै फर्किनुपर्ने हो। किनकि यो असंवैधानिक सरकार स्वतः हट्छ। हटेपछि स्वाभाविक रूपमा पुरानै सरकार स्थापित हुनुपर्छ। संविधानले के भन्छ? कसो भन्छ? त्यो आफ्नो ठाउँमा होला तर मेरो दाबी केही पनि छैन।

अब तपाईं प्रधानमन्त्री नहुने?

त्यो पनि भन्दिनँ। अब उपरान्त यस जिन्दगीमा म प्रधानमन्त्री हुने छैन भनेर तामा तुलसी समातेर धर्म भाक्नुपर्ने कुनै आवश्यकता छैन। बदमासी गरेको छैन, देशलाई राम्रो मात्रै गरेको छु। बहुमत ल्याइन्छ प्रधानमन्त्री भइन्छ। बहुमत ल्याउने अरू को छ? कुन पार्टी छ? नेकपा एमाले इतिहास बोकेको र क्षमतावान् पार्टी हो।

नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवासँगको सम्बन्ध कस्तो छ?

म राजनीतिक व्यक्ति भएका कारण कुराकानी हुने नै भयो। शेरबहादुरजीसँग ५२ वर्षदेखिको मित्रता छ । उहाँमाथि त्यत्रो अमानवीय व्यवहार भएको छ। उहाँप्रति गम्भीर सहानुभूति छ। ८२ वर्षको मान्छेलाई त्यस प्रकारको दुर्व्यवहार भयो। कुनै गल्ती गर्नुभएको भए कानुनी उपचार खोज्न सकिन्थ्यो, तर कानुनी उपचार नखोजेर उद्दण्डता भयो। त्यो आपराधिक क्रियाकलाप हो। हामी त्यसलाई समर्थन गर्न सक्दैनौं। उहाँप्रति मेरो सहानुभूति छ, सद्भाव छ र समर्थन छ। मेरो साथ र सहयोग रहिरहन्छ।

पार्टी महाधिवेशन नजिकिँदै छ, कस्तो छ तयारी? फेरि अध्यक्ष नै हुने होला?

महाधिवेशन सामान्य हिसाबमा तयारी हुने कुरा हो। नेकपा (एमाले) मा अध्यक्षका लागि साथीहरूले मलाई हुनुपर्छ भनेका छन्। परिस्थितिअनुसारको यो सही कुरा हो। बौद्धिक जगत्लाई के महसुस हुन्छ म जान्दिनँ, तर हाम्रो पार्टीले महसुस गरेअनुसार अहिले मैले नै नेतृत्व गर्नुपर्छ। पार्टी र पार्टीमार्फत देशलाई नेकपा एमालेले नै डेमोक्रेसीको स्टोरेसनका लागि अगाडि बढ्नुपर्छ। अगुवाइ यसैले गर्नुपर्ने परिस्थिति आएको भन्ने छ। त्यसमा मैले सहमति गरेको छु। मलाई अध्यक्ष हुनका लागि कुनै तयारी गर्नु पर्दैन। हल्ला रुचाउनेका लागि यही मंसिर २९/३० गते परिणाम आउँछ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षको उम्मेदवार हुँ भन्दै हुनुहुन्छ।

उहाँले भन्नुभयो होला। अरूलाई पनि मन लाग्ला कि? अरू पनि उठ्नुहोला कि? के भन्न सकिन्छ। अध्यक्षको उम्मेदवार हुने कुरा एउटा हो। अध्यक्ष हुनु अर्को कुरा हो।

पूर्वराष्ट्रपति विद्या भण्डारी पनि पार्टी राजनीतिमा फर्कन खोज्नुभएको थियो। तपाईंले रोक्नुभएको हो?

होइन। रोकेको छैन। उहाँ फर्कन खोज्नुभएको मलाई जानकारी छैन।

लिइसकेको सदस्यता रोक्नुभएको कुरा छ।

उहाँको तरिका पुगेन। तरिका भएन। विधानअन्तर्गत भएन। त्यसो भएकाले विधिसम्मत हुनुपर्छ भन्ने कुरा पार्टीले फैसला गर्‍यो। नेकपा एमालेको केन्द्रीय कमिटीको ९औं बैठकले तत् सम्बन्धमा फैसला गरेको हो। र, त्यो फैसला कायम छ। उहाँले कुनै इच्छा जाहेर गरेको विधिवत् कतै मैले पाएको छैन। बाहिर सञ्चारमाध्यममा दिएका अन्तरवार्ता एआई हो कि के हो? थाहा भएन।

अहिले हामी अस्थिरता र अन्योलको अवस्थामा छौं, यतिबेला नेपालको भविष्य कस्तो देख्नुहुन्छ?

उज्ज्वल। अब शान्तिस्थापना गरिन्छ। गर्नुपर्छ, नेपाली जनताले। तपाईंहरू मन खोलेर शान्तिका पक्षमा लेख्नुस्। नेपालमा केही हुनेवाला छैन। नराम्रा कुरालाई प्रोत्साहित नगरौं। नकारात्मकता नबढाऔं। घृणाको राजनीति नगरौं। समाज सुन्दर बनाऔं, कुरूप नबनाऔं। त्यसका लागि हामी क्रियाशील छौं र क्रियाशील रहन्छौं। मुलुक बर्बादीतिर गइरहन सक्दैन। हामीले जान दिनु हुँदैन। हामी सबै नेपालीले ठन्डा दिमागले सोच्ने परिस्थिति बनेको छ। दृढतापूर्वक लोकतन्त्रको पक्षमा, प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा, संविधान रक्षाको पक्षमा, शान्ति सुव्यवस्थाको पुनर्बहालीको पक्षमा डर, त्रास र भयरहित वातावरण निर्माणको पक्षमा क्रियाशील रहनुपर्छ।

प्रकाशित: १० मंसिर २०८२ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App